भ्यालेन्टाइन विशेष:

‘महान्’ प्रेमी थिए गोर्की

लिवोस्का गोर्कीको छेउमा आएर रोकिइन्। नयाँ सुरक्षागार्ड देखेर लिवोस्का शुरुमा त डराइन् तर अति नै रोमान्टिक मुडमा आफ्नो छातीलाई झुकाउँदै सोधिन्, ‘तिमी को हौ ? यहाँ नयाँ हौ क्यार। आऊ, मसामु आऊ।’

नेपालभ्युज

‘महान्’ प्रेमी थिए गोर्की

रसियन साहित्यमा मात्र होइन, विश्व साहित्यकाशमा म्याक्सिम गोर्कीको नाम एउटा उज्यालो ताराजस्तै सधैँभरि चम्किँदै आएको छ। शोषित वर्गको लेखक गोर्कीको जीवनमा प्रेमका प्रसंगहरु धेरै पटक आए। प्रेम, विवाह र छोडपत्र, यी तीनै पक्षसँग उनले जीवनमा सामना गरे।

आफ्ना विगतलाई सम्झिँदै गोर्कीले लेखेका छन, ‘‘हाम्रो पसलमा जुन केटी काम गर्दथिन्, म उनलाई पनि प्रेम गर्दथेँ। उनको जीउ, गुलाबजस्तै गाला र ओठमा एक स्मित मुस्कान सधैंभरि फुलिरहन्थ्यो। प्रेम गर्न म सधैँभरि तयार रहन्थेँ। उमेर, मेरो चरित्र र जीवनका जटिलताका कारण मलाई नारीसँगको सहचार्यको आवश्यकता थियो। नारीसुलभ प्रेम, कम्तिमा पनि एउटी महिलाको प्रेम मेरो जीवनका लागि धेरै नै आवश्यक थियो। एउटी त्यस्ती युवती, जसका सामुन्ने म आफ्ना कुराहरु निःसंकोच भन्न सकूँ, त्यो मेरो आवश्यकता बनेको थियो।’’

सानो छँदा नै गोर्कीको पिताको मृत्यु भयो। सानै उमेरका उनलाई आमा बारबराले छोडेर अन्तै गइन्। बारबराले म्याक्सिमव नामका एक व्यक्तिसित विवाह गरेका थिए। सौतेनी पिता र आमासँग म्याक्सिमव नयाँ घरमा पुगे। म्याक्सिमवले हरेक दिन गोर्कीलाई पिट्थे। गाली गर्थे। आमाको पनि उनको सौतेनी पितासँगको सम्बन्ध खराब हुँदै गइरहेको थियो। त्यसपछि उनको आमाको निधन भयो। आमाको मृत्युपछि उनको जीवनमा कुनै बन्धन रहेन।

सानै छँदा प्रेम
कठोर वास्तविकतासँग जुधे पनि गोर्कीको जीवनमा रोमान्सले स्थान पाई नै रह्यो। १३ वर्षको उमेरमा एउटी सुन्दर युवतीसँग उनको प्रेम बस्यो। ती युवती विधवा थिइन् र उमेरमा उनीभन्दा जेठी थिइन्। ती युवतीले कुनै किताब गोर्कीलाई उपहारस्वरुप दिइन्। त्यो किताबले गोर्कीको मनमा पढ्ने, लेख्ने भावना जागृत तुल्याइदियो।

एक दिन गोर्की ती युवतीको घरमा गए। ती युवती कुनै पुरुषसँग अँगालो मारेर बसिरहेकी थिइन्। उनी एकदमै हतास भए र त्यहाँबाट लड्खडाउँदै बाहिर निस्किए।

त्यही बेला, गोर्कीलाई डबरिका नामक एक सानो ठाउँको एउटा गोदाममा सुरक्षागार्डको काम मिलेको थियो। प्रायजसो, चोरहरुले गोदामबाट मैदा चोरी गर्थे। एक दिन, मैदा चोरी गर्न एउटी केटी आइन्। तिनको नाम थियो, लिवोस्का। ती केटी राम्री थिइन्। लिवोस्काले यौवन प्रदर्शन गर्दै सुरक्षागार्डहरुलाई मख्ख पार्थिन् र त्यस बापत उनले मैदाका केही बोरा लिएर जान्थिन्।

गोर्कीमा ती केटीप्रति दया जाग्यो। उनले एक दिन ती केटीसँग कुराकानी गर्ने निश्चय गरे। रात धेरै नै बितिसकेको थियो। चारैतिर सन्नाटा छाएको थियो। चिसो जाडोमा सुरक्षागार्ड उँघिरहेका थिए। त्यतिबेला गोर्कीले देखे कि लिवोस्का गेटसामु उभिएकी छिन्। गोर्की अगाडि बढे।

टुट्यो सपना
लिवोस्का गोर्कीको छेउमा आएर रोकिइन्। नयाँ सुरक्षागार्ड देखेर लिवोस्का शुरुमा त डराइन् तर अति नै रोमान्टिक मुडमा आफ्नो छातीलाई झुकाउँदै सोधिन्, ‘‘तिमी को हौ ? यहाँ नयाँ हौ क्यार। आऊ, मसामु आऊ।’’

गोर्की केही पछि हटे। ‘‘यस्तो जिन्दगी तिमीलाई राम्रो लाग्छ ?’’ गोर्कीले सोधे। ‘‘के तिमी कहिल्यै यस्तो सोच्दैनौ, कुनै राम्रो केटासँग बिहे गरेर घरजम बसाल्ने र सुख, शान्तिपूर्वक रहने ?’’

‘‘कसले गर्छ मसँग बिहे ?’’ लिवोस्काले हाँस्दै भनिन्।
‘‘यदि, मैले गरेँ भने‘‘?’’

‘‘म त भन्दछु कि, तिमीजस्तो हिम्मतिला अरु कोही छैनन्। मसँग बिहे गर्न चाहन्छौ ? म सतिसावित्री बनेर तिमीसँग रहन्छु। कस्तो बकबास कुरा।’’ लिवोस्काले भनिन्।
‘‘तिम्ले राम्ररी सोचविचार गरेर नै भनिरहेकी हौ ?’’
‘‘हो, बाबा हो।’’

गोर्कीको सपना चूरचूर भयो। गोर्की भित्रैबाट टुट्न पुगे। उनलाई केही पनि राम्रो लागिरहेको थिएन। गोर्कीलाई त्यो जागिर राम्रो लागेन र केही महिना काम गरेर उनले जागिर नै छाडिदिए।

एक पटक गोर्कीका साथीले बोटिङ गर्ने मन बनाए। साथै, पोल्यान्डका प्रवासी बोलेश्लावलाई पनि बोटिङका लागि आमन्त्रण गर्ने टुंगो भयो। गोर्कीलाई त्यो जिम्मा दिइयो। उनी नीलो रङको पाइन्ट, सेतो कोट र हन्टिङ जुत्ता लगाएर बोलेश्लावलाई निमन्त्रणा दिन गए। उनीसँगै इटालियन ह्याट पनि थियो। उनको यस्तो विचित्रको पहिरन देखेर बोलेश्लावको तरुनी पत्नी जोडदार रुपले हाँसिन्। र, भनिन्, ‘‘यी सबै के हुन् ?’’

‘‘किन ? के भयो ? यसमा नराम्रो कुरा के छ र ? के तिमीलाई अचम्म लाग्यो ?’’ गोर्कीले सोधे। बोलेश्लावकी पत्नी जोडजोडले हाँस्दै भनिन्, ‘‘हो, मलाई धेरै नै अचम्म लाग्यो।’’

यद्यपि, बोलेश्लावले गोर्कीको आमन्त्रणलाई स्वीकार गरे। उनी पत्नीसहित बोटिङका लागि आए। एउटा डुंगामा बोलेश्लाव चढे भने अर्को डुंगामा गोर्की र बोलेश्लावकी पत्नी। उक्त डुंगामा तेस्रा व्यक्ति थिएनन्। पानी छिचोल्दै डुंगा अघि बढिरहेको थियो। गोर्कीले सोचे कि, यस्तो खुसी जिन्दगीमा कहिल्यै पनि आउँदैन। गोर्कीले सोधे, ‘‘के म तिम्रो नाम जान्न सक्छु ?’’

‘‘सक्नु हुन्छ, मेरो नाम भोल्गा हो। तपाईको नि ?’’
‘‘एलेक्सी। एलेक्सी पेशकव।’’

कुराकानीको सिलसिला शुरु भयो। केही समयपछि नै डुंगा अर्को किनारमा पुग्यो। किनारमा फोहोरहरु थुप्रिएका थिए। डुंगाबाट पहिला गोर्की उत्रिए र भोल्गालाई डुंगाबाट उत्रिन हात दिएर सहयोग गरे। सामान्य रुपमा हिच्किचाउँदै गोर्कीले भोल्गालाई काँधमा राखेर बाहिर निकाले। भोल्गाले भनिन्, ‘‘अब त तपाईको शक्तिको प्रशंसा गर्नैपर्ने भो।’’
गोर्कीले भने, ‘‘यसरी तिमीलाई काँधमा राखेर म हजारौं माइल हिँड्न सक्छु।’’

दिनहरु उदासीमा नै बितिरहे। दुवैका हृदयमा कोमल भावना उम्लिरहेका थिए। त्यही बेला एउटा दूर्घटना भयो। गोर्कीको छातीमा चोट लागेको थियो। दूर्घटनाको खबर थाहा पाउने बित्तिकै भोल्गा गोर्कीलाई भेट्न अस्पतालमै आइन्। भोल्गालाई देख्ने बित्तिकै गोर्कीको आवाज बन्दजस्तै भयो। उनले अपलक भोल्गालाई हेरिरहे।
‘‘यसरी के हेरिरहेको ?’’ भोल्गाले सोधिन्।
‘‘तिम्लाई।’’ गोर्कीले भने।
‘‘योभन्दा अगाडि देखेका थिएनौ ?’’

‘‘देख्न त देखेको हुँ। तर, आजजस्तो कहिल्यै पनि देखेको थिइनँ।’’ भोल्गाको हात गोर्कीले आफ्नो हातमा खिँच्दै लिए। गोर्कीले भने, ‘‘एउटा कुरा भन्न चाहन्छु, तर तिम्लाई मन परेन भने माफी देऊ।’’
‘‘भन्नुस्।’’ भोल्गाले भनिन्।
‘‘म तिमीलाई प्रेम गर्छु, भोल्गा।’’
केही हिच्किचाउँदै भोल्गाले भनिन्, ‘‘म जान्दछु। म पनि तिमीलाई प्रेम गर्छु, एलेक्सी।’’
गोर्कीले भने, ‘‘म तिमीसँग बिहे गर्न चाहन्छु, भोल्गा।’’
‘‘बिहे ?’’ भोल्गा केही समय चुप लागिन् र भनिन्, ‘‘म उमेरमा तपाईभन्दा जेठी छु, एलेक्सी। मेरा दुई बच्चा छन्। म तिमीसँग बिहे गर्न सक्दिनँ। पति र बच्चाहरुलाई छाडेर म तिमीसँग जान सक्दिनँ, एलेक्सी।’’

भोल्गा हिँडिन्। अस्पतालबाट निस्किएपछि गोर्कीलाई महसुस भयो, एक पटक फेरि उनी एक्लै भए। शहर छाडेर उनी भोल्गा नदीको किनार गए। त्यसपछि गए जरिटासन। केही महिना त्यही ठाउँमा बिताएर दोन नदीमा गए। एकदिन उनलाई अचानक थाहा भयो कि, भोल्गा पनि त्यही बस्छिन्।

गोर्कीको मन बहलायो। एक दिन ठूलो वर्षाद् भइरहेको बेला गोर्की भोल्गाको घर गए। थाहा भयो, भोल्गा त्यहाँ आफ्नी छोरीसँगै बस्छिन्। भोल्गाकी पति भने फ्रान्समा थिए। गोर्कीसँग भेट्दा भोल्गा पनि खुसी थिइन्। त्यतिबेला गोर्कीको उमेर २३ वर्षको थियो भने भोल्गाको ३३। गोर्कीले देखे कि, ३३ वर्षकी हुँदा पनि भोल्गाको अनुहारमा कुनै परिवर्तन आएको थिएन। आज पनि उनी सुन्दरी थिइन्। भोल्गाको हाँसो अझै पनि मनमोहक थियो।

‘‘कस्तो छ ?’’ भोल्गाले सोधिन्।
‘‘राम्रै छु। मेरो पहिलो कथा काकेशसमा प्रकाशित भयो।’’ गोर्कीले भने। भोल्गाले सोधिन्, ‘‘एलेक्सी, के तिमी आज पनि मलाई प्रेम गर्छौ ?’’
‘‘अँ, गर्दछु।’’ गोर्कीले भने।
‘‘साँच्चै, तिमी धेरै नै बदलिएछौ। म प्रायजसो तिम्रो बारेमा सोच्दथेँ। मेरो कारण तिम्ले पीडा पायौ।’’
गोर्की मुस्कुराए। र, उनले भोल्गालाई भने, ‘‘मलाई केही समय देऊ।’’
‘‘कति ?’’ भोल्गाले सोधिन्।
‘‘म तिमीलाई चिठी लेख्नेछु।’’ गोर्की हिँड्न तयार भए।

गोर्की र भोल्गाले नयाँ जीवन शुरु गरे। तर, उनीहरुको खुसी धेरै दिन टिकेन। किनकि, भोल्गा मात्र आफ्नो बारेमा सोच्दथिन् भने गोर्की भने आम जनताका बारेमा चिन्ता लिन्थे।

दुवैबीच तनाव बढ्दै गयो। यसरी नै दुई वर्ष बिते। घरमा सधैँभरि झगडाको वातावरण बन्यो।

एकदिन गोर्कीको परिचय कैथरिन पावलोवना वालजिनासित भयो। कैथरिन माथिल्लो खानदानकी महिला थिइन्। गोर्कीले पत्ता लगाए कि, उनी सामरा गजेटमा शुद्धाशुद्धी हेर्ने काम गर्छिन्। त्यसो त, गोर्कीप्रति वालजिनाको आँखामा पनि धेरै सपनाहरु थिए। गोर्कीको रचना पढेर उनी मुग्ध हुन्थिन्।

एक दिन गोर्कीले वालजिनासामु प्रस्ताव राखे, ‘‘मसँग बिहे गर्छौ ?’’
वालजिनाले भनिन्, ‘‘गरुँला।’’

दुवै बिहे बन्धनमा बाँधिए। तर, गोर्की लेखनमै निरन्तर रुपमा व्यस्त हुन थालेपछि वालजिनाले उचित मानिनन्। र, एक पटक गोर्कीलाई मास्कोमै स्थायी रुपमा बस्ने गरी आमन्त्रण गरियो। तर, वालजिना भने गोर्कीसँग गइनन्।

त्यसपछि गोर्कीले बिहे गरेनन्, कसैसँग पनि। त्यसपछि उनको जीवनमा आइन्, मारिया। मारिया अभिनेत्री थिइन्। उनीहरु दुवै सँगसँगै रहन थाले। विदेशतिर जाँदा पनि गोर्कीले मारियालाई पत्नीको रुपमा चिनाउँथे।

सन् १९०६ मा गोर्की अमेरिकाको राष्ट्रपतिको निमन्त्रणमा अमेरिका गए। उनीसँगै मारिया पनि थिइन्। तर, गोर्कीले जीवनमा धेरै महिलासँग सम्बन्ध बिस्तार गरे पनि स्थायी सम्बन्ध भने कोहीसँग पनि भएन।

(शुभेन्द्रनाथ वंद्योपाध्यायद्वारा लिखित यो लेख ‘‘कादम्बनी’’ को फेब्रुअरी २००६ को अंकबाट भावानुवाद गरिएको हो।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved