संसद्‌मा जनार्दन शर्माको आक्रोश : सीसीटीभीको क्षमताबारे कुन मन्त्रीलाई ज्ञान हुन्छ ?

‘‘कुन सीसीटीभीको क्षमता कति हुन्छ म कसरी थाहा पाउँछु ? कति वर्ष पहिले राखेको सीसीटीभीबारे मलाई कसरी जानकारी हुन्छ। सायद अब यो शिक्षाबाट सबै मन्त्रीले त ख्याल गर्ने होला!’’

नेपालभ्युज

संसद्‌मा जनार्दन शर्माको आक्रोश : सीसीटीभीको क्षमताबारे कुन मन्त्रीलाई ज्ञान हुन्छ ?
फाइल तस्वीर

काठमाडौं। बुधबारको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री पदबाट राजीनामाको घोषणा गरेका सांसद जनार्दन शर्माले सीसीटीभी फुटेजबारे मन्त्रीलाई जानकारी नहुने स्पष्ट पारेका छन्।

अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति गठन भएपछि शुरु भएको संसद् बैठकमा राजीनामाको घोषणा गर्दै उनले सीसीटीभीबारे आफूलाई ज्ञान नभएको बताए।

‘‘कुन सीसीटीभीको क्षमता कति हुन्छ म कसरी थाहा पाउँछु ? कति वर्ष पहिले राखेको सीसीटीभीबारे मलाई कसरी जानकारी हुन्छ। सायद अब यो शिक्षाबाट सबै मन्त्रीले त ख्याल गर्ने होला,’’ उनले भने, ‘‘कुन मन्त्रीले गएर सीसीटीभीको क्षमताबारे सबैभन्दा पहिले जानकारी लिन्छ होला ! यहाँ भएको सीसीटीभीबारे हामी मान्यहरुलाई के जानकारी होला !’’

प्राविधिक व्यक्तिले जान्नुपर्ने कुरा मन्त्रीलाई सोध्न नहुने उनको भनाइ छ। ‘‘मलाई यसबारे ज्ञान छैन। ज्ञान नभएको विषयमा म यसबारे कसरी जवाफदेहीता लिन सक्छु ?’’ शर्माले भने, ‘‘डिलिट गर्यो भनेर आम नागरिकलाई भ्रमित गर्ने प्रयत्न गरिएको छ, त्यसको म खारेज गर्न चाहन्छु। सत्यतथ्य त्यहीँ छ, मलाई कुनै कुरा डिलिट गर्नु छैन।’’

अर्थ मन्त्रालयले बजेट निर्माणको अघिल्लो रातको सीसीटीभी फुटेज मेटिएको दाबी गरेको थियो। उक्त दिन अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको अर्थमन्त्री शर्मामाथि आरोप छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उनको राजीनामा मागेको थियो। सीसीटीभी फुटेज समेत उनकै मिलेमतोमा मेटाइएको एमालेको आरोप थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved