फोन गरेपिच्छे सुनिन्छ कर्कश सूचना, सेवाग्राही ‘इरिटेट’ हुँदा पनि प्राधिकरणको बेवास्ता

फोन लागेपछि नउठ्दासम्म बज्ने रिङ्गिङ टोनको साटो हिजोआज अरु सन्देश बजाइन्छ । ती सन्देश सुन्दा कहिलेकाहीँ त ठीकै लाग्ला । तर, दिनभर फोन गरेपिच्छे सुन्दासुन्दा वाक्क लाग्छ । यो ‘ह्यूमन नेचर’ नै हो । सेवाग्राही ‘इरिटेट’ भए पनि यस्ता सूचना हटेको छैन ।

फोन गरेपिच्छे सुनिन्छ कर्कश सूचना, सेवाग्राही ‘इरिटेट’ हुँदा पनि प्राधिकरणको बेवास्ता

काठमाडौं । तपाईं दिनमा कतिपटक फोन गर्नुहुन्छ ? आवश्यकताअनुसार, होइन त ? कहिलेकाहीँ बढी नै फोन गर्नुपर्ने आवश्यकता आइलाग्छ, धेरै काम फोनमार्फत् नै गर्नुपर्ने हुनसक्छ ।

अझ कतिपय अवस्थामा फोन गरिरहनुपर्ने/डायल गरिरहनुपर्ने हुन्छ र सम्बन्धित व्यक्ति वा संस्थाले फोन नउठाउन सक्छ । र, फेरि-फेरि पनि गरिरहनुपर्ने हुन्छ ।

तपाईंहरू पक्कै सुनेको हुनुपर्छ कि पछिल्लो केही वर्षयता फोन गर्दा जानकारीमूलक सन्देश भनेर निश्चित टोनको साटो अन्य सूचनाहरू बजाइन्छ । जुन ठाउँमा पहिले कुनै निश्चित टोन बज्थ्यो ।

त्यो टोन पूरै गयो र फोन उठेन भने कम्तिमा ४२ सेकेन्डको अवधिसम्म बज्थ्यो । त्यसअवधिमा १० पटक टुऽऽऽ गर्दै घण्टी बज्थ्यो । तर, हिजोआज चाडपर्वैपिच्छे, दिवसैपिच्छे जानकारीमूलक सूचनाको नाममा विभिन्न सन्देशहरू बजाइन्छ ।

यस्ता सूचनाहरूमा ‘घर वरपर रुख-बिरुवा रोप्नुपर्ने’देखि ‘हरियो सागपात खान अनुरोध’ गर्नेसम्म हुन्छन् । ‘पुराना लत्ताकपडा पुनः प्रयोग’देखि ‘गर्मीबाट बच्न पातला कपडा लगाउने’सम्मका अनुरोध सुनिन्छन् ।

निर्वाचन नजिक आउँदा ‘भोट हाल्न जान’ आग्रह गरिएका सन्देश आउँछन् । चाडपर्वमा विभिन्न जातजातिका भाषामा अनेक सन्देश सुनिन्छ । अझ दिवस त हरेक दिन कुनै न कुनै परिरहेका हुन्छन् ।

ती दिवसैपिच्छे सूचनामूलक सन्देशको नाममा कर्कश कुराहरू सेवाग्राहीले सुन्दै आउनुपरेको छ । सोमबार जातीय छुवाछूतविरुद्धको दिवस र बुधबार परेको विश्व वातावरण दिवसमा पनि नेपाल टेलिकमबाट फोन गर्दा त्यही किसिमका सन्देश बज्यो ।

०००

हरेक पटक फोन गर्दा यस्ता सन्देश आउन थालेपछि सेवाग्राहीमा असन्तुष्टि देखिएको छ । विशेषगरी युवापुस्तालाई यस्ता सन्देशले तनाव दिएको देखिन्छ ।

सामाजिक सञ्जालमा उनीहरूले दिवसैपिच्छे फेरिने कर्कश सूचनाले मानसिक तनाव दिइरहेको भन्दै आक्रोश पोखिरहेका छन् । कतिपयले यस्ता सन्देश बन्द गराउन आग्रह गरेका सुनिन्छन् । कतिपयले यस्तो सन्देश नसुन्ने अप्सन बनाउनु माग गरेका छन् ।

फेसबूकमा ‘विशाल पुरी’ नाम गरेका एक प्रयोगकर्ताले आफूलाई सो गीतले मानसिक यातना नै दिएको बताएका छन् । उनले लेखेका छन्, “फोन गर्दा दिनभर एकै सन्देश बज्छ । यसले दिक्क लगाउँछ । यो एक किसिमको मानसिक यातना हो ।”

बुधबार विश्व वातावरण दिवस थियो । दिनभर वातावरण दिवसको विषय सन्देश बज्यो । केही प्रयोगकर्ता लेखेका थिए, “अनावश्यक कर्कश सन्देश बज्ने भएकाले मलाई कसैलाई फोन नै गर्न मन छैन ।”

सामाजिक सञ्जालमा यस्ता थुप्रै टीकाटिप्पणीहरू भइरहेका थिए । जसले उक्त ‘कलर ब्याक ट्यून’ अधिकांशलाई मन नपरेको देखिन्छ ।

सामाजिक सञ्जालमार्फत धेरै नकारात्मक प्रतिक्रिया पाएपछि दुई वर्षअघि नेपाल टेलिकमले निर्वाचनबारेको एक सन्देशमूलक गीत हटाउनुपरेको थियो ।

लौन हजुर लौन हजुर आयो निर्वाचन
हाम्रो गाउँ-सहरमा आयो निर्वाचन…

२०७९ को वैशाखमा स्थानीय तह चुनाव थियो । महिना दिनअघिबाट यो गीत मोबाइलमा कलर ब्याक ट्यूनको रूपमा राखिएको थियो ।

एउटै कुरो एकोहोरो सुनिरहँदा वाक्क लागेको भन्दै सामाजिक सञ्जालमा गुनासोको पहाड लाग्यो । मोबाइल फोन प्रयोगकर्ता ‘इरिटेड’ भएपछि हटाइएको थियो । तर, पछि टेलिकमले यस्ता सूचनामूलक सन्देश तथा गीतहरू फेरि कलर ब्याक ट्यूनको रूपमा बजाउन थालेको छ ।

चिनी पनि बढी खायो भने ‘तितो’ हुन्छ । यसैले सूचनामूलक सन्देश सुन्दा कहिलेकाहीँ त ठिकै लाग्ला । तर, पटकपटक सुन्दासुन्दा वाक्क लाग्छ । यो ‘ह्यूमन नेचर’ नै हो । सेवाग्राही ‘इरिटेट’ भए पनि यसमा दूरसञ्चार सेवा दिने संस्थाहरू नेपाल टेलिकम तथा एनसेलले यसलाई रोकेका छैनन् ।

मन लाग्दैमा उपभोक्तालाई लाद्न पाइन्छ ?

हालसम्म नेपाल रिङटोनसम्बन्धी छुट्टै नीति वा प्रावधान बनेका छैनन् । तर, सम्बन्धित व्यक्तिको मञ्जुरीबिना कसैको मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापनमूलक सन्देश पठाउन नपाइने कानून छ । विज्ञापन (नियमन गर्ने) ऐन, ०७६ को दफा १० मा यसबारे प्रष्ट उल्लेख छ ।

सम्बन्धित व्यक्तिको मञ्जुरीबिना कसैको इमेल वा मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापनमूलक सन्देश वा इमेल पठाउन नपाइने उल्लेख छ । यसकारण टेलिफोन सेवा दिने कम्पनीले मनलाग्दी यस्ता सामग्री उपभोक्तालाई लाद्न नपाउने कानुनका जानकारहरू बताउँछन् ।

तर, सोही दफाको उपदफा २ मा भने सरकारी निकायले सम्बन्धित व्यक्तिको मञ्जुरीबिना नै सार्वजनिक हितका लागि जानकारीमूलक सूचना प्रवाह गर्न वा विपद्को अवस्थामा पूर्वसूचना वा जानकारी पठाउन सक्ने पनि भनिएको छ ।

कहिले रोक्ला टेलिकमले ?

विपद्, महामारी, स्वास्थ्यका विषयमा कहिलेकाहीँ सन्देश बज्दा मोबाइल फोनका सेवाग्राहीलाई ठिकै लाग्न सक्छ । जुन सान्दर्भिक पनि हुनसक्छ । प्रयोगकर्ताको गुनासो बढेपछि नेपाल दूरसञ्चार प्राधिकरणले पनि यसबारे सुझावसहित एक प्रतिवेदन बनाउन उपसमिति गठन गरेको छ ।

जुन प्रतिवेदन अहिले आफ्नो बोर्ड समितिमा पुगेको दूरसञ्चार प्राधिकरणले जनाएको छ । रिङब्याक टोन व्यवस्थापनसम्बन्धी अध्ययन गर्ने उपसमितिले प्रतिवेदन तयार पारेको र बोर्ड समितिमा निर्णयको लागि पठाइएको दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले बताए ।

उनले भने, “अब मन्त्रिपरिषद्ले नै सिफारिस गरेका सामग्रीबाहेक अन्यलाई रिङब्याक टोनका रूपमा नबजाउने सुझावसहित प्रतिवेदन बोर्ड कमिटीमा पुगेको छ । बोर्डले पारित गरेपछि कार्यान्वयन हुन्छ । उताबाट निर्णय आउन बाँकी छ ।”

प्रतिवेदनमा रिङब्याक टोनमा के-कस्ता सामग्री बज्नुपर्ने हो, कति अवधिसम्म कुन-कुन अपरेटरमार्फत बजाउने र अन्तर्राष्ट्रिय अभ्यास तथा प्रचलनसमेत समेटिएका छन् । साथै सेवाग्राहीले रिङब्याक टोन सुन्दिनँ भन्ने विकल्प रोज्न पाउने, नपाउने विषयमा समेत उल्लेख छ ।

एक सदस्यका अनुसार प्रतिवेदनमा सरकारले घोषणा गरेका राष्ट्रिय दिवससँगै विपद्, महामारी र स्वास्थ्यसँग सम्बन्धित विषयवस्तु मात्रै रिङब्याक टोनमा समेट्न भनिएको छ ।

ती सदस्य भन्छन्, “थरीथरीका नयाँ-नयाँ रिङब्याक टोन बज्दा सेवाग्राहीलाई झर्को लाग्ने गरेको गुनासो छ । नेपाल टेलिकमको फोनमा दिनै पिच्छे लगातार नयाँ-नयाँ दिवस पर्दा हरेक दिन थरीथरीका रिङब्याक टोन सुन्नुपर्दा कतिपयले एनसेल समेत प्रयोग गर्न थालेका भन्ने सुनियो । यसैले यो निर्णयमा पुनर्विचार गर्न लागेका हौँ ।”

मन्त्रालयमा सिफारिसका चाङ

सञ्चार मन्त्रालयका अनुसार रिङब्याक टोनका लागि महिनामा औसत ५ देखि १० वटा निवेदन पेस हुने गरेका छन् । मन्त्रालयले राष्ट्रिय महत्त्वका सामग्री भए ‘बजाइदिनू’ भनेर नियामक दूरसञ्चार प्राधिकरणलाई सिफारिस लेखिदिने गरेको देखिन्छ ।

प्रधानमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालयहरूले रिङब्याक टोनमा बजाउने कन्टेन्टका लागि सिफारिस माग गर्दै सञ्चार मन्त्रालयलाई निवेदन पठाउने गरेका छन् ।

तर, आफूहरूले निवेदन प्राधिकरणमा पठाइदिने र उनीहरूकै कार्यक्षेत्र अनुसार काम गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुर बताउँछन् ।

उनी भन्छन्, “विभिन्न संस्थानलगायत सरकारी निकाय तथा गैरसरकारी निकायले उनीहरूसँग सम्बन्धित दिवस र सन्दर्भहरूमा सन्देशमूलक रिङब्याक टोन बजाउन भन्दै पत्राचार गर्छन् । तर हामीहरूले नियमअनुसार गर्नु भन्दै पत्र फरवार्ड गर्ने गरेका छौँ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved