सत्यमोहनको सम्झना

सत्यमोहनको शताब्दी यात्रा- सञ्चारदेखि संस्कृति, साहित्यदेखि कलासम्मका अनेक पहिचान

सत्यमोहन जोशीले आफ्नो जीवनमा यति काम गरेका छन्, जसको स्मरणले मात्र पनि मानिसलाई रोमाञ्चित बनाउँछ। उनले बनाएका इतिहास पनि अब बिरलै कुनै स्रष्टाले बनाउनेछन्। आफ्नो १ सय ३ वर्षे दीर्घ जीवनमा उनले अनेक चिनारी पाए। किन उनले संस्कृतिदेखि साहित्य, साहित्यदेखि कला, कलादेखि सिक्का र हुलाक टिकटको सङ्ग्रहलगायत विभिन्न विषयमा उनले उल्लेखनीय योगदान पुर्‍याए।

नेपालभ्युज

सत्यमोहनको शताब्दी यात्रा- सञ्चारदेखि संस्कृति, साहित्यदेखि कलासम्मका अनेक पहिचान

काठमाडौं। नामसँग थुप्रै विशेषण जोडिएर शताब्दीसम्म बाँचेका संस्कृतिविद् सत्यमोहन जोशीले आइतबार बिहान १०३ वर्षको दीर्घ उमेरमा धर्ती छाडे। विभिन्न विधामा दशकौँसम्म सम्मानित रहेका उनी लोक साहित्य, संस्कृति, कलालगायत नेपालको पहिचानसँग जोडिएका विभिन्न क्षेत्रमा जिज्ञासु रहेर दशकौँसम्म योगदान पुर्‍याएका व्यक्ति हुन्।

सत्यमोहन जोशीले आफ्नो जीवनमा यति काम गरेका छन्, जसको स्मरणले मात्र पनि हरेक मानिसलाई रोमाञ्चित बनाउँछ। उनले बनाएका इतिहास पनि अब बिरलै कुनै स्रष्टाले बनाउनेछन्।

आफ्नो १ सय ३ वर्षे दीर्घ जीवनमा उनले अनेक चिनारी पाए। किन उनले संस्कृतिदेखि साहित्य, साहित्यदेखि कला, कलादेखि सिक्का र हुलाक टिकटको सङ्ग्रहलगायत विभिन्न विषयमा उनले उल्लेखनीय योगदान पुर्‍याए।

राणाकालमै गोरखापत्रका पत्रकार

सत्यमोहन जोशी राणाकालमा पत्रकार थिए। गोरखापत्रका पत्रकारका रूपमा २००१ देखि २००६ सालसम्म लमजुङ् र तनहुँका गाउँहरू पुगेका थिए। ती गाउँहरूमा बाहुनहरू पढ्न बनारसतिर गएका हुन्थे। गुरुङ र मगरहरू भने दोस्रो विश्वयुद्धका लागि अङ्ग्रेजी सेनामा भर्ना भएर विश्वभरी पुगेका थिए। सम्पूर्ण गाउँहरू पुरुषविहीन थिए। महिलाहरू पानी पँधेरा गर्थे र खेती किसानी गर्थे।

केही वर्षअघि उनले सुनाएका थिए, ‘‘त्यतिबेला अङ्ग्रेजी सेनामा भर्ना भएर विदेशी मुद्रा ल्याउनु र अहिले कतार मलेसिया गएर आफ्नो परिवार पाल्नु उस्तै-उस्तै हो । हामी पहिले पनि अर्काकै लागि मर्ने मार्ने काम गर्‍यौँ। अहिले पनि अर्काकै लागि काम गरिरहेका छौँ।’’

पुरातत्त्व विभागको पहिलो निर्देशक

२०१५ सालमा पहिलो निर्वाचनमा नेपाली कांग्रेसले जितेर भर्खर सरकार बनाएको थियो। एक दिन बिहान रेडियोले खबर दियो( ‘‘पुरातत्त्व तथा संस्कृति विभागको डाइरेक्टरमा सत्यमोहन जोशी नियुक्त।’’ सत्यमोहन जोशीले पनि रेडियोमा खबर सुने। उनलाई सबैभन्दा ठूलो जिज्ञासा लाग्यो ‘मजस्तै दुरुस्त नाम मिल्ने अर्को सत्यमोहन जोशी को रहेछ।’ त्यतिबेला उनी खरदार थिए। सञ्चय कोष काटेर महिनाको बयालीस रुपैयाँ दाम थाप्ने एउटा ‘नन् गजेटेड’ कर्मचारी। त्यो ‘गजेटेड अफिसर’ अर्थात् विभागकै डाइरेक्टरको ओहोदाबारे चिताउन पनि सक्दैन थिए।

यस्तो बेला कोही मान्छे ‘ए सत्यमोहन तिमी डाइरेक्टर भयौ’ भन्दै सुनाउन आएपछि बल्ल आफैँ पुरातत्त्व तथा संस्कृति विभागको डाइरेक्टरमा नियुक्त, भएको थाहा पाए।

उनका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन्। उनले दुईवटा काव्य, पाँच कथा संग्रह, १० वटा नाटक र केही नेवारी भाषाका कृतिहरू लेखेका छन्। समालोचकहरूले उनका ५० वटा पुस्तक प्रकाशित भएको जनाएका छन्। तीमध्ये उनका २० पुस्तकलाई महत्त्वपूर्ण पुस्तक मानिएको छ।

तीनपटक मदन पुरस्कार पाउने एक्लो व्यक्ति

गाउँ-गाउँ गएर यस्तै विरही गीत संकलन गर्दै जाँदा उनले ‘लोक संस्कृति’ नामक पुस्तक लेखे। यही पुस्तकले २०१३ सालमा मदन पुरस्कार पायो। मदन पुरस्कार गुठी पनि यही वर्ष स्थापना भएको थियो। सत्यमोहनले हाम्रो लोक संस्कृति का लागि पहिलोपटक वि. सं. २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक वि. सं. २०१७ सालमा, र कर्णाली लोक संस्कृति नामक ग्रन्थको लागि उनले संयुक्त रूपमा तेस्रोपटक वि. सं. २०२८ सालमा मदन पुरस्कार प्राप्त गरे।

उनले लिच्छवीकलादेखि आधुनिक नेपालसम्म प्रयोग भएका मुद्राहरूको खोज गरे। तिब्बतका लागि नेपालले मुद्रा बनाउने जिम्मा लिएको र त्यसबाट नेपालले मनग्गे आम्दानी गरेको कुरा पनि उनले पत्तो लगाए।

यही सेरोफेरोमा लेखिएको ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि उनले दोस्रोपटक मदन पुरस्कार पाए। तेस्रो पटक २०२८ सालमा उनले ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि मदन पुरस्कार पाए। तीनपल्ट मदन पुरस्कार पाउने उनी एक्ला व्यक्ति हुन् र सम्भवतः अन्तिम पनि। किनभने मदन पुरस्कार गुठीले केही वर्षदेखि एउटै व्यक्तिलाई पटक–पटक मदन पुरस्कार दिने नीति अघोषितरूपमा बन्देज लगाएको छ।

अरनिकोबारे जानकारी दिने पहिलो व्यक्ति

नेवारी परिवारमा जन्मिएका जोशीले १० वर्षसम्म नेपाली बोल्न जानेका थिएनन्। पछिसम्म उनलाई नेपाली भाषाभन्दा नेवारी भाषा बोल्न सजिलो लाग्थ्यो। तैपनि उनी नेपाली भाषाको खोज गर्नुलाई जीवनकै महत्त्वपूर्ण समय मान्थे।

उसो त कलाकार अरनिकोका विषयमा आम नेपालीलाई जानकारी दिने पहिलो व्यक्ति सत्यमोहन जोशी नै हुन्। नेपाली कलाकार चीनमा पुगेर ठूलो काम गरेको कुरा मात्र सुनेका सत्यमोहन जोशीले चीनमा बस्दा अरनिकोले बनाएका सम्पूर्ण सम्पदाको अध्ययन अनुसन्धान गरेर ‘कलाकार अरनिको’ पुस्तक सार्वजनिक गरे।

त्यसैगरी, सत्यमोहनकै पहलमा लिच्छविकालीन राजा मानदेवका धेरै कुरा बाहिर ल्याए। उनले लेखेको पुस्तककै आधारमा नेपाली इतिहासमा राजा मानदेवलाई पहिलो लिखित इतिहास भएको राजाको रूपमा गणना गरिएको थियो।

गाईजात्रा व्यवस्थित रूपमा सञ्चालनको श्रेय

नेपालमा हास्यव्यङ्ग्य महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने जस पनि जोशीलाई नै जान्छ। तत्कालीन राजा वीरेन्द्रले विरोधीको स्वर सुन्न एउटा व्यवस्थित ठाउँ खोज्न आग्रह गर्दा त्यस्तो काम प्रज्ञा प्रतिष्ठानले नै गर्नुपर्ने उनको सुझाव थियो। बेलायत पढेका राजा वीरेन्द्र लन्डनको ‘स्पlकर कर्नर्स’बाट प्रभावित थिए।

जहाँ वक्ताले आफ्ना असन्तोषको कुरा राख्न पाउँथ्यो। यस्ता विरोधलाई कलात्मकरूपमा प्रस्तुत गर्न गाईजात्रा महोत्सव उपयुक्त हुने सुझाव संस्कृतिविद् जोशीको थियो। यो सुझाव स्वीकृत भएपछि उनले हास्यव्यङ्ग्यमा काम गरिरहेका साहित्यकार र कलाकारहरूलाई बटुलेर महोत्सव शुरु गरे।

यसको पहिलो सो राजा–रानी र दरबारका व्यक्तिहरूले हेर्ने गर्दथे। २०३५ सालबाट सुरु भएको यही महोत्सवबाट आजका प्रख्यात कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यहरूको जन्म भएको कुरा तत्कालीन अवस्थामा सत्यमोहन जोशीको सहयोगी रहेका रामकुमार पाँडे सम्झना गर्छन्।

जीवित रहँदै तस्वीर अङ्कित चाँदीको सिक्का

कुनै नेपालीले नपाएका सम्मान र पदवी पाएका सत्य मोहन जोशीले नाम र इज्जत उत्तिकै कमाए। उनी त्यस्ता एक मात्रै नेपाली हुन् जो जीवित रहँदै आफ्नो तस्वीर अङ्कित चाँदीको सिक्का निष्कासन गरिएको थियो।

१००, १००० र २५०० का सिक्काको एउटा पाटोमा जोशीको तस्बिर छ भने अर्कोमा सगरमाथाको तस्बिर छ।

कृति तथा सम्मानहरू

सत्यमोहन जोशीका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन्। दुईवटा काव्य, पाँच कथा सङ्ग्रह, १० वटा नाटक र केही नेवारी भाषाका कृतिहरू लेखेका छन्। समालोचकहरूले उनका ५० वटा पुस्तक प्रकाशित भएको जनाएका छन्। तीमध्ये उनका २० पुस्तकलाई महत्त्वपूर्ण पुस्तक मानिएको छ। हाम्रो लोक संस्कृति, नेपाली राष्ट्रिय मुद्रा, कर्णाली लोक संस्कृति उनका संस्कृतिसम्बन्धी पुस्तक हुन्।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, संवर्द्धन र विकासमा लागि परेका हुनाले उहाँको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्व विद्यालयले विद्यावारिधिको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ। नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ। उनले तीन पटकसम्म मदन पुरस्कार जित्न सफल भएका जोशी प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन्।

शताब्दी पुरुष सत्यमोहन जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदानका विविध आयाम समेटेर कवि तथा लेखक अनिल पौडेलद्वारा लिखित ‘जुरेली दर्शन’ पुस्तक प्रकाशनमा ल्याएका छन्। यस कृतिमा उनको जीवनी, भाषा, साहित्य, लोकसंस्कृति अन्वेषणलगायतका विषयहरू समेटिएका छन्।

शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली दिनेको भीड (फोटो फिचर)

सबैका सत्यमोहन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved