नेपालको उत्कृष्ट प्रदर्शन, तर सिरिजमा पीएनजीको क्लिन स्विप

ब्याटरले सम्हालिएर ब्याटिङ गर्न सक्नु र लामो साझेदारी निभाउनु सक्नु राम्रो उपलब्धि हो। हारका बाबजुद यी उपलब्धिलाई कम आँक्न मिल्दैन।

नेपालको उत्कृष्ट प्रदर्शन, तर सिरिजमा पीएनजीको क्लिन स्विप

काठमाडौं। दुबै खेलमा ब्याटरले शतक प्रहार गरेपनि नेपालले पपुवा न्युगिनी (पीएनजी)सँगको दुबै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल हारेको छ। पहिलो खेल ६ रनले हारेको नेपालले शनिबारको दोस्रो खेल पनि ३ विकेटले गुमायो।

यससँगै पहिलो पटक घरेलु मैदानमा आयोजित दुई म्याचको ओडीआई सिरिज नेपालले २–० ले गुमायोे। पीएनजीले ओडीआई सिरिजको उपाधि जितेको यो सन् २०१४/१५ पछि यो पहिलो पटक हो।

नेपालले ओडीआई सिरिज हारेको यो पहिलो पटक हो। यसअघि नेपालले सन् २०१८ मा नेदरल्याण्डसँगको पहिलो ओडीआई सिरिज एक–एकको बराबरीमा सकेको थियो। त्यस्तै सोही वर्षको यूएईसँगको सिरिज २–१ ले र गत वर्षको पीएनजीसँगकै सिरिज २–० ले जितेको थियो।

कीर्तिमानी ब्याटिङ प्रदर्शन

सिरिजको दोस्रो खेलमा शनिबार टीयू खेल मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्र सिंह ऐरीको शतकको मद्दतले ५० ओभरमा आठ विकेट गुमाउँदै १७८ रनको योगफल तयार पारेको थियो।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा पहिले ब्याटिङ गरेर बनाएको यो हालसम्मकै उच्च स्कोर हो। साथै समग्रमा नेपालको यो ओडीआईको हालसम्मकै दोस्रो ठूलो स्कोर पनि हो। अघिल्लो दिनको खेलमा नै नेपालले २८६ रन स्कोर गरेको थियो।

 

नेपालको सुरुआत भने निकै खराब रह्यो। नेपालका ओपनर कुशल भुर्तेल खेलको पहिलो बलमा नै रोयल डक आउट भए। पीएनजीका बलर अलेइ नाउको पहिलो बलमा नै कुशल क्याच आउट भएका थिए।

यसपछि अर्का ओपनर अनिल शाह पनि तेस्रो ओभरको पहिलो बलमा नै नाउको बलमा केवल एक रन पेभोलियन फर्किए। मात्र पाँच रनमा दुई ओपनर गुमाएपछि नेपालको इनिङ स्वभाविक रुपमा दबाबमा पर्‍यो।

यसपछि नेपाललाई संबेदनशील ब्याटिङको आवश्यकता थियो। नेपाली ब्याटरले यो खेलमा भने निकै जिम्मेवार भएर ब्याटिङ गरे। संकटमा पर्न लागेको नेपालको इनिङलाई देव खनाल र दीपेन्द्र सिंह ऐरीले सम्हाले।

दीपेन्द्रको शतकीय पारी

देवसँग मिलेर कीर्तिमानी साझेदारी गरेका दीपेन्द्रले करियरको पहिलो शतक पूरा गरे। नेपालका लागि ओडीआईमा शतक प्रहार गर्ने उनी तेस्रो ब्याटर बनेका छन्।

यसअघि शुक्रबार पहिलो खेलमा रोहित पौडेलले र पारस खड्काले सन् २०१९ मा यूएईविरुद्ध शतक प्रहार गरेका थिए। दीपेन्द्रले १४० बलमा सात चौकाको मद्दतले १०५ रन जोडेका थिए। यूएई टुरमा फर्ममा नरहेका दीपेन्द्रले यो खेलमा भने सम्मानजनक प्रदर्शन गरे।

देव र दीपेन्द्रको कीर्तिमानी साझेदारी

यसै खेलमा दीपेन्द्रले युवा ब्याटर देव खनालसँग मिलेर नेपालको ओडीआई इतिहासमा ठूलो साझेदारीको रेकर्ड पनि बनाए। यी दुईले तेस्रो विकेटको लागि १२९ रनको साझेदारी गर्दै धरापमा परेको नेपालको इनिङलाई बचाएका थिए।

रोहित पौडेल र आरिफ शेखले शुक्रबारको पहिलो खेलमा पाँचौ विकेटको लागि १०४ रनको साझेदारी गरेका थिए। ओडीआईमा नेपालले कुनैपनि विकेटको लागि गरेको यो सबैभन्दा ठूलो साझेदारी थियो।

तर यो खेलमा देव र दीपेन्द्रले उक्त रेकर्ड तोड्दै नयाँ कीर्तिमान बनाएका हुन्। अघिल्लो दिन पीएनजीसँगको पहिलो खेलमा ओडीआई डेब्यू गर्दा देव डक आउट भएका थिए। तर यू–१९ टिमका पूर्व कप्तान रहेका उनले दोस्रो खेलमा आकर्षक अर्धशतकीय पारी खेले।

उनले ८६ बलमा तीन छक्का र चार चौकाको मद्दतले ७२ रनको योगदान दिए। तेस्रो विकेटको रुपमा देव आउट हुँदा नेपालले ३१ औ ओभरमा १३४ रनको योगफल बनाएको थियो।

देव आउट भएपछि दीपेन्द्रले रोहितसँग मिलेर चौथो विकेटका लागि ५८ रनको साझेदारी गरे। अघिल्लो दिन शतक प्रहार गरेका रोहित ३५ रनमा आउट भए।

यसपछि दीपेन्द्रले भिम सार्कीसँग मिलेर पाँचौ विकेटको लागि थप ५५ रनको साझेदारी गरेका थिए। भिमले १९ बलमा २६ रन जोडेका थिए।
तर दीपेन्द्र आउट भएको ४८ औ ओभरमा नेपालको तीन विकेट खस्यो भने अर्को ओभरको पहिलो बलमा पनि विकेट गयो।

मात्र पाँच रन जोड्ने क्रममा नेपालको पाँच विकेट खसेको थियो। ४६ औ ओभरसम्म २४६ रन चार विकेट रहेको नेपालको ४९ औ ओभरको पहिलो बल खेल्दा २५१ रन आठ विकेट भयो। पवन सर्राफ डकआउट भए भने आरिफ शेख ४ रनमा रनआउट भएका थिए।

यसपछि कप्तान सन्दिपले आक्रमक ब्याटिङ गर्दै मात्र ९ बलमा २४ रन जोडेका थिए। अन्तिम ओभरमा नेपालले १६ रन प्रहार गरेको थियो।

सन्दीपको रेकर्ड

यो खेलबाट सन्दिप ओडीआई क्रिकेटमा सबैभन्दा छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो बलर बने। यसै खेलमा पीएनजीका आमिनीलाई आउट गर्दै उनले ५० विकेट पूरा गरेका हुन्।

उनले २२ ओडीआई खेलमा ५० विकेट लिए। यो रेकर्डमा सन्दीपभन्दा अगाडी पूर्व श्रीलंकाली स्पिनर अजेन्था मेन्डिसमात्र छन्। मेन्डिसले १९ म्याचमा ५० विकेट पूरा गरेका थिए।

सन् २०१८ मा ओडीआई मान्यता पाएयता नेपालले खेलेको सबै २२ खेल खेल्ने सन्दीप एक मात्र खेलाडी पनि हुन्। उनले ओडीआईमा पहिलो विकेट सन् २०१८ को नेपालले खेलेको पहिलो ओडीआईमै नेदरल्याण्डस् विरुद्ध लिएका थिए।

सन्दीप टी ट्वान्टी क्रिकेटमा पनि सबैभन्दा छिटो ५० विकेट पूरा गर्ने बलरको सूचिमा तेस्रो नम्बरमा छन्।

लगातार दोस्रो खेलमा ब्याटिङ चल्यो, बलिङ चलेन

यो सिरिजअघिका म्याचमा नेपालले बलिङमा राम्रो प्रदर्शन गथ्र्यो, तर खराब ब्याटिङका कारण खेल गुमाउँथ्यो। यो सिरिजमा ठिक उल्टो भयो। दुबै खेलमा ब्याटिङमा राम्रो प्रदर्शन भयो। तर,घरेलु मैदानमा नेपालले बलिङमा भने राम्रो गर्न सकेन।

नेपालले यो खेलमा बलिङमा सुरुआत त राम्रो गरेको थियो। दोस्रो ओभरमा सोमपाल कामीले लगातार दुई विकेट झारे। ओपनर टोनी उरा र कप्तान आसाद भालालाई उनले क्याच गराए। दोस्रो ओभरमा नै मात्र नौ रनमा दुई विकेट गएपछि पीएनजीको अवस्था पनि दबाबपूर्ण थियोे।

अब पीएनजीलाई पनि राम्रो साझेदारीको खाँचो थियो। नभन्दै ओपनर लेगा सियाकाले चाल्र्स आमिनीसँग मिलेर तेस्रो विकेटको लागि ६९ रनको साझेदारी गर्दै इनिङलाई सम्हाले।

आमिनीलाई ३५ रनमा एलबीडब्लू धरापमा पार्दै सन्दीपले ओडीआईमा ५० विकेट पूरा गरेका थिए। तर १३ औं ओभरमा गुल्सन झा फिल्डिङ गर्दा खुट्टामा चोट लागेपछि मैदान छाड्न बाध्य भए।

प्रमुख फास्ट बलर नभए पछि नेपालाई धेरै घाटा भयो। गुल्सनले एक ओभरमात्र बलिङ गरेका थिए। उनको ओभर पार्टटाइम बलरले पूरा गर्नुपर्दा पीएनजीका बलरलाई रन बटुल्न सजिलो भयो।

ओपनर सियाकाले राम्रो पारी खेले। उनले सेसे बाउसँग मिलेर चौथो विकेटका लागि ११० रनको शतकीय साझेदारी गरे। सियाका १०२ बलमा ९० रन जोड्दै पवन सर्राफको बलमा बोल्ड आउट भए।

यसपछि सेसे बाउलाई पनि ३८ रनमा पवनले नै एलबीडब्लू आउट गर्दा ३७ औ ओभरमा पीएनजीले २०१ रन जोड्दा पाँच विकेट गुमायो। तर हेकुरेले अविजित ४८ रनको योगदान गर्दा पीएनजीले निर्धारित लक्ष्य आठ बल खेल्नु अगाडी सात विकेटको नोक्सानीमा पूरा गर्‍यो।

बलिङमा सोमपालले तीन र पवनले दुई विकेट लिएका थिए। प्लेएर अफ द सिरिजको उपाधि पीएनजीका अलराउण्डर चाल्र्स अमिनीले जिते।
सन् २०१८ मा जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटमा पीएनजीलाई नै हराएर नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।

त्यसयता नेपालले पीएनजीसँगको सबै एकदिवसीय खेल जितेको रेकर्ड थियो। तर यो सिरिजमा नेपालले दुबै खेल गुमायो। पीएनजीले लगातार १८ एकदिवसीय खेलमा हार भोगेपछि गत सातामात्र लिग डिभिजन–२ मा युएईलाई हराउदै पहिलो जित हात पारेको थियो। उक्त लिग डिभिजन–२ मा नेपालले भने पीएनजीलाई दुई खेलमा लगातार दुई विकेट र सात विकेटले हराएको थियो।

परीक्षण सफल

लगातार खराब ब्याटिङका कारण आलोचित बनेपछि नेपाली टिम हाल नयाँ युवा टिम निर्माणको प्रक्रियामा छ। जसका लागि यो सिरिजमा ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीजस्ता अनुभवी ब्याटरलाई ड्रप गरिएको थियो।

युवा खेलाडीहरुलाई मौका दिइएको यो ओडीआई सिरिज नेपालले हारेपनि नेपालको परीक्षण भने सफल भयो। यसै सिरिजमार्फत डेब्यू गरेका यू १९ टिमका कप्तान देव खनालले दोस्रो खेलमा अर्धशतकीय पारी खेल्दै राम्रो आशा जगाए।

त्यस्तै, पहिलो खेलमा शतक हानेका अर्का युवा ब्याटर रोहित पौडेल पनि पूरै फर्ममा छन्। त्यस्तै ब्याटर भिम सार्की र विकेटकिपर अनिल शाहले पनि राम्रो खेल देखाए।

लगातार दुई खेलमा नेपालको लागि दुई ब्याटरले शतक प्रहार गर्नु पनि नेपालको ब्याटिङमा सुधारिएको पक्ष हो। त्यस्तै यो सिरिजमा ब्याटरले सम्हालिएर ब्याटिङ गर्न सक्नु र लामो साझेदारी निभाउनु सक्नु पनि राम्रो उपलब्धि हो। हारका बाबजुद यी उपलब्धिलाई कम आँक्न मिल्दैन।

तस्वीरहरू : विप्लव रेग्मी/ नेपालभ्युज


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved