केन्द्रीय समिति बैठकपछिको कांग्रेस : समस्या उठान तर छैन समाधान

यो बैठकले कांग्रेसप्रतिका अविश्वास र आशंकाको कुनै समाधान दिएन । प्रत्यक्ष प्रसारणमार्फत् पार्टीभित्रको तमासा त जनताले देखे तर, त्यो प्रीतिकरभन्दा बढी ‘बोर’ लाग्दो थियो । ताल नदिने मादल जति ठोके पनि खरी झर्ने मात्रै हो । केन्द्रीय समिति बैठकमा कांग्रेसी मादलको खरी राम्रै गरी झर्‍यो तर कुनै ताल भने पक्रिएन ।

केन्द्रीय समिति बैठकपछिको कांग्रेस : समस्या उठान तर छैन समाधान

काठमाडौं । पार्टी विधानअनुसार २-२ महिनाभित्र बस्नुपर्ने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक २ वर्षपछि बस्यो र सकियो । कांग्रेसको इतिहासमा मात्रै हैन, देशको राजनीतिक दलकै इतिहासमा बैठकको प्रत्यक्ष प्रसारण गर्ने ‘क्रेडिट’ कांग्रेसको यो बैठकले पायो । कांग्रेस बैठकको यो पक्षलाई सबैले सकारात्मक रूपमा लिए र प्रशंसा गरे ।

सभापति शेरबहादुर देउवाले किन र कुन उद्देश्यका लागि केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गरे, त्यसको भिन्नै विश्लेषण होला । कतिपयको भनाइमा आफूलाई बलियो देखाउन वा पार्टीभित्रको अल्पमत पक्षको ‘हैसियत देखाइदिन’ वा ‘सेखी झार्न’ उनले यस्तो निर्णय लिएका थिए। देउवाको अपेक्षा बैठकले पूरा गर्‍यो कि गरेन, त्यसको विश्लेषण उनले गरेकै होलान् वा उनकै गुटले गर्दै गर्ला ।

पार्टी बैठकमा आफूलाई बलियो देखाउनु नै उनको उद्देश्य थियो भने त्यो अवश्य पूरा भएको छ । कांग्रेस केन्द्रीय समितिमा सभापति देउवाका सामान्य ‘समर्थक’ मात्र हैन, ‘अन्धभक्त’ तहमा ओर्लिन सक्नेहरूको वर्चश्व छ भन्ने जनताले राम्ररी बुझे । कांग्रेसभित्र देउवा इतर खेमाको वास्तविक शक्ति र हैसियत के कतिको भन्ने पनि प्रत्यक्ष प्रसारणमा राम्रैगरी देखियो ।

नयाँ समीकरण : तीन गुट

कांग्रेसभित्रको आन्तरिक शक्ति समीकरण १४औं महाधिवेशनको बेलाको जस्तो बाँकी छैन भन्ने बैठकले राम्रै गरी देखायो । यदि त्यस्तो हुन्थ्यो त पार्टीभित्र ‘मुख्य विपक्षी’ नेताको हैसियतमा शेखर कोइराला देखिनुपर्थ्यो । बैठकको परिदृष्य बिल्कुलै त्यस्तो थिएन । शेखर आफैँमा बिल्कुलै अस्पष्ट, कमजोर र निरिह देखिए, न त उनले महामन्त्री गगन थापालाई खुलेरै समर्थन गर्न सके ।

बैठकमा मुख्य प्रतिद्वन्द्वीता सभापति देउवा र महामन्त्री थापाबीच देखियो । महामन्त्री थापा सभापति देउवा पक्षका केन्द्रीय सदस्यहरूको आलोचनाको तारो बने । सामान्यतः राजनीतिक दलमा नेतृत्वको आलोचना हुँदा मूल नेताको हुन्छ । तर, सभापति देउवाले भने हाइसञ्चो पाए । आलोचनाको दबाब महामन्त्री थापाले सामना गर्नुपर्‍यो । तर, आफ्ना प्रस्ताव, कार्ययोजना र ‘नोट अफ डिसेन्ट’ मार्फत् महामन्त्री थापाले सभापति देउवामाथि राम्रै दबाब बनाए । देउवाका दर्जनौंसँग गगन एक्लै हाबी हुन खोजे । तर, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समर्थन र साथले थापालाई सहजता दियो ।

गत महाधिवेशनमा गगन र विश्वप्रकाशको गुट फरक-फरक थियो । यसपटकको बैठकका समीकरण बदलिएको देखियो । सभापति देउवाको संस्थापनवादी गुट अझै बलियो छँदैछ । भविष्यमा पूर्णबहादुर खड्काले यो गुटको उत्तराधिकार सम्हाल्ने छन् भन्ने धेरैको बुझाइ छ । गगन– विश्वप्रकाशको सहकार्यले अर्को नयाँ र बलियो गुट बन्ने देखियो । हिजो तेस्रो गुटको नेतृत्व कृष्णप्रसाद सिटौलाले गर्थे । उनको गुटबाट चर्चामा आएका प्रदीप पौडेल गगन–विश्वप्रकाशको हाराहारी देखिएनन् । सिटौलाको गुटाधिकार सम्हाल्ने चाहना र इच्छाशक्ति सायद उनमा बाँकी छैन । तेस्रो गुटको स्थान शेखर कोइराला समूहले लिएजस्तो देखियो, त्यो पनि सिटौला गुटजस्तै कमजोर हालतको ।

झन् झन् कमजोर हुँदै कोइराला

कुनै बेला कोइराला परिवार कांग्रेसका लागि भारतको ‘गान्धी परिवार’ सरह मानिन्थ्यो । मातृकाप्रसाद कोइराला २००७ सालको क्रान्तिका कमान्डर मानिन्थे । पछि उनी कांग्रेस राजनीतिबाट पलायन भएर राजावादी धारमा लागे । उनको समेत गणना गर्दा देशले कोइराला परिवारबाट ४ प्रधानमन्त्री पाएको छ– मातृका, वीपी, गिरिजाप्रसाद र सुशील कोइराला । वीपी कोइराला त देशको समग्र लोकतान्त्रिक आन्दोलनकै एक ‘आइडोलग’ मानिन्छन् । गिरिजाप्रसाद कोइरालाले पनि कांग्रेस शक्तिको लामो र महत्त्वपूर्ण प्रयोग गरेका थिए ।

कांग्रेसको यो बैठकसम्म आइपुग्दा कोइराला परिवार झन् झन् कमजोर हुँदै गएजस्तो देखियो । शेखर कोइराला मात्र हैन, कोइराला परिवारका अर्का सदस्य तथा वीपीपुत्र शशांक कोइरालामा पनि कुनै ‘दम’ देखिएन । शशांकप्रति मान्छेको त्यति धेरै अपेक्षा पनि थिएन । तर, शेखरले कोइराला परिवारको विरासतलाई नयाँ ढंगले पुनर्गठित गर्न र शक्तिशाली बन्न सक्दछन् कि भन्ने धेरैको आकलन थियो ।

यो बैठकपछि शेखरले यो अवसर गुमाएजस्तो देखिन्छ । आगामी दिनमा कांग्रेस नेतृत्वको मुख्य प्रतिस्पर्धा देउवा र गगन–विश्वप्रकाश समूहबीच हुने सम्भावना बढेको छ ।

देउवा समूहको प्रतिरक्षा : पार्टीभित्र बलियो, जनतामाझ कमजोर

बैठकमा देउवा गुटले आफ्नो समूहको राम्रै बचाउ र प्रतिरक्षा गर्‍यो । त्यसबाट सभापति देउवा खुसी र सन्तुष्ट देखिए । गगन गुटको उछितो काढेर आफ्ना गुटका केन्द्रीय सदस्य बोल्दा अनुहार र ‘बडी ल्याङग्वेज’ ले उनको अन्तर्मनलाई छर्लङ पार्थ्यो । देउवा मात्र हैन, पत्नी आरजूसमेत मुसुमुसु हाँसिरहेका क्लिप सामाजिक सञ्जालमा आए ।

देउवा गुटले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न पूर्वगृहमन्त्री बालकृष्ण खाणको पनि राम्रै पक्षपोषण गर्‍यो । कतिपयले त राज्यले उनलाई योजनाबद्ध ढंगले फसाएको भन्न भ्याए । ‘आफ्नै परिवारको सदस्य फस्दा सहयोग नगरेको’ भन्दै गुनासो गर्ने त धेरै देखिए ।

कांग्रेसको आमचेतना अझै पनि जहाँको तहीँ रहेछ भन्ने जनताले राम्रै बुझे । आफ्नो पार्टीको वा परिवारको हो भने जस्तोसुकै अपराध गरे पनि बचाउनुपर्छ भन्ने भन्ने सोच कांग्रेसमा व्याप्त रहेछ । पार्टीभित्र गुट र खाणको बचाउ भयो होला, तर यस्ता तर्क र धारणाले जनतामा भने कांग्रेस झनै कमजोर हुने निश्चित छ । कांग्रेसका यस्ता केन्द्रीय सदस्यले आफै पुष्टि गरिदिए कि यो पार्टी भ्रष्टाचार विरोधी आन्दोलन, कारबाही र सुशासनको पक्षधर हुन सक्दैन ।

आत्मश्लाघा र आत्मनिन्दा : कुन प्रमुख समस्या ?

महामन्त्री गगन थापाको विश्लेषणमा कांग्रेस दुई प्रकारको अतिवादको चेपुवामा परेको छ । नेतृत्वमा आत्मश्लाघा छ र तलतल कार्यकर्तामा आत्मनिन्दा । नेतृत्व अझै पनि सबैथोक ठीकठाक छ भन्ने ठान्दछ । जबकि, बारा तनहुँ र चितवनको पछिल्लो उपनिर्वाचन परिणाम हेर्ने हो भने कांग्रेसको भविष्य अन्धकारमा फस्दै गएको छ ।

जुन संख्या र अनुपातमा कांग्रेस समर्थक मतदाताले कांग्रेसलाई छोड्दै गएका छन, यो ‘ट्रेन्ड’ कायम रह्यो भने अन्य ठूला, पुराना दल एमाले र माओवादीसँगसँगै कांग्रेस निकै ठूलो संकटमा पर्न सक्दछ । २०८४ को चुनावमा इतिहासमै पहिलोपटक कांग्रेस २० प्रतिशतभन्दा पनि कम लोकप्रिय मत प्राप्त गर्ने स्थितिमा गिर्न सक्दछ ।

आत्मश्लाघा पाल्ने र आत्मनिन्दा गर्ने दुवैथरी केन्द्रीय सदस्यले देशको बदलिँदो मतदान प्रवृत्ति र रुझानको कुनै सार्थक विश्लेषण गरेनन् । गगन थापाले व्यक्त गरेका केही सीमित सैद्धान्तिकरणले मात्र नयाँ रुझानको वेगलाई छेक्न सक्ने ताकत छैन । अन्य पाका नेता र सभापति देउवामा पनि यसप्रति कुनै रुचि देखिएन ।

कांग्रेस केन्द्रीय समितिले नयाँ राजनीतिक रुझान र प्रवृत्तिलाई बेवास्ता गरेर अघि बढ्ने मुड त देखायो तर यो यति सजिलो कुरा भने हैन । महामन्त्री विश्वप्रकाश शर्माको भनाइ ‘नयाँहरू खहरे हुन्, खहरेबाट बिजुली निस्किँदैन’ जस्तो सरलीकृत बुझाइमा हिँड्न खोजेको देखियो कांग्रेस ।

जनता र मतदाताबीचको निरासाको ‘स्केल’ नयाँ दलप्रतिको रुझान र राजनीतिक विकल्पको खोजी कांग्रेसले सोचेजस्तो सामान्य भने लाग्दैन । महामन्त्री थापाले आत्मश्लाघा र आन्मनिन्दामध्ये कुन ठूलो समस्या हो प्रष्ट गर्न नसके पनि कांग्रेसमा आत्मश्लाघाको रोग नै बढी देखियो । आँगनमा खेल्दै गरेको बाघले ढोकाबाट भित्र नछिरुन्जेल खाँदैन भन्ने सोचमा कांग्रेस ढुक्क देखियो ।

देउवाको मनोदशासँग नमिल्ने थापाको दस्तावेज

महामन्त्री थापाले सामाजिक लोकतन्त्रको अवधारणालाई पार्टीको नयाँ सोच र अवधारणाका रुपमा स्थापित गर्ने मनसाय लुकाएनन् । उनले ४१ पृष्ठको लामै दस्तावेज प्रस्तुत गरे । ठीक यही प्रकृतिको दस्तावेज उनले पार्टीको १४ महाधिवेशन अघि पनि सार्वजनिक गरेका थिए । सामाजिक लोकतन्त्र र ‘समुन्नत नेपाल’ बारे थापाका धारणा पार्टीका आधिकारिक सोच बन्छन् वा बन्दैनन् भन्ने अझै अनिश्चित छ । दस्तावेजलाई औपचारिक तबरले स्वीकार गरियो नै भने पनि देउवाको नेतृत्वकालमा त्यसको कार्वान्यवन सम्भव छैन। कांग्रेसले अवलम्बन गर्ने राजनीतिक कार्यदिशाको प्रश्न आज पनि जहाँको तहीँ छ ।

देउवा प्रचण्ड प्रधानमन्त्रीत्वको आलोपालो समय अन्त्य हुने दिन कुरेर बसेका छन् । प्रचण्ड प्रधानमन्त्री भएको १ वर्ष पनि पुगेको छैन । आलोपालोको गोप्य सहमति प्रचण्डले मान्छन्, मान्दैनन् यकिन छैन । भित्रभित्रै कम्युनिस्ट एकताको प्रयत्न कायमै छ । कथाचित यो प्रयत्न सफल भएमा छैटौंपटक प्रधानमन्त्री पद देउवाको हातमा नआउन सक्दछ । तर, देउवाले अहिले नै माया मारेका भने छैनन् । प्रधानमन्त्रीको पालो कुरेर बसेका देउवाका लागि अरु सबै कुरा गौण हुन् । कांग्रेसको भविष्यको चिन्ता र गगन थापाको दस्तावेजले देउवाको मनोदशालाई आकर्षित गर्ने कुनै सम्भावना छैन ।

समस्या उठान, छैन निदान र समाधान

कांग्रेस अलमस्त र मनमौजी पार्टी हो, यो सधै देश र जनताको समस्याप्रति बेखबर हुन्छ, सधैँ सत्ता, शक्ति र स्वार्थकै हापझाप र छिनाझपटीमा लागेको हुन्छ भन्ने धारणा राख्ने वा आरोप लगाउनको संख्या देशमा सानो छैन । तर, कांग्रेस केन्द्रीय समिति बैठकले के पुष्टि गर्‍यो भने ‘कांग्रेसी पनि यही देशका जन्तु’ हुन् । उनीहरू देश र जनताका समस्याबाट बेखबर त छैनन् तर न त्यसको गतिलो निदान छ न उपयुक्त समाधान ।

यो बैठकले कांग्रेसप्रतिका अविश्वास र आशंकाको कुनै समाधान दिएन । प्रत्यक्ष प्रसारणमार्फत् पार्टीभित्रको तमासा त जनताले देखे, हेरे तर, त्यो प्रीतिकरभन्दा बढी ‘बोर’ लाग्दो थियो । दर्जन केन्द्रीय सदस्यको धारणा सुन्दा नसुन्दै मान्छेले जिज्ञासा र धैर्यता ‘लुज’ गरिसकेका थिए । ताल नदिने मादल जति ठोके पनि खरी झर्ने मात्रै हो । केन्द्रीय समिति बैठकमा कांग्रेसी मादलको खरी राम्रै गरी झर्‍यो तर कुनै ताल भने पक्रिएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved