काठमाडौं । प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हल पुग्दा भरिभराउ मान्छेहरू थिए । उनीहरू डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) नेता, कार्यकर्ता तथा समर्थित थिए । लाग्थ्यो, यो बाबुराम भट्टराईको पार्टीकै कार्यक्रम हो त ? यस्तो यो पङ्क्तिकारलाई मात्रै होइन, वरिष्ठ लेखक तथा अभियन्ता खगेन्द्र सङ्ग्रौलालाई पनि लागेको रहेछ । जुन कुरा उनले पछि बोल्ने क्रममा बताए र आफूलाई पनि हाँस उठ्यो ।
सङ्ग्रौलाले भने, “यहाँ आउँदा मान्छेहरू भरिभराउ रहेछन् । होइन, बाबुरामजीको पार्टी सकिएको होइन र भनेर भनेँ । युगले (लेखक तथा अभियन्ता युग पाठक) ले देशमा त तीन करोड मान्छे छन् नि दाइ भनेर भने ।” मञ्चमा बसिरहेका बाबुराम फिस्स हाँसे ।
कार्यक्रम थियो नेपाल समाजवादी पार्टीको स्थापना दिवस । तर, पार्टीले २०७३ जेठ ३० गते गठन भएको नयाँ शक्ति स्थापनाको दिनलाई नै पारेर स्थापना दिवस मनाएको हो । नयाँ शक्ति बाबुरामकै नेतृत्वमा गठन भएको थियो । जुन पछि समाजवादी पार्टी, जनता समाजवादी पार्टी हुँदै अहिले नेपाल समाजवादीका रूपमा छ ।
यहाँबाट बाबुरामले दिन चाहेको विम्बात्मक अर्थ ‘नयाँ शक्तिबाट जसरी अरु दलहरूसँग मिल्दै र फुट्दै आइयो, त्यो गल्ती थियो’ भन्ने हुँदो हो । जे भएपनि अब उनी नयाँ शक्ति तथा मोर्चालाई समेटेर नयाँ तरिकाबाट अगाडि बढ्न चाहन्छन् ।
त्यो उनले आजकै कार्यक्रममा पनि खुलेर भने । कार्यक्रममा पुराना दलका नेता बोलाइएनन् तर, नयाँ दलहरू छुटाइएनन् । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी, आम जनता पार्टी (आजपा), पहिचानवादी मोर्चाका संयोजक खगेन्द्र माखिम, विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटा, नागरिक पहिलो अभियानका अभियन्ता डम्बर खतिवडालगायत निम्त्याइएका थिए ।
सँगै बाबुरामका पुराना मित्र वरिष्ठ लेखक तथा अभियन्ता खगेन्द्र सङ्ग्रौला, लेखक युग पाठक, पूर्वाधारविद् डा. सूर्यराज आचार्यलगायत पनि उपस्थित थिए । तर, पुराना दलहरूकहाँ भने नेसपाको निम्तो पुगेन । एक हिसाबले नेसपाबाट पुराना दल ‘बाइपास’ मा परे । यो व्यवहारमा मात्रै होइन, राजनीतिक मुद्दा तथा विचारमा पनि कायम नै भएको सत्य हो । बाबुराम मौजुदा समकालीनभन्दा फरक मुद्दा र विचारको वकालत गर्छन् । त्यसैले उनले अक्सर भन्ने गर्छन् कि ‘म पुरानो शरीरभित्रको नयाँ आत्मा हुँ’ ।
पुराना दलहरूलाई किन निम्तो दिइएन भन्ने जिज्ञासामा नेसपा प्रवक्ता कृष्ण शर्माले ठट्यौली जवाफ दिए, “उनीहरूलाई बोलाइयो भने त बर्बाद भइहाल्छ नि !” त्यसो त बाबुरामको निष्कर्ष पुरानै हो कि— पुराना तथा परम्परागत दलबाट पार लाग्दैन ।
अत: बाबुराम नयाँ शक्ति, मोर्चा र दलहरूलाई सँगै लिएर नयाँ तरिकाबाट हिँड्न चाहन्छन्, जुन जनताको पक्षमा होस् । उनले आजको कार्यक्रममा पनि त्यही बोले । पुराना तथा परम्परागत दलहरूबाट पार नलाग्ने जिकिर वर्षौँदेखि गर्दै आएका उनले भने नयाँ तथा वैकल्पिक शक्तिको एकतामा जोड दिए ।
कार्यक्रम अलिक फरक ढङ्गले गरिएको थियो । मञ्च खाली थियो, ठूलो ब्यानर मात्रै मञ्चमा देखिन्थ्यो । बाबुराम भट्टराईदेखि सबै अतिथिहरू तल सँगै बसेका थिए । कार्यक्रम सञ्चालन गरिरहेका प्रवक्ता शर्मा भन्दै थिए, “हामी सबै बराबरी हौँ । हामी सबै एउटै तहका हौँ । हामी कम बोल्ने तर, बढी गर्ने भनेर लागेका छौँ । त्यसमा तपाईंहरूको साथ चाहिन्छ ।”
त्यसमा आज उपस्थित नयाँ दलले साथ देलान्/नदेलान्, त्यो कालक्रममा देखिएला । तर, बाबुराम ठम्याउँछन् कि अब पुराना दलबाट अब पार लाग्दैन, नयाँहरूसँग मिलेर अगाडि बढ्नुपर्छ । सञ्चालक प्रवक्ता शर्माले आजको कार्यक्रमलाई त्यसकै आह्वानका रूपमा अर्थ्याए ।
उसो त कार्यक्रममा शुभकामना भन्न उपस्थित नयाँ दलका नेताले पनि समर्थन नै जनाए । त्यो कुन प्रकारको समर्थन हो, पछि देखिएला ।
पहिचानवादी मोर्चाका नेता खगेन्द्र माखिमले अब नयाँ शक्तिहरूमार्फत सिंहदरबारले गरेको एकतर्फी पुनर्व्याख्यालाई पुनर्परिभाषित गरेर अगाडि बढ्नुपर्ने बताए । त्यसका लागि एकता भरपर्दो माध्यम भएको उल्लेख गर्दै उनले बहस गर्न सकिने बताए ।
नागरिक पहिलो अभियानका अभियन्ता डम्बर खतिवडाले वर्तमान प्रारूपबाट मुलुक नबन्ने ठोकुवा गर्दै नयाँ तथा वैकल्पिक शक्तिहरू त्यसमा कहाँनेर चुके भन्नेबारे गम्भीर बहस र समीक्षा हुनुपर्ने बताए ।
उनले प्रश्न गरे, “नयाँ-नयाँ, वैकल्पिक-वैकल्पिक भन्दाभन्दै हामी पनि मूलधार त भएनौँ ?” यसमा गम्भीर समीक्षा गरेर नागरिकको तहबाट उठ्नुपर्ने र त्यसका लागि संवाद जारी रहनुपर्ने आवश्यकता उनले औँल्याए ।
विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले वैकल्पिक राजनीतिका ‘स्टेरिङ’ समातेका नेताहरू गलत हुँदा गन्तव्यविहीन हुन सकिनेबारे सचेत गराइन् । त्यसो त विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पद नै छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रोजेका थिए, उनले त्यही दृष्टान्त सुनाउँदै यस्तो सचेत गराएकी हुन् ।
तर, उनले बाबुरामलाई स्थायी रूपमा स्टेरिङ समातेको ‘ड्राइभर’ को संज्ञा दिइन् र त्यसमा नेसपाका नेता/कार्यकर्ताले गर्व गर्नुपर्ने बताइन् । उनको सङ्केत थियो कि वैकल्पिक शक्तिका बीचमा एकता र सहकार्य अझ अगाडि बढेर एकता नै पनि जरुरी छ । जसै विवेकशील साझा पार्टी वैकल्पिक र सुसंस्कृत राजनीतिको हिमायती दल हो ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साह बाबुरामप्रति अलिक कडा देखिए । र, त्यो स्वाभाविक पनि लाग्थ्यो । भलै अहिले उनीहरू सँगै छैनन् तर, विगतमा उनीहरू एउटै मोर्चा/पार्टीमा सक्रिय थिए ।
प्रभु ३ वर्षअगाडिसम्म नेकपा (माओवादी केन्द्र) मा नै रहे भने बाबुरामले अलिक अगाडि नै पार्टी परित्याग गरे । त्यसबेला साहलगायतका नेताहरूलाई लागेकै थियो कि बाबुराम मुद्दा र आन्दोलनलाई बीचैमा छाडेर हिँडे । कार्यक्रममा काफी सम्मानका साथ बाबुरामलाई उनको गुनासो थियो, “कमजोरीलाई स्वीकार्दै जानुपर्छ, तपाईंले पनि स्वीकार्नुस् । जे प्राप्त भएको छ, त्यसमा नै टेकेर जाने हो ।”
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी भने बढी मञ्चमा उपस्थित उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेकेन्द्रित भए । टीकापुर घटनापछि साढे ८ वर्ष कारबास जीवन बिताएका उनलाई राज्यसँग धेरै गुनासो गर्नु थियो, आक्रोश पोख्नु थियो । नेसपाको मञ्च उनले यसकै लागि उपयोग गरे । उनले गृहमन्त्री लामिछानेसँग धेरै गुनासो र आक्रोश पोखे ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पनि आक्रोश देखाउन भ्याए । आफ्नो पार्टीभित्रको आन्तरिक सवालमा प्रधानमन्त्रीले हस्तक्षेप गरेको भन्दै उनले ‘फुर्सदिला प्रधानमन्त्रीलाई म्युजिक भिडिओ खेलाउँछु’समेत भन्न भ्याए ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउत बाबुराम भट्टराईलाई आदर्श व्यक्ति/नेता मान्छन् । आफू सानो छँदैदेखि बाबुरामको अनुयायी भएको उनी बताउने गर्छन् । आजको कार्यक्रममा पनि त्यही बताए ।
सँगैमा उनले नेसपाको ‘५ स’ स्वाधीनता, समावेशी, सहभागितामूलक लोकतन्त्र, सुशासन र समुन्नत समाजवादमा सहमति जनाए । देश विकासका निम्ति नयाँ दल/शक्तिहरू मिल्नुको विकल्प नभएको भनाइ राउतको थियो ।
उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाबुरामका तारिफमा केही शब्द खर्चिए । आफूले बाबुराममा दुईवटा व्यक्तित्व देख्ने गरेको बताउँदै नयाँ दलहरूलाई एकजुट बनाएर लगे राम्रै हुने ‘चपाइएको’ प्रतिक्रिया दिए ।
तर, प्रतिशोधको भावनाले कहीँ नपुगिने बताए । त्यसो त रास्वपासँग स्पष्ट विचार नभएको बताउनेमध्ये पर्छन् बाबुराम । सायद रविले त्यही असन्तुष्टि पोख्दै थिए मञ्च उक्लिएर । उनको जिकिर थियो कि जनताको सेवा गर्नु कुनै निश्चित विचार चाहिँदैन । जुन लाइन रास्वपाका नेता/कार्यकर्ताहरूले दोहोर्याउँछन् । रवि पनि उनका नेता न परे, दोहोर्याए ।
पछि जवाफमा बाबुरामले सही किसिमको राजनीतिका लागि विचार अनिवार्य नै भएको बताए । जहाँ लामिछानेले हाँसेरै जिते ।
अक्सर बाबुराम भनिरहन्छन् कि वैकल्पिक नै अबको निकास हो । यो निष्कर्षमा उनी निकै पहिले नै पुगेका हुन्, सम्भवत: बित्यो होला दशक । तर, अहिलेसम्म उनको समय र जीवन टुटफुट र विभाजनमा नै बितेको देखिन्छ । नयाँ शक्ति गठन गर्दैगर्दा शुभकामना दिन खुलामञ्च पुगेका स्व. नेता प्रदीप गिरीले बाबुरामलाई भनेका थिए, “तपाईंले भनेझैँ हुनका लागि तपाईंले कम्तिमा दुई दशक लड्नुपर्छ ।”
यदि नेता गिरीले भनेको सही हो भने बाबुरामले लड्नु अझै एक दशक बाँकी छँदैछ । तर, बाबुरामको अबको ‘लडाइ’ गएको एक दशकको भन्दा फरक हुनुपर्छ । उनी कसरी लड्छन्, त्यो हेर्नैछ । यति कुरा; बाबुराम मौजुदा समकालीनमध्ये फरक नेता भने पक्कै हुन् । त्यो विचार वा मुद्दाको हिसाबले होस् या अरु नै केही । उनी अहिलेसम्म भएका आन्दोलन, संविधान र राम्रा संयन्त्रहरूलाई अक्षुण्ण राखेर केही नयाँ गर्न चाहन्छन्, जसले सिर्फ जनताको सेवा गरोस्, पीडितको सेवा गरोस् । बाबुराम त्यसका लागि साथ, समर्थन र मद्दत खोजिरहेका छन्, गुहार मागिरहेका छन् ।
त्यसकै निम्ति बहस गर्ने प्रयास्वरूप आजको कार्यक्रमलाई लिएको उनले बताए । जुन कुरा उनले कार्यक्रम समापनपूर्व भने पनि ।
०००
पुराना दलहरूलाई ‘बाइपास’ गरेर नयाँ दल, मोर्चा र शक्तिहरूलाई मात्रै बोलाउनुको एउटा मक्सद हुँदो हो— नयाँ तरिकाले नयैँ दलहरूसँग मात्रै अघि बढ्न सकिन्छ । फेरि त्यो हो पनि । पुराना दलहरू नयाँ तरिकाले जान तयार देखिँदैनन् । बाबुरामले त्यसको प्रयोग गरिसकेका हुन् ।
तर, त्यसमा नयाँ दल तथा शक्तिहरू कति सहज र सकारात्मक छन् ? भलै सँगै सार्वजनिक मञ्चमा हुँदा उनीहरू एकताका लागि तयार भएको, मिलेर वैकल्पिक धार निर्माण गर्न तयार भएको बताउलान् तर, वास्तविकतामा ? तयार नहुन सक्छन् । किन ? त्यसका दर्जनौँ कारणहरू होलान्, त्यसमध्ये एउटा हो शक्ति/सत्ताको उन्माद !
प्रकारान्तरले उनीहरू तयार होलान् तर, अहिल्यै भने तयार देखिँदैनन् । रास्वपा शक्तिको उन्मादमा छ । सङ्घीय संसद्मा २१ सिट भएको रास्वपा अहिल्यै कुनै दल वा मोर्चासँग एकता गरिहाल्ने मनस्थितिमा छैन । जुन कुरा सभापति लामिछानेले आजकै कार्यक्रममा पनि बोले । “अहिल्यै सँगै नउभिऔँ । कम्तिमा १० वर्ष एक्लाएक्लै उभिएर हेरौँ । इमान्दारिताका साथ काम गरौँ,” उनले भने ।
उसो त उनको दल रास्वपा पछिल्लो संसदीय निर्वाचनमा मात्रै ह्वात्तै आएको हो । ठीक त्यसको पाँच महिनाअगाडि मात्रै उसको जन्म भएको थियो । त्यसैले लामिछाने अहिल्यै कुनै दल वा मोर्चासँग सँगै उभिने पक्षमा पुग्दैनन् र त्यो स्वाभाविक पनि हो । पहिलो उपनिर्वाचनमा दुई स्थान जितेपछि अझ हौसिएको रास्वपा दोस्रो उपनिर्वाचनमा नमज्जाले पछारिएको हो तर, त्यसलाई लामिछानेले सहजै पचाएका छन् ।
यता सीके राउतको जनमत र रेशम चौधरीको नागरिक उन्मुक्ति कम्तिमा अर्को आवधिक निर्वाचनसम्म आफूले आफैँलाई परीक्षण गर्न चाहन्छन् । संसदीय-भोगमा रमाइरहेका उनीहरूलाई अहिल्यै त्यो महसुस नभएको हुँदो हो ।
यता समीक्षा बाँस्कोटाको विवेकशील साझा, प्रभु साहको आम जनता, खगेन्द्र माखिमको पहिचानवादी मोर्चालगायतका पनि आ-आफ्नै मुद्दा छन् । कतिपय मिल्दोजुल्दै मुद्दा पनि छन् तर, यिनीहरूको आ-आफ्नै बाटा र स्वार्थ छन् ।
खैर, नयाँ दलहरूका बीचमा कस्तोखाले सहकार्य, समझदारी र एकता हुन्छ हेर्नैपर्छ । मूलधारको राजनीतिले अविश्वासै-अविश्वास पैदा भइरहेको र विकराल अवस्था आइरहेको बेलामा वैकल्पिक राजनीति र बाटाका बारेमा छलफल, बहस र समीक्षा हुन जरुरी छँदैछ । अन्यथा यो पनि ‘हात्ती आयो हात्ती आयो, फुस्स’ हुनसक्छ । जे होस्, मुलुकमा वैकल्पिक शक्तिको आवश्यकता छ तर, ‘वैकल्पिक-वैकल्पिक भन्दाभन्दै मूलधार’ हुने छुट भने छैन ।
Facebook Comment
Comment