वाटरगेट काण्डको ५० औं वार्षिकोत्सव

मूलधारका सञ्चारमाध्यमबाट खोज पत्रकारिताको आशा छैन

खोजी पत्रकारिता फस्टाउन तीनओटा तत्व आवश्यक हुन्छः खोजी गर्नसक्ने उच्च स्तरको सिप र लगाव, साधन स्रोत र समय अनि खोज पत्रकारितालाई प्राथमिकता दिने सञ्चार माध्यम।

मूलधारका सञ्चारमाध्यमबाट खोज पत्रकारिताको आशा छैन

अमेरिकाको एक प्रमुख अखबार द वासिङ्टन पोष्टले केही दिन यता वाटरगेट काण्डको ५० औँ वार्षिकोत्सव मनाइरहेको छ। वाटरगेट सम्बन्धी विभिन्न आलेखसहित त्यसको खोजी गरी तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनलाई राजीनामा दिन बाध्य गराउने पोष्टका पत्रकारद्वय बब उडवार्ड र कार्ल बर्न्स्टिनको अन्तर्वार्तासमेत प्रकाशित गरिएको छ।

अमेरिकी संसद्‍‌मा गत वर्षको जनवरी ६ तारिखमा तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पको उक्साहटमा भएको आक्रमणबारे केही दिन अघि भएको सुनुवाईको कारण पनि यो ५० वर्ष पुरानो राजनीतिक घटना अमेरिकामा सान्दर्भिक हुन पुगेको हो। कतिपय टिप्पणीकारहरूले ट्रम्पलाई ३७ औं अमेरिकी राष्ट्रपति निक्सनसँग तुलना गरेका छन्। वाटरगेट काण्डको ५० औँ वार्षिकोत्सवका अवसरमा ‘द वासिङ्टन पोष्ट’मा प्रकाशित लेखमा उडवार्ड र बर्न्स्टिनले ती दुई राष्ट्रपतिको तुलना गरेका छन्। उनीहरूको लेखको शीर्षक छ, ‘उडवार्ड एण्ड बर्न्स्टिन थट निक्सन डिफाइन्ड करप्सन, देन केम ट्रम्प।’

आफ्नो दोस्रो कार्यकालका लागि रिपब्लिकन पार्टीबाट चुनाव लड्ने तयारी गरिरहेका निक्सनले वाटरगेट काण्ड उजागर भएपछि राजीनामा दिएका थिए। अमेरिकी राष्ट्रपतिलाई राजीनामा गर्न बाध्य गराउने यो खोजी शक्तिशाली व्यक्तिलाई जवाफदेही बनाउन गरिएको उत्कृष्ट उदाहरणका रूपमा संसारभरिका पत्रकारिताका कक्षामा पढाइन्छ।

यति ठूलो प्रभाव पारेको यो खोजको शुरुआत भने एउटा सामान्य अपराधको समाचारबाट भएको थियो। १७ जुन १९७२ मा शनिबार परेकोले ‘द वासिङ्टन पोष्ट’को समाचार कक्षमा खासै चहलपहल नभएको उडवार्ड र बर्न्स्टिनले वाटरगेट बारेको बेस्ट सेलिङ पुस्तक ‘अल द प्रेसिडेन्ट्स मेन’ मा उल्लेख गरेका छन्। त्यस दिन अमेरिकी राजधानी वासिङ्टन डिसिस्थित व्यापारिक भवन वाटरगेट कम्प्लेक्समा रहेको डेमोक्रेटिक नेसनल कमिटीको मुख्यालयमा केही विद्युतीय उपकरणसहित जबर्जस्ती घुसेकोले पाँच जना पुरुषलाई गिरफ्तार गरिएको थियो।

विदाको दिन परेकोले ‘द वासिङ्टन पोष्ट’का सिटी एडिटर बेरी सुसम्यानले दुई युवा पत्रकार उडवार्ड र बर्न्स्टिनलाई उक्त घटनाबारे समाचार लेख्ने जिम्मा दिए। उत्साही र समाचारका लागि भोका उडवार्ड र बर्न्स्टिनले त्यसलाई दिलोज्यानले पछ्याए। केही महिनापछि न्यु योर्क टाइम्स र लस एञ्जलस टाइम्सले पनि सो समाचार पछ्याउन थाले।

लहरो तान्दा पहरो गएझैं त्यो सामान्य देखिने घटनाको जरो ह्वाइट हाउसम्म फैलिएको उनीहरूको अनुसन्धानले देखायो। तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले विपक्षी राजनीतिक दलको कार्यालयमा जासुसी उपकरण जडान गर्न पठाएका रहेछन् भन्ने प्रमाणित भयो। ५० वर्षअघिका ती नाटकीय घटनाहरूको वर्णन लेखकद्वयले खोज पत्रकारिताको बाइबल मानिने आफ्नो पुस्तक ‘अल द प्रेसिडेन्ट्स मेन’ मा गरेका छन्।

फलो द मनि

सो पुस्तकमा नभएको तर कुनै शब्दशिल्पी स्क्रिप्ट राइटरले पछि पुस्तकमा आधारित फिल्ममा घुसाएको एउटा डाइलगलाई वाटरगेट पछिका खोज पत्रकारले मुल मन्त्र बनाएका छन्: ‘फलो द मनि।’  हुन पनि वाटरगेट भवनमा भएको त्यो सानो घटनाको लहरो निक्सनसम्म जोड्ने काम कार्ल बर्न्स्टिनले फ्लोरिडा राज्य पुगेर पैसा पछ्याएकोले गर्दा भएको थियो।

पक्राउ परेका पाँचमध्ये एकको खातामा निक्सनको पुनःनिर्वाचन समितिले २५ हजार डलर जम्मा गरेको तथ्य घटना भएको झण्डै डेढ महिनापछि बर्न्स्टिनले पत्ता लगाएका थिए। त्यो रकम उक्त समितिले विपक्षी दलका सदस्यको कुराकानी रेकर्ड गर्ने उपकरण खरिदका लागि प्रयोग गरेको उनीहरूको अनुसन्धानबाट फेला परेको थियो।

आज वाटरगेट काण्ड एउटा सांस्कृतिक बिम्ब बनिसकेको छ। विश्वभरका खोजी पत्रकार उडवार्ड र बर्न्स्टिनको पदचाप पछ्याउन चाहन्छन्। हरेक मुलुकका सरकारले गर्ने भ्रष्टाचारलाई त्यसैगरी उजागर गरेर शक्तिमा आसिन व्यक्तिलाई जवाफदेही बनाउन चाहन्छन्। विश्वभरमै मानक बनेको वाटरगेट खोज पत्रकारिता ‘द वासिङ्टन पोष्ट’ले नै कसरी गर्न सक्यो त? त्यसका लागि त्यसबेलाका अमेरिकी पत्रकारिताका केही घटना सम्झनुपर्ने हुन्छ।

सन् १९७१ मा अर्थात् वाटरगेट काण्डभन्दा एक वर्षअघिमात्र उसको प्रतिस्पर्धी ‘न्यु योर्क टाइम्स’ले भियतनाममा अमेरिकी सेनाले गरेको ज्यादतीको खुलासा ‘पेन्टागन पेपर्स’ नाममा प्रकाशित गरेपछि पोष्ट दबाबमा परेको थियो। पोष्टका त्यसबेलाका प्रधान सम्पादक बेन ब्राडलीको कुशल नेतृत्व र अन्य सम्पादकहरूको वाटरगेट खोजमाथिको लगाव र मिहिनेतका कारण त्यो स्तरको खोजी सम्भव भएको थियो। हुन त उडवार्ड र बर्न्स्टिनको पुस्तकमा आधारित फिल्म बनेपछि त्यसले घटनालाई विश्वभरि चर्चामा ल्यायो तर त्यसबेला छापा माध्यम एक भरपर्दो र प्रभावकारी माध्यम भएकाले निक्सनलाई राजनीनामा दिन दबाब सिर्जना भएको मानिन्छ।

फेरिएको खोज पत्रकारिता

वाटरगेट काण्ड भएको ४४ वर्षपछि सन् २०१६ मा पनामा पेपर्स नाममा झण्डै त्यही स्केलको खुलासा अमेरिकाकै इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आइसिआइजे) नामक संस्थाले गर्‍यो। विभिन्न देशका पत्रकार र तिनका संस्थासँग मिलेर गरेको यस खोजमुलक सहकार्यलाई खोजी पत्रकारितामा अर्को कोशेढुंगा मानिन्छ। यो खोजी दक्षिण अमेरिकी मुलुक पनामामा मुख्यालय रहेको मोस्याक फोन्सेका नामक कानूनी परामर्शदाता कम्पनीको तथ्यांक र कागजातको लिकमा आधारित थियो उक्त लिक एउटा जर्मन अखबारका दुई पत्रकारलाई उपलब्ध गराइएको थियो। आइसिआइजेको नेतृत्वमा भएको सो खोजमा बिबिसी, गार्जियन, इण्डियन एक्सप्रेस जस्ता सञ्चार माध्यमका १०० भन्दा बढी पत्रकार संलग्न थिए। कैयौँ देशका शक्तिशाली मानिसको नाम त्यसमा परेको थियो। खासगरी आफ्नो देशबाहिर कर छल्ने नियतका साथ खोलिएका अफसोर कम्पनीका मुख्य लाभग्राही मालिक लुकाइने भएकाले तिनले त्यस्ता सेवा प्रदायक कम्पनीमार्फत अफसोर कम्पनी खोलेका हुन्छन्। अफसोरमा कम्पनी खोल्नु आफैँमा अपराध नभए पनि त्यसलाई विश्वभरिका अपराधी, राजनीतिकर्मी र ठूला व्यापारीले माथि उल्लेखित कारणले खोल्ने गरेको र त्यसबाट राज्य अनि सरकार (र अन्ततः जनता)लाई मर्का परेको आइसिआइजेको अनुसन्धानबाट खुलेको थियो।

यसका लागि उसले विश्वभरिका पत्रकार र खोज पत्रकारिता संस्थासँग सहकार्य, ती तथ्यांक खोज्न सजिलो हुने डाटाबेस र त्यसको संयोजन गर्‍यो। यो कार्य एकदमै दुरुह हुनसक्थ्यो, यदि प्रविधिको द्रुत विकास नभएको भए। पनामा पेपर्सपछि प्याराडाइज पेपर्स, अफसोर लिक्स, लुआन्डा लिक्स, फिनसेन फाइल्स हुँदै हालसालैको पण्डोरा पेपर्सले खोज पत्रकारितामा एउटा मानक स्थापना गरेको छ। तर यस खाले खोजमा आइसिआइजे एक्लो छैन। यसले विश्वभरि नै सहकार्यसहितको पत्रकारिताको नयाँ ट्रेण्ड शुरु गर्न महत्त्वपूर्ण योगदान गरेको छ।

वाटरगेट काण्ड उजागर गर्दा बब उडवार्डले डिप थ्रोट नाम दिएका प्रमुख स्रोत (एफबिआईका एक निर्देशक मार्क फेल्ट) सँग पार्किङमा भेटेका थिए। फोनमा कुरा नगरी प्रत्यक्ष भेटेर सूचना लिने र पुष्टि गर्ने गर्थे। त्यस क्रममा उनले आफ्नो अपार्टमेन्टको गमला सारेर भेट्नेबारे जानकारी दिने र उडवार्डकहाँ आउने न्यु योर्क टाइम्सको ग्राहक प्रतिमा डिप थ्रोटले संकेत पठाउनेसमेत गर्ने गर्दथे। तर अहिले प्रविधिका कारण खोजी पत्रकारिता फेरिएको छ। आइसीआइजे र युरोपमा मुख्यालय रहेको उत्तिकै प्रभावकारी तर कम चर्चित अर्गनाइज्ड क्राइम एण्ड करप्सन रिपोर्टिङ प्रोजेक्ट (ओसिसिआरपी) नामक खोज पत्रकारित संस्थाले यसको अगुवाइ गरेका छन् जसलाई संसारभरिका पत्रकारले पछ्याउनु जरुरी छ।

यस खाले पत्रकारिताका खम्बा प्रभावकारी रूपमा स्टोरीटेलिङ र गहन खोज अनुसन्धान नै भए पनि उन्नत प्रविधिको प्रयोग पनि एक महत्त्वपूर्ण पाटो भएको छ। डाटा जर्नालिजम र ओपन सोर्स इन्भेस्टिगेसन यसका दुई आधारभूत प्रक्रिया हुन्। तथ्यांकको संकलन र विश्लेषणबाट खोजी पत्रकारिता गर्नु र सार्वजनिक रूपमा उपलब्ध सूचनाको प्रयोग गरी प्रमाण जुटाउने वा पुष्टि गर्ने काम अहिले इन्टरनेटका कारण सहज भएको छ। यसको भरपुर प्रयोग नेपाली पत्रकारले पनि गर्न सक्दछन् र गर्नुपर्दछ।

नेपालमा खै खोज पत्रकारिता ?

पनामा पेपर्समा आधारित नेपाल लिक्स र त्यसपछिका फिनसेन फाइल्स र पण्डोरा पेपर्समा नेपालको अग्रणी खोज पत्रकारिता संस्था खोज पत्रकारिता केन्द्रमार्फत नेपालमा क्रस बोर्डर खोजमा केही उल्लेख्य काम भएको छ।

नेपालमा बढ्दो भ्रष्टाचार र बेथिति, चाँडै उदय भएको बिचौलिया वर्ग, छोटो समयमा नव धनाढ्यमा रुपान्तरित राजनीतिकर्मी र कर्मचारी, कर छल्ने र कानून मिचेर फाइदा कुम्ल्याउन माहिर ब्यापारी र तिनको राजनीतिकर्मीसँगको नेक्सस बारे पर्याप्त खोज अनुसन्धान हुन बाँकी छ। मूलधारका सञ्चार माध्यमबाट यसखाले खोजको अपेक्षा गर्नु उचित नहोला किनभने उनीहरू विज्ञापनका लागि कर्पोरेट हाउसमा आश्रित हुन्छन्। यस्तो कमजोर मोडलको व्यवसायबाट कानून मिच्ने ब्यापारी वा कर्पोरेट हाउसको भण्डाफोर गरेको समाचारको अपेक्षा गर्नु पनि मनासिव हुँदैन भलै खोजी पत्रकारिता कुनै पनि सञ्चार संस्थाको प्राथमिकता हुनुपर्ने हो। यसैले आइसिआइजे र ओसिसिआरपीजस्ता खोजी पत्रकारिताका गैर नाफामुलक मोडल प्रभावकारी भएका हुन्।

के खोजी पत्रकारिता नेपालमा हुनै सक्दैन त ? प्रयास गरे नहुने केही छैन। सानातिना खोज यसै पनि भइरहेका हुन्छन्। तर वाटरगेटको पदचाप पछ्याउन केही आधारभूत पक्षमा ध्यान दिनु जरुरी छ। सञ्चार माध्यमले खोजीका लागि गर्ने लगानी पनि महत्त्वपूर्ण हुन आउँछ। खोजी पत्रकारिता फस्टाउन तीनओटा तत्व आवश्यक हुन्छः खोजी गर्नसक्ने उच्च स्तरको सिप र लगाव, साधन स्रोत र समय अनि खोज पत्रकारितालाई प्राथमिकता दिने सञ्चार माध्यम। तर यिनको अभावमा नेपालमा खोजी पत्रकारिताले आफ्नो दरिलो उपस्थिति देखाउन सकेको छैन।

समाचारहरू अधुरा र अपुरै अवस्थामा छापिन्छन्। तिनको फलोअप हुँदैन। अझ कतिपय अवस्थामा कसैको गलत काम र त्यसको प्रमाणलाई बार्गेनिङका लागि समेत प्रयोग गरेको पाइन्छ। यसले खोजी पत्रकारितालाई झनै बद्नाम गर्छ। तर सार्वजनिक हित र सरोकारको विषय उजागर गर्नुमा खोजी पत्रकारिताको अत्यन्त ठूलो भूमिका हुन्छ। सार्वजनिक पदमा बसेर भ्रष्ट वा गलत काम गर्ने व्यक्तिलाई जवाफदेही बनाएर त्यसो गर्न सकिन्छ। पत्रकारिता त पेसाभन्दा बढी मिसन हो। पत्रकारहरूले आफ्नो कोर मिसन (अर्थात् गलत कामको भण्डाफोर गर्ने) लाई भुले भने पत्रकारिता मार्फत उपभोक्ताले घटनाक्रमको सतही सचना त पाउँछन् तर पत्रकारिताको मुल उद्देश्य पुरा हुँदैन। वाटरगेट काण्डको ५० औँ वार्षिकोत्सवमा यो विषय मनन गर्नु जरुरी छ।

अधिकारी तथ्य जाँच गर्ने संस्था साउथ एसिया चेकका सम्पादक हुन्।

 


Comment

2 thoughts on “मूलधारका सञ्चारमाध्यमबाट खोज पत्रकारिताको आशा छैन

  1. मूलधारका सञ्चारमाध्यमबाट खोज पत्रकारिताको आशा छैन – सहि कुरो नेपालमा त्यस्ता पत्रकार आजसम्म जन्मेका छैनन्

  2. नेपालमा पत्रकारलाई हेर्ने दृष्टिकाेण फरक छ याे पत्रकारकाे खाेल अाेडेका केही झुण्डका कारण याे पेशा हल्का हुँदै गईरहेकाे छ, खाेजी पत्रकारिता गरेर नया तथ्य बाहिर ल्याएपनि राजनितिक अाडमा तथ्य छायाँमा पारिन्छ उल्टाे जाेखिम माेल्दै नया तथ्यका साथ समाचार लेख्ने पत्रकारनै समस्यामा पर्छ, नेपालमा पत्रकारकाे सुरक्षा र पत्रकारिताकाे मर्म बुझ्ने सरकार भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved