दुई लघुकथा

चिमोट्दा बेस्सरी दुख्यो। सपनाबाट झल्याँस्स ब्युँझिएँ। हत्त न पत्त कोठाको बत्ती बालेँ। भर्खरै सत्ताधारी दलको नेताबाट पार्टी प्रवेशको समयमा रातो टिका र खादा लगाएको मेरो फोटो भित्तामा झुन्डिएको थियो।

दुई लघुकथा

१. सदृश

मालपोत कार्यालय पुगेको थिएँ। ठ्याक्कै मेरै अनुहारको दलालले टेबुल मुनिबाट घुस दिँदै गरेको देखेँ।

सहरको नामुद व्यापारीलाई भेट्न गएको थिएँ। दुरुस्त मेरै अनुहारको गुन्डाले व्यापारीलाई धम्काउँदै पैसा माग्दै गरेको देखेँ।

दिउँसो सत्ताधारी पार्टी कार्यालयमा पाइला टेकेको थिएँ। मेरै अनुहारको पार्टीको नवप्रवेशी सदस्य सोफामा गजधम्म परेर बसेको देखेँ।
जुवाको खालमा पुगेको थिएँ। त्यहाँ मेरै अनुहारको मानिस कौडा हान्दै गरेको देखेँ।

दिनभरिको हिँडाइले भोक–प्यास लागेको थियो। थाकेर लखतरान भएको थिएँ। खाजा खाँदै गला रसाउनु पर्ला भनेर साँझतिर भट्टी पसलमा छिरेँ। त्यहाँ पनि मेरै अनुहारको एक व्यक्ति रक्सी पिउँदै थियो।

मेरै अनुहारको फोटोकपी टाँसेर हिँडे जस्ता जताततै मेरै अनुहारका मानिस देखेर घोर आश्चर्यमा परेँ। कुनै अपराध गरेर तिनीहरूले मलाई फसाउन मेरो अनुहारको फोटोकपी गरेका त होइनन् ? कतै मेरो अनुहार त चोरेनन् ? उक्त कुरा सम्झनासाथ एकदम त्रसित भएँ। प्रहरी चौकीमा पुगेर उजुरी गरूँ कि जस्तो लाग्यो।

प्रहरी चौकी जानुअघि ऐनामा आफ्नो अनुहार हेरेँ। विभिन्न ठाउँमा देखेको अनुहारसँग ठ्याक्कै मेरो अनुहार मिल्दथ्यो। के त्यो अनुहार बोकेको मानिस म नै हो त ? दलाल, ठग, अतृप्त र लोभी आत्मा बोकेर हिँडेको शरीर मेरै हो त ? सत्य तथ्य थाहा पाउन मैले आफैँलाई चिमोटेँ।

चिमोट्दा बेस्सरी दुख्यो। सपनाबाट झल्याँस्स ब्युँझिएँ। हत्त न पत्त कोठाको बत्ती बालेँ। भर्खरै सत्ताधारी दलको नेताबाट पार्टी प्रवेशको समयमा रातो टिका र खादा लगाएको मेरो फोटो भित्तामा झुन्डिएको थियो। भित्ताको फोटो, ऐनामा देखिएको आफ्नो मुहार र राति सपनामा देखेका अनुहारहरू काटीकुटी मिल्दथे। त्रसित मनमा एकाएक खुसी छायो।००

२. भ्रम

‘सपनाहरूले क्रमशः आत्महत्या गर्न थाले। त्यसपछि म आत्तिएँ। आत्महत्या दुरुत्साहनको अभियोगमा बाँकी सपनाहरूले जाहेरी देलान् भन्ने डर भयो। नरहे बाँस नबजे बाँसुरी ! त्यसपछि बाँकी रहेका सपनाहरूको पनि हत्या गरेँ। हुन त हत्या शब्दसँग म धेरै पहिलेदेखि त्रसित थिएँ।

परिस्थितिले मलाई बाध्य बनायो। आत्महत्या र हत्याका कारण म बेचैन भएँ। सपनाका केही डायरीहरू थिए। प्रमाण नष्ट गर्न सबै डायरीहरू च्याते पनि मलाई डर लाग्न थाल्यो।’ डरले अलिअलि काँप्दै भन्यो।
‘त्यसपछि के भयो ?’ उनले सोधे।

‘सपनाले मलाई पछ्याउन छाडेनन्। म भागी रहेँ। तिनीहरू मेरो पछिपछि आइरहे।’ उसले भन्यो।
‘अनि ?’ उनले फेरि अर्को प्रश्न सोधे।

‘गुहार..गुहार ! हेल्प मी.. हेल्प मी…! भनेर बिच सडकमा चिच्याएँ। त्यसपछि प्रहरीले मलाई पक्रेर लग्यो। र प्रहरी चौकीमा थुन्यो।’ उसले डराउँदै भन्यो।

‘यहाँ तपाईँ जस्तै प्रेम, सम्पत्ति, राजनीति, साहित्य, कलाकारिता आदिका सपना देख्ने थुप्रै सपनाका हत्याराहरू आएका छन्। तपाईँलाई जस्तै उनीहरूलाई पनि सुरक्षाका लागि प्रहरीले यहाँ ल्याएका हुन्। अहिले तपाई मानसिक अस्पतालमा उपचाररत हुनुहुन्छ।’ अघिदेखि प्रश्न सोधिरहेका अस्पतालका मनोचिकित्सकले उसलाई आश्वस्त पार्दै भने।००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved