स्थानीय चुनाव २०७९

खेलप्रेमी र खेलाडी भएकाले मलाई जनताले भोट दिनेछन् – सुरेन्द्र श्रेष्ठ (भिडिओ)

मध्यपुर थिमी नगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट मेयर उम्मेदवार भन्छन्- यसपटक हाम्रो एजेण्डा सांस्कृतिक नगरी मध्यपुर थिमिलाई मुलुककै नमूना नगरपालिका बनाउने हो।

खेलप्रेमी र खेलाडी भएकाले मलाई जनताले भोट दिनेछन् –  सुरेन्द्र श्रेष्ठ (भिडिओ)
सत्ता गठबन्धनको तर्फबाट मध्यपुर थिमि नगरपालिकाको प्रमुख उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ चुनावी र्‍यालीमा। तस्वीरः विप्लव रेग्मी

सत्ता गठबन्धनको तर्फबाट मध्यपुर थिमि नगरपालिकाको प्रमुख उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठसँग सुनीता साखकर्मी र समृद्धा केसीले गरेको कुराकानी।

मध्यपुर थिमी नगरपालिकाको प्रमुख पदमा तपाईंको उम्मेदवारी किन ?

मुख्य कुरा त यसपटक पार्टीले पनि मलाई चुन्यो। ५० प्रतिशत भन्दा बढि युवा नै मतदाता भएकाले र विद्यार्थी आन्दोलनदेखि लिएर २०५४ सालमा म २१ वर्ष हुँदा १४ नम्बर वडामा जनप्रतिनिधि भएर काम गरिसकेकाले पार्टिले मलाई विश्वास गरेर जनता सामु पठाएको छ। जनताले त्यहि आधारमा मलाई विश्वास गर्ने छन्। यो पटक हाम्रो गठबन्धनमा धेरै उत्साह देखिएको छ। घरदैलो कार्यक्रममा पनि त्यतिकै सहभागिता देखिएको छ।

मध्यपुर थिमी नगरपालिकाको प्रमुख पदमा प्रतिस्पर्धा गर्दैगर्दा तपाईंको मुख्य एजेण्डा के हुन् ? विजयी हुनुभयो भने के गर्नुहुन्छ ?

काठमाडौं, भक्तपुर र ललितपुरको बिचमा रहेको सुन्दर र ऐतिहासिक नगर भए पनि मध्यपुर थिमीलाई हेर्ने दृष्टिकोण अलि फरक छ। काठमाडौं, ललितपुर र भक्तपुरलाई ऐतिहासिक सम्पदाको रुपमा हेरिन्छ। तर मध्यपुर थिमी पनि ऐतिहासिक बिस्केट जात्रा, जिब्रो छेड्ने जात्रा जस्ता परम्परा बोकेको शहर हो। यस्ता सम्पदाबारे मानिसहरूलाई अलिक कम ज्ञान छ। त्यसकारण यसपटक हाम्रो एजेण्डा सांस्कृतिक नगरी मध्यपुर थिमिलाई मुलुककै नमूना नगरपालिका बनाउने हो। यहाँ फोहोरमैला व्यवस्थापन, शिक्षा, स्वास्थ्य, वृद्धवृद्धाको समस्या, खेलकुदको समस्या रहेकाले यस्ता धेरै एजेण्डाका साथ त्यही अनुरुप काम गर्ने हाम्रो उद्धेश्य छ।

प्रायः उम्मेदवारले चुनावी मैदानमा अनेकौं प्रतिबद्धता गरे पनि जितिसकेपछि जनताका दुःख बुझ्दैनन् भन्ने गुनासो छ। तपाईं आफ्ना प्रतिबद्धतामा कायम हुनुुहुन्छ भनेर विश्वास गर्ने आधार के हुन् ?

हिजो यो मध्यपुर थिमीको नेतृत्व गर्ने व्यक्ति जनताको सेवक भन्दा पनि शासकको रुपमा प्रस्तुत भएको भन्ने मध्यपुरवासीहरूको ठम्याइ छ। त्यसकारण यसपटक मेरो ‘स्लोगन’ नै ‘म शासक होइन सेवक भएर पाँच वर्ष काम गर्ने’ भनेर प्रतिबद्धतापत्रमै राखेको छु।

मध्यपुरवासीले मलाई नै भोट दिन्छन् भनेर किन विश्वस्त छु भने म खेलकुद प्रेमी हो। म खेलाडी पनि हुँ। सामाजिक क्षेत्रमा धेरै लागेको भएकाले म प्रति धेरैको आकर्षण देखिएको छ। साथसाथै मैले ३० वर्षदेखि राजनीति गर्दैगर्दा वृद्ध आमाबुबाहरूले पनि मलाई नजिकबाट राम्रोसँग चिन्नु भएकाले मलाई नै अत्याधिक मत दिएर जिताउने आशा लिएको छु।

तपाईंको दृष्टिमा मध्यपुर थिमिका मुख्य समस्या के हुन् ? तिनको समाधान गर्न कत्तिको चुनौती छ ?

मध्यपुर थिमिमा मुख्य चुनौती भनेको फोहोर व्यवस्थापन गर्नु नै देखिएको छ। यसको लागि फोहोर–व्यवस्थापन  विज्ञहरूसँग सल्लाह गरेर हामी अगाडि बढ्ने छौं। त्यस्तै सामुदायिक विद्यालयका धेरै पूर्वाधार भए पनि गत पाँच वर्षमा ती पूर्वाधारको प्रयोग भएको देखिँदैन। मध्यपुरका धेरै बासिन्दा काठमाडौं पढ्न जान्छन्। यहाँ धेरै स्कूल र पूर्वाधारहरू भए पनि शिक्षा नीति नहुँदा हामी पछि परेका छौं। आगामी पाँच वर्षको कार्यकालमा मध्यपुरमा भएका हरेक सामुदायिक र नीजि स्कूलमा पढ्ने विद्यार्थीलाई काठमाडौैं र पाटन नगई आफ्नै ठाउँमा पढ्ने वातावरण बनाउनेछौँ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved