गणतन्त्र दिवसमा बिर्सनै नमिल्ने एक नाम : रामराजाप्रसाद सिंह

२०४२ सालको सिंहदरबार बमकाण्ड यही समूहले गरेको थियो । जसमा एक तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य डम्बरसिंह गुरुङको मृत्यु भएको थियो । तत्कालीन राजनीतिक परिवेशमा यो धेरै ठूलो साहसी र जोखिमपूर्ण घटना थियो ।

नेपालभ्युज

गणतन्त्र दिवसमा बिर्सनै नमिल्ने एक नाम : रामराजाप्रसाद सिंह

काठमाडौं । मुलुकमा आज गणतन्त्र छ । गणतन्त्रका लागि धेरैले बलिदान र योगदान गरेका थिए । तीमध्ये एक यस्तो व्यक्ति पनि थिए, जसको गणतन्त्रप्रतिको निष्ठा र सङ्घर्ष अद्धितीय थियो । उनले गणतन्त्रका लागि मूलधारको राजनीतिभन्दा बाहिर बसेर आफ्नै प्रकारको समानान्तर सङ्घर्ष गरे । ती व्यक्तित्व थिए, रामराजाप्रसाद सिंह ।

सिंह त्यो बेला पनि गणतन्त्रवादी थिए, जतिखेर कांग्रेस-कम्युनिष्टजस्ता मूलधार राजनीतिक दल ‘संवैधानिक राजतन्त्र’ मा विश्वास गर्थे । गणतन्त्र उनीहरूको राजनीतिक कार्यदिशा बनिसकेको थिएन ।

नेपाली कांग्रेस सिद्धान्ततः गणतन्त्रवादी पार्टी थिएन । बीपी कोइराला गणतन्त्रवादी नेता थिएनन् । पक्कै बहुदलीय लोकतन्त्रको सङ्घर्षमा कांग्रेस र बीपी कोइरालाको ठूलो योगदान रह्यो । तर, कोइराला सधै ‘संवैधानिक राजतन्त्र’ को पक्षमा थिए । उनले राजतन्त्र बिनाको नेपालको कल्पना कहिल्यै गरेनन् ।

राजा ज्ञानेन्द्रको २०६१ माघ १९ गतेको ‘कू’पछि मात्र कांग्रेसले गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गणतन्त्रवादी लाइन लियो । कांग्रेसका मूल नेताहरू बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको जीवन संवैधानिक राजतन्त्रवादी लाइनमै बितेको थियो ।

कम्युनिष्टहरू सिद्धान्ततः गणतन्त्रवादी थिए तर, कार्यनीतिक रूपमा अधिकांश कम्युनिष्ट नेताहरूले पनि संवैधानिक राजतन्त्र स्वीकार गरेका थिए ।

कम्युनिष्ट नेताहरूमध्ये डा.केशरजङ्ग रायमाझी त अन्ततः राजतन्त्रवादी नै भए । पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीलगायतले कार्यनीतिक रूपमा संवैधानिक राजतन्त्र स्वीकार गरेका थिए ।

कम्युनिष्ट आन्दोलनको एक महत्त्वपूर्ण धारा झापा आन्दोलनका नेताहरू आरके मैनाली र सीपी मैनालीले घोषित रूपमै संवैधानिक राजतन्त्रको लाइन थिए । आरके मैनाली त राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनमा मन्त्रिपरिषद्को सदस्य नै हुन गए ।

यहाँसम्म कि अहिलेका एमालेका अध्यक्ष केपी शर्मा ओली पनि प्रष्ट गणतन्त्रवादी थिएनन् । उनले जनान्दोन २०६२/०६३ ताका गणतन्त्र भनेको ‘बयलगाडा चडेर अमेरिका जानु’ जस्तै हो भनेका थिए । अहिले एमालेबाट छुट्टिएर एकीकृत समाजवादी बनाएका माधवकुमार नेपाल र झलनाथ खनालले पनि लामो समयसम्म संवैधानिक राजतन्त्र मानेर हिँडेका थिए ।

कम्युनिष्ट खेमामा प्रष्ट गणतन्त्रवादी धार माओवादी थियो । पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराई र मोहन वैद्य भने सधैँ गणतन्त्रवादी रहे । उनीहरूकै जोडबलमा कांग्रेस-एमाले संवैधानिक राजतन्त्रको नीति परित्याग गर्न बाध्य भएका थिए ।

यहाँसम्म कि माओवादी धारका गुरु नेता मोहनविक्रम सिंह र निर्मल लामा पनि राजतन्त्रविरुद्ध निर्णायक सङ्घर्ष गर्ने कुरामा अलमलमा पर्थे ।

निर्मल लामा २०४७ सालको संवैधानिक राजतन्त्रवादी संविधानका मस्यौदाकर्तामध्ये एक थिए भने मोहनविक्रम सिंह संविधान सभाको विरोध गर्थे । निर्मल लामा संविधान सुधार सुझाव आयोगको सदस्य हुनुलाई डा. बाबुराम भट्टराईले ‘लेनिनले जारको संविधान बनाइदिएको’ भन्दै तीव्र आलोचना गरेका थिए । माधवकुमार नेपाल र भरतमोहन अधिकारी पनि यो आयोगको सदस्य थिए, जसले संवैधानिक राजतन्त्रसहितको संविधान बनाएको र संसारकै उत्कृष्ट संविधान दाबी गरेको थियो ।

यी सबैसँग तुलना गर्दा जीवनभर कहिल्यै र कस्तै अवस्थामा पनि गणतन्त्रको अडान नछोड्ने देशका एक दुर्लभ नेता थिए, रामराजाप्रसाद सिंह ।

सिंहको पार्टीको नाम जनवादी मोर्चा, नेपाल थियो । उनको पार्टी ठूलो र शक्तिशाली भने हुन सकेन । तथापि यसले केही चर्चित नेता कार्यकर्ता भने जन्मायो । खेमराज मायालु, लक्ष्मणप्रसाद सिंह, राम कार्कीलगायत यही सङ्गठनका उत्पादन थिए । जनवादी मोर्चा गणतान्त्रिक आन्दोलनको निर्णायक नेतृत्व गर्ने दल त बन्न सकेन तर, गणतान्त्रिक चेतनाको दियो पनि कहिल्यै निभ्न दिएन ।

२०४२ सालको सिंहदरबार बमकाण्ड यही समूहले गरेको थियो । जसमा एक तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य डम्बरसिंह गुरुङको मृत्यु भएको थियो । तत्कालीन राजनीतिक परिवेशमा यो धेरै ठूलो साहसी र जोखिमपूर्ण घटना थियो ।

रामराजाप्रसाद सिंहको जन्म विसं १९९१ मा सप्तरीको कोइलाडी गाउँमा भएको थियो । यो गाउँ सीमा इलाकामा छ । रामराजाप्रसाद सिंहका हजुरबा दर्पनारायण सिंहको नेपाल-भारत दुवैतिर जिमिन्दारी थियो । तसर्थ, दुवैतिर राजनीतिक सम्पर्क र सामाजिक सम्बन्ध पनि थियो ।

भारतीय स्वतन्त्रता सङ्ग्रामका केही नेता कार्यकर्ता त्यो बेला नेपालको हनुमाननगर जेलमा थुनिएका थिए । राणाशासनले अङ्ग्रेजलाई खुसी पार्न लुकेर नेपालतिर बसेका योद्धालाई पक्रिएको थियो । तीमध्ये डा. राममनोहर लोहिया र जयप्रकाश नारायण पनि थिए ।

विसं २००० जेष्ठ ९ गते राति हनुमाननगर जेल विद्रोह भयो । स्थानीय जनताले जेलमाथि आक्रमण गरी कैदी मुक्त गराए । यो विद्रोहमा सिंह परिवारको संलग्नता थियो । तसर्थ, ९ वर्ष उमेरका रामराजप्रसाद सिंहले पिता जयमङ्गल सिंहसँगै करिब १६ महिना जेल बस्नुपरेको थियो ।

सिंह परिवारको सुनसरीतिरको कुशाहा मौजामा भारतीय स्वतन्त्रता सेनानीको तालिम केन्द्र थियो । डा. राममनोहर लोहिया, जयप्रकाश नारायण सिंह परिवारको घरमा आइरहन्थे । यसरी रामराजा प्रसाद सिंहको राजनीतिक चेतना बाल्यकालको परिवेशबाट प्रभावित हुँदै गएको थियो । सिंहको शिक्षादीक्षा भारततिरै भयो । उनले बनारस र दिल्ली विश्वविद्यालयमा पढेका थिए ।

रामराजाप्रसाद सिंहको जीवनमा चे गुभेरालाई भेट्ने दुर्लभ नेपालीको संयोग पनि छ । दिल्ली विश्वविद्यालयको विद्यार्थी हुँदा उनले बर्मा पुगेर क्युवाली क्रान्तिकारी योद्धा चे गुभेरालाई भेटेका थिए । सन् १९५९ को जुलाईमा ३ दिनका लागि चे गुभेरा रंगुन आएका थिए । क्युवाली क्रान्तिपछि फिदेल क्यास्त्रोले गुभेराको नेतृत्वमा एक प्रतिनिधिमण्डल बर्मासँग चीनको सौदाबाजी गर्न पठाएका थिए ।

त्यो अवसरमा क्लारा नामकी एक अन्तर्राष्ट्रिय कम्युनिष्ट कार्यकर्ताले दिल्ली विश्वविद्यालयका १३ विद्यार्थीलाई बर्माको एक टापुमा भेटाउन लगेकी थिइन् । त्यसमध्ये एक रामराजाप्रसाद सिंह पनि थिए । चे गुभाराले सिंहलाई क्रान्तिका लागि गुरिल्ला युद्ध सुरुवात गर्न सल्लाह दिएका थिए ।

एमएको शिक्षा पूरा गरेका सिंह २०२१ सालमा काठमाडौं आए । तत्कालीन पञ्चायती व्यवस्थाको नियममा राष्ट्रिय पञ्चायतमा स्नातक क्षेत्रबाट ४ जना निर्वाचित हुने प्रचलन थियो । २०२८ सालमा सिंहले चुनाव लडे र जिते । तर, उनको राजतन्त्र विरोधी गणतन्त्रवादी छविको कारण शपथ ग्रहण गराइएन, बरु उल्टै राष्ट्रिय पञ्चायतको बैठकबाटै पक्राउ गरी अढाइ वर्षको जेल सजाय सुनाइयो ।

तर, जनताको दबाब बढ्दै गएपछि राजा महेन्द्र उनलाई शपथ गराउन बाध्य भएका थिए । पद बाहलीपछि पनि सहज अवस्था बन्न सकेन । उनले ४ वर्ष ६ महिना काठमाडौंको नख्खु जेलमा बिताउन पर्‍यो ।

जेलबाट छुटेपछि उनी भारत निर्वासनमा बस्न थालेका थिए । त्यही अवधिमा २०४२ सालको सिंहदरबार बमकाण्ड भयो । उनलाई सर्वस्वहरण र मृत्युदण्डको फैसला सुनाइयो ।

पञ्चायती व्यवस्थाको अन्त्यपछि भने सिंह सार्वजनिक जीवनमा आए । उनीमाथिको मृत्युदण्ड र सर्वस्वहरण खारेज भयो । उनले आफ्नो पार्टीलाई खुला गरेर चुनावमा होमे तर, उनको पार्टी ठूलो र शक्तिशाली भने भएन । देशमा कांग्रेस-एमाले दुई बलिया पार्टी भइसकेका थिए । २०४७ सालको संवैधानिक राजतन्त्रवादी संविधानप्रति ती अधिकांशको प्रतिबद्धता थियो ।

यो अवधिमा पनि रामराजाप्रसाद सिंह गणतन्त्रको कुरा गर्थे । गणतन्त्रप्रति सैद्धान्तिक अडान राख्थे । २०६५ साल जेष्ठ १५ गते देशमा गणतन्त्र स्थापना भयो ।

माओवादीले रामराजाप्रसाद सिंहलाई पहिलो राष्ट्रपतिको उम्मेदवार बनायो । यो माओवादीले उनको गणतन्त्रवादी छविप्रति देखाएको एक प्रकारको सम्मान थियो । तर, उनले जितेनन् । पहिलो राष्ट्रपति हुने अवसर भने डा. रामवरण यादवलाई मिल्यो । विसं २०६९ साल भाद्र २७ गते उनको निधन भयो ।

रामराजाप्रसाद सिंह गणतन्त्रका लागि जीवनभर नैतिक प्रतिरोध गर्ने एक दुर्लभ राजनीतिक व्यक्तित्व थिए, जसलाई गणतन्त्र नेपालले कहिल्यै बिर्सन सक्ने छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved