बेइजिङ डायरी

बिहे गर्दा चिनियाँ केटीहरुको कुटाइ खाइयो

होटल फर्किनका लागि बसमा चढ्यौँ। साथीहरु जिस्क्याउन थाले- ‘खोइ त बेहुली चाहिँ? सुहागरात पनि मनाउन पाइएन हगि! कस्तो बिहे हो सुहागरातै नमनाई भत्किने? यही भएर भनिएको होला- मेड इन चाइना, आज छ भोलि छैन!’

बिहे गर्दा चिनियाँ केटीहरुको कुटाइ खाइयो

म चिनियाँ युवतीसँग बिहे गर्दै थिएँ। बेहुलीलाई उसका साथीहरुले छेकेर लुकाएका थिए। बेहुली लिन जाँदा दुई पटक त मलाई कुचैकुचाले पिटेर लेखेटे।

बल्लतल्ल तेस्रो झमटमा मैले भीडबाट चिनियाँ बेहुली फुत्काउन सकेँ। अनि शुरु भयो बिहेको रीतिरिवाज। बिहे सकिँदा रातको ११ बजेको थियो। बिहे सकिएर फर्कँदा बेहुली मसँग आइनन्। उनी कता गइन्। त्यसपछि भेट भएको छैन।

यो घटना आजभन्दा सात वर्ष अगाडिको हो। बेहुली एकजना चिनियाँ किशोरी थिइन्। बेहुलो चाहिँ म आफैँ थिएँ। यसको साक्षी आधा दर्जन नेपाली पत्रकारहरु थिए। आजको आलेखमा उक्त घटना सबिस्तार लेख्दै छु।

२०१५ जुन १२ देखि १६ सम्म चीनको युन्नान प्रान्तको सदरमुकाम खुन्मिङमा ‘तेस्रो चीन दक्षिण एसिया एक्स्पो’ आयोजना गरिएको थियो। एक्स्पोको विशेष रिपोर्टिङ गर्न सीआरआई नेपाली सेवाकी सहकर्मी त्वाननाना (नेपाली नाम मुना)सँग म पनि खुन्मिङ गएको थिएँ।

सोही कार्यक्रममा भाग लिनका लागि नेपालबाट किशोर श्रेष्ठ, विष्णु रिजाल र राससका तत्कालीन बोर्ड सदस्य सन्तोष न्यौपाने आएका थिए। त्यसैगरी कान्तिपुर दैनिकका चन्द्रशेखर अधिकारी, कान्तिपुर टेलिभिजनबाट सरल गुरूङ र क्यामरा पर्सन सन्जय लुइटेल पनि सहभागी थिए।

एक्स्पो उद्घाटन र मुख्य कार्यक्रमको रिपोर्टिङ गरेपछि हामीलाई जुन १४ आइतबार खुन्मिङको पश्चिमपट्टि रहेको छुसिओङ प्रिफेक्चर लगियो। सीआरआईको पत्रकार टोली र नेपालबाट आएका पत्रकारहरुको टोलीसँगै दक्षिण एसियाका विभिन्न मुलुकबाट आएका पत्रकारहरुले ‘छुसिओङ यी जातीय स्वायत्त प्रिफेक्चर’ को अवलोकन गर्‍यौँ।

चीन भ्रमणमा नेपाली पत्रकारहरु

खुन्मिङबाट उक्त प्रिफेक्चरमा पुगेपछि दिउँसोको खाना खाएपछि हामीलाई यी जातिको बाहुल्य रहेको एउटा विशेष बजार घुमाउन लगियो। त्यहाँ शतप्रतिशत यी जातिका मानिसहरु बसोबास गर्दा रहेछन्। यी जाति चीनको अल्पसङ्ख्यकमध्ये एउटा हो।

हामीलाई घुमाइएको बजारका घर, सडक, पसल, गाडी, खेलौना सबै कुरामा यी जातिको संस्कृति झल्कन्थ्यो। बजारको मुख्य गेटमै यी जातिको परम्परागत पोसाक लगाएका महिलाहरुले हामीलाई भव्य स्वागत गरे।

बजार अवलोकनपछि यी जातीको विशेष परिकार खुवाइने एउटा भव्य रेस्टुरेन्टमा लगियो। रेस्टुरेन्ट तलाउमाथि रहेछ। तलाउको पारिपट्टि सजिसजाउ मञ्च थियो।

हामी साँझ पाँच बजे डिनर खान पुगेका थियौँ। खाना बाँड्ने महिला तथा पुरूषहरु यी जातिका पोसाकमा सजिएका थिए। खाने कामसँगै पारिपट्टिको मञ्चमा विभिन्न नृत्यहरु प्रस्तुत हुन थाले। कलाकारहरु गीत गाउँदै डुङ्गाबाट हाम्रै छेउमा आइपुगे। त्यो मनोरञ्जन झन्डै दुई घण्टा चल्यो। खानासँगै रक्सी खाइरहनुपर्ने यी जातिको अनौठो चलनले केही नेपाली साथीहरु त फिटान नै भए।

छुसिओङ यी जातीय स्वायत्त प्रिफेक्चर भ्रमणमा विदेशी पत्रकारहरु

मञ्चबाट उद्घोष भयो ‘अब हामी विदेशी पाहुनाहरुलाई यी जातिमा प्रचलित विवाह संस्कारको विशेष समारोहमा लिएर जाँदै छौं।’ यी जातिको विवाह समारोहको जानकारीसहित हरेक देशका टोली नेतालाई मञ्चमा बोलाइयो। अन्य देशका टोली नेतासँगै नेपालको तर्फबाट किशोर श्रेष्ठ मञ्चमा गए। सहकर्मी मुनाजीले आयोजकलाई के भनिन् कुन्नि, मलाई पनि मञ्चमा बोलाइयो।

केही नबुझी मञ्चमा गएका हामीलाई दोभाषे चिनियाँ युवतीले भनिन्, ‘यहाँ लहरै बसेका यी जातिका बेहुली हुन्। आफूलाई मन पर्ने एउटी बेहुली छानेर प्रेम प्रस्ताव राख्नुपर्छ।’

लौ जा, अब परेन त फसाद ! सबै विदेशी पत्रकारहरु चिनियाँ सुन्दरीको छेउमा गएर मरितरी कनिकुथी केही भन्दै थिए। किशोर श्रेष्ठले पनि काम चलाउ रुपमा केही भनेर प्रस्ताव गरे।

जब मेरो पालो आयो तब मैले दोभाषेसँग रातो गुलाबको फूल मागें। उनले एकैछिनमा गुलाब त होइन, अर्कै कुनै रातो रङको फूल ल्याइदिइन्। यसै नाटक उसै नाटक। अब चटक देखाउनु पर्‍यो भन्ने ठानेर दाहिने घुँडो टेकेर त्यही फूल दिँदै एउटी चिनियाँ सुन्दरीलाई चिनियाँ भाषामा ओ आई नी अर्थात् ‘आई लभ यू’ ठोकिदिएँ। दर्शकदीर्घाबाट हाँसोसँगै पररर ताली बज्यो।

मैले सोचेको थिएँ, नाटक यतिमै सकियो तर लफडा अझै बाँकी रहेछ। त्यहाँ बेहुलीको पोसाकमा सजिएका चिनियाँ युवतीहरु धेरै थिए। यसै पनि चिनियाँ युवती उस्तै देखिन्छन्। त्यसमाथि परम्परागत जातीय पोसाकमा सिँगारिएका चिनियाँ युवती।

मञ्चमा विवाह समारोहमा सहभागी हुँदै

प्रेम प्रस्ताव राखिसकेपछि माटाका ठूला पालामा रक्सी खान दिइँदो रहेछ। रक्सी देखिसक्ता पाकिस्तान तथा माल्दिभ्स लगायत देशबाट आएका मुसलमान पत्रकारहरु मञ्चबाट भागिहाले। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका किशोर श्रेष्ठ ‘आहा हाम्रो नेवारको सगुन जस्तै पो रहेछ’ भन्दै मुसुमुसु हाँसेर रक्सी पिउँदै थिए। उनी पनि कति बेला टाप कसेछन् मैले पत्तै पाइन।

रक्सी नखाने भएकाले मैले डबका हातमा लिएँ र स्वाट्ट पिएजस्तो गरेर भुइँतिर पोखिदिएँ। दर्शकहरु चाहिँ एकै स्वाटमा रक्सी पिएको भन्ठानेर ताली पिट्दै थिए। त्यतिन्जेलमा विदेशीको नाममा म एक्लै रहेछु मञ्चमा। पल्लो कुनामा चिनियाँ बेहुलीहरु थुप्रिएका थिए।

एक्लै मञ्चमा अलमलिएको बेला दोभाषे चिनियाँ युवतीले अङ्ग्रेजीमा भनिन् ‘अब बिहेका लागि आफूले रोजेकी दुलही चिनेर ल्याउनुपर्छ।’

ला…, अब पर्‍यो आपत् ! उस्तै अनुहार र एकै पोशाकमा सजिएका चिनियाँ युवतीहरु। पहिले आफूले प्रेम प्रस्ताव राखेकी दुलही कुन चाहिँ हो के थाहा! कुनचाहिँ हो आफ्नी दुलही? कसरी चिन्ने?

दोभाषेले थपिन्, ‘पहिले जसलाई प्रेम प्रस्ताव राखेका थियौ, त्यसैलाई बोकेर ल्याऊ।’

आफूले प्रेम प्रस्ताव गरेको बेहुलीलाई लिन गएँ। यी जातीय परम्परामा बेहुलीलाई लुकाइँदो रहेछ। बेहुलाले बेहुली पत्ता लगाएर ल्याउनुपर्ने। मञ्चको भित्री कुनापट्टि बसेकी थिइन्, एउटी बेहुली। मैले प्रेम प्रस्ताव गरेकी युवती त्यही होली भन्ठानेर च्याप्प समाएको मात्र थिए। ओहो ! ममाथि असङ्ख्य कुचा बर्सिए। धन्न ती कुचाहरु नेपाली जस्ता थिएनन्। हलुका रेशमी कुचा भएकाले जति कुटे पनि नदुख्ने खालका। दर्शकदीर्घाबाट चाहिँ चौपट हुने गरी कुटेको देखिँदो रहेछ। मैले बोक्न खोजेकी युवती पनि मलाई मर्‍याकमुरूक बनाएर टाप कसी।

भक्कु कुटाइ खाएर म एक्लै फर्किएँ। दोभाषे युवतीले फेरि भनिन्, ‘त्यो तिम्री बेहुली हैन। तिमीले अर्कैलाई तान्न खोजेकाले कुटेको। अघि आफूले प्रेम प्रस्ताव राखेकैलाई ल्याउनुपर्छ। फेरि जाऊ र आफ्नी दुलही लिएर आऊ !’

‘कुन हो त मेरी दुलही? सबै उस्तै छन्।’ दिक्क मानेर सोधेँ।

म अलमलिएको दोभाषेलाई पनि हेक्का भइसकेको थियो। यस्तो थाहा भएको भए प्रेम प्रस्ताव राख्ने बेलामै राम्ररी याद गर्नुहुन्थ्यो। दोभाषेले बेलैमा राम्ररी नबताइदिँदा बिहेको नाटक लम्बियो। मेरो नजिक आएर दोभाषेले भनिन्, ‘ऊ त्यो टाउकामा रातो र सेतो रङ मिसिएको स्कार्फ बाँधेकी युवतीचाहिँ हो तिम्री बेहुली।’

विवाह सकिएपछि बेहुलीको भूमिका निर्वाह गर्ने युवतीसँग लेखक

दोभाषेले चिनाउँदा म बेहुलीतिरै हेरिरहेको थिएँ। कबड्डी खेलेको शैलीमा म फेरि बेहुली उठाउन गएँ। फेरि कुचाले धुस्नु कुटे चिनियाँ युवतीहरुले। बेहुली ल्याउन असफल भएपछि म लखतरान भएर फर्किएँ। दोभाषेले रिसाउँदै भनिन्, ‘फेरि किन अर्कै बेहुली ल्याउन खोजेको? मैले तिमीलाई भनेको थिएँ त ‘टाउकामा रातो र सेतो रङ मिसिएको स्कार्फ बाँधेकी केटी चाहिँ तिम्री बेहुली।’

‘हन मैले त टाउकामा त्यस्तै स्कार्फ बाँधेकै बेहुली ल्याउन खोजेको थिएँ!’ कसरी हो, फेरि पनि गल्ती भएछ। अगाडि दोभाषेले देखाउँदा उनको औँलाले कता देखाएको थियो नहेरी रातो र सेतो रङ मिसिएको स्कार्फ बाँधेकी केटीमा मात्र मेरो ध्यान गएछ। त्यस्तो स्कार्फ बाँधेका बेहुली दुइटी रहेछन्।

दोभाषेले राम्ररी चिनाएपछि फेरि गएँ। उनलाई हातमा कुचो बोकेका सहेलीहरुले घेरेका थिए। म चाहिँ बाहिरपट्टि रहेकी अर्कै बेहुली तान्न खोज्दो रहेछु। आफूले प्रेम प्रस्ताव गरेकै बेहुलीलाई अन्य युवतीको आँखा छलेर छुन पाइयो भने थपक्क जिम्मा लगाउँदा रहेछन्।

कसोकसो बेहुली भएठाउँ पुगेँ। मैले बेहुली भेटिसक्दा दर्शकदीर्घाबाट तालीको गडगडाहट आइहाल्यो। संस्कार पूरा गर्न मैले बेहुलीलाई बोकेरै मञ्चको अग्रभागमा ल्याएँ। धन्न बेहुली पातली रहिछन् र बोक्नचाहिँ गाह्रो भएन।

बेहुलीलाई मञ्च अगाडि ल्याएपछि उनले पनि मलाई केही उपहार दिइन्। बेहुलीका साथीहरुले पनि बेहुलालाई उपहार दिने चलन रहेछ। मेरो अनुहारमा विभिन्न रङहरु पनि घसिदिए। त्यतिखेर म होली खेले झैँ टाटेपाङ्ग्रे भएको थिएँ।

मञ्चमा केही समय परम्पराअनुसार बिहेको कार्यक्रम भयो। अभिभावक आएर आशीर्वाद दिने र एकअर्कामा माया साटासाटा गर्न एउटै खानेकुरा सँगसँगै खानुपर्दो रहेछ। सोचेको थिएँ अब त नाटक सकियो होला। तर, नदीमा गएर पूजाआजा गरी धूपबत्ती बालेर बगाउने काम बाँकी नै रहेछ। त्यसरी नदीमा पुगुन्जेल बेहुलाले बेहुलीको हात समाएर लानुपर्ने।

मञ्चबाट नदी केही मिटरको दूरीमा थियो। त्यहाँ पूजा गर्न मलाई सजिलो भयो किनभने अनुवाद गर्नका लागि सहकर्मी मुना आइपुगिन्। मैले बेहुलीसँगै पूजाआजा गरें। नेपाली सांस्कृतिक प्रचलन जस्तै टपरीमा बाती बाल्ने र बेहुलाबेहुली दुवैले नदीमा सँगसँगै बगाउने। त्यसपछि नदीको पानीले एकअर्काको शिरमा छम्किएर ‘यो पानीजत्तिकै पवित्र छ हाम्रो माया’ भन्नुपर्दो रहेछ।

सबै कुरा सकिएपछि बेहुलाबेहुलीले अङ्कमाल गर्नुपर्‍यो। अङ्कमाल गर्दै म रातोपिरो भइसकेको थिएँ। चुम्बन पनि गर्नुपर्ने रहेछ। बेहुलीले मेरो गालामा च्वाप्प चुम्बन गरिन्। अब तिर्नु त पर्‍यो भनेर यसो चुम्बन गरे जस्तो गरेँ।

बल्ल बिहेको परम्परागत प्रक्रिया पूरा भएछ।

परम्परागत ‘यी’ जातीय पोशाकमा चिनियाँ महिला

नाटक सकिँदा रातिको ११ बज्न लागेको थियो। रक्सी र घुमाइले गर्दा विदेशी पत्रकारहरु निकै थाकेका देखिन्थे। आयोजकसँग बिदा भएर हिँड्ने बेलामा चिनियाँहरुले मेरो अभिनयको तारिफ गरे। पत्रकार मित्र चन्द्रशेखरले जिस्क्याउँदै सोधे- ‘तपाईंलाई त ढुटो बनाए त चिनियाँहरुले। जिउ त निकै दुखिरहेको होला।’

किशोर श्रेष्ठले थपे- ‘धन्न बेलैमा भागेछु, नत्र कुचैकुचाले हान्ने रहेछन्। कुट्नचाहिँ किन कुटेका रहेछन् तपाईंलाई?’

मैले बेहुली नचिनेर अर्कैलाई तानेको साथीहरुले बुझ्नुभएको रहेनछ। मञ्चमै भएर त मैले बुझेको थिइनँ भने उनीहरुले बुझ्ने कुरै भएन।

होटल फर्किनका लागि बसमा चढ्यौँ। साथीहरु जिस्क्याउन थाले- ‘खोइ त बेहुली चाहिँ? सुहागरात पनि मनाउन पाइएन हगि! कस्तो बिहे हो सुहागरातै नमनाई भत्किने? यही भएर भनिएको होला- मेड इन चाइना, आज छ भोलि छैन!’

नेपाली साथीहरुको बोलीमा लोली मिलाउँदै चिनियाँ सहकर्मी मुनाले भनिन्, ‘चेतनाथजी त साँच्चै अरनिको जस्तै है। चिनियाँ युवतीलाई बिहे गरेर अब दर्जन पुर्‍याउने होला नि!’

साँच्ची ती चिनियाँ बेहुलीले त्यहाँ पुग्ने कति पर्यटकसँग बिहेको नाटक गरिन् होला। उनका बेहुला चाहिँ पक्कै पनि दर्जनौँ नाघेका हुन सक्छन्।

5 thoughts on “बिहे गर्दा चिनियाँ केटीहरुको कुटाइ खाइयो

  1. निकै रमाइलो लाग्यो,पढ्दा💕💕💕

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved