आलेख

‘सडकमा ट्यांक नकुदाई इजरायलमा ‘कु’ भयो’

‘कु’ सधैं सडकमा ट्यांक कुदाएर आउँदैन । इतिहासमा धेरै ‘कु’ हरू बन्द ढोकाभित्र कलमले कागजमा आएका छन् । र, जब मानिसले बुझेका थिए कि, ती कागजमा के लेखिएको छ, प्रतिरोध गर्न धेरै ढिलो भइसकेको थियो । देशको पछिल्लो अवस्थाबारे एक इजरायली प्राध्यापकको लेख ।

‘सडकमा ट्यांक नकुदाई इजरायलमा ‘कु’ भयो’

हामी ऐतिहासिक आँधीको बीचमा छौं । यो आँधीले हामीमा क्रोध वा घृणा हैन, डर जगाउँदै छ । हामी चिन्तित छौं, हामी राति निदाउन नसक्ने भएका छौं । हामी आतंकित छौं । र यसो हुन बिल्कुलै ठीक छ ।

इतिहासमा त्यस्ता क्षण हुन्छन्, जहाँ डर सबैभन्दा उपयुक्त प्रतिक्रिया बन्दछ । इतिहासमा त्यस्ता क्षण हुन्छन्, जहाँ डरले हामीलाई आवश्यक कार्य गर्न प्रेरित गर्दछ ।

आज हामीसँग भयभित हुनका लागि पर्याप्त कारण छ र हामीसँग केही गर्नका लागि पनि पर्याप्त कारण छ । कोही पनि मुर्ख नबनौं, हाम्रो सरकारले जे गरिरहेको छ, यो कुनै न्यायिक सुधार हुँदै हैन । यो गैरलोकतान्त्रिक ‘कु’ हो । यो ठीक त्यस्तै देखिन्छ, जस्तो ‘कु’ हुन्छ ।

‘कु’ सधैं सडकमा ट्यांक कुदाएर आउँदैन । इतिहासमा धेरै ‘कु’ हरू बन्द ढोकाभित्र कलमले कागजमा आएका छन् । र, जब मानिसले बुझेका थिए कि, ती कागजमा के लेखिएको छ, प्रतिरोध गर्न धेरै ढिलो भइसकेको थियो ।

इतिहास वैधानिक विधिबाटै पहिलोपटक सत्तामा आएका मान्छेले स्थापित गरेको तानाशाहीले भरिएको छ । यो सबैभन्दा पुरानो चालबाजी हो । पहिले शक्ति प्राप्त गर्न कानुनलाई प्रयोग गरिन्छ । त्यसपछि त्यही शक्ति कानुनलाई ध्वस्त पार्न प्रयोग गरिन्छ।

यो कुरालाई जाँच्दा सरकारले अहिले ल्याइरहेका कानुनको सरल अर्थ छ । यसलाई बुझ्न कसैले पनि कानुनको विद्यावारिधि गरिरहनु पर्दैन । यदि, यी कानुन पारित भएमा सरकारसँग हाम्रो नागरिक स्वतन्त्रतालाई ध्वस्त गर्नसक्ने शक्ति हुनेछ ।

१२० सदस्यीय इजरायली संसद् नेसेटमा ६१ सदस्यले आफूलाई लागेको जस्तै जातिवादी, दमनकारी र लोकतन्त्र विरोधी कानुन पारित गर्न सक्दछन् । नेसेटका ६१ सदस्यले हामीले शासन बदल्न नसकौं भनेर निर्वाचन प्रणाली नै पनि बदल्न सक्दछन् ।

जब हामीले यस्तो ‘कु’ का नेताहरूलाई सोध्ने छौं कि, यो नयाँ शासन प्रणालीमा सरकारको शक्तिको नियन्त्रण तथा सन्तुलन कसरी हुन्छ, यसले आधारभूत मानव अधिकारको रक्षा कसरी गर्दछ, उनीहरूको एउटै उत्तर हुनेछ– त्यसको लागि ‘हामीलाई विश्वास गर ।’

प्रधानमन्त्री नेतान्याहू, कानुनमन्त्री लेभिन, संवैधानिक समितिका सभापति एमके रोथम्यान ! हामी तपाईंहरूलाई विश्वास गर्न सक्दैनौं । विगत ७५ वर्षदेखि हाम्रो समाजले कायम राखेको सम्झौता तपाईंहरू च्यात्दै हुनुुहुन्छ, त्यसपछि पनि अझै हामीले तपाईंहरूलाई विश्वास गर्नुपर्ने ?

हामी पटक्कै विश्वास गर्न सक्दैनौं, किनकि हामीलाई यो राम्ररी थाहा छ कि,  तपाईंहरू के चाहनुहुन्छ ? तपाईंहरू असीमित शक्ति चाहनुहुन्छ । तपाईंहरू हामीलाई बन्द घेरामा राख्न र के खाने, कसरी बाँच्ने, के लगाउने, के सोच्ने, कसले कसलाई माया गर्ने भनेर सिकाउन चाहनुहुन्छ । तर, तपाईंहरूले यो बुझ्नु भएन कि यस्तो व्यवहार कससँग गर्दै हुनुहुन्छ ?

इजरायली दास बनाउन योग्य असल कच्चामाल हैनन् । हामी इजरायली जिद्दी छौं । हामी स्वतन्त्र र उत्साही छौं । आजसम्म कसैले हामीलाई थुनेर राख्न सकेको छैन । हामी तपाईंहरूलाई इजरायललाई तानाशाही शासनमा परिणत गर्न दिने छैनौं । त्यसो भए अगामी हप्तामा के हुनेछ ?

उनीहरूले आफ्ना अधिनायकवादी कानुन पारित गर्ने प्रयास गर्नेछन् । उनीहरूले हामीलाई अराजक र देशघाती भन्ने छन् । हुन सक्दछ, उनीहरूले प्रतिरोधलाई दमन गर्न कुनै अतिवादी घटना गराउन र त्यसको दोहन गर्न सक्दछन्।

हाम्रो तर्फबाट भन्दा हामी जनप्रदर्शन नियमित गर्ने छौं । र हामी सर्वोच्च अदालतका न्यायाधीशलाई लोकप्रिय समर्थनद्वारा तानाशाही कानुनलाई प्रहार गर्न दृढ संकल्पित छौं भनेर सुचित गर्नेछौं । अनि सरकारले सर्वोच्च अदालतको रुलिङ अस्वीकार गर्‍यो भने के होला ?

त्यसपछि कुरा प्रष्ट छ– हामी संवैधानिक संकटको चरणमा प्रवेश गर्ने छौं । यस्तो संवैधानिक संकट स्पष्ट नियम र कानुनविहीनताको भूभागमा प्रवेश गर्नेछ । त्यसपछि प्रहरीले कसबाट आदेश लेला ? सरकारबाट कि अदालतबाट ? सिनवेट र मोसादले कसबाट आदेश लेलान् ? इजरायली प्रतिरक्षा बलले कसको आज्ञा पालना गर्ला ? तर, यी सबैभन्दा महत्त्वपूर्ण प्रश्न इजरायली नागरिकले के गर्लान् ?

ओपिनियन पोलले प्रष्ट गरेका छन् कि इजरायलीको अत्यधिक बहुमतले सरकारले गरिरहेको कामको विरोध गर्दछ । तर, यस्ता सर्वेक्षणले मात्र तानाशाहीलाई रोक्न सक्दैन । इतिहासले हामीलाई बारम्बार यो सिकाएको छ कि लोकतन्त्रको अन्तिम र महत्त्वपूर्ण प्रतिरक्षा रेखा स्वयं नागरिक हुन् ।

लोकतन्त्र एउटा यस्तो सम्झौता हो, जसअनुसार नागरिकले सरकारका निर्णयको सम्मान गर्नुपर्दछ, यस्तो शर्तमा कि सरकारले नागरिकका आधारभूत स्वतन्त्रताको सम्मान गर्दछ । जब एउटा पक्षले सम्झौता भंग गर्दछ, अर्को पक्षले सम्झौता पूरा गरिरहनुपर्छ भन्ने छैन । जब सरकारले तानाशाही स्थापित गर्ने प्रयत्न गर्दछ, नागरिकलाई प्रतिरोध गर्ने अनुमति हुन्छ ।

इजरायली नागरिकका लागि यो कुरा परीक्षण गर्ने ऐतिहासिक क्षण आएको छ, यदि हामी यसमा असफल भयौं भने दोस्रो अवसर नै दिइने छैन। हामीले अब हाम्रो टाउको उठाउनुपर्दछ वा हाम्रो बाँकी जीवनका लागि हाम्रो टाउको झुकाउनुपर्दछ । हामीले अब हाम्रो आवाज उठाउनुपर्दछ वा हाम्रो बाँकी जीवनभरि हाम्रो मुख बन्द गर्नुपर्दछ । यो समय विरोध गर्ने, कराउने र अडान लिने बेला हो ।

उदाहरणका लागि एक विश्वविद्यालय प्राध्यापकका रूपमा म आशा गर्दछु कि जबसम्म यो गैरलोकतान्त्रिक ‘कु’ विरुद्ध सबै प्राज्ञिक संस्थापनले हडताल गर्नुपर्नेछ । नि:सन्देह हामीले आफ्ना विद्यार्थीलाई यस्तो अप्ठ्यारो समयमा सहयोग गर्न कुनै कसर बाँकी राख्न हुन्न तर यो एउटा यस्तो क्षण हो कि हामीले नियमित कक्षा रोक्न, लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रताबारे मात्र पढाउनुपर्दछ ।

यदि, हामीमध्ये कसैलाई औपचारिक हडतालमा जान अप्ठ्यारो लाग्छ भने, म विश्वस्त छु कि इजरायली हुनुको नाताले हामीले आफ्ना खुट्टा आफैँले तान्ने र सरकारी आदेशलाई अवज्ञा गर्ने रचात्मक तरिका फेला पार्ने छौं । हामीमध्ये प्रत्येकले लोकतन्त्र विरोधी ‘कु’ को प्रत्येक चाललाई अलिकति भए पनि रोक्नु पर्नेछ ।

अन्तिम कुरा, एक इजरायलीका रूपमा मसँग जुन माइक्रोफोन छ, म यसलाई व्यक्तिगत सन्देश पठाउने अवसरका रूपमा उपयोग गर्नेछु । सर्वोच्च अदालतका प्रधानन्यायाधीश इस्तर हायुत, महान्यायधिवक्ता गाली बहारभ माअरालाई कि तपाईंहरूलाई इजरायलको इतिहासले सबैभन्दा कठिन र सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी सुम्पेको छ । यो आफैँमा एक ठूलो उत्तरदायित्व हो, साथै उत्तिकै ठूलो सुविधा पनि हो ।

तपाईंको कदमले इतिहास बनाउँछ । नहिचकिचाउनुस्, पछि नफर्किनुस्, हाम्रो स्वतन्त्रताको रक्षा गर्नुहोस् । राष्ट्रपति हेरजोङ र विपक्षी दलका प्रमुख नेताहरु – स्वतन्त्रताको रक्षाकवच बन्नुस्, यसमा कुनै सम्झौता नगर्नुस्।

जब बाघ हामीलाई खान आउँछ, हामी यस्तो सम्झौता गर्न सक्दैनौं कि आधा शरीर खाएर जाओस् । इजरायली प्रतिरक्षा रिजर्भ बलका सिपाहीलाई– जो यस्तो बेला के गर्नुपर्दछ भनेर सोचिरहेका छन्, तपाईंहरू तानाशाहहरूको सेवा नगर्नु होला, तपाईंहरूको सम्झौता इजरायली लोकतन्त्रसँग हो, यसका लाउकेसँग हैन ।

आईडीएफ, सिन बेल्ट, मोसाद र प्रहरीलाई– जब सत्यको समय आउँछ, सही छनोट गर्न सक्नुपर्दछ । इतिहासमा नागरिक रक्षकका रूपमा अंकित हुनुस्, निरंकुशको सेवकका रूपमा हैन । ती सबै प्रदर्शनकारीलाई, जो इजरायलभरि सडकमा आएका छन्, उनीहरूलाई म यति मात्र भन्न चाहन्छु– तपाईंहरूलाई मेरो प्रेम छ ।

र, अन्तिममा, म नेतान्याहू, लेभिन रोथम्यान र उनीहरूका सहकर्मीलाई स्पष्ट सन्देश दिन चाहन्छु– सत्य हो, तपाईंहरूसँग नेसेटमा ६४ औंला छन, तर ती औंलालाई मनलाग्दो ठाउँमा भेट्दै हिँड्ने अनुमति छैन ।

हाम्रा स्वतन्त्रता भेट्ने प्रयासबाट आफ्ना हात झिक्नुस् । ‘कु’ रोक्नुस्, हैन भने हामी देश पूरै ठप्प गरिदिने छौं ।

(द गार्जियनबाट अनुदित )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved