अपूर्व क्षितिज सिंह प्रकरण:

स्तरहीन दिशातिर उन्मुख ‘स्ट्यान्डअप कमेडी’

हामी बाँचिरहेको समाज ‘व्यङ्ग्य’ भन्दा माथि छैन, निश्चय नै। हाम्रा समाजका पात्र र चरित्रहरू ‘व्यंग्यलायक’ छन्/ हुँदै आएका छन् सदैव। प्रश्न, कसलाई र कस्ता प्रवृत्तिमाथि व्यङ्ग्य–वाण सोझ्याउने भन्ने मात्रै हो। कुनै सन्देह नहोला, व्यंग्यले सामाजिक, राजनीतिक, सांस्कृतिक, आर्थिकलगायत क्षेत्रमा व्याप्त रोगको ‘डायग्नोस’ गर्न सदैव अग्रसरता देखाउँदै आएको छ।

स्तरहीन दिशातिर उन्मुख ‘स्ट्यान्डअप कमेडी’

केही वर्षयता ‘स्ट्यान्डअप कमेडी’ व्यंग्यात्मक कलाको एक धारिलो स्वरूपका रूपमा हामीकहाँ स्थापित हुने तरखरमा छ। तर हामीकहाँ शैशवावस्थामा नै रहेको कलाको यो नौलो शैली कुन दिशातिर मोडिँदै छ त ? कतै समाजका विद्रुप पक्षमाथि व्यङ्ग्य– प्रहार गर्ने कार्यतिर नभई कुनै जातीय समुदायको सांस्कृतिक गला रेट्ने धारको रूपमा विकसित हुँदै त छैन ? केही दिनपूर्व कमेडियन अपूर्व क्षितिज सिंहको एउटा विवादास्पद कमेडी आएसँगै यस्ता प्रश्न उठ्न पुगेका छन्।

‘स्ट्यान्डअप कमेडी’ मा आफ्नो सग्लो पहिचान बनाएका अपूर्व क्षितिज सिंहले केही हप्ताअघि ‘कमेडी क्याफे’ नामक युट्युव च्यानलमा जुन प्रस्तुति दिए, त्यसले उनलाई आलोचनाको परिधिमा मात्र तानेन, नेवार समुदायको आपत्तिपछि प्रहरी हिरासतमा समेत पुगे उनी। (हिरासतमा रहेकै बेला कोभिड संक्रमण देखिएपछि बिहीबार भने सिंहलाई सामान्य जमानतमा रिहा गरिएको छ।)

अपूर्वको कमेडी सार्वजनिक भएलगत्तै नेवाः देय दबुले कडा आपत्ति जनाउँदै ‘नेवाःहरूको भाषिक विशेषता र थातथलोलाई लिएर गरिएको तल्लो स्तरको प्रस्तुति’ भनियो। उक्त प्रस्तुतिलाई ‘नश्लीयतासम्बन्धी अपराध र भाषिक हिंसा’ समेत भनेको छ। कमेडी प्रस्तुतिकै आधारमा सर्वत्र आलोचना हुनुका साथै राज्यको समेत कारबाहीको भागिदार हुनुलाई नमिठो पक्ष मान्न सकिन्छ।

अपूर्वले एउटै शृङ्खलामा नेवारी संस्कृति, भाषा र खानपानका साथै नश्लीयतामाथि समेत एक हिसाबले भन्नुपर्दा ‘भद्दा मजाक’ गरेका थिए। उनको प्रस्तुतिले एउटा जातीय समुदायको सांस्कृतिक पक्षमाथि अशिष्टता दर्शाउनुका साथै अनादरसमेत गरेको सहजै ठम्याउन सकिन्छ।

स्वाभाविक रूपमा प्रश्न उठ्छ नै, के कुनै पनि जातीय समुदायको संस्कृति, भाषा वा खानपान मजाकको विषय हो ? के एउटा जातीय समुदायभित्रको कुनै थरकी महिला राम्री हुने र कुनै थरकी महिला नराम्री हुन्छन् भन्नेमा कुनै आधार छ ?

खानपिन कुनै पनि संस्कृति र सद्भावसँग जोडिएको सवाल पनि हो। एक पटक, आफ्नो कार्यकालको बेला अमेरिकाका राष्ट्रपति वाराक ओवामाले आफूलाई भारतको आँप मन पर्ने खुलासा गरेका थिए। तत्कालीन समयमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहले ओवामालाई उपहार लगिदिएका थिए– आँपको कार्टुन नै।

कुनै देशका राष्ट्रप्रमुखले कुनै देशको भ्रमण गर्दा स्थानीय खानपिनमा रमाएर त्यो देशको खानपान–संस्कृतिलाई सम्मान गरेका अनेकौँ दृष्टान्त छन्। सबैलाई थाहा भएकै विषय हो, खानपिन कुनै पनि देश वा जातीय समुदायको जीवन्त इतिहास र संस्कृतिलाई अक्षुण्ण राख्ने भरपर्दो आधार पनि हो।

कमेडियन अपूर्व क्षितिज सिंहले नेवारी संस्कृति, खानपिनका साथै नश्लीय सवाललाई लिएर जुन खालको व्यङ्ग्य पस्किए, उनको ‘व्यङ्ग्य’को अन्तर्यमा प्रवेश गर्दा एउटा जातीय समुदायको संस्कृतिमाथिको भद्दा टिप्पणीभन्दा कुनै पनि आयामले माथि उठेको देखिँदैन।

पहिला नेवार–संस्कृतिकै कुरा

युगौँयता कुनै जातीय समुदायको गरिमामय यात्रालाई सिँगार्ने आधार बन्दै आयो– संस्कृति। चलिरहेछ यो क्रम/उपक्रम युगौंयुगदेखि। तर, प्रभुत्वशाली वर्गले जहिल्यै सीमान्तकृत वर्गको संस्कृतिलाई नामेट पार्ने प्रपञ्च भने आदिकालदेखि नै रच्दै आए। मासिएन संस्कृति– प्रभावशाली वर्गले हस्तक्षेप गरे पनि, मिच्न चाहे पनि। संस्कृतिको शक्तिशाली पाटो यही नै रह्यो।

अरू जातीय समुदायका जस्तै नेवार जाति/समुदायको सांस्कृतिक पक्षलाई लिएर केही कुरा उठ्दै आएको छ। खासगरी, नेवारी भोजको विषयलाई लिएर आलोचना हुँदै आएको कुरा सबैले मनन गरेको विषय हो।

तर, नेवार संस्कृति कुनै एकरेखीय संस्कृति भने होइन। यसमा बहुरेखीय विम्बहरू प्रस्टै देखिन्छन्। काठमाडौं उपत्यकाका साथै नेवार समुदायको बाहुल्य रहेको अरू क्षेत्रको ऐतिहासिक, सांस्कृतिक, भाषिक पाटोलाई पछ्याउँदा यी कुरा प्रस्टै देखिन्छन्।
००

कमेडियन अपूर्व क्षितिज सिंहले नेवारी संस्कृति, खानपिनका साथै नश्लीय सवाललाई लिएर जुन खालको व्यङ्ग्य पस्किए, उनको ‘व्यङ्ग्य’को अन्तर्यमा प्रवेश गर्दा एउटा जातीय समुदायको संस्कृतिमाथिको भद्दा टिप्पणीभन्दा कुनै पनि आयामले माथि उठेको देखिँदैन।

हामी बाँचिरहेको समाज ‘व्यङ्ग्य’ भन्दा माथि छैन, निश्चय नै। हाम्रा समाजका पात्र र चरित्रहरू ‘व्यंग्यलायक’ छन्/ हुँदै आएका छन् सदैव। प्रश्न, कसलाई र कस्ता प्रवृत्तिमाथि व्यङ्ग्य–वाण सोझ्याउने भन्ने मात्रै हो। कुनै सन्देह नहोला, व्यंग्यले सामाजिक, राजनीतिक, सांस्कृतिक, आर्थिकलगायत क्षेत्रमा व्याप्त रोगको ‘डायग्नोस’ गर्न सदैव अग्रसरता देखाउँदै आएको छ।

अपूर्वको व्यङ्ग्य–वाण भने, ‘अपूर्ण’ रह्यो। वा, उनले जुन समुदायमाथि व्यङ्ग्य गर्न चाहे, त्यो समुदायका नितान्त सांस्कृतिक पक्षमाथि आफ्नो पूर्वाग्रह पस्किने कार्यमा मात्र उनी उद्यत देखिए। जसलाई उनको कमेडी–यात्राको शुरूवाती हिँडाइमै लागेको ‘ठेस’ मान्नुपर्ने हुन्छ।

खानपिन कि राक्षसको नाम ?

कुनै जातीय समुदायमा खानपिनको आफ्नै ‘मेनु’ हुन्छन्। वषौंदेखि आफ्नै सामाजिक समुदायबाट स्वीकृत ‘मेनु’। उनीहरूका मेनुमा न कुनै बहुराष्ट्रिय कम्पनीले पस्किने मेनुको गन्ध हुन्छ। न केएफसीको, न म्याकडोनाल्डस्को। बस, ती समुदायले वर्षौँदेखि आफ्नै भूधरातलमा उत्पादित खाद्य–वस्तुहरूलाई आफ्नै ‘मेनु’ मा सजाउँदै आइरहेका छन्। आफ्नै खाले ‘रेसिपी’ मा रमाउँदै आएका छन्।

अपूर्वले भने काठमाडौं उपत्यकामा नेवार समुदायका साथै अरू जातीय समुदायबाट समेत रुचाइएका र वर्षौँदेखि लोकप्रिय खाजाका रूपमा स्थापित योमरी, चटामरी र लाखामरीको बारेमा अशोभनीय र भद्दा टिप्पणी गरे।

‘योमरी’ एक विशेष प्रकारको खानेकुरा हो, जुन योमरी पुन्हीका दिन नेवार समुदायले आफू र आफ्नो समुदायमा बाँडीचुँडी खाने गर्दछन्। योमरी नेवार समुदायको सांस्कृतिक पक्षसँग जोडिए पनि त्यो परिकार खाँदा स्वास्थ्यका लागि धेरै फाइदा हुने बताइने गरिन्छ। पूर्ववर्ती समयमा एउटा पर्वमा मात्र सीमित योमरी अब भने नेवारी खाजाघरहरूको मेनुमा समेत थपिएको छ।

चटामरी, एक खालको विशेष नेवारी खाना हो, जसमा स्वादको विशिष्टता अनुभूत गर्न सकिन्छ। लाखामरीलाई त स्वादको ‘राजा’ नै मानिन्छ, जुन खाद्य चिज नेपालभित्र मात्र चर्चित छैन, विदेशतिर पनि अचेल लाखामारीको माग बढ्दो छ।

विडम्बनाको कुरा त, कमेडियन अपूर्वले भने नेवारी समाजमा वषौँदेखि स्थापित यी खानेकुराहरूमाथि व्यङ्ग्य गर्दै भने, ‘खानाको नाम हो कि महाभारत, रामायणका राक्षसको नाम ?’

मानवद्वेषी, जीवजन्तुका क्रूर हिंसासँग जोडिएका संस्कृतिप्रति व्यङ्ग्य प्रहार गर्नु उचित होला तर कुनै समुदायको जीवन पद्धतिसँग जोडिएको संस्कृति, खानपिन, रहनसहन, छालाको रङमाथि व्यङ्ग्य गर्न केवल खिल्ली उडाउने मनसायभन्दा अरू देखिँदैन।

भाषामाथि भद्दा मजाक

बागलुङ भेगतिरका मानिसले ‘ग’ को उच्चारण गर्दैनन्। उनीहरूले बोल्दा ‘ग’ को ठाउँमा ‘अ’ उच्चारण गर्छन्। त्यो भेगका मानिसहरू भन्छन्, ‘उहाँले अर्नुभयो।’

अझ, जुम्ला भेगतिर पुग्दा भने त्यो भेगका मानिसले ‘स’ नै उच्चारण गर्दैनथे। जस्तैः उनीहरूले ‘सप्ताह’ भन्नुको साटो ‘हप्ता’ भन्न थाले। अहिले पनि हामीकहाँ हप्ता भन्ने शब्द प्रचलित नै छ।

कमेडियन अपूर्वले नेवार समुदायले बोल्ने केही शब्दलाई समेत मजाकको विषय बनाए। जस्तैः उपत्यकाका अधिकांश नेवारले ‘त’ उच्चारण गर्दैनन्, त्यसलाई उनीहरू ‘ट’ भनी उच्चारण गर्छन्। जस्तैः नेवार समुदायका मानिसहरू ‘ढोका’ लाई ‘धोका’ भन्छन् र ‘ढोका’ लाई ‘धोका’। केही शब्दको उच्चारणगत समस्या देखिन्छ।

जातीय रूपले केही शब्दमा उच्चारणगत समस्या मधेसदेखि काठमाडौंको नेवार समुदायमा पनि छन् भने उनले किन ‘भक्तपुर’, ‘ठिमी’ जस्ता शब्दमाथि हमला बोल्न रुचि देखाए ? यो गम्भीर र यक्ष प्रश्न हो।

नेवार समुदायभित्र अनेक थर छन्। अपूर्वले यो कुरालाई कोट्याउँदै केही थरका नेवार महिला राम्री हुने र केही थरका नहुने भन्दै नश्लीय भेद खुट्याउने अशोभनीय कार्य गरे। कमेडीकै क्रममा भन्छन्, ‘महर्जन, डङ्गोल र श्रेष्ठ लास्टै राम्री हुने क्या !’

पछिल्लो समयमा हामीकहाँ ‘कमेडी’ को जुन खालको मार्केट चम्कियो, त्यसमा शतप्रतिशत कुनै राजनीतिक नेतृत्व, सामाजिक समुदाय र जातीय पंक्तिबीच घृणा र द्वेषलाई मलजल गर्ने उद्देश्यबाट पृथक् रहने सन्दर्भमा सर्वथा चुकेको देखिन्छ। खासगरी, अपूर्वले अँगालेको स्ट्यान्डअप कमेडीले यस्तो मानक स्थापित तुल्याइदियो, कुनै जातीय वा सांस्कृतिक समुदायलाई नउडाएसम्म र सामाजिक सद्भाव बिथोल्ने हर्कत नगरेसम्म कमेडी गर्नुको अर्थ रहँदैन। यही प्रवृत्तिको ‘सिकार’ भए अपूर्व पनि।

अब कमेडीको कुरा

अपूर्वले कथित ‘कमेडी’ को नाममा एउटा जातीय समुदायमाथि घृणा र विषवमन ओकल्नेबाहेक अरू केही गरेको देखिँदैन। घृणाको भाषा धेरै नै जटिल र मूल्य चुकाउनुपर्ने खालको हुन्छ। अचेल सबैतिर घृणाको भाषाको बाहुल्य छ। यो हामी बाँचिरहेको समयले उब्जाएको समस्या हो, संकट हो।

पछिल्लो समयमा हामीकहाँ ‘कमेडी’ को जुन खालको मार्केट चम्कियो, त्यसमा शतप्रतिशत कुनै राजनीतिक नेतृत्व, सामाजिक समुदाय र जातीय पंक्तिबीच घृणा र द्वेषलाई मलजल गर्ने उद्देश्यबाट पृथक् रहने सन्दर्भमा सर्वथा चुकेको देखिन्छ। खासगरी, अपूर्वले अँगालेको स्ट्यान्डअप कमेडीले यस्तो मानक स्थापित तुल्याइदियो, कुनै जातीय वा सांस्कृतिक समुदायलाई नउडाएसम्म र सामाजिक सद्भाव बिथोल्ने हर्कत नगरेसम्म कमेडी गर्नुको अर्थ रहँदैन। यही प्रवृत्तिको ‘सिकार’ भए अपूर्व पनि।

त्यसो त हामीकहाँ ‘कमेडी शृङ्खला’ को जग नै आलोचित रह्यो। सन्तोष पन्तले ‘हिजोआजका कुरा’मार्फत नेपाली जनलाई कमेडी–शृङ्खला हेर्ने बानी बसाइदिए। तर बिस्तारै त्यो एउटा गलत र सामाजिक एवं पारिवारिक विद्वेषलाई प्रचूर मात्रामा सिँगारपटार गर्ने कमेडी शृङ्खलाको रूपमा केन्द्रित बन्दै गयो। त्यस यताका हरेक जसो कमेडी शृङ्खलाले सन्तोष पन्त–मार्काकै कमेडीलाई पछ्याउँदै आए, किनभने त्यो धेरै एपिसोड गुजारेको र प्रायोजकले रुचाएको कमेडी शृङ्खला थियो।

अपूर्वको ‘कमेडी’ भने बेग्लै हो। अमेरिकामा निकै चलेको स्टान्डअप कमेडी धेरै पछिमात्र भित्रियो, भारतमा। नेपालमा त केही वर्षपूर्व मात्र। शारीरिक अभिनयभन्दा पनि हावभाव र शब्द–सामथ्र्यमार्फत आफ्नो प्रस्तुति दिन सकिने यो नौलो कला कमेडियन र दर्शकहरू, दुवैका निम्ति लाभदायक देखिए।

किनभने कमेडियनले हास्यबोध पस्किने र दर्शकहरूले त्यसमै जति धेरै मनोरञ्जन लिने। अझ युवा पुस्ताका निम्ति त स्ट्यान्डअप कमेडी निकै चर्चित हुनुका साथै उनीहरूका अत्यधिक रुचिको क्षेत्रभित्र समेटिँदै आएको छ।

‘कमेडी’ ले सभ्य र सुसंस्कृत चेतनाको माग गर्दछ। एउटा कमेडीमा यति धेरै क्षमता हुन्छ, जसले समाज र पारिवारिक सन्दर्भको अरूमा अथक भूमिका खेल्छ। प्रश्न उठ्छ, के अपूर्वजस्ता आलाकाँचा कमेडियनले यस्तो भूमिका खेल्नमा कति हदसम्म योगदान दिन सक्लान् ? उनको कमेडी हेर्दा सहजै भन्न सकिन्छ, शून्य।

दुःखद पक्ष उनको कमेडीलाई आधार बनाएर उनलाई राज्यले सजायको भागिदार बनायो। कसैले कला क्षेत्रलाई पछ्याएकै कारण सजाय पाउनु दुःखको कुरा हो। साथै, उनको ‘बहकिएको’ कमेडीले एउटा जातीय समुदायबीच घृणा फैलाउने र सामाजिक सद्भाव बिगार्ने काम गरेकोले त्यसलाई क्षम्य ठान्न पनि मिल्दैनथ्यो।।

यति हुँदाहुँदै पनि एउटा प्रतिभालाई सजायको भागिदार बनाउनु उचित थिएन। उनलाई कानुनी दायरामा ल्याएसँगै उनका कमेडीले सामाजिक जीवनलाई असर गर्ने पक्षबारे सचेत तुल्याएर सम्मानजनक तरिकाले उनलाई ‘सजाय’को ठाउँको ‘सजग’ तुल्याउँदा उचित हुन्थ्यो। प्रहरी हिरासतमा राखेर मानसिक यन्त्रणा दिनुभन्दा अरू कुनै वैकल्पिक उपाय निकालेको भए धेरै राम्रो हुनुका साथै एक कलासाधकलाई सम्मान गरेको अर्थ निस्कन्थ्यो।००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved