यसरी बन्यो लुम्बिनीमा सबैभन्दा ठूलो बौद्ध सभाहल

नेपालभ्युज

यसरी बन्यो लुम्बिनीमा सबैभन्दा ठूलो बौद्ध सभाहल

लुम्बिनीमा नेपालकै ठूलो सभाहलको निर्माण सम्पन्न भएको छ। करिब पाँच हजार मानिस अट्ने यो सभाहल बौद्ध सभाहल तथा ध्यानकेन्द्रका नामले परिचित हुनेछ। दुई चरणमा करिब ७५ करोड खर्चमा निर्माण सम्पन्न भएको यो सभाहलमा प्राकृतिक हिसाबमा नै तापक्रम नियन्त्रण गर्न सकिने भवन निर्माणकार्यमा संलग्न बाबुल जेभी निमार्ण सेवाका प्रमुख तैफिक अदमद खान बताउँछन्। यो भवन खान नेतृत्वको बाबुल सहित अर्घाखाँची कन्स्ट्रक्सन कम्पनी र लुम्बिनी बिल्डर्सले निर्माण गरेका हुन्। यति ठूलो र प्राकृतिक रूपमा तापक्रम नियन्त्रण गर्न सकिने भवन कसरी निर्माण गरियो भन्ने विषयमा र भवन निर्माणको लागतलगायत भवनको भविष्यमा उपयोगिताका विषयमा बाबुल निर्माण सेवाका खानसँग हामीले कुराकानी गरेका छौँ।

नेपालकै ठूलो दाबी गरिएको बौद्ध सभाहल निर्माण प्रक्रियाका विषयमा बताइदिनु होस् न?

हामीले यो सभाहल दुई चरणको निर्माण सम्पन्न गरेका हौँ। पहिलो चरणमा आधार निर्माणको काम गरेका थियौँ जुन लगभग ३८ करोड लागतको थियो। पहिलो चरणको कामको तल्लो भागमा सिमेन्ट रोडा प्रयोग भएको छ भने माथिल्लो मागमा फलाम प्रयोग भएको छ। छाता आकारमा निर्माण भएको यो हलको माथिल्लो भागको निर्माणका लागि कोरियन सामग्रीको प्रयोग भएको छ। हामीले हालेको छानोको उकृष्टताको तुलनामा नेपालका अन्य कुनै सार्वजनिक सम्पत्तिका भवनसँग गर्न मिल्दैन भन्ने हाम्रो दाबी छ। भैरहवा क्षेत्रको तापक्रम निकै बढी हुन्छ। त्यसैले हामीले छत निर्माण गर्दा नै ४ देखि ६ डिग्री तापक्रम कम हुने प्रकृतिले निर्माण गरेका छौँ। सभाहलमा प्रयोग भएका फल्स सिलिङ सबै आयात गरिएको छ। सभाहल करिब ४० मिटर अग्लो रहेको छ।

१७ वैशाख २०७५ मा शिलन्यास भएको यो भवन निर्माणका लागि तीन वर्ष छुट्टाइएको थियो। कोभिड महामारीका कारण चार वर्ष लाग्यो। समय बढ्दा लागत पनि बढ्यो होला। यो सभाहल निर्माणमा कुल कति खर्च भएको छ?

हामीलाई दिइएको समयभन्दा अघि निर्माण कार्य सम्पन्न भएको छ। अझै पनि हामीले तोकिएको समयभन्दा तीन महिनाअघि काम सम्पन्न गरेका छौँ। त्यसैले समय अवधि बढेका कारण लागत बढ्यो होला भन्ने तपाईँको जिज्ञासा छ, त्यस्तो भएन। यो भवन निर्माणका क्रममा जम्मा लागत ७५ करोड लागेको छ।

सभाहल र ध्यान प्रक्रियाका लागि भनेर यो हल निर्माण गरिएको छ। बुद्ध पूर्णिमा त वर्षमा एक दिन आउँछ। बौद्ध सभाहल नाम राखिएको यो हल अन्य समय के प्रयोगका लागि काम लाग्छ होला। प्रयोजन नै भएन भने त यसको उपयोगिता नै हुँदैन नि होइन?

व्यावसायिक हिसाबमा मैले यो भवन निर्माणको जिम्मा पाए त्यो मेरा लागि राम्रो हो। तर व्यक्तिगत हिसाबमा सोच्दा म आफैलाई पनि यो भवनको अन्य समयमा के प्रयोजन हुन्छ होला जस्तो लाग्छ। उद्घाटनपछि यो भवन लुम्बिनी विकास कोषलाई हस्तान्तरण हुन्छ। यस्तो प्रकारको बन्द हल भारतमा पनि छैन। यो भवन नेपालको पहिचान बनाउने ठाउँ हो। विकास कोषले यस्तो भवनको सही हिसाबमा उपयोग गर्न जान्नुपर्छ। नेपालमा हुने ठूला प्रकारका कार्यक्रम यो सभाहलमा आयोजना गर्न सकिन्छ। यो भवन भविष्यमा त्यस्ता कार्यमा प्रयोजन हुनसक्छ।

यो सभाहल मात्रै होइन ध्यान केन्द्र पनि भनिएको छ। यस्तो हलमा अब के राजनीतिक कार्यक्रम गर्न पनि उर्पयुक्त हुने तपाईंको आशय हो?

काठमाडौंको रंगशालमा भारतीय अभिनेता सलमान खान आउँदैछन्। यस्तो कार्यक्रम यो हलमा गर्न अप्ठेरो हुन्छ। यसको नामकै कारण पनि यो सभाहल त्यस्ता प्रकारका कार्यक्रमका लागि उपर्युक्त होइन भनेर बताउँछ। यद्यपि, यो सभाहलमा वार्षिक रूपमा तीन चार ओटा कार्यक्रम आयोजना हुनुपर्छ। लुम्बिनीको ब्राण्डिङ गर्ने प्रकारका कार्यक्रम यहाँ नियमित जस्तो गर्न सकिन्छ। यति भन्दै गर्दा यो सभाहलमा के गर्ने के नगर्ने भन्ने निर्णय गर्ने व्यक्ति म होइन, त्यसका लागि हामीसँग लुम्बिनी विकास कोष छ।

यो सभाहल निर्माण थालनी गर्दा केही प्रयोजनका लागि भनेर त निश्चय नै भनिएको थियो होला। खासमा यो हल के उद्देश्य राखेर निर्माण भएको थियो?

यो विशेषगरी ध्यानकेन्द्रका रूपमा विकास गर्ने भनेर निर्माण गरिएको हो। लुम्बिनीमा विश्वभरका मानिस आउँछन्। तर, उनीहरूका लागि ध्यान गर्न एउटा साझा स्थानको अभाव थियो, त्यही अभावको पूर्ति गर्नका लागि यो सभाहल निर्माण भएको हो। यो भवन निर्माणको सोच चार वर्षअघि एउटा कार्यक्रममा सहभागी हुन आउँदा तत्कालीन प्रधानमन्त्री केपी ओलीले दिनुभएको हो। उहाँ सहभागी कार्यक्रमका लागि अस्थायी प्रकृतिको सभाहल निर्माण भएको थियो। पानी र हावाहुरीका कारण कार्यक्रम नै बिथोलिएपछि ओलीकै निर्देशनमा यो सभाहल निर्माण भएको हो।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved