प्रतिनिधिसभा निर्वाचन

नेपाली कांग्रेसका पदाधिकारी को कहाँबाट सिफारिस ?

१३ पदाधिकारीमध्ये एकजनावाहेक सबै प्रत्यक्ष चुनाव लड्ने सम्भावना

महामन्त्री गगन थापा तीन ठाँउबाट सिफारिसमा परेका छन् । उनी काठमाडौं चार, कास्की एक र सर्लाही चारबाट सिफारिसमा परेका हुन्। यी मध्ये उनले काठमाडौंबाटै लड्ने बताइसकेका छन् ।

नेपालभ्युज

नेपाली कांग्रेसका पदाधिकारी को कहाँबाट सिफारिस ?

काठमाडौं । कांग्रेसमा टिकटका लागि देशभरबाट उम्मेदवारका लागि नाम सिफारिस हुने क्रम चलिरहेको छ ।

२२ भदौभित्र केन्द्रमा आइपुग्ने गरी सिफारिस गर्न केन्द्रले गरेको परिपत्र अनुसार क्षेत्रीय समितिले सम्भावित उम्मेदवारको नाम प्रदेशमा नाम पठाइरहेका छन् ।

प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेलधुराबाट प्रतिनिधिसभा सदस्यकालागि एकल उम्मेदवार सिफारिस भएका छन्। नेपाली कांग्रेस डडेलधुरा प्रदेश ‘क’ र ‘ख’ क्षेत्रीय समितिले बिहीबार देउवालाई सर्वसम्मत रुपमा प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

देउवाले २०४८ सालदेखि डडेलधुराबाट लगातार चुनाव जित्दै आएका छन्।

यस्तै उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । खड्का बाँके क्षेत्र नं.३ बाट पनि प्रतिनिधिसभाको उम्मेदवारका रुपमा सिफारिस भएका छन् ।

अर्का उपसभापति धनराज गुरुङ स्याङ्जा १ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् ।

महामन्त्री गगन थापा भने तीन ठाँउबाट सिफारिसमा परेका छन् । उनी काठमाडौं ४, कास्की एक र सर्लाही चारबाट सिफारिसमा परेका छन् । महामन्त्री थापाले भने २०७४ मा निर्वाचित भएको क्षेत्र काठमाडौं ४ बाटै आफ्नो उम्मेदवारी रहने प्रस्ट पारेका छन् ।

अर्का महामन्त्री विश्वप्रकाश शर्मा झापा– १ बाट सिफारिस भएका छन् । गत निर्वाचनमा शर्मा वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए ।

उमाकान्तवाहेक सबै सहमहामन्त्री सिफारिस

आठमध्ये उमाकान्त चौधरीबाहेक सात सहमहामन्त्रीको नाम आ–आफ्नो क्षेत्रबाट सिफारिस भइसकेको छ । खानेपानी मन्त्री समेत भइसकेका चौधरीको नाम यो पटक क्षेत्रबाटै सिफारिस भएन । यसअघि बारा क्षेत्र नम्बर एकबाट जितेका चौधरी यो पटक भने सिफारिसमै परेनन् ।

उनको क्षेत्रमा विजय शंकर यादव, शम्भु बहाखुर र शैलेन्द्र कुमार फैजदारको नाम प्रतिनिधिसभा सदस्यकालागि सिफारिस भएको छ । चौधरीको प्रभाव कम रहेकाले नाम सिफारिस नभएको नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्र शेखर यादवले बताए । उनले भने ‘निर्वाचन क्षेत्रमा उहाँको प्रभाव कमजोर छ, उहाँलाई दियौँ भने जमानत नै जफत हुने अवस्था  छ ।’

कांग्रेस सहमहामन्त्री फरमुल्लाह मंसुर भने बाराको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि सर्वसम्मत सिफारिस भएका छन् ।

यस्तै महामन्त्री डिना उपाध्याय मकवानपुर दुईबाट सिफारिसमा परेकी छन् । यसअघि २०४८ र २०५१ सालमा यहीबाट उनी पराजित भएकी थिइन ।

सहमहामन्त्री भीष्मराज आङ्देम्बे पाँचथरबाट सर्वसम्मत रुपमा सिफारिस भएका छन् । पाँचथरमा उनको विकल्पमा गठबन्धनका कुनै नेता नभएको कांग्रेसका जिल्ला सभापति रुपनारायण जबेगुले बताए ।

सहमहामन्त्री महेन्द्र यादव धनुषा ४ बाट सिफारिसमा परेका छन् । २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक सांसद रहेका यादवलाई अहिले प्रतिनिधि सभामा प्रत्क्षतर्फ सिफारिस गरिएको हो ।

सहमहामन्त्री किशोरसिंह राठौर बाँके क्षेत्र नं.३ बाट सिफारिसमा परेका छन् । तर उनी एकल नभएर अन्यसँगै सिफारिसमा परेका हुन् । राठौरसँगै केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्री पत्नी आरजु राणा देउवा लगायत ९ जना यो क्षेत्रबाट  सिफारिसमा परेका छन् ।

सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट सिफारिस भएका छन् । उनीसंगै ७ जनाको नाम सिफारिस गरेको पार्टी सचिव भरतबहादुर रोकायाले वताए। पाण्डेसहित महान्यायाधीवक्ता खम्म बहादुर खाति, मान बहादुर रावल, कविराज पण्डित, जनकराज गिरी, शेरबहादुर खाति र डा.अंगराज तिमिल्सेना बाजुराबाट सिफारिसमा परेको रोकायाले बताए ।

सहमहामन्त्री जीवन परियार कास्की एक बाट सिफारिस भएका छन् । कास्कीमा जन्मिएका परियार नेपाल विद्यार्थी संघ हुँदै पार्टी राजनीतिमा आएका हुन् ।

कांग्रेसका १३ पदाधिकारीमध्ये १२ जना प्रत्यक्ष चुनावका लागि सिफारिसमा परेका छन् । एकजना मात्रै छुटेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved