४६ सालपछि देश बेरोजगार उत्पादन गर्ने कारखाना भयो : लिङ्देन

‘‘बैंकमा पैसा छैन भनिन्छ, नोट कहाँ गयो ? जान्नेहरू भन्छन् नोट काला व्यापारी र ३१ वर्षदेखि जनतालाई कैद गरेर, झुक्याएर, शासन गर्ने नेताहरूको घरमा थन्किएको छ,” उनले भने।

नेपालभ्युज

४६ सालपछि देश बेरोजगार उत्पादन गर्ने कारखाना भयो : लिङ्देन
फाइल फोटो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख पार्टीका कारण देश बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताएका छन्। काठमाडौंमा आयोजित राप्रपाको आमसभा कार्यक्रममा उनले २०४६ पछि देश पूर्ण रूपले बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको बताए।

‘‘२०४६ को राजनीतिक परिवर्तनपछि निरन्तर रूपमा यो देश केही सीमित राजनीति दल र तिनका पनि केही सीमित नेताको मुठ्ठीमा कैद भएको छ,” उनले भने, ‘‘देश हामीले बुझ्ने गरी भन्ने हो भने कांग्रेस, एमाले, माओवादीको अघोषित गठबन्धनको शिकार भएको छ। यो ३१/३२ वर्षमा देश पूर्ण रूपले बरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको छ।’’

उनले केही काला व्यापारी र ३१ वर्षदेखि शासन गर्दै आएका नेताहरूको घरमा पैसा थन्किएका कारण बैंकमा पैसा अभाव देखिएको बताए। ‘‘बैंकमा पैसा छैन भनिन्छ, बैंकले लगानी बन्द गरेको छ ठूल्ठूला चेकहरू साटिँदैन भनिन्छ के हो यो ? केको संकेत हो ? नोट कहाँ गयो ?” उनले भने, ‘‘जान्नेहरू भन्छन् नोट काला व्यापारीहरू र ३१ वर्षदेखि यो देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा जनतालाई कैद गरेर, झुक्याएर, शासन गर्ने नेताहरूको घरमा थन्किएको छ।”

अहिलेको अवस्था सामान्य नभएको उनले बताए। उनले विद्यमान पार्टीलाई मत दिएर यो देश बन्छ भन्नु र साँढेको टाङमुनि बाल्टी थापेर दूधको आशा गर्नु जस्तै भएको टिप्पणी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved