नेल आर्टमा भविष्य कोरिरहेकी दीपा : जहाँ पुग्छन् सामान्य महिलादेखि सेलिब्रेटीसम्म (भिडिओ)

सुन्नुहोस्

सानैदेखि उनलाई नेल आर्ट, डिजाइनिङ र स्टाइलिङमा चासो थियो। साथीहरूको नङको आर्ट गर्न तम्सिन्थिन्। मोबाइल, इन्टरनेट धेरै चल्तीमा नहुँदा पोस्टरमा हेर्दै आर्ट गर्थिन्। पछि उनले इन्टरनेटमा हेरेर सिकिन्।

नेपालभ्युज

नेल आर्टमा भविष्य कोरिरहेकी दीपा : जहाँ पुग्छन् सामान्य महिलादेखि सेलिब्रेटीसम्म (भिडिओ)

काठमाडौं। नेवार समुदायमा सानै उमेरमा छोरीको बेल विवाह गर्ने र गुफा राख्ने चलन छ। यो परम्पराबारे थाहा पाउँदा काठमाडौं, मालीगाउँकी दीपा श्रेष्ठ दश वर्षकी मात्रै थिइन्।

१२ औँ दिनमा उनलाई गुफाबाट निकालियो। चलनअनुसार विशेष शृङ्गार गरी चिटिक्क बनाएर सजाइयो।

बेहुलीको भेषमा सजाइएकी दीपाका हात र खुट्टाका नङ विभिन्न रङ्गहरूले कलात्मक बनाइएको थियो। आफ्नो हात खुट्टामा देखिएको रङ्गहरूको चमकले दीपा मक्ख परिन्। नङको सौन्दर्यकलाले उनी आफैँलाई लोभ्यायो।

‘‘म चिटिक्क थिएँ। खासगरी हात गोडाका नङको आर्ट मलाई निकै मनपर्‍यो। पछि पनि आफैँले यस्तै बनाउँछु भन्ने मनमा लागिरह्यो’’ दीपा भन्छिन्।

गुफापछि पनि दीपलाई आफ्नो नङका लगाइएको सामग्री नियमित प्रयोग गर्न मन लाग्यो। उनलाई थप राम्रो र रोचक मनमोहक डिजाइन बनाउन रुचि जाग्यो। उनले आफ्ना खुट्टा र साथीहरूको हात खुट्टाका नङका आफ्नो रहर प्रयोग गरिन्।

साँच्चै उनले मनमोहक कलाकृति कोरिन्। सानो र थोरै स्पेस हुने नङमा पनि दीपाले आकर्षक डिजाइन बनाएर सबैको ध्यान खिचिन्। उनै दीपाको सानो छँदाको रुचीको विषयलाई १५ वर्षपछि व्यावसायिक बनाएकी छिन्। अर्थात् उनले भर्खरै ‘नेल आर्ट डिजाइन पार्लर’ खोलेकी छिन्।

०००

दीपालाई नेल आर्टमा व्यावसायिक अवधारणा आएको भने चार वर्ष मात्र भयो। दीपाको पढाई कम्प्युटर विज्ञान र सूचना प्रविधि हो। २०७६ सालको अन्त्यतिर लकडाउन भयो।

स्नातक गरिरहेकी दीपाको सबै काम लकडाउनमा बन्द भयो। लकडाउन सुरू भएसँगै उनले सानो छँदाको रुचीको विषय नेल आर्टलाई फेरि निरन्तरता दिइन्।

दीपा सूचना प्रविधिसम्बन्धी एक कम्पनीमा जागिरे थिइन्। सन्तुष्टि पनि थियो। उता नेलआर्टको भोक भने उस्तै। लकडाउनको खाली समयले उनको रहर पुरा गरिदियो।

लकडाउनमा सबैतिर बन्दाबन्दी थियो। धेरै व्यवसाय धरापमा परे। खाली बस्नुभन्दा केही गरौँ भन्ने सोच दीपमा थियो। लागिन् पहिल्यैदेखिको रुचीको काम नेल आर्टमा अझ निखारिनतर्फ।

आर्टका सामान किनेर ल्याइन्। घरमै सिकिन्। आफूले आर्ट गरेको भिडिओ टिकटकमा पोस्ट गरिन्। त्यसपछि उनले नसोचेको प्रतिक्रिया पाइन्। मानिसहरू उनको घरमै लाइन लाग्न आए, नेल आर्ट गराउन।

आइटी स्टुडेन्ट उनको व्यावसायिक काम अर्काै थियो। रहरको विषय मात्र थियो, नेल आर्ट। तर, थामिनसक्नुको भिड लागेपछि पार्लरै खोलिन्।

दीपा भन्छिन्, ‘‘सुरुमा रहरमा थालेको यो कामलाई धेरैले मन पराए। पछि आर्ट पार्लर सुरु गरे। मलाई विश्वास थियो, आँट गरेपछि हुन्छ भनेर। त्यसैले आत्मविश्वास साथ आँखा चिम्लेरै लगानी गरेँ।’’

०००

सानैदेखि उनलाई नेल आर्ट, डिजाइनिङ र स्टाइलिङमा चासो थियो। साथीहरूको नङको आर्ट गर्न तम्सिन्थिन्। मोबाइल, इन्टरनेट धेरै चल्तीमा नहुँदा पोस्टरमा हेर्दै आर्ट गर्थिन्। पछि उनले इन्टरनेटमा हेरेरै डिजाइन सिकेकी हुन्।

नेल आर्ट डिजाइनर दीपाले अब यही कामलाई भविष्यमा आफ्नो पेसा बनाउने सोचिसकेकी छिन्। ती अनुभवले दीपालाई हौस्याएको छ। दीपाको ‘सुगर मामा नेल आर्ट’ पार्लरमा अहिले बोर्ड समेत राखिसकिएको छैन।

भिडिओ –

तर, जति ग्राहक आउँछन्, सामाजिक सञ्जालबाटै भएको प्रचारबाट आएका हुन्। हालसम्म ग्राहकबाट राम्रो प्रतिक्रिया पाइरहेकी छिन्।

साथी र चिनजानका मात्र होइन, अहिले नाम चलेका कलाकार समेत उनको पार्लरमा आइपुग्छन्। आफ्नो सैलुनमा सबै सामान गुणस्तरीय र उच्च ब्रान्डका भएको पनि उनी दाबी गर्छिन्।

सेलिब्रेटीदेखि सामान्य महिलासम्मको भीड

कोमल हात अनि सुन्दर नङ सबैको रोजाइ हो। आफ्नो हातलाई सुन्दर बनाउन सेलिब्रेटी मात्रै होइन सामान्य महिलासम्म अहिले दीपाको पार्लरमा पुग्छन्।

‘नेल आर्ट’ले व्यक्तित्व निखार्नुका साथै सुन्दरता बढाउने दीपा बताउँछिन्। उनी भन्छन्, ‘‘नेल आर्ट रङ्ग, थिम, मौसम वा मुडअनुसार सजाउन सकिन्छ।’’

चक्रपथ चोकैमा रहेको ‘सुगर मामा नेल आर्ट’की सञ्चालक दीपा पनि नङमा मनमोहक कलाकृति कोर्दै आएकी छिन्। सानो र थोरै स्पेस हुने नङमा आकर्षक डिजाइन बनाएर सबैको ध्यान खिचिरहेकी छिन्।

उनको कलासीपबाट लाभ लिन सेलिब्रेटी मात्रै होइन सामान्य महिलासम्मको भीड लाग्ने गर्छ। दीपाको नेट आर्ट पार्लर ‘सुगर मामा नेल आर्ट’ चक्रपथ नारायणगोपल चोकको मेट्रो काठमाडौं हस्पिटलको पारीपट्टी छ।

उनको नेल आर्ट पार्लरमा नङ रङ्गाउन मात्र नभई सीप सिक्न समेत महिलाहरू आउने गर्छन्। यस क्षेत्रमा लागेर आत्मनिर्भर बन्न सकिने भएकाले पनि धेरैले नेल आर्टमा भविष्य खोजिरहेको उनको अनुभव छ। रहरै रहरले यो क्षेत्रमा होमिएकी दीपाको अहिले पेसा यही भइसकेको छ।

उनी आफ्नो पार्लरमा नङको सौन्दर्य बढाउन नेल एक्सटेन्सन तथा नेल आर्टका विभिन्न विधि उपलब्ध छन्। उनी भन्छिन्, ‘‘जेल नेल एक्सटेन्सन आकर्षक र नेचुरल देखिन्छ। फ्रेन्च नेल बनाउँदा नङ सफा देखिन्छ। फ्रेन्च नङलाई आकर्षक देखाउन नेल आर्ट गराउन सकिन्छ। यी बाहेक हामीकहाँ नेलका सबै किसिमका काम गरिन्छ।’’

विदेश जाँदा सजिलै काम

नयाँ पुस्ताले सौन्दर्यका लागि पनि आफूसँग नेल आर्ट सिक्न आइरहेका दीपा बताउँछिन्। उनी भन्छिन्, ‘‘नेल आर्ट एउटा कला हो । सिकेर पनि खेर जाँदैन । हामीकहाँ नेल आर्ट सिकेर विदेश जाने विद्यार्थी धेरै हुनुहुन्छ । कतिपयले नेपालमै पार्लर खोलेर बसेका छन् ।’’

उनको अनुसार नेल आर्ट महिलालाई सक्षम बनाउने महत्त्वपूर्ण सीप हो। नेल आर्ट सिकेर धेरैले नेपालमै व्यवसाय पनि गरेका छन्।

वैदेशिक रोजगारीमा जाने महिलाले नेल आर्ट सिकेर जाँदा सजिलै जागिर पाइने भएकाले यो सीपप्रति आकर्षण बढ्न थालेको दीपाको अनुभव छ।

दीपा भन्छिन्, ‘‘विदेशमा नेल आर्ट निकै चर्चित छ । यो सीप सिकेर गएपछि हात खाली बस्नुपर्दैन । काम गर्न होस् वा अध्ययनका लागि, यो पार्ट टाइम काम गर्न र तत्कालीन जागिर पाइन्छ । खाडी मुलुकदेखि युरोप अमेरिकामा पनि नेल आर्ट सिकेर गयो भने काम पाइन्छ भन्ने धेरैले सोच्न थालेका छन्।’’

भिडिओ-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved