के.भी. राजन सन् १९९५ मार्चदेखि सन् २००० जुनसम्म नेपालका लागि भारतीय राजदूत थिए । अप्रिलमा उनले अतुलकुमार ठाकुरसँग मिलेर एक किताब प्रकाशित गरेका छन्— काठमाडौं क्रोनिकल : रिक्लेमिङ इन्डिया-नेपाल रिलेसन्स (‘Kathmandu Chronicle : Reclaiming India-Nepal Relations)।
त्यो समयको नेपाल ‘संवैधानिक राजतन्त्र’ र ‘संसदीय बहुदलीय प्रजातन्त्र’ को युगमा थियो । टनकपुर बाँध तथा एकीकृत महाकाली सन्धिजस्ता सवाल नेपाल-भारत सम्बन्धका जटिल र पेचिला कडी बनेका थिए । भारतलाई ‘विस्तारवाद’ भन्ने कम्युनिष्ट समूहहरू मूलधारको राजनीतिमै बलियो हुँदै गइरहेका थिए ।
देशका मुख्य नेताहरू थिए— गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी आदि । के.भी. राजनले पुस्तकमा यी नेतासँगको भेटवार्ता र नेपाल-भारत सम्बन्धबारे उनीहरूको दृष्टिकोणलाई समेटेका छन् ।
प्रस्तुत छ, त्यो बेलाका नेपाली नेताहरूसँग सम्बिन्धत पुस्तकको एक सानो अंश ।
नेपालका राजनीतिक अग्रजहरू— गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापासँगको मेरो परामर्शले नेपालको अशान्त राजनीति र भारतसँगको सम्बन्धमा नयाँ अन्तर्दृष्टि दिएको छ ।
उनीहरूमार्फत नेपालको दशकौं लामो ऐतिहासिक परिप्रेक्ष्य र समय बोल्थ्यो । तिनीहरूका राजनीतिक तथा व्यक्तिगत मतभेदका बाबजुद ती नेपालको हितका लागि बलियो नेपाल-भारत सम्बन्धको महत्त्वबारे एक मत थिए ।
गणेशमान सिंह सम्भवत: नेपालको सबैभन्दा अग्लो राजनीतिक व्यक्तित्व हुन् । प्रजातन्त्र पक्षधर आन्दोलनको क्रममा राजतन्त्र विरोधी साहसिक नेतृत्वका लागि उनी सम्मानित थिए ।
उनले सन् १९९० को बन्न लागेको पहिलो प्रजातान्त्रिक सरकारको प्रधानमन्त्री पद अस्वीकार गरेका थिए । यसबाट भारतले नेपालको आन्तरिक मामिला चलाउने प्रलोभनको प्रतिरोध भएमा नेपालको लोकतन्त्र सुदृढ हुन सक्दछ भन्ने लागेको थियो ।
नेपाली धारणामा सीपीएन सिंहकै पालादेखि भारतीय राजदूतहरूले निर्लज्ज हस्तक्षेपकारी भूमिका गरेका हुन् । त्यसबाट भएको क्षतिका एकदमै प्रष्ट सन्दर्भ उनीसँग थिए । सिंह भारतले आफूलाई मन पर्ने नेपाली राजनीतिक खेलाडीको पक्ष लिने गरेको ठान्थे ।
उनीसँग ती वर्षमा कोइरालालाई भारतले देखाएको पक्षपोषणको कथित र अस्पष्ट सन्दर्भ थियो । उनको स्वास्थ्य निकै कमजोर थियो । उनी मुश्किलले सुन्न सकिने स्वरमा बोल्थे ।
मैले सिंहले भारतका विगत नीतिमा भएका केही विकृतिप्रति आपत्तिका बाबजुद नेपालको कमजोर लोकतन्त्रलाई सुदृढीकरण र संरक्षण गर्न भारतको सक्रिय संलग्नता चाहेको पाएँ ।
एमालेका खराट प्रधानमन्त्री मनमोहन अधिकारीलाई मैले पहिलो भेटमै भारतप्रति आश्चर्यजनक ढङ्गले शान्त र सकारात्मक पाएँ । उनले कोइरालाको पक्षपोषण गरेको भन्दै मेरा पूर्ववर्ती राजदूतप्रति गरेको आलोचनालाई नसुन्न भने । तिनलाई ‘असल मान्छे’ भन्दै प्रशंसा गरे ।
उनले चुनावका बेला हुने भारत विरोधी वयानबाजीलाई महत्त्व नदिन पनि भने । र, उनले मलाई यो भने कि उनको पार्टी भारतसँग ‘विशेष सम्बन्ध’ बनाउन सहमत नभए पनि ‘बलियो सम्बन्ध’ बनाउन प्रतिबद्ध छ ।
उनले सन् १९५० को शान्ति तथा मैत्री सन्धिप्रतिको आफ्नो चिन्तालाई छोड्नसमेत भने । उनले भने, “महामहिम, मैत्री सन्धिहरू रद्द गर्न सकिँदैन ।” उनी तिनको ‘पुनरावलोकन’ गर्न चाहन्थे । अन्त्यमा उनले मलाई यो सुझाव दिए कि केही ‘पूर्णविराम तथा अल्पविरामहरू’ परिवर्तन गर्दा दुवै देश खुसी हुनेछन् । नि:सन्देह यी कुरा दिल्लीको कानका लागि सङ्गीत थियो ।
गिरिजाप्रसाद कोइराला भारतसँग गहिरो र इमान्दार सम्बन्ध चाहन्थे तर, उनी कुनै पनि कुराको विस्तृत विवरण खोज्ने मानिस भने थिएनन् । उनी नेपालको सन्दर्भमा मूल प्रजातन्त्रवादीमध्ये थिए तर, उनको पार्टी चलाउने आफ्नै विचार थियो ।
आन्तरिक राजनीतिको बाध्यताका कारणले भारत विरोधी बयानबाजी गर्ने नेपाली राजनीतिज्ञलाई सिधै खारेज गर्ने उनी सर्वोच्च रणनीतिकार थिए ।
त्यो बेलाको भारत विरोधी बयानबाजी काठमाडौं उपत्यकाको अभिजात वर्गमा मात्र सीमित थियो । भारतले यसबाट पर्न सक्ने सुरक्षा प्रभावबारे चिन्ता लिन आवश्यक थिएन ।
कोइराला सन् १९८९ मा नेपाल भारत सम्बन्ध विशेष कठिनाइबाट गुज्रिरहेको बेला आफूले व्यक्तिगत रूपमा व्यवहार गरेको भारतप्रतिको नेपाली दृष्टिकोणको उल्लेख गर्थे । उनी भारतसँग ‘गम्भीर सामना’ लाई अधिकांशतः अस्वीकार गर्थे ।
उनी ठान्थे कि त्यसो भए नेपालको ग्रामीण क्षेत्रमा समृद्धि टापु बनेको १ लाख ३० हजार भूतपुर्व भारतीय सेनाले नेपाली जनताको हितको मूल्यमा सम्बन्ध बिगार्न चाहने तत्त्वसँग प्रतिरोध गर्न तयार हुनेछन् ।
उनी एक मात्र त्यस्तो नेपाली नेता थिए, जो आफ्नै साथी र सहकर्मीलाई नचाहिँदो कुरामा हकार्ने क्षमता र उचाई राख्थे । उनको अन्तर्हृदयले आवश्यक ठान्यो भने आफ्नै साथीलाई गाली वा आलोचना गर्न सक्थे, त्यो पनि सार्वजनिक रूपमा ।
यही गुणले उनलाई माओवादी विद्रोहको अन्त्य गरी मूलधारमा ल्याउने इतिहासको किताबमा स्थान बनाउन सक्षम हुने दिन आयो ।
नेपालका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले भने मलाई जीवनप्रति भ्रामक र व्यर्थका हाँस्य मनोवृत्ति भएका दार्शनिक राजनीतिज्ञको छाप पारे । उनमा बेलायतको सक्रिय मार्गदर्शनमा राणा र राजतन्त्रले दशकौं ‘ब्रेन वास’ गरेर नेपाली जनतामा भारतप्रति आक्रामक राष्ट्रवादी मानसिकता सृजना गरेको बुझाइ थियो ।
यसलाई चिर्न भारततर्फबाट दशकौं लामो धैर्य, पारदर्शी कूटनीति र जनता-जनता स्तरको सम्पर्क आवश्यक छ भन्ने उनको धारणा थियो ।
भट्टराईले एक दिन मलाई राणा शासनकालमा ‘इन्डिया हाउस’ को बार्दलीमा बिताएका हिउँदका दिनको रमाइलो कथा सुनाए ।
उनको कथामा उनी र भारतीय राजदूतबीच यति लामो छलफल भएको थियो कि ब्रान्डीको पूरै बोतल समाप्त भयो । बारम्बार सहयोगी कर्मचारी आएर भेटघाट समाप्त गर्न सङ्केत गरेका थिए । तर, भट्टराईले कुरा नबुझेको झोकमा राजदूत पत्नी आफैँ आएर पति र उनलाई मराठीमा गाली गरेकी थिइन् । राजदूतले पनि मराठीमै आफू दोषी नभएको बरु भट्टराईको अनन्त वार्तालाप गर्ने र धेरै पिउने बानीले यस्तो भएको स्पष्टीकरण दिएका थिए ।
जब भट्टराई राजदूत पति-पत्नीबीचको यो झगडाको साक्षी बने, शान्त भावमा म्याडम किन आक्रोशित हुनुभएको हो भनेर कारण सोधे । राजदूतले भान्छाको झन्झटले भनेर कुरा टारे । अन्ततः भट्टराई उठे, टुटेफुटेको मराठीमै बिदा मागे । साइकल चढ्नुअघि राजदूत दम्पतीको अनुहारमा स्तब्धता र लज्जाभाव हेर्दै मुस्कुराए ।
गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा र नेपाल सद्भावना पार्टीका मधेसी नेता गजेन्द्रनारायण सिंहलगायत नेपालमा वास्तविक खतरा राजतन्त्रबाट हैन, बढ्दो उग्र क्रान्तिकारी वामपन्थी शक्तिबाट भएको महसुस गर्थे ।
उनीहरू नेकपा (एमाले) को अल्पमत सरकार ‘लोकतान्त्रिक’ र ‘सच्चा मित्रवत्’ नभइ अल्पकालीन भएको हुँदा भारतले त्यसलाई त्यति धेरै गम्भीरतापूर्वक लिने छैन भन्ने आशा गर्थे ।
सन् १९९७ अगष्ट १५, मैले इन्डिया हाउसमा एक विशाल स्वतन्त्रता दिवस स्वागत समारोह आयोजना गरेँ । राजपरिवार, पूरै मन्त्रिपरिषद्, पूर्वप्रधानमन्त्रीहरू, नागरिक समाजका उच्च वर्गको उपस्थिति थियो ।
नेपाल-भारत मित्रताको एक वास्तविक उत्सव बनाउने मूडमा मैले यो समारोह आयोजना गरेको थिएँ । त्यो क्षण मैले तत्कालिन राजारानी, सबै पूर्व र वर्तमान नेपाली नेताहरू, मेरी पत्नी र म आफैँसमेत भएको फोटो अवसरका लागि भेला हुन अनुरोध गर्ने विचार गरेँ । यस्तो फोटो संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रका लागि भारतीय समर्थनमा निर्मित द्विपक्षीय सम्बन्धको दाबी हुनेछ भन्ने लाग्यो ।
राजा वीरेन्द्रले सहजै स्वीकार गरे तर, भर्खरै दर्केको मुसलधारे पानीले रानीको सारी भिजेको हुनाले उनलाई भिन्नै अनुरोध गर्नपर्छ भनेर मसँग कानेखुसी गरे । तर, रानी पनि अरु सबै नेताजस्तै उत्साहपूर्वक सहमत भइन् ।
फोटो इन्डिया हाउसको शाही पाल बाहिरपट्टीको बार्दलीमा खिचियो । प्रत्येक समाचार पत्रको पहिलो पेजको सामग्री बन्यो । यसबारे भोलिपल्टै धेरै सकारागत्मक टिप्पणी प्राप्त भए ।
त्यो बेला नेपालमा संवैधानिक राजतन्त्र र बहुदलीय लोकतन्त्रलाई समर्थन गर्ने भारतको दुई स्तम्भ रणनीतिले राम्रो काम गरिरहेको थियो र, फोटोले त्यही दर्शाउँथ्यो ।
Facebook Comment
Comment