बैठक ‘लाइभ’ गरेर देउवाले बाजी मारे कि हारे ?

गुट व्यवस्थापन गरेर पार्टीभित्र हाबी हुने तरिका उनले गिरिजाप्रसाद कोइरालाबाटै सिकेका हुन्, गणेशमान सिंह वा कृष्णप्रसाद भट्टराईको शैली रोजेका भए उनी न ५ पटक प्रधानमन्त्री हुन्थे न २ पटक पार्टी सभापति । केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारणबाट जनताले कांग्रेसको वास्तविक आन्तरिक चरित्र र हविगत थाहा पाएका छन् ।

बैठक ‘लाइभ’ गरेर देउवाले बाजी मारे कि हारे ?

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाबारे मान्छे भन्छन्–‘कम बोल्ने मात्रै हुन्, भित्री मनका बाठा छन् । नत्र नेपालजस्तो देशमा पाँचपटक प्रधानमन्त्री हुन र कांग्रेसजस्तो पार्टीमा दुईपटक सभापति जित्न सजिलो कहाँँ छ ?’

बडो असहज अवस्थामा पार्टी केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गरेर देउवाले पुष्टि गरिदिएका छन् कि, कांग्रेसभित्र कसको हैसियत के छ ? कति देउवाले मात्रै गाली खाने, कांग्रेसमा देउवा जत्तिका पनि कोही छन् त अरु ?

दुनियाँलाई थाहा छ–देउवाको राजनीतिक ‘अक्षमता’ नै उनको क्षमता हो । कुनै बेला राजा ज्ञानेन्द्र शाहले उनलाई ‘अक्षम’ भन्दै प्रधानमन्त्रीबाट हटाएका थिए । तर, केही समयपछि पुनर्नियुक्त गर्न बाध्य भएका थिए । त्यो बेला देउवाको कथन थियो–‘गोर्खाली राजाले न्याय गर्छन् भन्ने सुनेको थिएँ, न्याय पाएँ ।’

तर, देउवाले पाएको गोर्खाली राजाको माया केही महिना मात्रै टिक्यो । उनको प्रधानमन्त्री हुने खेपको गणना थपियो । अरु त के नै गर्नु थियो र ? देउवालाई आरोपित गर्न प्रयोग गरिने ‘असक्षम’, नालायक, तदर्थवादी, वृद्ध, अशक्त, डेलिभरीमा ध्यान नदिनेजस्ता गाली वा आलोचना बारम्बार सुन्दा उनको मनमा लाग्दो हो–‘ठीक हो, म त त्यस्तै हुँला, तर तिमीहरू गतिला भनिएकाले चाहिँ गर्‍यौ के त ?’

कुरो खसोखास हो, यो देशमा देउवाभन्दा गतिला, तागतिला र बोल्न जान्ने भन्नेहरूले पनि कुनै लछारपाटो लगाएका छैनन् । एमाले अध्यक्ष केपी शर्मा ओली देउवाभन्दा सय हैन, हजार गुणा बढी बोल्छन् । दैनिक दर्जनौं उखान-टुक्काको तीर हान्छन्, ‘डाइलग’ मार्छन् । तर, देउवाभन्दा उनी के कारण र कामले गतिला र सक्षम हुन् ? कुनै उत्तर छैन ।

नेपाली राजनीतिमा देउवाको उदय गिरिजाप्रसाद कोइरालासँग टक्कर गरेर भएको हो भन्ने कतिपयको भ्रम छ । सायद देउवाले मनमनै त्यो भ्रम राख्दैनन् । देउवाको उदयमा कोइराला परिवारको असीमित आर्शिवाद थियो । बीपी कोइरालाले उनलाई नेविसंघ राजनीतिमा ल्याएका थिए ।

देउवाका समकालीन तथा समकक्षी अन्य पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्षहरू प्राय: सबै बोलक्कड नै छन् सही, तर सिन्को भने देउवाभन्दा धेरै भाँचेजस्तो लाग्दैन । नेपाली राजनीतिमा देउवाको उदय गिरिजाप्रसाद कोइरालासँग टक्कर गरेर भएको हो भन्ने कतिपयको भ्रम छ । सायद देउवाले मनमनै त्यो भ्रम राख्दैनन् । देउवाको उदयमा कोइराला परिवारको असीमित आर्शिवाद थियो । बीपी कोइरालाले उनलाई नेविसंघ राजनीतिमा ल्याएका थिए ।

२०४८ को आमनिर्वाचनमा गिरिजाप्रसाद कोइरालाले सुदूरपश्चिमका १६ संंसदीय सिटको खाली टिकट हस्ताक्षर गरेर देउवालाई जिम्मा लगाइदिएका थिए । कांग्रेसले १६ वटै सिट जित्यो । देउवा ‘शेरे सुदूरपश्चिम’ कहलाए । र गिरिजाप्रसाद कोइरालाको सरकारमा गृहमन्त्री पड्काए ।

गिरिजाले यो अवसर दिँदैनथे त सायद देउवा न गृहमन्त्री बन्थे न उनको भिन्नै गुटको बिउ नै रोपिन्थ्यो । सायद आरजू राणासँग उनको बिहे पनि हुने थिएन । आरजूको साथले देउवाको बाह्य छविलाई फाइदा भएको छ कि घाटा त्यसको भिन्नै विश्लेषण होला तर, ‘आन्तरिक मजबुती’ मा फाइदै फाइदा भएको छ । प्रदीप गिरी भन्थे–‘कांग्रेसमा गुट बनाउन गाह्रो हैन, त्यो म पनि सक्दछु तर गुट पाल्न गाह्रो छ, म त्यो सक्दिनँ, तसर्थ गुट बनाउँदिनँ । अनि सभापति वा प्रधानमन्त्री हुने आकांक्षा पनि राख्दिनँ ।’

देउवाले गुट बनाएनन् मात्र ‘पाले’ पनि । यो दिव्यज्ञान र कला उनले अरुबाट हैन, गिरिजाप्रसाद कोइरालाबाटै सिकेका थिए । यही कला र क्षमताले कांग्रेसमा कोइरालाले गणेशमान–किशुनजीलाई सिध्याएका थिए । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई दुवैले जीवनको उत्तरार्द्धमा नेपाली कांग्रेस पार्टी परित्याग गरेका थिए, गिरिजाप्रसाद कोइरालासँग टिक्न नसकेर । पार्टी छोडेका गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको फोटो कांग्रेसले आज पनि पुज्छ, अरु पार्टीमा भए सायदै यस्तो सम्भव हुने थियो ।

जुन काम गणेशमान– किशुनजीले पार लगाएनन्, प्रदीप गिरिहरूले आँट नै गरेनन्, त्यो देउवाले गरेर देखाए । ढिलो-चाँडो कांग्रेस कोइराला परिवारबाट खोसेरै छोडे । कोइराला परिवारबाट कांग्रेसको नेतृत्व खोस्नु कुनै बेला गान्धी परिवारबाट भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्व खोस्नु जतिकै गाह्रो र एक प्रकारले असम्भवजस्तो मानिन्थ्यो ।

१५ वर्ष पार्टी प्रमुख भएका माधव नेपाललाई आज एमालेहरू जुन तल्लोस्तरमा उत्रिएर गाली गर्दछन्, त्यो परिदृष्यसँग तुलना गर्ने हो भने कांग्रेसीलाई ‘सभ्य, शालीन र सुसंस्कृत’ नै भन्नुपर्ने हुन्छ। जुन काम गणेशमान– किशुनजीले पार लगाएनन्, प्रदीप गिरिहरूले आँट नै गरेनन्, त्यो देउवाले गरेर देखाए । ढिलो-चाँडो कांग्रेस कोइराला परिवारबाट खोसेरै छोडे । कोइराला परिवारबाट कांग्रेसको नेतृत्व खोस्नु कुनै बेला गान्धी परिवारबाट भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्व खोस्नु जतिकै गाह्रो र एक प्रकारले असम्भवजस्तो मानिन्थ्यो ।

त्यो गाह्रो काम फत्ते गर्ने पात्रका रूपमा इतिहासले देउवालाई रोज्यो । कोइराला परिवारका तीन-तीन उत्तराधिकारी शशांक, सुजाता र शेखर हेरेको हेर्‍यै भए । सम्भवत: गिरिजाप्रसादलाई थाहा थियो–देउवामा कुनै न कुनै प्रकारको विशेष रसायन छ । त्यही कारणले हुनुपर्दछ देउवाले पार्टी फोडेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाउँदा पनि कोइरालाले चर्को आक्रमण र हल्का टिप्पणी गरेनन् ।

पार्टी फोडेर निस्किएको मान्छे फर्किएर मूलधारकै पार्टी कब्जा गरेको दृष्टान्त विरलै हुन्छन् । नेपालमा त देउवाबाहेक अरु छैनन् पनि । ‘पार्टी एकता’ गर्ने बेलामा गिरिजाप्रसाद कोइरालाले देउवालाई भनेका थिए रे–‘ढिलो चाँडो कांग्रेस तिम्रै हातमा आउँछ भन्ने मैले बुझिसकेँ । सुजाताको पनि ख्याल गर्नु ।’

डा. मिनेन्द्र रिजालको मोरङ–१ को टिकट खोसेर गिरिजापुत्री सुजातालाई दिँदै गर्दा सायद देउवाले वृद्ध गिरिजाको त्यो वाक्य सम्झेका थिए । देउवाले न शेखरको टिकट खोसे न शशांकको, न सुजाताको न गगनको । रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन पनि हिचकिचाएनन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई ओल्चेर बोलेको, भीम रावल र घनश्याम भुसालको टिकट खोसेको सम्झना र तुलना गर्ने हो भने कम्तीमा देउवा त्यो स्तरमा नउत्रिएकै हुन् ।

अहिले देउवामाथि आधुनिक लोकतन्त्रलाई नबुझेको ‘अपारदर्शी’ ढंगले पार्टी चलाएको आरोप थियो । उनैले पार्टी केन्द्रीय समिति बैठक ‘लाइभ’ गरिदिए । र, यो पुष्टि गरिदिए कि देउवाको आत्मामा हजार कमजोरी र स्वार्थका बाबजुद लोकतन्त्रप्रतिको मोह मरिसकेको छैन।

राजा ज्ञानेन्द्रको माघ–१९ को ‘कु’ पछि पनि उनीमाथि यस्तै आरोप लागेको थियो । कतै उनी २०१७ सालपछिका डा. तुलसी गिरी र विश्वबन्धु थापाजस्तै त हुने हैनन् । जुद्ध शमशेर खलकको आन्तरिक रसायनले उनलाई गोर्खाली राजाको पोल्टामा पार्ने त हैन ? देउवाले त्यो बाटो रोजेनन्।

गुट व्यवस्थापन गरेर पार्टीभित्र हाबी हुने तरिका उनले गिरिजाप्रसाद कोइरालाबाटै सिकेका हुन्, गणेशमान सिंह वा कृष्णप्रसाद भट्टराईको शैली रोजेका भए उनी न ५ पटक प्रधानमन्त्री हुन्थे न २ पटक पार्टी सभापति । जनस्तरको छवि त २०४६–२०५६ बीच गिरिजाप्रसाद कोइरालाको पनि राम्रो थिएन । पछि शान्ति प्रक्रिया र गणतान्त्रिक आन्दोलनले ‘मेक अप’ गर्दिएको मात्रै हो ।

यसले पनि के देखायो भने देउवाको आत्माभित्र जुद्ध शमशेरको प्रेत, विश्ववन्धु थापाहरूको प्रवृत्तिभन्दा कोइराला परिवारकै विरासत छ । यस अर्थमा देउवालाई कोइराला परिवारको खाँटी राजनीतिक उत्तराधिकारी मान्न सकिन्छ । शशांक, शेखर र सुजाता त जैविक उत्तराधिकारी मात्रै हुन् ।

गुट व्यवस्थापन गरेर पार्टीभित्र हाबी हुने तरिका उनले गिरिजाप्रसाद कोइरालाबाटै सिकेका हुन्, गणेशमान सिंह वा कृष्णप्रसाद भट्टराईको शैली रोजेका भए उनी न ५ पटक प्रधानमन्त्री हुन्थे न २ पटक पार्टी सभापति । जनस्तरको छवि त २०४६–२०५६ बीच गिरिजाप्रसाद कोइरालाको पनि राम्रो थिएन । पछि शान्ति प्रक्रिया र गणतान्त्रिक आन्दोलनले ‘मेक अप’ गर्दिएको मात्रै हो ।

देउवाको पनि जनस्तरको छवि राम्रो छैन, गरिजाको जस्तै गुट व्यवस्थापन कला राम्रो छ । यो संसदीय लोकतन्त्रको विश्वव्यापी चरित्र पनि हो, अझ यो दक्षिण एसियाली राजनीतिको नकारात्मक प्रवृत्ति पनि हो । गिरिजा र देउवा मात्रै हैन, दक्षिण एसियाका अधिकांश लोकतन्त्र यो प्रवृत्तिको शिकार भएका छन् ।

सबैलाई थाहा छ–गुट पाल्न पैसा चाहिन्छ । साँचो असक्षमता, भ्रष्टता र अपारदर्शिता त्यहीँबाट सुरु हुन्छ । यो मानेमा को चोखो होला नेपालमा ? अरुको कुरै गर्नुपरेन कम्तीमा देउवाका समकक्षी मानिएका ओली, प्रचण्डलगायत कोही पनि चोखा छैनन् ।

यो समस्या देशको ‘सिस्टम एप्रोच’ सँगै जोडिएको छ, वैयक्तिक हैन । बाहिरबाहिर सुशासनका गफ गर्नु र भित्रभित्र भ्रष्ट हुनु नेपाली राजनीतिको आम चरित्र हो । र, यो प्रवृत्तिलाई चुनौती दिन सक्ने भनेको ‘पारदर्शिता’ ले नै हो । देउवाले पार्टी केन्द्रीय समितिको बैठक लाइभ गर्दिएर आर्थिक नभए पनि ‘राजनीतिक पारदर्शिता’ को युग सुरुवात गर्दिएका छन् । यसको दबाब अब सबै पार्टीमाथि पर्ने छ । पहिलो र प्रत्यक्ष प्रभाव त एमालेमाथि नै पर्ने हुन्छ ।

मदन भण्डारी र माधव नेपालको युगमा एमाले नेताहरूको दाबी थियो–कम्युनिस्ट पार्टी भएर के भयो, कांग्रेसभन्दा हामी बढी लोकतान्त्रिक छौं । ओली युगमा पासा पल्टिएजस्तो देखिन्छ । पार्टीभित्रका शेखर–गगनसँग मात्र हैन, मूल प्रतिस्पर्धी एमाले र ओलीमाथि पनि देउवा नबोली हाबी हुन खोजेजस्तो देखिन्छ मूलतः अन्तपार्टी लोकतन्त्रको सवालमा ।

देउवाको निर्णयले भएको केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण पारदर्शिताको अर्थमा नि:सन्देह एक गतिलो सुरुवात हो । जनताले कांग्रेसका वास्तविक आन्तरिक चरित्र र हविगत थाहा पाएका छन् । यसले कांग्रेसबारे कुनै धारणा बनाउन र निर्णय लिन जनता र मतदातालाई झनै सजिलो हुनेछ ।

केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गरेर देउवाले फेरि एकपटक ‘राजनीतिक बाजी’ मारेका छन् । देशको लोकतान्त्रिक जनमत थोरै भए पनि उनीप्रति सकारात्मक भएको छ । तर, यसले कांग्रेसका चुनौती र समस्यामा भने कुनै कमी ल्याउँदैन ।

कांग्रेस बैठकले देखाउँछ कि, पार्टीभित्र देउवा गुट कोइराला–थापा गुटभन्दा अहिले पनि धेरै बलियो छ । बालकृष्ण खाणलाई बारम्बार ‘आफ्नै परिवारको सदस्य’ भन्दै ‘बचाउ’ को आग्रह गर्ने र त्यसो हुन नसकेकोमा आक्रोशित हुने केन्द्रीय सदस्यहरूको हैसियत पनि जनताले बुझ्न पाएका छन् ।

केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गरेर देउवाले फेरि एकपटक ‘राजनीतिक बाजी’ मारेका छन् । देशको लोकतान्त्रिक जनमत थोरै भए पनि उनीप्रति सकारात्मक भएको छ । तर, यसले कांग्रेसका चुनौती र समस्यामा भने कुनै कमी ल्याउँदैन ।

कांग्रेसको दुर्नियति जहाँ थियो, त्यही छ । कांग्रेस इतिहासको एउटा यस्तो मोडमा उभिएको छ कि उसले या त आफूलाई आधुनिकीकरण गर्नुपर्छ या अझ कमजोर हुनै पर्दछ । कांग्रेस अझ कमजोर हुने सम्भावनाको तीव्रतालाई केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारणबाट हुने सहानुभूतिले मात्र रोक्न सक्दैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved