कांग्रेसका बागी उम्मेदवार जसले पार्टीको ह्वीप उल्लंघन गरे

गठबन्धनका दलमध्ये सरकारको नेतृत्व गरिरहेको कांग्रेसमा केही बढी असन्तृष्टि देखिएको छ । कतिपय असन्तृष्टि सहेर बसेका छन् भने केहीले बागी उम्मेदवारी दिएर विद्रोह गरेका छन् ।

कांग्रेसका बागी उम्मेदवार जसले पार्टीको ह्वीप उल्लंघन गरे

काठमाडौं। निर्वाचनका लागि बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको थियो ।

आयोगले दिएको समयभित्र उम्मेदवारी फिर्ता लिन बागी उम्मेदवारलाई दलहरूले चेतावनीसहित निर्देशन दिएका थिए । प्राय सत्ता गठबन्धनमा भएको सहमतिमा चित्त नबुझाउनेले बागी दिएका छन् । गठबन्धनको नाममा आफूहरू अन्यायमा परेको भन्दै सत्ता गठबन्धनका दलमा बढी समस्या देखिएको छ ।

गठबन्धनका दलमध्ये सरकारको नेतृत्व गरिरहेको कांग्रेसमा केही बढी असन्तृष्टि देखिएको छ । कतिपय असन्तृष्टि सहेर बसेका छन् भने केहीले बागी उम्मेदवारी दिएर विद्रोह गरेका छन् ।

कतिपयले आयोगले तोकेकै समयभित्र उम्मेदवारी फिर्ता लिएर पार्टी निर्देशन मानेका छन् भने कतिपयले पार्टीलाई नै चेतावनी दिएका छन् ।

सल्यानमा कांग्रेसका बागी उम्मेदवार राजेन्द्रबहादुर शाहले उम्मेदवारी कायमै राखेका छन् । जिल्ला नेताहरूले आग्रह गर्दासमेत उनले अडान परिवर्तन नगरेको बताईएको छ । कारबाही भोग्न तयार रहेको बताउँदै उनले उम्मेदवारी फिर्ता लिन नमानेका हुन् । सल्यानमा गठबन्धनबाट प्रतिनिधिसभामा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला उम्मेदवार बनेका छन् ।

गुल्मी २ मा काग्रेस नेता डा दामोदर भुसालले लोकतन्त्रको रक्षाकालागि आफूले उम्मेदवारी फिर्ता नलिएको बताए । नेपाल भ्युजसँग कुराकानी गर्दै उनले लोकतान्त्रिक दलपनि अलोकतान्त्रीक निर्णय प्रकृयामा सामेल भएकाले आफूले विद्रोह गरेको बताए ।

उनले भने ‘लोकतान्त्रिक पार्टीमा पारदर्शी ढंगले निर्णय हुनुपर्थ्यो त्यो भएन, मलाई नै टिकट नदिए पनि चित्तबुझ्दो निर्णय गरेको भए मेरो उम्मेदवारी रहन्थेन होला तर यहाँ जुन पार्टीको चार पाँच सय पनि मतदाता छैनन् त्यो ठाँउमा कांग्रेस जस्तो विशाल पार्टीले छा्ड्नुपर्ने निर्णय स्विकार्न सकिएन ’

नेपाली कांग्रेस गुल्मीको क्षेत्रीय सभापतिसमेत रहेका भुसाल लुम्बिनी प्रदेश योजना आयोगका सदस्य थिए । उनलाई नेपाली कांग्रेस क्षेत्रीय समितिले प्रतिनिधिसभाका लागि उम्मेदवारी सिफारिस गरेको थियो ।

गुल्मी क्षेत्र नम्बर–२ मा सत्ता गठबन्धनले एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई टिकट दिएको छ । एमालेबाट उक्त क्षेत्रमा गोकर्णराज विष्टले मनोनयन दर्ता गराएका छन् ।

चितवन क्षेत्र नं ३ मा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले भने एमाले पार्टीको समर्थन पाएका छन् । गठबन्धनमा चितवन ३ माओवादीको भागमा परेपछि उनले बागी उम्मेदवारी दिएका थिए । यता एमालेलेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी नै फिर्ता लिएर कोइरालालाई समर्थन गरेको छ।

न्यौपानेको उम्मेदवारी अन्तिम समयमा पार्टीले नै पत्र पठाएर फिर्ता लिँदै कोइरालालाई समर्थन गर्ने निर्णय गरेको हो । चितवन–३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् भने राप्रपाबाट विक्रम पाण्डेको उम्मेदवारी रहेको छ ।

कास्की–२ मा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महादेव गुरुङले अवसर दिने पार्टी सभापति देउवाको आश्वासन अस्विकार गरेको दाबी गरे । उनले आफु सिद्धान्त र निष्ठाको पक्षमा रहेको बताएका छन् । उनले पार्टीले कारबाही गरे भोग्न तयार रहेको जवाफ देउवालाई दिएको बताए ।

गुरुङले भने, ‘देउवाले कारबाही हुन्छ नि भन्नुभयो, मैले हुन्छ गर्नुस् भनेर फोन राखेँ ।’ नेपाली कांग्रेस कास्कीका पूर्वसभापतिसमेत रहेका गुरुङ कास्कीका प्रभावशाली नेतामा पर्छन् । उनी २०५६ मा चुनावी जितेर पर्यटन राज्यमन्त्री पनि बनेका थिए ।

पौडेल समूहका मानिने गुरुङले देउवाकै कारण अवसर नपाएको उनी निकटले बताउने गरेका छन् । गठबन्धनको भागबण्डामा कास्की क्षेत्र नम्बर २ नेकपा एकीकृत समाजवादीलाई परेको छ । समाजवादीका नेता श्रीनाथ बराल चुनावी मैदानमा छन् । एमालेको प्रभाव मानिएको यो क्षेत्रमा विद्या भट्टराई प्रतिस्पर्धामा छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved