आलेख

नेतान्याहू लोकप्रियतावादको मूल्यमा सवार भएको हमासको आतंकवाद

एक अर्थमा भन्ने हो भने यो इजरायलीले वर्षौंदेखिको अभिमानको मूल्य तिरेका हुन् । हाम्रा सरकार र सर्वसाधारणले लामो समयदेखि यो महशुस गरेकी हामी प्यालेस्टिनीभन्दा धेरै बलिया छौं । त्यसपछि हामीले तिनलाई बेवास्ता गर्न थाल्यौं । तर, त्यसले मात्र हमासले गरेको क्रुर अत्याचारको औचित्य पुष्टि हुँदैन ।

नेतान्याहू लोकप्रियतावादको मूल्यमा सवार भएको हमासको आतंकवाद

इजरायली यतिखेर यो बुझ्ने प्रयत्नमा छन् कि, भर्खरै हामीमाथि भएको प्रहार के हो ?

हामीले पहिले अहिलेको बर्बादीलाई सन् १९७३ को योम किप्पुर युद्धसँग तुलना गरौं । ५० वर्षअघि इजिप्ट र सिरियाका सेनाले एक आकस्मिक आक्रमण सुरु गरेका थिए, जसबाट इजरायली प्रतिरक्षा सैन्य बल पराजित त भयो तर यसले  उनीहरुलाई पुनर्संगठित हुन, पहलकदमी प्राप्त गर्न र स्थितिलाई उल्टाउन सहयोग नै गर्यो ।

जब बढीभन्दा बढी डरलाग्दा कथा र तस्वीर देखा परे योम किप्पुर युद्ध किन भयो र सम्पूर्ण यहुदी समुदायकै नरसंहार गर्न किन खोजियो भन्ने हामीलाई थाहा भयो ।

पत्रपत्रिका, सामाजिक सञ्जाल र पारिवारिक भेटघाटमा अहिलेको अवस्थालाई यहुदी जनताका लागि त्यस्तै अत्यन्त कालो घडीका रूपमा तुलना गरिँदैछ, जब नाजी सेनाका हत्यारा घुम्ती टुकडीले रुसी साम्राज्यभित्र रहेका यहुदी गाउँ-घर र बस्तीलाई घेरेर कारबाही गर्थे ।

किबुत्तजिम बिरी र केफर अजामा मेरा व्यक्तिगत परिवार र साथी छन् । उनीहरूबाट मैले धेरै डरलाग्दा कथा सुनेको छु । यी दुई स्थानका स्थानीय समुदायलाई हमासले घन्टौंसम्म नियन्त्रणमा लियो । हमास आतंकवादी त्यहाँ घर-घर गए । व्यवस्थित तरिकाले हत्या गरे । अभिभावककै अगाडि बच्चाहरूको हत्या गरे । बालबालिका र बुढाबुढीलाई समेत बन्धक बनाए । डरका कारण बाँचेकाहरू आलमारी र बुइंगलमा लुके ।

तीनले सेना र प्रहरीको मद्दतका लागि फोन पनि गरे । तर, त्यो प्रयास असफल भयो । उनीहरू त्यहाँ पुग्दा धेरै ढिलो भइसकेको थियो ।

मेरा ९९ वर्षीय काका र ८९ वर्षीया काकी बिरीका सदस्य हुन् । किबुज हमासले नियन्त्रणमा लिएको केहीबेरपछि उनीहरूसँगका सबै सम्पर्क टुटेका थिए । दर्जनौं आतंककारीले हत्या र आक्रमण गरिरहँदा उनीहरू घन्टौंसम्म आफ्नै घरमा लुके । मैले उनीहरू बाँचेको खबर पाएँ । म त्यस्ता धेरै मान्छे चिन्छु, जो यस्तै अन्त्यन्त खराब तरिकाले बाँच्न सफल भएका छन् ।

मेरा काका–काकी पूर्वी युरोपमा जन्मेका अत्यन्त कठोर यहुदी हुन् । उनीहरूले युरोपेली आन्तरिक युद्ध र नरसंहारकै बेलामा एउटा युग बाँचिसकेका थिए । हामी नाजीहरूको आक्रमणबाट बच्न आलमारी र बुइँगलमा लुकेर बाँचेका निरीह यहुदीहरूको कथा सुन्दै हुर्केका हौं। त्यो बेला पनि उनीहरूलाई सहयोग गर्न कोही आउँदैनथ्यो ।

इजरायल राज्यको स्थापना नै फेरि त्यस्तो कहिल्यै नहोस् भनेर सुनिश्चित गर्न भएको थियो । त्यसो हो भने फेरि यस्तो कसरी भयो ? इजरायल राज्यले आफ्नो काम किन गर्न सकेन ? कहाँनेर चुक्यो ?

एक अर्थमा भन्ने हो भने यो इजरायलीले वर्षौंदेखिको अभिमानको मूल्य तिरेका हुन् । हाम्रा सरकार र सर्वसाधारणले लामो समयदेखि यो महशुस गरेकी हामी प्यालेस्टिनीभन्दा धेरै बलिया छौं । त्यसपछि हामीले तिनलाई बेवास्ता गर्न थाल्यौं । इजरायलले प्यालेस्टाइनसँग शान्ति बनाइराख्ने प्रयासलाई त्यागेको र दशकौंदेखि दशौं लाख प्यालेस्टािनीलाई कब्जा गरेको कुरामा धेरै आलोचना गर्न सकिन्छ ।

तर, त्यसले मात्र हमासले गरेको क्रुर अत्याचारको औचित्य पुष्टि हुँदैन । प्यालेस्टाइनले इजरायलसँग कुनै पनि प्रकारको शान्ति सम्झौताको सम्भावना देखेको छैन । हमासले त ओस्लो शान्ति सम्झौतालाई तोडफोड गर्न सबै प्रयास गरिरहेको छ । तसर्थ, शान्ति चाहने जो-कसैले हमासका क्रियाकलापको निन्दा गर्नुपर्दछ । हमासमाथि प्रतिबन्धको माग गर्नुपर्दछ । हमासले बन्धक बनाएका सबैको तत्काल रिहाइ र हमासको पूर्ण नि:शस्त्रीकरण जरुरी छ ।

इजरायलमाथि जतिसुकै दोष थुपारियोस्, तर यसले राज्य निस्क्रिय बस्नुपर्छ भन्ने व्याख्या दिन सक्दैन । इतिहास नैतिकताको कथा हैन ।

इजरायली निस्क्रियताको वास्तविक व्याख्या कुनै प्रकारको कथित अनैतिकताको साटो लोकप्रियतावाद हो । धेरै वर्षदेखि इजरायलमा एक शक्तिशाली लोकप्रियतावादी बेन्जामिन नेतान्याहूको शासन छ, जो जनसम्बन्धका दृष्टिकोणले प्रतिभाशाली तर असक्षम प्रधानमन्त्री हुन् ।

उनले बारम्बार राष्ट्रिय स्वार्थभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखेर काम गरेका छन् । राष्ट्रलाई आफैँभित्र विभाजित गरेर आफ्नो करिअर निर्माण गरेका छन् । उनले प्रमुख सार्वजनिक पदमा नियुक्त गरेका व्यक्तिका सक्षमताभन्दा बढी उनीप्रतिको बफादारिता मात्र छ । उनी हरेक सफलताको जस लिन र असफलताको जिम्मेवारी अन्यत्र पन्छाउन चाहन्छन् । उनले सत्य बोल्ने र सुन्ने कुरालाई निकै कम महत्त्व दिएका छन्।

सन् २०२२ मा नेतान्याहूले बनाएको गठबन्धन अहिलेसम्मकै सबैभन्दा धेरै खराब हो । यो आफूलाई सफेद मुक्तिदाता ठान्ने निर्लज्ज अवसरवादीको गठबन्धन हो । यो गठबन्धनले बिग्रिँदै गएको सुरक्षा अवस्थासहित इजरायलका अन्य धेरै महत्त्वपूर्ण समस्यालाई बेवास्ता गर्‍यो । सट्टामा आफ्ना लागि असीमित शक्ति प्राप्तिको दिशामा उदत्त भयो ।

उनीहरूले आफना अवाञ्छित लक्ष्य हासिल गर्न अत्यन्तै विभाजनकारी नीति अपनाए । तिनका गलत नीतिको विरोध गर्नेविरुद्ध राज्य शक्ति कमजोर पार्न खोजेको आरोप लगाउँदै षडयन्त्र सिद्धान्त प्रयोग गरे । देशका शासक वृत्त विरुद्धको चेतनालाई ‘गहिरो देशद्रोह’ का रूपमा चित्रण गरे ।

नेतान्याहू सरकारलाई सुरक्षा अधिकारी र विज्ञले बारम्बार चेतावनी दिएका थिए कि यस्ता गलत नीतिले इजरायललाई जोखिममा पारिरहेको छ । बाह्य खतरा बढी रहेको बेला इजरायली प्रतिरोध प्रणालीमा आन्तरिक कमजोरी थपिँदैछ । यहाँसम्म कि, इजरायली प्रतिरक्षा सैन्यबलका प्रमुख अधिकारीले स्थिति र नीतिहरूबारे बैठकको माग गर्दासमेत प्रधानमन्त्री नेतान्याहूले अस्वीकार गरेका थिए ।

जब रक्षामन्त्री योभ गैलान्टले नेतान्याहूमाथि दबाब बढाउने प्रयत्न गरे, उनले रक्षामन्त्रीलाई नै बर्खास्त गरे । त्यसपछि मात्र जनताको असन्तुष्टि र आक्रोश सतहमा आयो । नेतान्याहू गैलान्टलाई पुनर्स्थापित गर्न बाध्य भए । वर्षौदेखिको यस्तो व्यवहारले इजरायलमाथि आक्रमण गर्न र यो विपत्ति निम्त्याउन सक्षम बनायो ।

आजको इजरायल र इजरायल–प्यालेस्टाइन द्वन्द्वबारे कसले के सोच्छ, त्यसको धेरै ठूलो महत्त्व छैन । तर, लोकप्रियतावादले इजरायली राज्यलाई जसरी क्षतविक्षत बनायो यसबारे भने संसारभरिका लोकतन्त्रले पाठ सिक्नु राम्रो हुन्छ । लोकप्रियतावादलाई लोकतन्त्रका लागि एक गम्भीर खतराको चेतावनीका रूपमा लिन उचित हुन्छ ।

इजरायलले अझै पनि यो विपत्तिबाट आफूलाई बचाउन सक्दछ । यसले अझै पनि हमास र यसका सहयोगी अन्य शत्रुमाथि निर्णायक सैन्य कारबाहीको तागत राख्दछ । यहुदीको लामो पीडाको स्मरणले राष्ट्रलाई अब इस्पातिलो बनाउँछ ।

इजरायली प्रतिरक्षा सैन्यबल र अन्य राजकीय अंगहरू प्रारम्भिक झड्काबाट ब्युझेर तंग्रिँदैछन् । सरकारी निस्क्रियताले छोडेका खाली ठाउँ भर्न नागरिक समाज अभूतपूर्व रूपमा परिचालन भएको छ । नागरिक रक्तदान गर्न लामो लाइनमा उभिइरहेका छन् । युद्ध क्षेत्रबाट विस्थापित शरणार्थीलाई घर-घरमा बास दिइरहेका छन् । खाना, लत्ताकपडा र अन्य अत्यावश्यक चिज दिन चाहनेको लाइन लामो हुँदैछ ।

यस्तो घडीमा हामीले विश्वभरिका मित्रहरूलाई आफ्नो साथ उभिन आह्वान गर्दंछौं । इजरायलका विगतका व्यवहारबारे आलोचना गर्न सकिने ठाउँ धेरै छन् । तर, विगत अब विगत भइसक्यो, त्यसलाई फेर्न सकिँदैन । एकपटक हमासमाथि विजय हासिल गरेपछि आशा छ कि हामीले यो सरकारको लेखाजोखा मात्र गर्दैनौं, लोकप्रियतावादी षडयन्त्र र मुक्तिदातावादी स्वैरकल्पनालाई नै सधैंका लागि परित्याग गर्ने छौं ।

इजरायली लोकतन्त्रका संस्थापक आदर्शहरूलाई स्वदेश र विश्व शान्तिका लागि साकार पार्न इमान्दार प्रयास गर्दर्छौं ।

(लेखक इजरायली नागरिक, विश्वप्रसिद्ध चिन्तक तथा लेखक हुन्। उनको यो आलेख द वासिङगटन पोस्टबाट अनुवाद गरिएको हो)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved