३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित (भिडिओसहित)

नेपालभ्युज

३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित (भिडिओसहित)

काठमाडौं। स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले बताएको छ।

सोमबार निर्वाचन आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सोमबार दिउँसोसम्ममा देशभरबाट विभिन्न पदमा ३५३ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका बताए।

त्यसैगरी १७० दलित महिला सदस्य पदमा उम्मेदवारी दर्ता नै नभएको पनि उनले जानकारी दिनुभयो। आयोगले नेकपा(एकीकृत समाजवादी), नेकपा(माओवादी केन्द्र) र राप्रपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेकाले सम्बन्धित दललाई सचेत गराएको र आगामी दिनमा आचारसंहिताविपरीत काम नगर्न निर्देशन दिएको छ।

त्यस्तै नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य शशांक कोइरालाको निर्वाचनमा ६ करोड रुपैयाँ खर्च भएको अभिव्यक्तिप्रति जवाफ माग गरिएको र आगामी दिनमा यस्तो अभिव्यक्ति नदिन सचेत गराएको छ।

सहायक प्रवक्ता अर्यालले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि निर्वाचन आचारसंहिता कार्यान्वयनप्रति सचेत गराइएको जानकारी दिए।

आयोगले काठमाडौं महानगरपालिकामा नेकपा(एमाले)का तर्फबाट मेयर पदका उम्मेदवार केशव स्थापितले वैशाख १५ गते धुम्बाराहीस्थित नेशनल मेडिकल कलेजमा आयोजना भएको छलफलमा आचारसंहिताविपरीत अभिव्यक्ति दिएकाले सो विषयमा आधार र कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण दिन पनि निर्देशन दिएको छ।

साथै सो कार्यक्रमका सन्दर्भमा के, कसो भएको हो विस्तृत लेखी पठाउन आयोगले नेशनल मेडिकल कलेजलाई पनि आग्रह गरेको छ भने स्थापितविरुद्ध विज्ञप्ति निकाल्ने महिला पुनर्स्थापना केन्द्र ओरेकलाई पनि सो विज्ञप्ति हटाएको प्रमाणसहित २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ।

त्यस्तै आयोगले निर्वाचनका बेलामा इन्टरनेट सेवा बन्द हुने अवस्था आएमा निर्वाचनको व्यवस्थापनमा गम्भीर असर पर्ने भन्दै यस्तो अवस्था आउन नदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ।

निर्वाचनका लागि हालसम्म ६४ जिल्लाका लागि १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरिसकिएको आयोगका सहायक प्रवक्ता अर्यालले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved