दीपावलीमा केराका थम्बा बेचेर पनि राम्रो आम्दानी गर्दैछन् किसानहरू

दीपावलीमा केराका थम्बा बेचेर पनि राम्रो आम्दानी गर्दैछन् किसानहरू

जनकपुरधाम। जनकपुरधामसहित मिथिला क्षेत्रमा दीपावली पर्व केरा खेती गर्ने किसानलाई विशेष अवसर बनेको छ । दीपावली (तिहार) पर्वको मुख्य दिन मानिने लक्ष्मीपूजाका दिन घर–घरमा केराका थम्बाबाट स्वागतद्वार बनाइने आम प्रचलनले किसानका लागि यो पर्व आर्जनका लागि खास अवसर बनेको हो ।

दीपावलीको लागि केराका थम्बा ट्याक्टर तथा बयलगाडामा लोड गरेर किसानहरू जनकपुरधाम बजारमा घुमिरहेका देखिन्छन् ।
केराका थम्बा ट्याक्टरमा लोड गरेर जनकपुरधाम बजार पुर्‍याई आफूले २५०–३०० रुपैयाँका दरले बेची रहेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–३ पकडीयाका किसान सुशील सिंहले बताए । उनले यसबाट राम्रै आम्दानी हुने गरेको समेत जानकारी दिए ।

आज सोमबार दीपावली पर्वको लक्ष्मीपूजाका लागि एक दिन पहिले आइतवार देखि नै केराका थम्बाको बिक्री धमाधम भईरहेको किसानहरू बताउँछन् । धनुषा, महोत्तरीका गाउँनगर बस्तीमा केराका थम्बा नै लाखौंको बिक्री भइरहेको छ । दीपावलीको लागि जनकपुरमा मात्रै आइतबार र सोमबार करिव ८–९ हजार थम्बा बिक्री भएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।

केराका बोट झ्याङमा धेरै गाँजिएपछि झ्याङमा उखेल्नुपर्ने बोट तिहार पर्खेर बसेका किसानले अहिले बोट उखेलेर राम्रो आम्दानी गरेका छन् । ‘केराको झ्याङ्मा बोट गाँजिएर केही बोट (थम्बा) उखेल्नु नै पर्ने भएको थियो’, बर्दिवास नगरपालिका–९ पशुपतिनगरका केरा खेती गर्दै आएका किसान ब्रह्मदेव महतोले बताए । ‘अन्य बेलामा गाँजिएका बोट उखेल्न, फ्याँक्न थप खर्च लाग्ने थियो तर दीपावलीमा भने फ्याँकिनुपर्ने बोट राम्रो मूल्यमा बिक्री हुने भएकाले गाँजिएका बोट उखेल्न पर्व पर्खेका हौं ।’ आज एकैदिनमा १५ हजारभन्दा बढीको केराको थम्बा बेचिएको उनको भनाइ छ ।

दीपावली पर्वमा लक्ष्मीपूजाका लागि स्वागतद्वार बनाउन केराको बोट सजाइने मैथिल परम्परानुसार जिल्लाका गाउँनगर बस्तीमा केराका थम्बाको माग बढ्ने गरेको छ । यसपालि थम्बाका लागि एकसाता पहिलेदेखि नै बैना (पेस्की) लिइएको किसानले बताएका छन् । कसैकसैले चार थम्बाको र सामान्यतया दुई थम्बाचाहिँ आमरूप मै स्वागतद्वारमा लगाइने चलनले दीपावली पर्वमा केरा थम्बाको राम्रो व्यापार हुँदै आएको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ३ पकडियाका किसान रामनारायण सिंहको भनाइ छ ।

पर्वमा बनाइने स्वागतद्वारको मूल खाँबा नै केराको थम्बा (बोट) बाट बनाइने परम्परा भएकाले मिथिला क्षेत्रमा यसको निकै महत्व हुने गरेको छ । पर्वको ठीक बेला थम्बा नपाइन सक्ने र त्यसबेला महँगो पर्ने भएकाले एक साताअघिदेखि नै झ्याङ (केराघारी) मै गएर मोल तय गरिएको थम्बा किन्नेहरूले बताएका छन् ।

खासगरी धनुषा, महोत्तरीका बजारस्थित व्यापारिक प्रतिष्ठानका सञ्चालकहरू अहिले केराको थम्बा खरिद गर्न गाउँबस्ती चहारिरहेको छ ।
महोत्तरीको भङ्गाहा नगरपालिका–४ का ब्यावसायिक रूपमै केरा खेती गर्दै आएका किसान सत्यनारायण यादवले आफूले ३५ हजारको केराको थम्बा बेचेको बताए । ‘हेर्नुहोस्, राम्रो उत्पादन लिन केराको एउटा झ्याङमा तीनभन्दा बढी बोट रहनु हुँदैन, बोट त छाँट्नु नै पर्छ’, लगभग एक बिघा क्षेत्रफलमा केरा खेती गरेका यादवले भने, ‘यस्ता झ्याङमा हामी बोट छाँट्न दीपावली पर्व पर्खने गरेका छौं ।’ त्यत्तिकै उखेलेर फाल्नै पर्ने बोट दीपावली तिहारमा भने आयआर्जनको राम्रो स्रोत बन्ने गरेको किसानहरू बताउँछन् ।

पर्व विशेषमा धनुषाको मुख्य बजार जनकपुधाम, महेन्द्रनगर, ढल्केवर, सबैला, गोदार, वीरेन्द्रबजार सहित र महोत्तरीका मुख्य बजार बर्दिवास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलबा, जलेश्वर नगरसहित व्यापारिक प्रतिष्ठानका सञ्चालक थम्बाको खोजीमा बस्तीबस्ती पसेपछि केरा खेती गर्ने किसानले तिहार खर्चको जोहोमा सहयोग पुगेको बताएका छन् ।

खर्चबर्चको अभावमा चाड कसरी मनाउने चिन्ता परेका बेला व्यापारीहरू घरमै आएर थम्बाको पैसा बुझाएर जाँदा पर्व मान्न सजिलो भएको महोत्तरीको भङ्गाहा नपा–७ हतिसर्वाको झपौल बस्तीका केरा खेती गर्ने किसान रामचन्द्र महराको भनाइ छ ।

दीपावली पर्वमा एकजोडा केराका थम्बा ६०० रुपैयाँसम्ममा बिक्री हुने गरेको किसानको भनाइ छ । आफ्नो १० कठ्ठा क्षेत्रफलमा लगाइएको केरा खेतीको प्लटमा नयाँ कोथा बेचेर १५ हजार लिइएको बलवा नपाको भगवतीपुरको किसान ललन महतोले बताए । खासगरी तिहार र छठपर्वमा केराका घरी र कोथा दुवै उत्तिकै बिक्री हुने भएकाले यो आपूmहरूको आयआर्जन र गुजाराको राम्रो साधन बनेको आम किसान बताउँछन् ।


मिथिला क्षेत्रमा दीपावली र छठपर्वका अवसरमा स्वागतद्वार बनाउन परम्परागतरुपमा अनिवार्यजस्तै रहँदै आएको केराको थम्बा शुभ र लाभदायक हुने, केराका थम्बाबाट बनाइएका स्वागतद्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने विश्वासले यसको महत्व बढेको मिथिला संस्कृतिका जानकारहरूको भनाइ छ । बैदिककालदेखि नै प्रचलनमा रहेको यो परम्परा मिथिला लोक संस्कृतिको अभिन्न अङ्ग नै बनिसकेको जनकपुरधामका मिथिला संस्कृतिका ज्ञाता एवं वरिष्ठ पत्रकार रामभरोस कापडीले बताए ।

दीपावली र छठपर्व समेतमा धनुषा जिल्लाभरमा केराका घरी र थम्बा समेत १ करोड बढीको करोबार हुने जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।

धनुषा, महोत्तरीमा पर्व विशेषमा हुने केराको थम्बा र घरी बिक्रीको आकर्षणले यसको खेती गर्ने किसानको संख्या र क्षेत्रफल बर्सेनि बढ्दै गएको छ । अहिले महोत्तरी जिल्लामा तीन हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमै केरा खेती हुँदै आएको कृषि ज्ञान केन्द्र कार्यालय जलेश्वर (महोत्तरी) ले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved