भारतको सहयोगमा निर्माण गरिने छात्रावास भवनको शिलान्यास

नेपालभ्युज

भारतको सहयोगमा निर्माण गरिने छात्रावास भवनको शिलान्यास

काठमाडौं ।   प्यूठानको ऐरावती गाउँपालिका–१ स्थित श्री दाङ–बाङ माध्यमिक विद्यालयका लागि निर्माण गरिने छात्रावास भवनको  शिलान्यास गरिएको छ ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको  ३३ करोड  ९२ लाख आर्थिक सहयोगमा सो परियोजनाको निर्माण गरिने भारतीय राजदूतावासले जनाएको छ । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय एवम् छात्रावास भवनको निर्माणमा उपयोग गरिने बताइएको छ ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको दूतावासद्वारा जारी विज्ञप्ति उल्लेख छ । यस परियोजनाको कार्यान्वयन ऐरावती गाउँपालिका, प्यूठानमार्फत गरिनेछ । यसलाई भारत र नेपालबीचको बलियो विकास साझेदारीको एउटा महत्वपूर्ण उदाहरणको रुपमा हेरिएको छ ।

कार्यक्रमका वक्ताहरुले  भारत सरकारले पुर्‍याउँदै  आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे । प्यूठानको ऐरावती गाउँपालिकास्थित श्री दाङ–बाङ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा र आवास सुविधा प्रदान गर्न विद्यालयको नयाँ विद्यालय एवम् छात्रावास भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने दूतावासको विस्वास रहेको छ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको बताइएको छ ।  यी मध्ये प्यूठानका २ वटा परियोजनासहित लुम्बिनी प्रदेशमा विभिन्न क्षेत्रमा ६१ वटा परियोजना रहेको विज्ञप्तिमा जनाइएको छ  । यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको जनाएको छ । त्यसमध्ये प्यूठानलाई प्रदान गरिएको १० वटा एम्बुलेन्ससहित लुम्बिनी प्रदेशलाई १६४ वटा एम्बुलेन्स र ४३ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको विज्ञप्तिमा बताइएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved