पुरस्कार विजेता ‘मृत शरीर’

पुरस्कार विजेता ‘मृत शरीर’

काठमाडौं । धूपको धुवाँ उडिरहेको छ । सिरसिर चलिरहेको बतासले भित्तामा टाँगिएका सेता खादा उडाइरहेको छ । भूइँमा ओछ्याइएको सानो कपडामाथि बहुमूल्य धातु, पैसाका बिटा र घरजग्गाका पुर्जाहरू राखिएका छन् । र छेउमै छ चिता । चितामाथि सेतो कपडा र कपडामाथि एक युवकको शव छ । चिताभित्र सानो आगो बलिरहेको छ ।

वातावरण एकदमै अत्यासलाग्दो र भयग्रस्त प्रतीत हुन्छ ।

छेउमै एक युवक मोबाइलमा घोरिइरहेका छन् । मानौं, त्यो शवप्रति उनको गहिरो आत्मियता छ । दागबत्ति दिइएकाले उनी शोकमा छन् । वियोग खेप्न अभिशप्त छन् ।

तर यहाँ जे वर्णन भइरहेको छ, त्यो दृश्य पशुपति आर्यघाटको होइन । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा जारी राष्ट्रिय ललितकला प्रदर्शनी, २०८१ को प्रदर्शनीस्थलको हो । मोबाइल चलाउने युवक हुन्, तासी शेर्पा सलाका । र त्यो धूप, चिता, शव सहितको वातावरण उनको कला हो ।

तासीको यो ‘मृत शरीर’ राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ मा प्रथम भएको छ ।

कसरी बनाए उनले मृत शरीर ?
‘म पहिला निकै झगडालु थिएँ । अलिकति केही भयो कि झगडा गर्न कुदिहाल्थेँ । फेरि साथीहरूले पनि उक्साउनुहुन्थ्यो, तर पछि बुझेँ । झगडा गर्नु एक अर्कामा रिस इर्ष्या राख्नु मुर्खता रहेछ । यो कुरा मैले महसुस गरेँ । त्यसैले यो कन्सेप्ट फुर्‍यो ।’

एकै सासमा मूल विषय भन्न भ्याए तासीले । त्यसपछि पुरक विषय भन्नतिर लागे ।

‘सानैबाट मलाई केही न केही खत्रै गरौँ भन्ने लाग्थ्यो । कलेजमा मेरो एक जना सर हुनुहुन्छ, भुवन थापा, उहाँले मलाई सधैँ भन्नुहुन्थ्यो, तिमीले यस्तो काम गर्नुपर्छ कि तिम्रो नाम हरेक पत्रिकामा आओस् ।’

भुवन सरका भनाइले तासीलाई एउटा छुट्टै खालको तागत दिन्थ्यो । त्यही तागत उनले ‘मृत शरीर’ बनाउँदा पनि खर्चिएका छन् ।

कला मात्रै होइन, जीवन्त कला बनाउन चाहन्छन् तासी । आफैं सिलिकन सम्बन्धी काम गरिरहेको भएकाले यसैबाट केही बनाउने सोच उनमा आयो । त्यसपछि उनले एउटा मोडल हायर गरे, तर सिलिकन आर्टको माध्यमबाट नक्कल उतारे ।

मरी लानु के छ र ?
यो कलालाई उनले शीर्षक दिएका छन्- ‘मरी लानु के छ र ?’

शव बनाएका तासी भन्छन्, ‘मान्छेले जत्ति नै रिस, डाहा, लोभ गरे पनि मरेर जाँदा केही लान सकिँदैन । यो धन, सम्पत्ति कमाउनका लागि हामी कत्तिसम्म मरिहत्ते गर्छौँ तर अन्त्यमा जाने खाली हात नै हो ।’

सोही कुराको सन्देश दिनका लागि आफूले यो कलाकारिता गरेको उनी सुनाउँछन् ।

‘मृत शरीर’ बनाए मात्रै पनि उनले दिन खोजेको सन्देश पूरा हुन्थ्यो होला । तर उनले शरीरभरि ट्याटु खोपेका छन् । त्यसको कारण पनि उनीसँग छ । भन्छन्, ‘हाम्रो नेपाली समाजमा मर्दा आफूसँग लैजाने भनेको ट्याटु र घाउ चोट नै हो भन्ने मान्यता छ । सोही मान्यतामा टेकेर यो सबै गरेको हुँ । यो ‘आर्ट वर्क’ हेरेर मान्छेमा ‘मरी लानु के छ र ?’ भन्ने एउटा प्रश्न आओस् भन्ने मेरो उद्देश्य हो ।’

मृत शरीरको बनाइसकेपछि ट्याटु बनाउने क्रममा उनको अनुभव रोचक छन् । ‘एक्लै स्टुडियोमा बसेर ट्याटु खोपिरहेको बेला समय समयमा झसंग हुन्थेँ’, उनी भन्छन्, ‘त्यसले सास फेरिरहे जस्तो, कताकता चलिरहे जस्तो, ऐया ! भने जस्तो लाग्थ्यो ।’

उनलाई डरचाहिँ लागेन भन्छन् । मृत शरीर एउटा ‘डमी’ मात्रै हो भन्ने भइरह्यो । त्यसभन्दा बढीचाहिँ केही नयाँ गर्नुपर्छ भन्ने दृढ भावनाले उनलाई उप्रेरित गरिरह्यो ।

समय कति लाग्यो ?
मोडललाई सिलिकन आर्टमा उतार्न तासीले लगातार २५ दिनसम्म काम गरे । उनको कला तयार भइसकेपछि उनले घर लैजानको पठाओ बोलाए । साथैमा उनको ममी पनि हुनुहुन्थ्यो । ‘ममी र मैले स्टुडियोबाट लासजस्तै कालो कपडामा बेरेर बाहिर ल्याएको थियौँ । पठाओको दाइ डराउनुभयो’, उनी त्यतिबेलाको अनुभव सुनाउँछन् ।

उनले ललितकला प्रज्ञाप्रतिष्ठानको अहिले राखेको स्थानमा आफ्नो कलालाई राख्न पनि निकै कष्ट बेहोर्नुपर्‍यो । वास्तविकता झल्काउने ध्येयले आफूले चिता बनाउन प्रयोग गरेको काठ पशुपतिबाट ल्याएको उनी बताउँछन् ।

‘चिता बनाउने बेला म एक्लै थिएँ । ठूलो हुन्डरी आयो । बढार्नका लागि ल्याएको कुचो उडाएर पर पुर्‍याइदिन्थ्यो । फेरि टिपेर ल्याउँथेँ, पुनः उडाइदिन्थ्यो । अन्य सामानहरू पनि यताउता छरिदिन्थ्यो’, उनको अनुभव छ, ‘त्यो बेला डर पनि लाग्यो ।’

को हुन तासी ?
पछिल्लो समय तासी आफ्नो कलाकारिताले विभिन्न सञ्चार माध्यममा छाइसकेका छन् । उनको अनुभव र विचार छ्यापछ्याप्ती भेट्न सकिन्छ । यद्यपि, हामीले उनको बाल्यकाल, संघर्ष र कलाप्रतिको मोहलाई खोतल्ने प्रयास गर्‍यौँ ।

उमेरले २८ वर्ष पुगेका तासीको निवास गोकर्णेश्वर स्थित माकलबारीमा छ ।

सानैबाट केही नयाँ गर्ने हुटहुटी बोकेका टासीले ट्याटु बनाउन सिके । बाल्यकालमा चन्चले स्वभावका उनी फुर्सदको बेला चक बोकेर केही न केही कोरिहाल्थे । अहिले उनको बौद्ध टुसालमा आफ्नै ट्याटु स्टुडियो छ ।

उनी आर्ट्स्‌का विद्यार्थी हुन् । उनले काठमाडौं विश्वविद्यालयबाट आर्टसमा स्नातक गरेका छन् ।

किशोरावस्थादेखि नै ट्याटु बनाउन सिपालु तासीले आफ्नो खर्च आफैं जुटाए । तर कलेज पढ्दा कहिलेकाहीँ पैसाको साह्रै खडेरी लाग्थ्यो उनलाई ।

अनेक खाले संघर्षबाट अघि बढेका उनी अहिले सफलतातर्फ लम्किरहेका छन् । प्रशंसा बटुलिरेहका छन् । उनीद्वारा सिर्जित ‘मृत शरीर’ले पाएको पुरस्कार र प्रशंसाले उनको परिपक्व कलाको परिचय दिन्छ ।

उनको कलाकारिता मन पराएका धेरैले ‘मृत शरीर’ किन्नका लागि प्रस्ताव समेत पठाइरहेका छन् ।

तर, तासी स्वयं भने आफ्नो यस कला धनी मानिसलाई बेच्न चाहँदैनन् । उनी आफ्नो कलाले मन्दिर तथा सङ्ग्रहालयमा स्थान पाओस् भन्ने चाहन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved