कतार विश्वकपमा खेल्न नपाउने स्टार फुटबलर

एकातर्फ लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँगै केलियन एमबाप्पे, केभिन डे ब्रुइन, नेयमार, लेवान्डोस्कीजस्ता खेलाडीको प्रदर्शन हेर्न सबै उत्साहित देखिन्छन्। अर्कोतर्फ भने थुप्रै स्टार खेलाडीको अनुपस्थितिले कैयौं फुटबल प्रेमीलाई खल्लो पनि महशुस भइरहेको छ । यस पटकको विश्वकपमा केही स्टार फुटबलर आफ्नो क्षमता देखाउनबाट वञ्चित भएका छन् ।

कतार विश्वकपमा खेल्न नपाउने स्टार फुटबलर

काठमाडौं । फुटबलको महाकुम्भ ‘फिफा विश्वकप फुटबल–२०२२’ को काउन्टडाउन चलिरहेको छ । कतारमा नोभेम्बर २० मा घरेलु टोली र इक्वेडरबीचको प्रतिस्पर्धासँगै प्रतियोगिता सुरु हुनेछ ।

३२ राष्ट्रको भिड्न्त हेर्न फुटबल समर्थक आतुर छन् । एकातर्फ लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँगै केलियन एमबाप्पे, केभिन डे ब्रुइन, नेयमार, लेवान्डोस्कीजस्ता खेलाडीको प्रदर्शन हेर्न सबै उत्साहित देखिन्छन्।

अर्कोतर्फ भने थुप्रै स्टार खेलाडीको अनुपस्थितिले कैयौं फुटबल प्रेमीलाई खल्लो पनि महशुस भइरहेको छ । यस पटकको विश्वकपमा केही स्टार फुटबलर आफ्नो क्षमता देखाउनबाट वञ्चित भएका छन् । त्यसको कारण हो उनीहरुको देश विश्वकपमा छनोट नहुनु ।

एर्लिंङ हाल्यान्ड

इङ्लिस प्रिमियर लिगमा गोल मेसिन बनिरहेका एर्लिंङ हाल्यान्ड विश्वकपमा देखिने छैनन् । म्यान्चेस्टरर सिटीका स्ट्राइकर हाल्यान्डको राष्ट्र नर्वे विश्वकपमा छनोट हुन असफल भयो । यूईएफए छनोट समूहमा नर्वे तेस्रो स्थानमा रहेर दौडबाट बाहिरिएको थियो । नेदरल्यान्डस शीर्ष स्थानमा रहँदै छनोट हुँदा टर्की दोस्रो स्थानमा रहेको थियो ।

 

छनोटका १० खेलमा हाल्यान्डले ५ गोल गरे । उनले यो सँगै नेदरल्यान्डका लागि २३ खेलमा २१ गोल गरे । तर देशलाई छनोट गराउन भने सकेनन् ।

मोहम्मद सलाह

अफ्रिकाको छनोट प्रक्रियामा इजिप्टले अवसर गुमाएसँगै मोहम्मद सलाहले पनि यस पटकको विश्वकप गुमाए । प्लेअफमा सेनेगलविरुद्धको खेलमा पेनाल्टी चुकेसँगै इजिप्ट र सलाहको सहभागिताको अवसर गुम्यो ।

 

सन् २०१८ को विश्वकप पनि चोटका कारण सलाहले गुमाएका थिए । उनले इजिप्टको विश्वकपमा प्रतिनिधित्व गर्न अब अर्को ४ वर्ष कुर्नुपर्ने देखिन्छ ।

सन् २०२१–२२ को सिजनमा ३१ गोल गर्दै सलाहले लिभरपुललाई काराबाओ कप र एफए कप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । सलाह यस वर्षको बालोन डी ओरमा पनि पाँचौँ स्थानमा थिए ।

लुइस डियाज

लिभरपुलक अर्का स्टार लुइस डियाजले पनि कतार विश्वकपमा खेल्ने छैनन् । कोनमेबोल प्लेअफमा कोलम्बिया छनोट हुन असफल भएसँगै डियाजले अवसर गुमाए । छनोटको दौरान लुइसले कोलम्बियाका लागि ३ गोल गरेका थिए । जनवरीमा पेरुविरुद्धको खेलमा १–० ले पराजित भएसँगै कोलम्बिया छनोटमा नै रोकियो ।

 

सन् २०२१ को कोपा अमेरिकामा ४ गोल गरेपछि लुइसको चर्चा चुलिएको थियो । साथै, पिछडिएको वायू समुदायको पृष्ठभूमिले पनि उनको संघर्ष लोकप्रिय बनेको थियो ।

मार्टिन ओडेगाडे

नर्वे छनोटमा रोकिएसँगै इङ्लिस क्लब आर्सनलका मिड फिल्डर मार्टिन ओडेगार्डले पनि विश्वकप खेल्न पाउने छैनन् । सन् २०२१ मा नर्वेको कप्तानमा नियुक्त भएका मार्टिनले यसपटकको स्पर्धामा भने आफ्नो नेतृत्वको क्षमता देखाउन नपाउने भएका छन् ।

 

२३ वर्षीय मार्टिनको फुटबलमा छोटो समयमा नै आउँँदै गरेको परिपक्वताबाट खेल पण्डितहरू खुसी देखिन्छन् । अत्याधिक विश्लेषकहरूले उनको नेतृत्व क्षमताको प्रशंसा गर्दै आर्सनलको सफल कप्तानको सूचीमा चम्किने बताएका छन् ।

डेभिड अलाबा

अस्ट्रियाले विश्वकप गुमाएको छ । सन् १९८८ देखि अस्ट्रिया विश्वकपमा छनोट हुन सकेको छैन । विगत केही वर्षदेखि अस्ट्रियाको प्रदर्शनमा केही सुधार देखिएको थियो । र छनोट हुने सम्भावना पनि प्रबल देखिएको थियो ।

अस्ट्रियाको प्रदर्शन सुधार हुनुमा बायर्न म्युनिखका पूर्व डिफेन्डर तथा रियल मड्रिडका खेलाडी डेभिड अलाबाको पनि ठूलो योगदान छ । प्लेअफमा वेल्ससँग २–१ ले पराजित भएसँगै अस्ट्रिया यसपटक पनि विश्वकपमा जान सकेन ।

सो खेलमा अलाबाले आफ्नो राष्ट्रलाई पूर्णरूपमा सहयोग गर्न सकेनन् ।

 

डेभिडलाई विगत एक दशकमा मिडफिल्ड, लेफ्ट ब्याक र सेन्टर ब्याक पोजिसनमा उत्कृष्ट प्रदर्शन गरेको फुटबलरका रूपमा लिइन्छ । क्लबस्तरीय स्पर्धामा उनको प्रदर्शन लोभलाग्दो रहेको छ।

सन् २०१२–१३ देखि सहभागी भएको हरेकजसो लिगमा उनले उपाधि जित्न सफल भएका छन् । बार्यनका लागि ४०० खेलमा सहभागी भएका डेभिडले १० बुन्डेसलिगा र ३ च्याम्यिन्स लिगको उपाधि पनि जितेका छन् ।

फ्रान्क केसी

एसी मिलानलाई सिरी एको उपधि जिताउन महत्त्वपूर्ण योगदान पुर्‍याएका पूर्व मिडफिल्डर तथा बार्सिलोनाका खेलाडी फ्रान्क केसीले पनि विश्वकप खेल्न पाउने छैनन् । काफ छनोटमा आइभोरीकोस्ट दोस्रो चरणमा रोकियो । क्यामरुन शीर्ष स्थानमा हुँदा आइभोरीले भने दोस्रो स्थानमा चित्त बुझायो ।

 

केसीको बक्स टु बक्स खेल्ने शैली टोलीको लागि निकै नै प्रभावकारी रहँदै आएको छ । केसी गोल गर्ने क्रममा तथा डिफेन्स गर्ने क्रममा पनि उत्तिकै सक्रिय रहने गर्दछन् ।

जियानलुइगी डोनारुम्मा

सन्र २०२० मा इटालीले युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । यसमा पेरिस सेन्ट जर्मेन पीएसजीको पनि गोलरक्षक रहेका जियानलुइगी डोनारुम्माको महत्त्वपूर्ण योगदान थियो ।

 

विश्वकप छनोट हुने प्रबल सम्भावना देखाएको इटाली यूईएफए छनोट समूहमा स्विटजरल्यान्डभन्दा पछाडि पर्‍यो । यसपश्चात् प्लेअफ सेमिफाइनलमा नर्थ म्यासेडोनियासँग स्तब्ध भयो । इटालीको यात्रा रोकिएसँगै पडोनारुम्माले पनि विश्वकप खेल्न नपाउने भए । एसी मिलानबाट पीएसजी गएका डोनारुम्माले समर्थकबाट आलोचना पनि सहनुपरेको थियो । यूईएफए नेसन्स लिगमा हङ्गेरीविरुद्धको खेलमा गरेको ३ उत्कृष्ट बचाउले डोनारुम्माको प्रशंसा बढेको थियो । सो खेल इटालीले २–० ले जितेको थियो ।

भिक्टर ओसिमहेन

सिरी ‘ए’ क्लब नापोलिका स्ट्राइकर भिक्टर ओसिमहेको पनि यस विश्वकपमा अभाव महशुस हुनेछ। एफकोन छनोटमा ओसिमहेकोले ४ गोल गरे पनि विश्वकपको लागि भने पर्याप्त हुन सकेन । छनोटमा घानासँगको खेल १–१ को बराबरीमा रोकिएसँगै नाइजेरिया समूह चरणमा रोकियो ।

 

तीव्रगतिको फुटवर्क नै उनको विशेषता हो । उनको दौडले नापोलिका लागि फलदायिक साबित भएको देखिन्छ । यसै सिजन च्याम्पियन्स लिगमा लिभरपुलविरुद्धको खेलमा उनले पहिलो मिनेटमा नै द्रुत गतिको आक्रमणको राम्रो प्रदर्शन गरेका थिए ।

अलेक्जेन्डर इसाक

प्लेअफमा पोल्यान्डसँग २–० ले स्विडेन पराजित भयो । यससँगै न्युकासल युनाइटेडका फर्वाड अलेक्जेन्डर इसाक पनि विश्वकपबाट बाहिर भए । स्विडेनक लागि ९ गोल गरेका २३ वर्षीय इसाकको विश्वकपमा थप गोल गर्ने सपना भने यसपटक असम्भव भयो ।

 

 

इसाकले १७ वर्ष ११३ दिनमा आइभोरी कोस्टविरुद्धको खेलमा स्विडेनको राष्ट्रिय फुटबल टोलीका लागि डेब्यू गरेका थिए । दोस्रो खेलमा स्लोभाकियाविरुद्ध १९ औँ मिनेटमा स्विडेनको लागि पहिलो गोल गरेका थिए । सो खेल स्विडेनले ६–० ले जितेको थियो। स्विडेन राष्ट्रिय फुटबल टोलीका लागि कम उमेरमा गोल गर्ने खेलाडी बन्दै इसाकले इतिहास रचेका थिए ।

मार्को भेराट्टी

यसपटक विश्वकपको अवसर गुमाउनेमा इटालीका मार्को भेराट्टी पनि रहेका छन् । इटालीलाई सन् २०२० मा यूरो कप जिताउन महत्त्वपूर्ण योगदान पुर्‍याएका मार्कोले यसपटक भने क्षमता देखाउन नपाउने भएका छन् । पीएसजीका भरपर्दो मिडफिल्डरको रूपमा रहेका मार्कोको अनुपस्थितिले भने उनका समर्थक दुःखी छन् ।

 

 

धेरैले मार्कोको खेल्ने शैलीलाई स्पेनिस फुटबल क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक जाभीसँग तुलना गरिन्छ । मार्कोको ट्याकल, एट्याक र डिब्लिङ क्षमतामा फुटबल प्रेमीहरू मोहित पार्ने गर्दछन् ।

 

यो पनि पढ्नुहोस्

फिफा विश्व कप : यि हुन् सर्वाधिक उपाधि जित्ने राष्ट्रहरू

कतारमा विश्वकप फुटबलका लागि बनाईएको लुसेल रंगशाला कस्तो छ ?

कतारमा विश्वकप फुटबल हेर्न ‘हैया कार्ड’ पनि चाहिने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved