बाबुरामले संकेत गरेको २०८४ को चुनावपछि नयाँ दलको प्रधानमन्त्री को ?

२०८४ पछि प्रधानमन्त्रीका रुपमा संकेत गरेका व्यक्ति रवि लामिछाने वा डा. सीके राउत हुन सक्नेछन्। त्यसो त काठमाण्डौंका मेयर बालेन र धरानका मेयर हर्क मिलेर अर्को दल खोल्ने सम्भावना पनि छ । उनीहरुका अधिकांश समर्थक अहिले रास्वपामै छन् । २०८४ को चुनावमा तिनीहरु रास्वपामै रहन्छन्, स्वतन्त्र उम्मेद्वारी दिन्छन् वा नयाँ दलमा आबद्ध हुन्छन् ? यसले पनि धेरै ठूलो अर्थ राख्ने छ ।

बाबुरामले संकेत गरेको २०८४ को चुनावपछि नयाँ दलको प्रधानमन्त्री को ?

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवस कार्यक्रममा २०८४ मा हुने निर्वाचनपछि देशमा पहिलोपटक नयाँ दलको प्रधानमन्त्री बन्न सक्ने सम्भावना औल्याएका छन्। भट्टराईले भने–‘व्यक्ति को हो, दल कुन् हो म भन्न सक्दिन, तर २०८४ को चुनावपछि देशमा नयाँ दलको प्रधानमन्त्री बन्छ।’

२०८४ को आम निर्वाचन धेरै अर्थमा महत्वपूर्ण हुने अपेक्षा अहिलेदेखि नै गर्न थालिएको छ। विश्लेषक डम्बर खतिवडा भन्छन्–‘हरेक १०–१५ वर्षमा नेपालमा केही न केही ठूलो राजनीतिक परिवर्तन हुने गरेको छ । २०७२ को नयाँ संविधानबाट गणना गर्दा २०८४ को चुनावमा १२ वर्ष पुगेको हुन्छ । तसर्थ २०८४ को चुनावले निक्कै ठूलो राजनीतिक परिवर्तन ल्याउन सक्ने सम्भावना छ ।’

नयाँ आम निर्वाचन भएको १ वर्ष नपुग्दै अधिकांश राजनीतिक दलले मिसन–२०८४ सुरु गरिसकेका छन् । गत वर्षको मंसिर ४ यता निर्वाचन भएको ७ महिना मात्र भएको छ । यसको अर्थ हुन्छ–विद्यमान संसदको बनोट र गणितप्रति दलहरु आशावादी छैनन् ।

एमालेले घोषित रुपमै मिसन–२०८४ सुरु गरिसकेको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा २०८४ को चुनावमा कांग्रेसले कसैसँग तालमेल वा गठबन्धन नगरि लड्ने बताउँदैछन् । तर, थापाको यो भनाई लागू हुने सम्भावना भने निक्कै कमजोर छ ।

एमाले र कांग्रेसपछिका संसदीय दल, माओवादी, एकीकृत समाजवादी र जसपाले हालै घोषणा गरेको ‘समाजवादी मोर्चा’ २०८४ को चुनावी रणनीतिको एक अंग हुन सक्दछ । यद्यपि मोर्चाभित्रका दल आगामी चुनावमा एउटै गठबन्धनबाट लड्दछन् भन्ने निश्चित छैन । चुनाव अघि नै यो मोर्चा तितरबितर हुन सक्दछ ।

स्वयं डा.बाबुराम भट्टराई २०८४ को चुनावमा कसरी प्रस्तुत हुन्छन् भन्ने अनिश्चित छ । नेसपाका केही नेता ‘समाजवादी मोर्चा’ मा सामेल हुँदै २०८४ को चुनाव अघि एउटै ‘समाजवादी केन्द्र’ मा पुग्न पर्ने धारणा राख्दछन् । तर अधिकांश कार्यकर्ताको मत भने ‘वैकल्पिक धार’ मै फर्किनु पर्ने भन्ने छ ।

२००७ साल यता शाह राजाले प्रत्यक्ष शासन गरेको अवधिलाई छोडेर ४६ पटक प्रधानमन्त्री फेरबदल भएको छ । तर, यस बीचमा व्यक्ति भने २२ जना मात्र प्रधानमन्त्री भएका छन् । जम्मा ३ वटा राजनीतिक शक्तिबाट प्रधानमन्त्री भएका छन् । राजावादी, कांग्रेस र कम्युनिष्ट ।

परम्परागत राजावादी धारबाट ९ जना, मोहन शमशेर, टंक प्रसाद आचार्य, डा. केआई सिंह, डा. तुल्सी गिरी, सूर्यबहादुर थापा, कीर्तिनिधि बिष्ट, नगेन्द्रप्रसाद रिजाल, लोकेन्द्रबहादुर चन्द र मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री भए ।

नेपाली कांग्रेसबाट मातृकाप्रसाद कोइराला, सुवर्ण शमशेर राणा, विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र सुशील कोइराला गरी जम्मा ७ जना प्रधानमन्त्री भए ।

कम्युनिष्ट धारबाट ६ जना, मनमोहन अधिकारी, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री भएका छन् ।

२०७० को दोस्रो संविधानसभा निर्वाचन अघि मन्त्रीपरिषदको अध्यक्षका रुपमा सरकार चलाएका प्रधानन्यायाधीश खिलराज रेग्मी भने गैरराजनीतिक व्यक्तित्व हुन् ।

२०८४ को चुनावसम्म पुग्दा यो प्रवृतिको पुनरावृत्ति भएको करिब ८ दशक पुग्ने छ । के २०८४ को चुनावले ८ दशक लामो परम्पराको अन्त्य गर्दैछ ? २०८४ को चुनावपछि कुन नयाँ दलबाट को हुन सक्दछ नयाँ प्रधानमन्त्री ?

संसदभित्र अहिलेसम्म प्रधानमन्त्री बनाउन नसकेका ५ पार्टी उपस्थिति छन् । जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत र रास्वपा ।

राप्रपा राजावादी धारको दल हो– यसका नेता बारम्बार प्रधानमन्त्री भइसकेका छन् । निर्दलीय पञ्चायती व्यवस्थामा मात्र हैन, २०४६ पछिको बहुदलीय लोकतन्त्रमा पनि सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द २-२ पटक प्रधानमन्त्री भए ।

नेपाली कांग्रेसको कुरै गर्न परेन । कम्युनिष्ट धारका एमाले, माओवादी, एकीकृत समाजवादी र नेसपा पूर्वप्रधानमन्त्री सहितका पार्टी हुन् । बाँकी दल मध्ये राष्ट्रिय जनमोर्चा र नेमकिपा कम्युनिष्ट धारकै दल हुन् ।

संसदभित्रकै नयाँ दलबाट नयाँ प्रधानमन्त्री आउँदा रास्वपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति र जनमतमध्येबाट हुनु पर्नेछ । यी दलले २०८४ को चुनावसम्म एकल बहुमत हासिल गरी सरकार गठन गर्लान भनेर पत्याउन सकिने आधार अहिले पनि कमजोर नै छ । तर, नयाँ दल बढ्न सक्ने र गठबन्धनबाट नयाँ दलको प्रधानमन्त्री आउन सक्ने सम्भावना भने अस्विकार गर्न सकिँदैन । त्यस्तो संयोग जनमत वा रास्वपामध्ये कुनै एकलाई पर्न सक्दछ ।

त्यसो हो भने डा. भट्टराईले २०८४ पछि प्रधानमन्त्रीका रुपमा संकेत गरेका व्यक्ति रवि लामिछाने वा डा. सीके राउत हुन सक्नेछन्।

विश्लेषक खतिवडा भने २०८४ को चुनावअघि दलीय समीकरण फेरि एकपटक फेरबदल हुन सक्ने ठान्दछन् । उनको विचारमा मधेसकेन्द्रित तीन दल जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीबीच एकता भई एउटै पार्टी बन्न सक्दछ भने जसपा समाजवादी मोर्चा हुँदै कम्युनिष्ट धारमा फर्किन्छ वा भिन्नै रहन्छ, प्रष्ट छैन । तर, भिन्नै रहने सम्भावना बढी हुन्छ ।

ठीक स्वयं डा. भट्टराईको पार्टी नेसपाले कुन धार समात्छ भन्ने पनि केही महिनाभित्र टुंगो लाग्नेछ । प्रभु शाहको आम जनता पार्टी भने कम्युनिष्ट धारमै मिसिन सक्दछ।

खतिवडा भन्छन्–‘रास्वपाले मात्र सबै प्रकारको वैकल्पिक जनमतलाई नेतृत्व वा प्रतिनिधित्व गर्न सक्दैन । यो दलले मध्यदक्षिणपन्थी धारको भूमिका गर्ने हुँदा मध्यवामपन्थी धारको अर्को दलको उदय हुने सम्भावनालाई अस्विकार गर्न सकिँदैन ।’

त्यसो त काठमाण्डौं महानगरका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क साम्पाङ मिलेर अर्को दल खोल्न सक्ने सम्भावना पनि छ । उनीहरुका अधिकांश समर्थक अहिले रास्वपामै छन् । २०८४ को चुनावमा तिनीहरु रास्वपामै रहन्छन्, स्वतन्त्र उम्मेद्वारी दिन्छन् वा नयाँ दलमा आबद्ध हुन्छन् ? यसले पनि धेरै ठूलो अर्थ राख्ने छ ।

यी सम्भावनालाई बुझेरै डा. भट्टराईले २०८४ को चुनावपछि नयाँ दलबाट प्रधानमन्त्री आउन सक्ने सम्भावनाको संकेत गरेका हुन सक्दछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved