चीनमा २५ वर्षदेखि दशैँ कुरिरहेकी नेपाली चेली

चलचित्र जस्तो प्रेमपछि चीन पुगेकी बबिताको कथा

चिनियाँसँग बिहे गरेका नेपाली चेलीभन्दा भिन्न छिन् बुटवलकी बबिता आचार्य। उनले २५ वर्ष अगाडि चिनियाँसँग बिहे गरेकी हुन्। उनले नेपाली नागरिकता त्यागेको पनि २० वर्षभन्दा बढी भइसकेको छ। कानुनतः उनी अहिले चिनियाँ हुन्। कागजी रुपमा चिनियाँ भए पनि उनको नसा नसामा नेपाली रगत बगिरहेको छ।

चीनमा २५ वर्षदेखि दशैँ कुरिरहेकी नेपाली चेली

बेइजिङ। तिब्बती सम्राट स्रोङचोङ गम्पोसित बिहे गरेर अन्मिएकी भृकुटी तिब्बती र चिनियाँ सभ्यताकी प्रतीक बनिन्।

कलाकारिता देखाउन तिब्बत पुगेका अरनिको बेइजिङ पुगे र नेपाली कलालाई चीनमा जिवन्त बनाए। अझै पनि थुप्रै भृकुटी र अरनिकोहरु चीन पुगेर नेपाललाई चिनाउँदै छन्।

चिनियाँसँग बिहे गरेका नेपाली महिलाको सङ्ख्या एक सय हाराहारीमा पुग्छ। चिनियाँसँग बिहे गरेपनि नेपाली चेलीले नेपाली नागरिकता चाहिँ त्यागेका छैनन्।

वर्षौँदेखि नेपाली चेलीहरु कर्मघरमा आस्रित प्रवेशाज्ञा (डिपेन्डेन्ट भिसा)मा बसिरहेका छन्। बिहे गरेको वर्षौँ भयो। छोराछोरी पनि किशोरावस्थामा पुगिसके। तर उनीहरु हरेक वर्ष भिसा थस्दै बस्न बाध्य छन्। आस्रित भिसामा चीनमा रहेकाले नेपाली चेलीले कुनै काम गर्न पाउँदैनन्। उनीहरुको कुनै स्पष्ट भविष्य पनि छैन।

चिनियाँसँग बिहे गरेका नेपाली चेलीभन्दा भिन्न छिन् बुटवलकी बबिता आचार्य। उनले २५ वर्ष अगाडि चिनियाँसँग बिहे गरेकी हुन्। उनले नेपाली नागरिकता त्यागेको पनि २० वर्षभन्दा बढी भइसकेको छ। कानुनतः उनी अहिले चिनियाँ हुन्। कागजी रुपमा चिनियाँ भए पनि उनको नसा नसामा नेपाली रगत बगिरहेको छ।

उनी हरेक नेपाली चाडबाडलाई खुब मिस गर्छिन्। नेपाली माटोमा दशैँ मनाउन बबिता २५ वर्षदेखि कुरिरहेकी छन्।

विवाह अगाडि बबिता आचार्य

चिनियाँसँगको विवाह

चिनियाँसँग बबिताको बिहे कुनै चलचित्रको कहानीजस्तै रोमाञ्चक र अपत्यारिलो छ।

वि. सं. २०५३ सालतिर बबिता एउटा चिनियाँ कम्पनीमा दोभाषेको काम गर्थिन्। मूलतः उनी नेपाली र अंग्रेजी भाषाको अनुवाद गर्थिन्। उनलाई थोरै थोरै चिनियाँ भाषा पनि आउँथ्यो।

चिनियाँ कम्पनीले नेपालगञ्जतिर सडक निर्माणको काम गर्दै थियो। कम्पनीको मुख्य कार्यालय काठमाडौँमा थियो। नेपालगञ्जमा फिल्ड अफिस थियो। फिल्ड अफिसमा काम गरिरहेकी बबिता २०५३ सालको जनै पूर्णिमातिर एक साताको विदामा बुटवल फर्कने भइन्। त्यतिबेला सबैलाई एक साताको बिदा दिएको थियो कम्पनीले। बबिता हिँड्ने बेलामा वाङ क्वोछिङलाई देखिन्। वाङ चिनियाँ र अंग्रेजी भाषाका अनुवादक थिए। एक्लै बसिरहेको देखेर बबिताले सोधिन् ‘बिदामा हाम्रो घरतिर घुम्न जाने हो ?’

वाङले सहजै भने ‘जाने।’

कम्पनीको गाडी बबितालाई लिएर बुटवल जान तयार थियो। उनले आफ्ना झोलाहरु गाडीमा राखिसकेकी थिइन्। वाङ पनि आफ्ना सामान गाडीमा राख्न थाले। वास्तवमा बबिताले वाङलाई जिस्क्याएकी मात्र थिइन्। साँच्चै जाने भनेपछि उनको मनमा डर पस्यो ।

बबिताका बुबा निकै कडा स्वभावका थिए। घरमा विदेशी केटा लिएर जाँदा बुबाले गाली गर्ने र तुरुन्तै उक्त चिनियाँ युवालाई नेपालगञ्जतिरै फर्काउने उनले अनुमान गरिन्। उनले नजिकैको पसलबाट घरमा फोन गरेर बुबालाई भनिन् ‘कम्पनीले एक साताका लागि सबैलाई बिदा दिएको छ। सबै घरतिर गए। चिनियाँहरु काठमाडौँतिर गए तर एकजना चिनियाँ चाहिँ भरखरै चीनबाट आएको उसको जाने ठाउँ कतै छैन। म घरमा लिएर आउँछु ल बुबा।’

बुबाको स्वीकृति पाएपछि बबिता वाङलाई लिएर बुटवल पुगिन्। एक सातासम्म वाङ पनि रमाएर बसे बबिताको घरमा। वाङले घरमा सबै काम सघाउँथे। लुगा धुने कामदेखि सरसफाइ गर्ने अनि खाना पकाउने पनि। लोग्ने मान्छेले त्यस्तो काम गरेको देखेर सबैजना अचम्ममा परे।

एकसातापछि बबिता र वाङ काममा फर्किए। फेरि केही दिनपछि अर्को बिदामा वाङ बबितासँगै बुटवल जाने भए। बुबाले पनि हुन्छ लिएर आइज भनेर स्वीकृति दिएका थिए बबितालाई। दोस्रोपटक बुटवल पुगेको बेला वाङले बबिताको बुबाको अगाडि घुँडा टेकेर बबितासँग बिहे गर्ने कुरा गरे।

वाङको त्यस्तो व्यवहारले सबैलाई अचम्ममा पार्‍यो। स्वयं बबितालाई पनि आश्चर्य लागेको थियो। उनले कहिल्यै पनि वाङलाई त्यो नजरले हेरेकी थिइनन्। बुबाले चिनियाँलाई कुनै पनि हालतमा छोरी नदिने अड्डी लिए। बबितालाई पनि वाङसँग निकै रिस उठ्यो।

विवाहमा बबिता र वाङ क्वोछिङ

बिदा सकेर बुटवलबाट नेपालगञ्ज जाँदा वाङलाई घरमा ल्याएकोमा पश्चाताप लागिरहेको थियो बबितालाई। उनी एक वाक्य पनि बोलिनन्। रिस पनि उठेको थियो रे। नेपालगञ्ज पुगेपछि पनि उनी वाङसँग बोलिनन्। सबैले वाङको तारिफ गर्थे। वाङले तिमीलाई माया गर्छ भनेर बबितालाई सुनाउँथे। तर बबिताले रत्तिभर त्यो कुरालाई वास्ता गरिनन्। वाङ आफ्नो पछाडि धुरन्धर लागेको थाहा पाएर बबिताले जागिर छोड्ने निधो गरिन्।

उनलाई सबै स्टाफले जागिर नछोड्न भनेका थिए। तर उनले जागिर छोडिन्। नेपालगञ्जमा कम्पनीको काम गर्ने समय ६ महिना बाँकी थियो। ६ महिनापछि वाङ काम सकेर काठमाडौँ जाँदा बुटवलमा निस्किए। फेरि पनि उनले बबिताको हात मागे। तर बबिताको बुबाले अस्वीकार गरे।

काठमाडौँ फर्किएको केही महिनापछि वाङ दुई बोतल रम लिएर बुटवल पुगे। उनले पहिले पनि बबिताको बुबालाई कोसेलीका लागि रम दिएका थिए। बुबाको अगाडि रम राखेर घुँडा टेकेर वाङ क्वाँ क्वाँ रोए। त्यतिबेलाको दृश्य सम्झदै बबिता भन्छिन् ‘छोरा मान्छे यसरी रुनु हुँदैन भनेर बुबाले वाङलाई उठाउनुभयो। आमाले चाहिँ हुन्छ हुन्छ छोरी बिहे गर्नु भनेर अनुमति दिनु भएको थियो तर बुबाले मान्नु भएन।’

नेपाली केटी आफैँ प्रेम गरेर बिहे गर्दैनन्। अभिभावकको स्वीकृति अनिवार्य हुन्छ भनेर सबैले वाङलाई सुनाएका रहेछन्। त्यही भएर वाङले बबितालाई चाहिँ केही भनेनन्। बुबालाई मनाउन मात्र लागिरहे।

यतिन्जेल बबिताको मन पनि केही पग्लिएको थियो। तेस्रोपटक माग्दा पनि नमानेपछि निराश भएर वाङ काठमाडौँ फर्किए। बबिता पनि पढ्ने र अर्को कुनै काम खोज्ने भन्दै बुटवलबाट काठमाडौँ गइन्। सबै चिनियाँले बबितालाई वाङ राम्रो मान्छे छ, मिहिनेती छ बिहे गरेर भनेर सम्झाए। वाङले बबितालाई नलिइकन चीन नफर्किने अड्डी लिए।

त्यतिबेला बबिताले राहदानी बनाएकै थिइनन्। उनले चिनेका केही ठूलाबडालाई भेटेर बल्लतल्ल राहदानी बनाइन्। कम्पनीले चीनमा घुमाउने लाने रे भनेर बुबालाई ढाँटिन्। गाविसबाट अविवाहित रहेको सिफारिस पनि झिकिन्। भिसा लाग्यो। उनीहरु उड्नलाई विमानस्थल गए।

फेरि आयो अर्को अड्चन्

त्यतिबेला बबिता २२ वर्षकी मात्र थिइन्। वाङ चाहिँ २६ वर्षका थिए। विमानस्थलमा बबितालाई उड्न दिइएन। अभिभावकको स्वीकृति चाहिने भनेर विमानस्थलको अध्यागमन कार्यालयले बबितालाई फर्काएपछि वाङ पनि फर्किए। उनीहरु दुवैजनाले बोर्डिङ पास लिइसकेका थिए।

अब बबिताले बुबाबाट चिनियाँ युवासँग बिहे गरेर गएको सिफारिस बनाउनु पर्ने भयो। तर बुबा चिनियाँसँग बिहे गराउने कुरा  मान्दै नमान्ने। बबिता महङ्गा दुई बोतल रम लिएर काठमाडौँबाट बुटवल पुगिन्। छोरीको चाला देखेर बुबा पनि छक्क परे। अरुबेला ‘धेरै खानुहुँदैन चाडबाडमा मात्र खानु’ भन्ने छोरीले बेमौसममा रम लिएर आएको देखेर केही जालझेल गर्न लागेको छनक त बुबाले पाएका थिए तर बबिताले ‘केही होइन अलिअलि खानु’ भनेर टारिन्। बुटवल पुगेको भोलिपल्ट उनले बुबालाई रम खुवाइन् र कागजमा हस्ताक्षर गर्न लगाइन्।

त्यही कागजले बबितालाई चीन उडायो। यो कुरा थियो सन् १९९७ अर्थात् वि. सं. २०५४ सालको। चीन आएपछि बबिता र वाङ क्वोछिङको धुमधामसँग बिहे भयो। बिहे गरेको केही दिनमै बबिताको पेट दुख्यो। अस्पताल जाँदा उनको पेटमा ट्युमर भएको थाहा भयो र तुरुन्तै शल्यक्रिया गर्नु पर्ने भयो।

शल्यक्रिया गरेर निकै दिन अस्पताल बस्नु पर्ने भयो। उनले बुबालाई आफू बिरामी भएको र अपरेसन गरेको जानकारी गराउँदै सबै पैसा वाङले तिरेको पत्रमा लेखिन्। एक वर्षपछि बबिता एक्लै नेपाल फर्किइन्। उनले बुबालाई भनिन् ‘बुबा वाङ नभएको भए त म मर्ने थिएँ। त्यत्रो उपचारको खर्च उसैले बेहोर्‍यो। मलाई सार्‍है माया गर्छ। मसँग बिहे गर्छु भनिरहन्छ। के गरौँ ?’

बबिताका खुसीका दिन  

अन्ततः बुबाले स्वीकृति दिए। यद्यपि बबिताले वाङसँग बिहे गरेको एक वर्ष भइसकेको थियो। उनले आमा र भाइलाई पहिल्यै भनेकी थिइन्। उनीहरु पनि बुबासँग सार्‍है डराउने भएकाले भन्न सकेका थिएनन्। एक महिना माइती बसेर बबिता चीन फर्किइन्।

वाङको घर आन्हुई प्रान्तमा हो। बबितालाई बिहे गरेको एकवर्षपछि वाङ शाङहाईमा काम गर्न थाले। बबिता पनि वाङसँगै शाङहाईमा बस्न गइन्। शाङहाईमा पाँच वर्षभन्दा धेरै काम गरेपछि उनीहरु आन्हुई घरमा फर्किए। त्यतिन्जेल बबिताको कोख भरिएको थिएन। अस्पतालमा परीक्षण गराउँदा पनि डाक्टरले सबै सामान्य रहेको बताएका थिए। सन् २००३ मा वाङ अर्को कम्पनीमा दोभाषे भएर खाडी मुलुक जाने भए।

वाङकी आमाले आन्हुई प्रान्तको एउटा गाउँबाट भरखरै जन्मिएकी एउटी छोरी किनेर वाङ र बबितालाई धर्मपुत्री पाल्न सुझाव दिइन्। चीनमा त्यतिबेला अर्काको बच्चालाई केही पैसा दिएर लिने र धर्मपुत्री अथवा धर्मपुत्र बनाउने चलन थियो। यस्तो चलनलाई अहिले चीन सरकारले प्रतिबन्ध लगाएको छ।

बबिता र वाङ क्वोछिङ

वाङ र बबिताले पनि छोरी ल्याउने कुरामा सहमति जनाए। वाङ खाडी मुलुक गएको केही दिनपछि एक दिन बबिता आफ्नी सासू र नन्दसँग धर्मपुत्री लिन जान लागेकी थिइन्। उनलाई भनन्न रिँगटा चल्यो। पेट पनि दुख्यो। वान्ता आउला जस्तो पनि भयो। उक्त क्षण सम्झदै बबिता भन्छिन् ‘त्यतिबेला पानी परिरहेको थियो। सासू आमाले केही हुँदैन जानुपर्छ नातिनी लिनलाई भन्दै हुनुहुन्थ्यो। नन्दले आमालाई गाली गर्नुभयो। दाइ पनि घरमा हुनुहुन्न। विदेशी भाउजूलाई केही भयो भने तपाईं र मलाई दाइले जिउँदो राख्नुहुन्न। त्यति भनेपछि हामी छोरी लिन छोडेर अस्पताल गयौँ।’

चिकित्सकले परीक्षण गरेर बबितालाई दुई महिनाकी गर्भवती भएको जानकारी दिए। बबिताको घरमा खुशीको सिमा रहेन। सबैले वाङलाई तुरुन्तै जानकारी नदिने सल्लाह गरे। वाङ खाडी मुलुकमा काम गर्न गएको एक महिना पनि भएको थिएन। उनी खुशीले काम छोडेर आउलान् भन्ने चिन्ता थियो। सात महिनापछि मात्र बबिताले वाङलाई सुनाइन्।

नेपालमा वाङ चोङनी

बबिता गर्भवती भएको थाहा पाएपछि धर्मपुत्री बनाउने भनेको छोरी उनीहरुले ल्याएनन्। अर्कै आफन्तलाई ल्याउन भने। सन् २००४ मा बबिताले छोरालाई जन्म दिइन्। छोराको नाम पनि चीन र नेपाल दुवै देशलाई समेटेर राखिएको छ। बबिताको छोराको नाम वाङ चोङनी हो। ‘वाङ’ थर हो भने ‘चोङ’ भनेको चीन र ‘नी’ भनेको नेपाल हो।

बुबालाई चीन घुमाउने बबिताको रहर अधुरै

नेपालका भान्जा चोङनीले गत सेप्टेम्बरदेखि चीनको हाइनान टापुको एक विश्वविद्यालयमा स्नातक तहको अध्ययन सुरु गरेका छन्। चोङनी थुप्रैपटक नेपाल गएका छन्। उनी नेपालका मठमन्दिर देखिसक्दा ढोग्ने गर्छन्। चोङ्नीले आफ्ना मावलका हजुरबाको अनुहार चाहिँ देख्न पाएनन्। चोङनी नजन्मदै बबिताका बुबाको मृत्यु भइसकेको थियो।

बबिताले आफ्ना बुबालाई चीन घुमाउने बचन दिएकी थिइन्। तर उनले त्यो बचन कहिल्यै पूरा गर्न सकिनन्। उनी भन्छिन् ‘बुबा त्यति चाँडै जानुहुन्छ भन्ने लागेकै थिएन। मलाई त सात आठ महिनासम्म आमा र भाइहरुले बुबा बितेको सुनाएनन्। म बुबालाई अति माया गर्थेँ। बुबाले पनि मलाई असाध्यै माया गर्नुहुन्थ्यो। त्यही भएर विदेशी भूमिमा शोकले मर्छे भनेर नसुनाएका रहेछन्।’

बुबालाई चीनमा ल्याउन नपाए पनि उनले आमालाई चीनमा ल्याएकी छन्। भन्छिन् ‘आमा थुप्रैपटक आउनु भएको छ। दुईवटा दशैँ त आमाले चीनमै मनाउनुभयो। हामीलाई टिका लगाइ दिनुभयो। चीनमा बिहे गरेर आएको २५ वर्षमा त्यही दुईवटा दशैँ हो रमाइलो भएको।’

चीनमा बिहे गरेर आएपछि उनले केही वर्षमै नेपाली नागरिकता त्यागेर चिनियाँ नागरिकता लिएकी छन्। उनीसँग अहिले चिनियाँ राहदानी छ। नेपाल जाँदा भिसा लिनुपर्छ। चीनमा बिहे गरेका एक सयभन्दा बढी नेपाली चेलीहरुमा संभवतः बबिता पहिलो नेपाली हुन् जसले चिनियाँ नागरिकता लिएकी छन्। चिनियाँ नागरिकता लिएको बारेमा बबिता हाँस्दै भन्छिन् ‘म त अन्जानमै भृकुटी पो भएँछु।’

चीनमा पनि नेपालकै सम्झना 

बिहे गरेपछि नेपाल गएर लामो समय बस्न पाएकी छैनन् बबिता। बरु उनी आफ्नो श्रीमान्‌ले काम गर्ने खाडी मुलुकमा धेरै बसेकी छन्। उनका श्रीमान्‌ले १५ वर्षभन्दा बढी खाडी मुलुकमा काम गरे। कोभिड महामारी सुरु हुनुभन्दा केही महिना अगाडि उनी चीन फर्किएका थिए। अहिले उनी चीनमै काम गर्छन्।

नेपालमा वाङ चोङनी

नेपाली नागरिकता त्यागे पनि बबिताले नेपाली संस्कार र संस्कृति त्यागेकी छैनन्। आफू अहिले पनि नियमित पूजा गर्ने र नेपाली चाडपर्व मनाउने गरेको सुनाउँछिन्। नेपाली संस्कृति आफ्नो मनमा रहेको भन्दै उनी सुनाउँछिन् ‘आमा चीनमा हुँदा त बिहानै घण्टी बजाएर पूजा गर्नुहुन्थ्यो। मन्त्र जप गर्नुहुन्थ्यो। आरती गर्नुहुन्थ्यो। आमा जत्तिको त हैन तर म पनि अलिअलि गर्छु।’

हरेक दशैँमा उनी छोरालाई टीका लगाएर आशिष दिन्छिन्। श्रीमान्‌सँग आफू पनि टिका थाप्छिन्। यसपटक चाहिँ उनको छोरा बसोबासभन्दा निकै टाढा हाइनान प्रान्तमा पढ्न गएकाले टिका लगाउन नपाउने सुनाइन्।

बबिताले पछिल्लो समय चीनमा बिहे गरेका नेपाली चेलीसँग वीच्याटमा जोडेर कुरा गर्न थालेकी छन्। आफ्नो आसपासका विश्वविद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थीलाई खोज्ने र घरमा बोलाएर खाना खुवाउन उनलाई खुब मज्जा लाग्छ। यसो गर्दा आफ्नै देश पुगेजस्तो, आफ्नै माइती आएजस्तो लाग्छ उनलाई। भन्छिन् ‘नेपालमा दशैँ तिहार मनाउँदा कस्तो रमाइलो हुन्छ। पिङ खेल्ने र साथीहरुसँग बजार गएको म त झल्झली सम्झन्छु। मामाघर गएर टिका लगाएको र दक्षिणा थापेको याद अझै ताजै छ। खै त्यस्तो दशैँ मनाउन नपाएको पनि २५ वर्ष भइसक्यो।’

हाल बबिता आचार्य

Comment

One thought on “चीनमा २५ वर्षदेखि दशैँ कुरिरहेकी नेपाली चेली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved