‘पाण्डवी’ र ‘मित्र’ : दुई लघुकथा

‘अरे, ती कुन्तीलाई त ऋषिले मन्त्र दिएका थिए, जसलाई पढेर उनले आफूखुशी देउतालाई बोलाउन सक्थिन्। देउताले जे चाह्यो, त्यही गर्न सक्थे,’ आमाले सम्झाइन्।

नेपालभ्युज

‘पाण्डवी’ र ‘मित्र’ : दुई लघुकथा

पाण्डवी

-प्रह्लाद श्रीमाली

‘आमा, तपाईंले आफ्नो नाम कुन्ती किन राख्नु भयो ?’ छोरीले अप्रशन्नता व्यक्त गर्दै शिकायत गर्दै भनिन्।

‘अरे, जा ! मेरो दिमाग खान थालिस्, हैन ? मैले आफ्नो नाम आफैँले राखेको हुँ र ? फेरि मेरो नाममा के त्यस्तो खोट छ ? राम्रै त छ नि !’ आमाले झपार्दै भनिन्।

‘तपाईंले मलाई किन केटीको रुपमा जन्माउनुभयो ? केटा बनाउनु पर्दैनथ्यो ?’ छोरी आवेगपूर्ण क्रोधमा थिइन्।

‘तेरो दिमाग उड्यो कि क्या हो ? केटा वा केटी जन्माउनु के मेरो हातको कुरा हो ? तँलाई के भयो ? शिर न पुच्छरको कुरा गर्छेस् !’ आमा आक्रोशमा आइन्।

‘यदि तपाईंको हातको कुरा थिएन भने कुन्ती पाँच पाण्डवको आमा कसरी बनिन् ? एउटी पनि पाण्डवी जन्माइनन्। यही कुरालाई लिएर स्कुलमा मलाई सबैले चिढ्याउँछन्।’ छोरीले आफ्नो व्यथा पोखिन्।

‘अरे, ती कुन्तीलाई त ऋषिले मन्त्र दिएका थिए, जसलाई पढेर उनले आफूखुसी देउतालाई बोलाउन सक्थिन्। देउताले जे चाह्यो, त्यही गर्न सक्थे,’ आमाले सम्झाइन्।

‘त्यसो भए देउता पनि दाइजोको चिन्ताले छोरीलाई जन्माउन चाहँदैनथे ?’ छोरीले सोधिन्।

आमा अवाक् बनिन्। यो छोरीको चुलबुलेपन थियो वा छोरी बढी उमेरकी भइन् !

०००

मित्र

-जवाहर चौधरी

सामुन्नेमा साहित्यको घना जंगल थियो र त्यो जंगल छिचोलेर अघि बढ्नु अनिवार्य थियो।

जंगलमा साना-ठूला जनावरको आवाज आइरहेको थियो। चारखुट्टे, दुईखुट्टे, उड्ने, गाउने, घिस्रिने, आक्रमण गर्ने, दुलोभित्र रहने सबै जनावरले आ-आफ्नो संगठन बनाएका थिए। उक्त जंगलमा आफ्नो संगठन बनाउनु वा कुनै संगठनमा आबद्ध हुनु जरुरी थियो किनभने कसैले पनि उनलाई सदस्यता दिइरहेका थिएनन्।

उनी डराए। तथापि, सौभाग्यको कुरा उनले दोस्रो साथी फेला पारे, जो उनीजस्तै साहित्यको जंगल पार गर्न चाहन्थे, कुनै संगठनमा सम्बद्ध नभइकन।

दुवै जना मित्र बने। केही दिन दुवैले आफूले चाहेजस्तो मार्ग खोज्दै एउटा कफी हाउसमा कालो कफी पिउँदै बसे। एक दिन दुवै यात्रामा निस्किए।

उनलाई मित्रप्रति विश्वास थियो, भरोसा थियो। त्यही कारण उनी साथीसँग यात्रामा निस्किएका थिए। उनमा साहस पनि बढिरहेको थियो। उनी संगठन-संगठन, गुट-गुट, गिरोह-गिरोहभन्दा धेरै अघि बढिरहेका थिए। अचानक उनीमाथि आक्रमण भयो। रगतले लत्पतिएर उनको मृत्यु भयो।

उनका मित्रले नजिकै बगिरहेको नालामा हात धोए। तुरुन्तै एउटा संगठनले उनलाई आफ्नो सदस्य बनायो।

(हंस, (हिन्दी साहित्यिक मासिक) जुलाई २००३ र जुन २०१० को अंकबाट भावानुवाद)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved