सपना र संघर्ष

पोतेमा जीवन उनिरहेकी रमिला भन्छिन्- डाक्टर बन्ने सपना थियो

पोतेमा जीवन उनिरहेकी रमिला भन्छिन्- डाक्टर बन्ने सपना थियो

काठमाडौं । पोतेसँग रमिला राईको जीवन नजानिँदो तरिकाले जोडिएको छ । छोरीको स–साना माग पूरा गर्न पोते बुन्ने सीप सिकेकी रमिला अहिले पोतेका दानामै छोरीको भविष्य देख्छिन् । धागोमा पोतेका दाना उनिरहँदा उनलाई जीवनका खुसीहरू उनिरहेको जस्तै लाग्छ ।

रमिलाले यो काम गर्न थालेको करिब एक वर्ष पुग्यो । छोरी सानै भएकाले सुरुमा उनले कुनै काम गर्न पाइनन् । केही काम नगर्दा आर्थिक अभावले काठमाडौंको बसाइ कष्टकर हुन्थ्यो । श्रीमान्‌ले कमाएर ल्याएको पैसा यताउता गर्दै सकिन्थ्यो ।

आफूले पनि केही काम गर्न पाए घर धान्न सहज हुने थियो भन्ने उनलाई लाग्थ्यो । दिनभरि छोरीसँग समय बिताउँदा उनलाई छटपट हुने गर्थ्यो । छोरीलाई घुमाउन, खेलाउन वल्लो र पल्लो घर लैजान्थिन् । सोही क्रममा उनी पोते बुन्ने छिमेकी माइजुको संगतमा परिन् ।

पोते बुन्ने आफ्नो सोखचाहिँ नभएको उनी बताउँछिन् । तर, पनि खर्च निकाल्नकै लागि भए पनि त्यो काम गर्ने रमिलाले निधो गरिन् । माइजुसँग आवश्यक कुरा बुझिन् र काम सिक्न थालिन् । दिनभरि छोरी भुलाउँदै पोते बुन्न सिकिन्, रमिलाले ।

सीप सिकेको केही महिनापछि माइजुले उनलाई सामान दिँदै अर्डर अनुसारको डिजाइन बनाउन लगाउनुभयो । रमिला भन्छिन्, ‘छोरी हुर्किँदै छिन्, कहिले के खान्छु भन्छे, कहिले के चाहियो भन्छे । उनैको आवश्यकता र माग पूरा गर्न यो काम रोजेँ ।’

छोरीको लागि खाली समयको सदुपयोग गरेर पोते बुन्ने सीप सिकेकी रमिला अहिले विभिन्न डिजाइनका आकर्षक पोते, बालाहरू बनाउँछिन् । उनको हातबाट बनेको यी कलाहरू विदेशी पर्यटकले नेपालको चिनो स्वरूप किनेर समेत लैजान्छन् ।

छोरीको लागि अप्ठ्यारो समयमा रोजेको पेसा अहिले रमिलाको दैनिकी र आर्थिक स्रोतको माध्यम बनेको छ । ‘सुरुसुरुमा पोते बुन्दा धेरै बिग्रिन्थ्यो । दानाको रंग नखुल्याइ बिग्रियो मात्र भने त उधारेर पुनः बनाउन मिल्छ । अलिकति खुइलियो भने पैसा तिर्न पर्छ । त्यसैले धेरै होसियार भएर बुन्नु पर्छ’, रमिला सुनाउँछिन् ।

डाक्टर बन्ने रमिलाको सपना

‘सानोमा सबैभन्दा धेरै मलाई बाजेले माया गर्नुहुन्थ्यो । आमाले पिट्दा पनि म बाजेको पछाडि गएर लुक्थे । बाजेले उपचार पाउन नसकेको कारण बित्नुभयो । त्यसैले म भविष्यमा डाक्टर बन्नुपर्छ भन्ने लाग्यो’, पोते बुनिरहेकी रमिला सुनाउँछिन् ।

उमेरले भर्खर २३ वर्ष पुगेकी रमिलाको एक छोरी छिन् ।

काठमाडौंको जोरपाटीमा डेरा गरेर बसेकी उनको साथमा दुई वर्षे छोरी रुही र श्रीमान् हरि राई छन् । सानी छोरीसँग दिनभर समय बिताउने रमिला हातले पोते बुन्छिन् । ‘अर्डर आउँछ, त्यही अनुसार म पोते, बाला, मालाहरू बनाउँछु’, उनी भन्छिन् ।

पोतेको सामान छोरी रुहीले कहिले कता लगेर फाँलिदिन्छिन्, कहिले कता । ‘नानी यता ले, त्यसो गर्न हुन्न’, सानी छोरीको चकचक र उपद्रोमा डर देखाउँदै भन्छिन् उनी । रुही मान्दिनन् । जिस्कीदैँ रमिलाको पोते बुन्ने सामान अझै पर पुर्‍याइदिन्छिन् । आमाछोरीबीचको लुकामारी निकै रमाइलो देखिन्छ ।

विवाहपछि मुर्छाएको सपना

‘मैले पनि कुनै समय डक्टर बन्ने सपना देखेको थिए भनेर आजभोलि सोच्दा पनि अचम्म लाग्छ । उपलब्धि भने नि, सफलता भने नि, सम्पत्ति भने नि, अब यही छोरी छे । यसैलाई राम्रोसँग पढाएर ठूलो मान्छे बनाउँछु’, छोरीतिर इशारा गर्दै रमिला भन्छिन् ।

आफ्नो विगत सम्झँदा भावुक हुन्छिन्, उनी ।

बाबा र बाजेको प्यारी कान्छी छोरी उनी बाल्यकालमा निकै झगडालु र हक्की स्वभावकी थिइन् । सानैदेखि बोल्न कसैसँग नडराउने उनको हरेक गल्तीलाई ढाकछोप गरिदिने उनका बाबा र बाजे थिए । उपचार नपाएर बाजे गुमाएको घटनाले उनी निकै विक्षिप्त बनेको सुनाउँछिन् ।

सोही कारण आफ्नो बाबा र आमाको पनि अवस्था बाजेको जस्तै नहोस् भनेर उनी डाक्टर बन्ने सपना देखेको उनको भनाइ छ । ‘मलाई त मेरो परिवारको सदस्यहरू अमर छन्, कहिल्यै मर्दैनन् जस्तो लाग्थ्यो । बाजे बितेपछि मलाई ठूलो झट्का लाग्यो’, रमिला सुनाउँछिन् ।

प्रेममा परेपछि 

विद्यालयमा जेहनदारको पहिचान बनाइसकेकी रमिलालाई पनि किशोरावस्थाको छोयो । र त्यस अवस्थाका रहरहरूले पनि छोयो । विद्यालयमै आफूभन्दा एक ब्याच सिनियरसँग उनको प्रेम बस्यो । उनीहरूले कक्षा १० मा पढ्दै गर्दा १८ वर्षको उमेरमा भागी विवाह गरे ।  विवाहपछि सबै कुरा परिवर्तन भएको उनको अनुभव छ ।

‘दश कक्षा पढ्दा बिहे गरेँ । त्यतिबेला के हो जीवन ? भविष्यमा के गर्ने ? भोलिको दिन कस्तो हुन्छ ? केही सोचिएन । मन परेको मान्छेसँग परिवारले छुटाउँलान् भनेर बिहे गरियो ।’, उनी भन्छिन् ।

रमिला आफ्नो छुटेको सपना सम्झिँदै भन्छिन्, ‘सानो छँदा सबैले मेरो पढाएको तारिफ गर्थे । स्कुलबाट पुरस्कार र छात्रवृत्तिहरू पनि पाउँथेँ । ममाथि बाबाआमाको ठूलो आश थियो । तर बिहेपछि व्यवहारमा फसियो । पढ्नै मन लागेन ।’

छोरी पेटमा हुँदा सबैबाट हेला पाएँ

कानुनमा विवाहको लागि उमेर हद तोकिए पनि गाउँघरमा त्यो लागू भएको छैन । भर्खर १८ वर्ष पुगेका रमिला र हरिलाई विवाह गर्न समाजले रोकेनन् । यद्यपि, उनले श्रीमान्‌को परिवारबाट साथ पनि पाइनन् । विवाहको दुई वर्षपछि उनी गर्भवती भइन् । गर्भावस्थामा आफूले निकै समस्या झेलेको उनको अनुभव छ ।

‘कतैबाट कसैको साथ सहयोग पाइनन्, श्रीमानसँग पनि खटपट भएको थियो । आफन्तको घरमा आश्रय लिएर बसेँ,’ उनी भन्छिन् ।

अवस्था खराब भएकाले उनी डिप्रेसनको सिकार समेत भएकी थिइन् । ‘मैले त हिम्मत हारिसकेकी थिएँ । बच्चालाई संसार देखाउन पनि सक्दिनँ कि जस्तो लागेको थियो ।

अन्टी र नानाले सम्झाउनुभयो । हिम्मत दिनुभयो । पछि त यही बच्चाको मुख हेरेर भए पनि बाँच्न सक्छस् भन्नुहुन्थ्यो’, उनी भावुक हुँदै त्यो बेलाका अनुभव सुनाउँछिन् ।

कसैको माया पाउन नसक्ने आफ्नो सन्तान निकै अभागी रहेछ भन्ने सोच उनमा आउँथ्यो ।

पेटको सन्तानको लागि डिप्रेसनलाई जितेर उनी अघि बढिन् । छोरी जन्मिदा आफूले संसार जितेको महसुस भएको उनको अनुभव छ । छोरी जन्मिएपछि श्रीमान् र उनको सम्बन्धमा पनि सुधार आयो । रमिला भन्छिन्, ‘अब त यही छोरीलाई हेरेर भए पनि जिन्दगी कटाउन सक्छु । मेरो सपना, इच्छा, आकांक्षाको मतलबै लाग्दैन । छोरीलाई राम्रो शिक्षा र संस्कार दिन सकूँ । एक असल आमा बन्न सकूँ ।’

रमिलाको अनुभवमा जीवन के हो ?

प्रश्न सुन्नासाथ उनको मुहार अलि गम्भीर बन्यो । लामो सुस्केरा हाल्दै उनी जीवनको व्याख्या गर्न थालिन् । उनको भोगाइ अनुसार उनी जीवनलाई खोलासँग तुलना गर्छिन् ।

खोला एकैनासले कहिल्यै नबग्ने बताउँदै उनी भन्छिन्, ‘जसरी खोलाको पानी बग्दा कहिले यता ठोक्किन्छ, कहिले उता ठोक्किन्छ । कहिले कसैले रोक्न खोज्छ, छेक्न खोज्छ तर पनि खोला बगिरहन्छ ।’

डाक्टर बनेर आफ्ना हजुरबुबा जस्तै धेरै सर्वसाधारण मानिसको जीवन बचाउने सपना देखेकी रमिलालाई जीवनको झन्कारले हिर्काउँदै ठोक्काउँदै पोते बुन्ने बनायो । उनी भन्छिन्, ‘सपना देख्न त सिंगल हुँदा मात्र पाइँदो रहेछ । बिहेपछि त परिवारको खुसी र सपनामै हराइँदो रहेछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved