राहुलले थामेको गान्धी परिवारको बिँडो, यस्तो छ भारतीय कांग्रेसको इतिहास

सन् २०१४ पछि कांग्रेस इतिहासमै सर्वाधिक कमजोर भयो । यसको सबैभन्दा ठूलो मनोवैज्ञानिक दबाब राहुल गान्धीमाथि थियो । यसपटकको निर्वाचन परिणामपछि भने उनले नेतृत्वका लागि स्वीकार्यता बढाएको देखिन्छ ।

नेपालभ्युज

राहुलले थामेको गान्धी परिवारको बिँडो, यस्तो छ भारतीय कांग्रेसको इतिहास

काठमाडौं । १६औं र १७औं निर्वाचनपछि भारतको लोकसभामा ‘औपचारिक प्रमुख प्रतिपक्षी दल’ नै थिएन । कुनै राजनीतिक दल वैधानिक मान्यता प्राप्त प्रतिपक्षी हुन १० प्रतिशत सिट एक्लै जितेको हुनुपर्ने प्रावधान छ ।

सन् २०१४ मा भारतीय राष्ट्रिय कांग्रेससँग जम्मा ४४ र सन् २०१९ मा ५२ सिट थियो । ५४३ सदस्यीय लोकसभामा १० प्रतिशत हुन कम्तीमा ५५ सिट चाहिन्थ्यो । भारतीय राष्ट्रिय कांग्रेस इतिहासमा यति कमजोर कहिल्यै भएको थिएन, जति यी दुई चुनावमा भयो ।

मान्छेले ‘कांग्रेसका दिन गए’ मात्र भनेनन्, थप ‘गान्धी परिवारका दिन गए’, अझ ‘पप्पुका दिन गए’समेत भन्न भ्याए । राहुल गान्धीलाई ‘पप्पु’ भन्नेहरूको कुनै कमी थिएन । जसको अर्थ हुन्थ्यो— नेतृत्वका लागि परिपक्क भइनसकेको कुनै परिवार वा खानदानको लाडप्यारमा हुर्किएको छोरो ।

प्रधानमन्त्री नरेन्द्र मोदी आफूअघिको मनमोहन सिंह सरकारलाई ‘कांग्रेस नेतृत्वको’ वा ‘युपिए सरकार’ भन्दैनथे, ‘मा बेटेकी सरकार’ भन्थे । अझ राहुललाई लक्षित गरी ‘शाहज्यादे’ भन्ने गर्दथे ।

प्रधानमन्त्री डा. मनमोहन सिंह सोनिया गान्धी वा गान्धी परिवारका कठपुतली मात्र हुन् भन्ने धारणा बलियो थियो । यो धारणा प्रधानमन्त्री मोदी, भाजपा समर्थकमा मात्र हैन, सर्वसाधारणमा पनि उत्तिकै बलियो थियो । डा. मनमोहन सिंहको ‘बायोपिक सिनेमा’ नै बन्यो— द एक्सिडेन्टल प्राइममिनिस्टर ।

खासमा डा. मनमोहन सिंहको १० वर्षे शासनकालको वास्तविक हकदार कांग्रेस सभापति सोनिया गान्धी थिइन् । तर, गान्धी प्रधानमन्त्री हुन चाहिनन् र त्यो सिंहको भागमा आयो ।

मनमोहन सिंह सरकारको १० वर्षे कार्यकालमा राहुल गान्धी मन्त्री भएनन् । यसको अर्थ सोनिया छोरा राहुल गान्धीलाई भावी पार्टी सभापति र भावी प्रधानमन्त्रीको दाबेदारका रूपमा ‘रिजर्भ’ राख्न चाहन्थिन भन्ने लाग्दछ ।

पारिवारिक विरासतले राहुल गान्धीलाई अवसर त थियो नै, सन् २००४ मा ३४ वर्षको उमेरमा राहुल अमेठी निर्वाचन क्षेत्रबाट लोकसभा सदस्य निर्वाचित भएका थिए । तर, उनका चुनौती र दायित्व पनि साना थिएनन् ।

राहुल गान्धीले सामना गर्नुपरेको ठूलो आरोप थियो— परिवारवाद । गान्धी मात्र हैन, भारतमा यस्ता दर्जनौं साना तथा ठूला ‘राजनीतिक परिवार’ छन् । भारतीय राजनीतिमा परिवारवादको आरोप र परिवारवादी राजनीतिप्रतिको मोह, आकर्षण र वर्चस्व समानान्तर चलिरहन्छ । नदीको दुई किनारा जस्तो ।

गान्धी परिवारको राजनीतिक विरासत पाँच पुस्ता लामो छ । मोतीलाल नेहरूले यो परिवारको राजनीतिक विरासत प्रारम्भ गरेका थिए । सन् १९१९ मा मोतीलाल पहिलोपटक भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष भएका थिए । सन् १९२८ मा दोस्रोपटक ।

खासमा ‘गान्धी’ थरको प्रयोग मोतीलाल नेहरूबाट हैन,  मोहन दास करमचन्द गान्धी ऊर्फ माहात्मा गान्धीबाट प्रचलित छ । त्यसो त कतिपयले यो परिवारलाई ‘गान्धी-नेहरू परिवार’ को नामले एउटै डालोमा पनि राख्दछन् ।

मोतीलाल नेहरू यो परिवारको ‘जैविक पिता’ थिए भने महात्मा गान्धी ‘मानष पिता’ । महात्मा गान्धी जम्मा १ वर्ष कांग्रेस अध्यक्ष भए सन् १९२४ मा तर, कांग्रेसको सबैभन्दा ठूलो नेता इतिहासले उनैलाई मान्यो । कांग्रेसको ठूलो नेता मात्र हैन, देशकै संस्थापक पिता मान्यो ।

नेहरू परिवारको दोस्रो पुस्ता पण्डित जवाहरलाल नेहरू पहिलोपटक सन् १९३६ मा भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष भएका थिए । स्वतन्त्रताअघि नै उनी ३ पटक कांग्रेस अध्यक्ष भइसकेका थिए । नेहरू पत्नी कमला स्वतन्त्रता आन्दोलनकी योद्धा थिइन् । तर, अल्पायुमै निधन भएका कारण राजनीतिमा उनको भिन्नै र उल्लेखनीय स्थान निर्माण भएन ।

स्वतन्त्र भारतको पहिलो र सबैभन्दा लामो समय प्रधानमन्त्री हुने रेकर्ड अहिले पनि पण्डित जवाहरलाल नेहरूको नाममा छ ।

तेस्रो पुस्तामा नेहरूपुत्री इन्दिरा गान्धी आइन् । उनका बालशखा, प्रेमी र पति थिए फिरोज जहाँगिर । उनी फारसी थिए । भनिन्छ, इन्दिरासँग विवाह हुँदा माहात्मा गान्धीले फिरोजलाई ‘गान्धी’ थर दिएका थिए । यसरी नेहरू परिवारको विरासतमा ‘गान्धी’ थरको लोकप्रियता औपचारिक भयो । मान्छेले ‘नेहरू’ बिर्सँदै गए, त्यसै पनि नेहरूभन्दा गान्धीको ब्राण्ड ठूलो थियो ।

त्यसो त एकथरि इतिहासकार फिरोजलाई महात्मा गान्धीले थर प्रदान गरेको कथा पत्याउँदैनन् । उनीहरूको दाबी छ कि फिरोजका पिता जहाँगिर फरेदुनले नै गान्धी थर प्रयोग गर्थे । इन्दिरासँग विवाह हुनुअघि नै फिरोजले गान्धी थर प्रयोग गर्थे ।

सत्य जे होस्, गान्धी परिवारभन्दा धेरैको मनमा आउने विम्ब भने फिरोज गान्धी कम र महात्मा गान्धी नै बढी हो । तर, फिरोज आफैँमा एक प्रतिभाशाली राजनीतिज्ञ, पत्रकार तथा स्वतन्त्रता संग्रामका योद्धा थिए ।

नेहरूपुत्री इन्दिराले फिरोजसँग विवाह गरेपछि यो परिवारले गान्धीलाई औपचारिक थर बनाए । इन्दिरा गान्धी देशकी शक्तिशाली प्रधानमन्त्री मात्र भइनन्, सन् १९७५ मा संकटकाल लगाएर एक प्रकारले बदनाम पनि भइन् ।

महात्मा गान्धी र जवाहरलाल नेहरूकोभन्दा इन्दिरा गान्धीको राजनीतिक इतिहास बढी विवादास्पद र आलोच्य छ ।

रायबरेली निर्वाचन क्षेत्रमा गान्धी परिवारको पहिलो पाइलो भने फिरोज गान्धीले राखेका थिए । फिरोज सन् १९५२ मा रायबरेलीबाट लोकसभा सदस्य निर्वाचित भएका थिए ।

फिरोज-इन्दिराका दुई छोरा भए— राजीव र सञ्जय । राजीव गान्धीलाई राजनीतिमा खासै रुचि थिएन । चौथो पुस्तामा गान्धी परिवारको राजनीतिक विरासत सञ्जय गान्धीमा सर्ने सबैको अनुमान थियो ।

सञ्जय सानै उमेरमा राजनीतिमा लागेका थिए । उनी युवा कांग्रेसका अध्यक्ष थिए । सन् १९८० को जुनमा उनले उत्तर प्रदेशको अमेठीबाट लोकसभा सदस्य निर्वाचन जितेका थिए । सङ्कटकालमा इन्दिरा सरकारको शक्ति दुरुपयोग गरेको आरोप इतिहासकारले सञ्जय गान्धीमाथि लागाउँछन् ।

कतिपय इतिहासकारको आरोप छ कि आमा इन्दिरा कान्छा छोरा सञ्जयप्रति बढी नै मोह राख्थिन् । त्यो कालखण्डमा देशको वास्तविक राज्य-शक्ति सञ्जय गान्धीको हातमा थियो । तर, सोही वर्षको जुनमा उनी एक दुर्घटनामा मारिए । त्यसबेला सञ्जयको उमेर ३४ वर्ष मात्र थियो । पत्नी मेनका गान्धीबाट भर्खरै छोरा बरुण गान्धी जन्मिएका थिए ।

सञ्जय गान्धीको निधन नभएको भए गान्धी परिवारको विरासत अर्कैतिर जान सक्थ्यो । आज सोनिया र पुत्र राहुलको जुन स्थान छ, त्यो स्थानमा मेनका र पुत्र बरुण हुन सक्थे । इतिहास संयोगिक घटनाक्रमको शृङ्खला पनि हो ।

सञ्जयको आकस्मिक निधनले गान्धी परिवारमा फुट आयो । मेनका पति सञ्जयको निधनपछि कांग्रेस राजनीतिमा पारिवारिक विरासत आफूमा आओस् भन्ने चाहन्थिन् । तर, सासू इन्दिरा गान्धीले जेठा छोरा राजीव गान्धीलाई अघि सारिन् ।

मेनका गान्धीले परिवारसँगै विद्रोह गरिन् । सन् १९८४ को चुनावमा मेनकाले जेठाजु राजीव गान्धीविरुद्ध अमेठीमा स्वतन्त्र उम्मेदवारी नै दिइन् तर, हारिन् । त्यसपछि उनी विपक्षी दल जनता पार्टीतिर लागिन् । अहिले मेनका-बरुण दुवै भाजपामा छन् ।

यसपटक मेनका सुल्तानपुरबाट पराजित भएकी छन् । छोरा बरुण गान्धीले टिकट नै पाएनन् । उनको निर्वाचन क्षेत्र पिलिभितमा कांग्रेस परित्याग गरी भाजपा प्रवेश गरेका जितन प्रसादले जितेका छन् । भारतीय राष्ट्रिय कांग्रेसको राजनीतिमा गान्धी-नेहरू परिवारको चौथो पुस्ताको जिम्मेवारी राजीव गान्धी-सोनिया गान्धीमा रह्यो ।

राजीव-सोनियाका आफ्नै प्रकारका संयोग र दुखान्त रहे । सन् १९८४ मा आमा इन्दिरा गान्धीको हत्यापछि राजीव खुलेर राजनीतिमा आए । पञ्जाबको भिन्डरवाले खालिस्तान आन्दोलन विरोधी ‘अपरेसन ब्लु स्टार’ बाट असन्तुष्ट आफ्नै शिख अंगरक्षकको गोली प्रहारबाट इन्दिरा गान्धी मारिएकी थिइन् ।

इन्दिरामाथि गोली प्रहार हुँदा बुहारी सोनियाले उनलाई काखमा उठाएकी थिइन् र अस्पताल लगेकी थिइन् । तर, उनी बाँचिनन् । इन्दिराको हत्याले गान्धी परिवारप्रति सहानुभूति र संवेदनाको भीषण जनलहर चल्यो । त्यसपछिको आम चुनावमा कांग्रेसले इतिहासमै सर्वाधिक ४१४ सिट जित्यो । ४६.८६ प्रतिशत मत पायो । आजसम्म यो रेकर्ड कुनै पार्टीले तोड्न सकेको छैन । यसपटक प्रधानमन्त्री मोदीले ‘४०० पार’ दिएर तोड्न चाहेका थिए तर, सम्भव भएन ।

राजीव गान्धी देशको इतिहासमै सबैभन्दा युवा प्रधानमन्त्री भए, ४० वर्षको उमेरमा । राजीव गान्धीको नाममा कायम यो रेकर्ड पनि अहिलेसम्म तोडिएको छैन ।

सोनिया गान्धीको कथा अझ रोचक छ । उनी इटालीको रोमन क्याथोलिक क्रिश्चियन परिवारमा जन्मिएकी थिइन् । उनको नाम थियो— सोनिया माइनो । क्याब्रिजमा पढ्दा उनको राजीवसँग भेट, प्रेम र विवाह भएको थियो ।

इटालीमा जन्मिएकी एक अन्जान युवती राजीव गान्धीको प्रेममा बाँधिएर भारत आइन र राजनीतिको एक हस्ती बन्न पुगिन् । सोनियालाई भारतको गान्धी परिवार र शक्ति सङ्घर्षबारे कुनै ज्ञान र रुचि थिएन । उनलाई राजीव गान्धीको प्रेमले मात्र भारत तानेको थियो ।

उनै सोनिया भारतीय राष्ट्रिय कांग्रेसको इतिहासमै सबैभन्दा लामो कार्यकाल पूरा गर्ने सभापति बनिन् । उनी सन् १९९८-२०१७, सन् २०१९-२०२२ दुईपटक गरी करिब २२ वर्ष कांग्रेसको अध्यक्ष भइन् ।

सोनिया गान्धी पारिवारिक निर्वाचन क्षेत्र मानिने रायबरेलीबाट सन् २००४ यता ५ पटक र १ पटक अमेठीबाट गरी जम्मा ६ पटक लोकसभा सदस्य निर्वाचित भइन् । अहिले उनी राज्यसभा सदस्य छन् ।

भनिन्छ, चाहेकी भए उनलाई प्रधानमन्त्री हुनबाट कसैले रोक्न सक्दैनथ्यो । तर, विदेशमा जन्मिएको र अङ्गीकृत नागरिक भएको आधारमा उनीमाथि प्रधानमन्त्री नहुन चर्को दबाब थियो । उनले यो तर्क सुनिन् र सम्मान गरिन् । इतिहासकार भन्छन्, औपचारिक प्रधानमन्त्री नभए पनि उनले भित्रबाट शक्तिको अभ्यास भने पर्याप्त गरिन् ।

सन् २०१७ पछि पाँचौँ पुस्ताका राहुुल गान्धी कांग्रेस सभापति भए । तर, सन् २०१९ को आम निर्वाचनमा पार्टीको हारपछि राजीनामा गरे । सन् २०२२ मा कांग्रेसले नयाँ सभापति निर्वाचित गर्‍यो— मल्लिकार्जुन खड्गे ।

सोनिया गान्धी र डा. मनमोहन सिंहबीच जस्तो सम्बन्ध थियो, आज कांग्रेस सभापति मल्लिकार्जुन खड्गे र राहुल गान्धीबीच त्यस्तै सम्बन्ध भएको विश्वास गरिन्छ । पार्टीको औपचारिक सभापति खड्गे छन् तर, राहुल गान्धीसँगको सल्लाह र सहमतिबिना कुनै ठूलो निर्णय हुँदैन ।

सन् १९७० मा जन्मिएका राहुल हजुरआमा इन्दिरा गान्धीको हत्या हुँदा १४ र पिता राजीव गान्धीको हत्या हुँदा २१ वर्षका थिए । सन् १९९१ को मे २१ मा तमिलनाडुको श्रीपेरुम्बदुरमा एक चुनावी सभामा श्रीलंकाली तमिल पृथकतावादी सङ्गठन लिट्टेका लडाकुको आत्मघाती आक्रमणमा राजीव गान्धी मारिएका थिए ।

श्रीलंकामा तमिल विद्रोह दमन गर्न भारतीय सेना पठाएकोमा उनीसँग असन्तुष्टि थियो । राजीव गान्धीले तमिल विद्रोही लिट्टे नेता भिल्लुपिल्लाई प्रभाकरणसँग गोप्य रूपमा भेटेका थिए । तर, तमिल विद्रोहको शान्तिपूर्ण निकास खोज्ने प्रयास असफल भएको थियो । त्यसपछि राजीव गान्धीले तमिल विद्रोह दमन गर्न श्रीलंका सरकारलाई सहयोग गर्ने नीति लिएका थिए ।

आमा इन्दिरा गान्धीको हत्या पनि पृथकतावादी आन्दोलनसँगै जोडिएको थियो, देशभित्रकै खालिस्तान पृथकतावादी आन्दोलन । राजीव गान्धीको हत्याको कारण पनि पृथकतावादी आन्दोलन नै बन्यो, देशबाहिरको तमिल पृथकतावादी आन्दोलन ।

सन् २०१४ सम्म सोनिया गान्धीले आफ्नो पुस्ताको दायित्व निर्वाह गरिसकेकी थिइन् । उनको कार्यकालमा कांग्रेसले सन् २००४ र सन् २००९ का गरी दुईपटक युपिए गठबन्धनको सरकार बनायो ।

सन् २०१४ पछि भने कांग्रेस इतिहासमै सर्वाधिक कमजोर भयो । यसको सबैभन्दा ठूलो मनोवैज्ञानिक दबाब राहुल गान्धीमाथि थियो । यसपटकको निर्वाचन परिणामपछि भने राहुल गान्धीले नेतृत्वका लागि स्वीकार्यता बढाएको देखिन्छ । ९९ सिट हासिल गरेसँगै भारतीय राष्ट्रिय कांग्रेसको आकार दोब्बर भएको छ । निर्वाचन परिणामबाट कांग्रेस समर्थक खुसी देखिन्छन् ।

राहुल गान्धीले यसबीच लामालामा राजनीतिक यात्रा गरेका थिए । उनले कन्याकुमारीदेखि कश्मीरसम्म ‘भारत जोडो यात्रा’ र मणिपुरदेखि महाराष्ट्रसम्म ‘भारत जोडो न्याय यात्रा’ गरेका थिए । उनका चुनावी सभामा उल्लेखनीय भीड लाग्ने गरेको थियो ।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो बहुमत जबरजस्त ढङ्गले रोकेका मात्र छैनन्, विपक्षी इन्डिया गठबन्धनभित्र आफ्नो स्वीकार्यता पनि बढाएका छन् ।

गान्धी परिवारको पाँचौँ पुस्ताको उत्तराधिकारका रूपमा राहुल गान्धीका कार्यभार यतिले नै पूरा भएको मान्न सकिन्न । उनले आफ्नो जीवनकालमा पार्टीलाई फेरि सत्तामा फर्काउन सक्दछन् कि सक्दैनन् भनेर अवश्य हेरिने छ ।

भारतीय राष्ट्रिय कांग्रेसका नेता कार्यकर्ता र समर्थकले राहुल गान्धीको भूमिकालाई स्वीकार गरिसकेको देखिन्छ । पार्टीको पुनर्जीवनका लागि मेहनत गर्न उनले कुनै कसर बाँकी राखेका छैनन् । राहुलले जसोतसो गान्धी परिवार र कांग्रेस इतिहासको बिँडो त थामेका छन् तर, यति उपलब्धि पर्याप्त भने हैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved