फिफा विश्व कप : यि हुन् सर्वाधिक उपाधि जित्ने राष्ट्रहरू

फिफा विश्व कप : यि हुन् सर्वाधिक उपाधि जित्ने राष्ट्रहरू

काठमाडौं। कतार विश्व कप फुटबल २०२२ को उद्घाटन खेलमा २ महिनाभन्दा कम समय बाँकी छ। यसपटक कसले कसरी खेल्छ र उपाधि कसले जित्छ भन्ने चर्चाको विषय बन्दै गरेको छ।

सन् १९३० मा फिफा विश्व कपको सुरुवात भएसँगै ३२ राष्ट्रमध्ये उपाधि भने केवल ८ राष्ट्रले मात्रै जित्दै आएका छन्। हालसम्म विश्व कपको उपाधि उरुग्वे, ब्राजिल, अर्जेन्टिना, जर्मनी, स्पेन, फ्रान्स, इङ्ल्याण्ड र इटालीले मात्र जित्न सकेका छन्।

इतिहासमा सर्वाधिक विश्व कप जित्ने राष्ट्र ब्राजिल हो। ब्राजिल फुटबल टोलीले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्व कपको उपाधि उचालेको थियो। 

 

सन् १९५८ मा स्विडेनमा आयोजना भएको विश्व कपमा ब्राजिलले घरेलु टोलीलाई ५-२ गोलअन्तरले पराजित गर्‍यो। उक्त प्रतियोगिताको फाइनलमा ब्राजिल विजयी हुनुको साथै एक स्टारको पनि जन्म भयो। १७ वर्षीय पेलेले ब्राजिललाई पहिलो उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले। यसै विश्वकपबाट माने ग्यारिन्चा पनि ब्राजिलका भरपर्दो खेलाडीको रुपमा उदाए


सन् १९६२ मा साविक विजेताका रुपमा प्रतिस्पर्धा गरेको ब्राजिलले आफ्नो दोस्रो उपाधि जित्न पनि सफल भएको थियो। फाइनलमा चेकोस्लोभाकियालाई २-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले उपाधि उचालेको थियो।

यद्यपि, ब्राजिलको जितभन्दा पनि सुरक्षा व्यवस्था र मैदानमा भएको हातपातको लागि यो विश्व कप प्रसिद्ध बन्यो। समूह चरणमा चीली र इटालीबीचको भएको खेल स्यान्टियागोको युद्धको नामले चर्चामा आयो।

सो खेलमा इटालीका मारियो डेभिड र जर्जियो फेरीनीलाई मैदानबाट निकालिएको थियो। अत्याधिक खेलाडीहरू पनि घाइते भएका थिए। प्रतियोगिताको दोस्रो खेलमा नै घाइते भएका पेलेले त्यसपछिको खेल नै गुमाएका थिए। 

सन् १९७० मा मेक्सिकोमा आयोजना भएको विश्व कप फुटबलमा ब्राजिलले ४-१ गोल अन्तरले इटालीलाई पराजित गर्दै उपाधि जितेको थियो। पेलेलगायत जैरजिन्हो, टोस्टाओ, रिभेलिनो, जेर्सन, कार्लोस अबर्टोक्लोडाल्डो जस्ता दिगज खेलाडीले आक्रमणको उत्कृष्ट प्रदर्शन गरेका थिए। तेस्रो पटक उपाधि उचालेको ब्राजिलले ‘जुल्स रिमेट ट्रफी’ घरमै राख्न पाएको थियो। 

यसपश्चात २४ वर्ष ब्राजिलले उपाधि उचाल्न सकेन। तर, सन् १९९४ मा अमेरिकामा आयोजना भएको फाइनल खेलमा ब्राजिल र इटालीको खेल गोलरहित बराबरीमा सकियो। यसपश्चात् निर्णयको लागि पेनाल्टी सुट आउट रोजिएको थियो। जसअन्तर्गत ब्राजिलले इटालीलाई ३-२ ले पराजित गर्दै उपाधि जित्यो। 

सन् २००२ को विश्वकपमा ब्राजिलले जर्मनीलाई २-० गोलअन्तरले पराजित गरेको थियो। सो खेलमा मिरोसलाभ क्लो तथा ३ आर भनेर चिनिने ब्राजिली टोलीका त्रिमूर्ति रोनाल्डो, रिभाल्डो र रोनाल्डिनोको उत्कृष्ट प्रदर्शन देखिएको थियो। 

दुई दशकपश्चात के ब्राजिलले छैटौं उपाधि उचाल्छ कि भन्ने पनि ब्राजिलका समर्थकमाझ उत्सुकता रहेको छ। अब यस वर्षको प्रतियोगितामा नयाँ राष्ट्रले उपाधि जित्छ की ब्राजिलले दुई दशकको उपाधिको खडेरीको अन्त्य गर्छ, त्यो भने हेर्न बाँकी नै छ।  


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved