नेपालको एकदिवसीय विश्वकप सपना र यथार्थ

अब दुई वर्षका लागि टी-ट्वान्टी विश्वकपको ढोका त बन्द भयो। तर, नेपालले अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने बाटो भने अझै बाँकी नै छ।

नेपालको एकदिवसीय विश्वकप सपना र यथार्थ

काठमाडौं। सन् २०१४ मा नेपाली क्रिकेटले पहिलो विश्वकप खेलेको थियो। हालसम्मका लागि त्यो नै नेपालले खेलेको अन्तिम विश्वकप पनि हो। किनकि त्यसयता नेपाली क्रिकेट टिम कुनै पनि फर्म्याटका विश्वकपका लागि छनोट हुन सकेको छैन।

यो वर्ष दोस्रो पटक टी-ट्वान्टी विश्वकप खेल्न पाउने नेपालको निकै ठूलो सम्भावना थियो। तर गत महीना ओमानमा भएको छनोट प्रतियोगिताको एक निर्णायक खेलमा चुक्दा यो वर्ष पनि नेपालले टी-ट्वान्टी विश्वकपको ढोका खोल्न सकेन।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद‍्को वरीयता क्रममा एशोशिएट राष्ट्रमध्ये लगातार माथिल्लो क्रममा रहँदै आएको छ। तर, सधैंजसो छनोट खेलमा भने राम्रो प्रदर्शन गर्न नसक्दा विश्वकपबाट वञ्चित हुन परेको छ।

अब दुई वर्षका लागि टी-ट्वान्टी विश्वकपको ढोका त बन्द भयो। तर नेपालले अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने बाटो भने अझै बाँकी नै छ।

एकदिवसीय विश्वकप छनोटको प्रक्रिया के हो?

सन् २०२३ को एकदिवसीय विश्वकप भारतमा आयोजना हुँदैछ। भारतले पहिलो पटक एक्लै एकदिवसीय विश्वकप आयोजना गर्न लागेको हो। यसअघि भारत तीनपटक विश्वकपको संयुक्त आयोजक बनिसकेको छ। हालसम्म भारत मात्र आयोजक राष्ट्रको रुपमा यो विश्वकपका लागि छनोट भएको छ।

२०२३ को अक्टोबर नोभेम्बरमा हुने यो विश्वकपमा १० टिम मात्र भिड्नेछन्। जसका लागि यो पटक अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नयाँ छनोट प्रक्रियालाई अघि बढाएको छ।

यो विश्वकपको छनोट प्रक्रिया अन्तर्गत हाल शीर्ष ३२ राष्ट्र भिन्न तीन प्रतियोगितामा भिडिरहेका छन्। जसमध्ये नेपाल पनि एउटा हो। विभिन्न सिरिजमा हुने यी तिन प्रतियोगिताका खेलहरूबाट अर्को वर्ष विश्वकप खेल्ने अन्तिम १० टिमको टुङ्गो लाग्नेछ।

विश्वकपको छनोटको पहिलो र प्रमुख आधार रहेको प्रतियोगिता भनेको ‘आइसिसी क्रिकेट विश्वकप सुपर लिग’ हो। यो लिगमा हाल टेस्ट मान्यताप्राप्त १२ राष्ट्रसँगै नेदरल्याण्डस्ले प्रतिस्पर्धा गरिरहेका छन्। नेदरल्याण्डस्ले सन् २०१५-१७ को आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि जितेपछि यो सुपर लिगमा प्रवेश पाएको हो।

यी १३ राष्ट्रले हाल खेलिरहेका विभिन्न एकदिवसीय सिरिज यही लिग अन्तर्गत पर्छ। सन् २०२३ को मार्च महिनासम्म हुने यो लिगमा विभिन्न एकदिवसीय सिरिजका आधारमा अङ्क तालिकाको शीर्ष स्थानमा रहने आयोजक भारतबाहेक सात टिमले सिधै विश्वकपमा प्रवेश पाउनेछन्।

यो सुपर लिगको अङ्क तालिकामा अहिले १५ खेलमा १० जितपछि १०० अङ्क रहेको बङ्गलादेश पहिलो स्थानमा छ।

विश्वकपमा पुग्ने प्रक्रियाको दोस्रो प्रतियोगितामा ‘आइसिसी क्रिकेट विश्वकप लिग-२’ हो। यो प्रतियोगितामा नेपालसहित आइसिसीको १४ देखि २० औ वरियतामा रहेका सात एशोशिएट राष्ट्रले भिडन्त गरिरहेका छन्।

त्यस्तै आइसिसीको २१ औ देखि ३२ औ स्थानमा रहेका १२ एशोशियट राष्ट्रले भने ‘आइसिसी क्रिकेट विश्वकप च्यालेन्ज लिग’ खेलिरहेका छन्। यो लिग भने विश्वकपमा पुग्ने प्रक्रियाको तेस्रो प्रतियोगिता हो।

लिग-२ र च्यालेन्ज लिग खेल्ने टिमले भने सुपर लिगमा जस्तो सीधै विश्वकपमा प्रवेश पाउँदैनन्। यी दुई प्रतियोगिताबाट छनोट भएका टिमले विश्वकप छनोट प्रतियोगिता खेल्नुपर्ने हुन्छ।

सुपर लिगबाट ८ टिम छनोट हुनेभएपछि अब विश्वकप खेल्ने बाँकी दुई टिमको टुङ्गो भने विश्वकप छनोट प्रतियोगिताद्वारा हुनेछ। छनोट प्रतियोगिता सीधै विश्वकपमा पुग्न नसकेका सुपर लिगको अन्तिममा रहेका पाँच टिम सहभागी हुनेछन्।

त्यस्तै लिग-२ मा रहेका सात टिम मध्ये शीर्ष स्थानमा रहने तीन टिमले पनि विश्वकप छनोट खेल्न पाउनेछन्। लिग-२ को पुछारमा रहेका चार टिमले च्यालेन्ज लिगको शीर्षस्थानमा रहेका दुई टिमसँग विश्वकप छनोट प्रतियोगिताका लागि प्लेअफ खेल्नेछन्।

यो प्लेअफबाट थप दुई टिमले विश्वकप छनोट प्रतियोगिताको ढोका खोल्नेछन्। यसरी विश्वकप छनोट प्रतियोगितामा कूल १० टिमले भिडन्त गर्नेछन्। जसमध्येबाट थप दुई टिम छनोट हुनेछन्।

नेपाल अहिले कहाँ छ?

नेपाल हाल यो छनोट प्रक्रियाको दोस्रो तहको प्रतियोगिता ‘आईसीसी क्रिकेट विश्वकप लिग-२’ खेलिरहेको छ। लिग-२ मा नेपालसहित आईसीसीको वरीयतामा १४ देखि २० औँ स्थानमा रहेका सात राष्ट्र सहभागी छन्।

यी प्रत्येक राष्ट्रले होम, अओए र न्युट्रल मैदानमा गरी एक अर्कासँग नौ-नौ वटा त्रिकोणात्मक सिरिज खेल्दैछन्। यो लिगको प्रत्येक सिरिजमा प्रत्येक राष्ट्रले चार-चार खेल गरी कूल ३६ खेल खेल्नेछन्।

यो लिगको अन्त्यसम्ममा अङ्क तालिकाको शीर्ष स्थानमा रहने तीन टिमले सीधै विश्वकप छनोट खेल्नेछन्। त्यस्तै तलका चार टिम पनि प्लेअफमार्फत छनोटमा पुग्न सक्छन्।

नेपालले अहिले यूएई र पीएनजीसँग खेलिरहेको त्रिकोणात्मक सिरिज पनि यही लिग-२ अन्तर्गत एउटा सिरिज हो। नेपाल यो लिगमा १० खेलमा पाँच जितपश्चात् १० अङ्कसहित छैटौँ स्थानमा छ। लिगको पहिलो स्थानमा रहेको ओमानको २८ खेलमा १७ जितसहित ३६ अङ्क छ।

लिग-२ मा नेपालले यो तेस्रो सिरिज खेलिरहेको छ भने नेपालले यो जारी सिरिजबाहेक पनि ६ ओटा सिरिज अन्तर्गत २४ खेल खेल्न बाँकी नै छ। त्यसैले अबको करिब एक वर्ष नेपाली क्रिकेट निकै व्यस्त रहनेछ।

यूएईमा जारी यो सिरिजपछि आगामी जुनमा अमेरिकामा, जुलाईमा स्कटल्यान्डमा र नोभेम्बरमा नामिबियामा त्रिकोणात्मक सिरिज खेल्ने मिति तय भइसकेको छ।

सन् २०१० मा विश्व क्रिकेट लिग डिभिजन-५ मार्फत आईसीसीको ओडीआई साइकलमा छिरेको नेपाल आठ वर्षको अवधिमा लिग डिभिजन-५,४ र ३ को उपाधि जित्दै हाल डिभिजन-२ मा छ।

यही संरचनामा रहेर सन् २०१८ मा नेपालले आईसीसी एकदिवसीय (ओडीआई) मान्यता पनि पाएको थियो। र यही संरचनामा रहेर नेपालको एकदिवसीय विश्वकप खेल्ने सम्भावना पनि जीवित छ।

नेपालको एकदिवसीय विश्वकप यात्रा कति सम्भव?

एकदिवसीय विश्वकप खेल्ने सपना पूरा गर्न टी-ट्वान्टी विश्वकपजति सजिलो छैन। टी-ट्वान्टी विश्वकपमा १६ टिम सहभागी हुने प्रावधान थियो। नेपालले खेलेको टी-ट्वान्टी विश्वकपको छनोट प्रतियोगितामा टेस्ट मान्यताप्राप्त राष्ट्र भनेको आयरल्यान्ड मात्र थियो।

बाँकी सबै नेपालकै स्तरका र अझ कम स्तरका टिम थिए। तर पनि यो पटक पनि हाम्रो टी-ट्वान्टी विश्वकप सपना पूरा हुन सकेन।

एकदिवसीय विश्वकपमा भने मात्र १० टिमले प्रतिस्पर्धा गर्न पाउँछन्। जबकि टेस्ट मान्यता प्राप्त राष्ट्रको सङ्ख्या नै १२ पुगिसक्यो। जसको अर्थ यो विश्वकपमा कम्तीमा दुई टेस्ट मान्यताप्राप्त राष्ट्रले नै खेल्न पाउने छैनन्।

नेपालले पहिलो चरणमा त हाल खेलिरहेको लिग-२ बाट विश्वकप छनोट प्रतियोगिताको यात्रा तय गर्नुपर्ने हुन्छ। विश्वकप छनोटसम्म नेपाल पुग्ने सम्भावना त निकै बलियो छ। तर छनोट प्रतियोगितामा भने सुपर लिगको तल्लो क्रममा रहेर आएका नेदरल्याण्डस् सहित टेस्ट मान्यता पाएका राष्ट्रलाई हराउनुपर्ने हुन्छ। राष्ट्रिय भावनामा नबहने हो भने यो सम्भव देखिँदैन। त्यसैले एकदिवसीय विश्वकपमा पुग्ने नेपालको सम्भावना निकै न्यून छ।

यतिचाहिँ हो, यदि विश्वकपको छनोट प्रतियोगिताको लागि मात्र छनोट हुन सके पनि नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्रसँग खेल्ने राम्रो अनुभव भने प्राप्त गर्नेछ। यथार्थमा भन्नुपर्दा सम्भव प्राय नदेखिएको एकदिवसीय विश्वकपका लागि छनोट हुनु भन्दा पनि आफ्नो ओडीआई मान्यतालाई जोगाउनु नेपालको प्रमुख लक्ष्य हो। मुख्य प्रशिक्षक पुबुदु दासनायके पनि यसलाई स्विकार्छन्।

सन् २०१८ मा नेपाललाई आईसीसीले प्रदान गरेको एकदिवसीय मान्यता यही एकदिवसीय विश्वकपका छनोट प्रतियोगितासँगै सकिनेछ। नेपाली राष्ट्रिय टिमका टिम म्यानेजर विनोद दास भन्छन्, “नेपाल सकेसम्म पहिले जारी लिग डिभिजन-२ को शीर्ष तीनमा पर्नु आवश्यक छ। त्यसपछि विश्वकप छनोटमा पनि राम्रो प्रदर्शन गर्न सके त्यसका आधारमा ओडीआई जोगाउन सक्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved