‘लय बिग्रिएका’ भुर्तेलबाट कति अपेक्षा गर्ने ?

विश्वकप क्रिकेट छनोटको उद्घाटन खेलमा जिम्बाबेविरुद्ध ९९ रन बटुलेर होस् वा एसिसी एसिया कपमा भारतविरुद्ध ३८ रन बटुलेर होस्, उनले पछिल्ला वर्ष दर्शकलाई खुसी तुल्याएका कैयौँ खेल छन् ।

‘लय बिग्रिएका’ भुर्तेलबाट कति अपेक्षा गर्ने ?

काठमाडौं । नेपालले खेल्ने पछिल्ला हरेक क्रिकेट म्याचमा दर्शकहरूको प्रतीक्षा हुन्छ- आज कुशल भुर्तेलले कति रन जोड्लान् ? ओपनर हुनुको कारण धेरैको आँखा उनीतिर सोझिएको हुन्छ । उनले शानदार रन बटुल्ने अपेक्षा हुन्छ, आशा हुन्छ । त्यो आशा त्यसै स्थापित भएको होइन, उनले नै जगाएका हुन् ।

विश्वकप क्रिकेट छनोटको उद्घाटन खेलमा जिम्बाबेविरुद्ध ९९ रन बटुलेर होस् वा एसिसी एसिया कपमा भारतविरुद्ध ३८ रन बटुलेर होस्; उनले पछिल्ला वर्ष दर्शकलाई खुसी तुल्याएका कैयौँ खेलहरू छन् । अन्य सिरिजमा पनि उनले आफूलाई प्रमाणित गरेका छन् । कतिपय खेलमा त उनी उत्कृष्ट अलराउन्डरको रुपमा प्रस्तुत भएका छन् ।

तर ‘टी ट्वान्टी विश्वकप’ अगाडि उनै भुर्तेलको लयलाई लिएर चिन्ता व्यक्त भएका छन्। किनकि, उनले खेलेका पछिल्ला खेलहरूमा उनै भुर्तेलको प्रदर्शन खराब देखिएको छ। जसलाई लिएर आलोचना हुने गरेको छ।

भूर्तेलको पछिल्लो १० खेलको तथ्याङ्कका अनुसार उनले शून्यदेखि ३२ रनसम्म जोडेका छन्। एसीसी प्रिमियर कप टी–२० प्रतियोगितामा कुशलले मलेसियाविरुद्ध २४, कतारविरुद्ध १२ र हङकङविरुद्ध ३२ रन बनाए। साउदी अरेबिया, यूएई र हङकङविरुद्ध भने कुशल शून्यमा नै आउट भएका थिए।

वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ मध्ये ४ खेल खेलेका कुशलले १६, २, १ र १३ रन मात्र योगदान गर्न सफल भए। यी तथ्याङ्कले कुशल फर्ममा नभएको दर्शाइरहेका छन्। तथ्यांकले उनी लयमा नरहेको प्रष्ट पार्छन्।

सन् २०१४ को टी–२० विश्वकपमा नेपालको राष्ट्रिय टोलीमा रहेका तथा नेपाली क्रिकेटको ग्रासरुटमा योगदान पुर्‍याउँदै आएका शक्ति गौचनले पछिल्लो केही खेलमा कुशलको ब्याटिङ प्रदर्शन अपेक्षित नभएको स्वीकार गरे। तर पनि भूर्तेलको क्षमतामाथि प्रश्न गर्न भने नसकिने उनको तर्क छ। उनले कुशल नेपालको लागि भरपर्दो ब्याट्सम्यान नै रहेका बताए। नेपालभ्यूजसँगको कुराकानीमा गौचनले कुशलको लयलाई लिएर आतिनुपर्ने अवस्था नरहेको बताए।

गौचनले खेलाडीको फर्मलाई लिएर निष्कर्षमा पुगिहाल्नुपर्ने अवस्था नरहेको तर्क गरे । ‘विराट कोहली जस्तो खेलाडीले त १९ खेलबाट १०० रन बनाउन सकेका थिएनन् । कुनै कुनै खेलमा त २० पनि कटाउन सकेका थिएनन्,’ गौचनले भने, ‘विराट जस्तो लेजेन्डरी प्लेयरको त कहिलेकाहीँ फर्म हराउँछ भने हामी भनेको त उदाउँदै गरेको खेलाडी न हो । त्यही भएर त्यस्तो तनाव लिनुपर्ने र आतिनुपर्ने अवस्था छैन । खेलाडीलाई लिएर चिन्ता मान्नु पर्दैन ।’

गौचनले भने, ‘कुशल पक्कै पनि एक भरपर्दो ब्याट्सम्यान हो। कुशल एक अनुभवी खेलाडी हो। हाम्रो टोलीमा विकल्प पनि छ। नभएको होइन। तर, हरेक राष्ट्रमा हरेक ठुलो अवसरमा अनुभवी खेलाडी नै ब्याट गर्छ। विश्व क्रिकेटमा यस्ता थुप्रै उदाहरण नै छ।’

विश्वकप आउन कम समय मात्र बाँकी भएकोले विकल्पका रुपमा रहेका खेलाडीलाई निखार्नुभन्दा आफ्नो अनुभवी खेलाडीलाई नै पुनः लयमा फर्काउन राम्रो हुने गौचनले बताए।

उनले भने, ‘विश्वकप नजिक छ। धेरै खेलाडीहरुलाई अवसर दिएर जाँच्ने पनि समय छैन। त्यही भएर पनि हामीले हाम्रो अनुभवी खेलाडीलाई नै निरन्तरता दिनुपर्ने हुन्छ। हाम्रो बलियो खेलाडीले अहिले कमब्याक गरेन भने कहिले गर्छ त भन्ने नै अवस्था छ।’

यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोली उत्कृष्ट भएको र टोलीको प्रदर्शनलाई लिएर चिन्ता गर्न नपर्ने गौचनले बताए।

गौचनले भने, ‘प्रशिक्षक, व्यवस्थापन टोलीले पनि त्यही हेरेर निर्णय गरेको छ। एउटा उत्कृष्ट टोली गएको छ। फर्म भनेको अनुभवी खेलाडीको पनि जानसक्छ तर, कमब्याक स्ट्रङ भएमा चिन्ता लिनु पर्ने कुनै ठाँउ भएन।’

यद्यपि, नेपालको समग्र टिम भने चिन्ताजनक अवस्थामा छैन। त्यसको संकेत विश्वकप खेल्न अमेरिका जानुअघि वेट इन्डिज ‘ए’ सँग खेलेको खेलबाट पनि पाइन्छ। नेपालले घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध ५ खेलको टी–२० सिरिज खेलेको थियो। जसमा नेपाल ३–२ ले पराजित भयो। पहिलो र अन्तिम खेलमा आफ्नो जित पक्का गरेको नेपाल विश्वकपमा प्रतिस्पर्धा गर्न उत्साहित छ।

स्वयम् भुर्तेलले पनि विश्वकप खेल्नका लागि आफू उत्साहित रहेको बताएका थिए । वैशाख १७ गते आयोजित एक पत्रकार सम्मेलनमा उनले टी २० विश्वकप खेल्नका लागि आफू उत्साहित रहेको बताएका थिए।

नेपाली टोली यतिबेला अमेरिका पुगिसकेको छ। अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा नेपाल, नेदरल्याण्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसहित समूह डीमा छ।

विश्वकप जुन २–२९ सम्म हुनेछ। जुन ४ मा अमेरिकाको डालासमा नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। जुन ११ मा फ्लोरिडामा नेपाल श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। जुन १४ मा सेन्ट भिसेन्टमा नेपाल र दक्षिण अफ्रिका आमने सामने हुनेछन्। जुन १६ मा सेन्ट भिसेन्टमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।

टि-२० विश्वकपका लागि नेपाली टोली घोषणा, सागर ढकाल र कमल सिंह ऐरी पनि परे


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved