कोभिड महामारी व्यवस्थापनमा यसरी चुकिरहेछ सरकार

अहिले सरकारको प्रमुख दायित्व नै संक्रमितको अनुगमन हो। संक्रमित नै संक्रमण फैलाउने स्रोत हुन्। त्यसैले उनीहरूको पहिचान गरी निगरानीमा राख्नुपर्छ। तर सरकारको ध्यान त्यता पुगेकै छैन।

कोभिड महामारी व्यवस्थापनमा यसरी चुकिरहेछ सरकार

कोभिडको तेस्रो लहर अनेपक्षित थिएन। यो अवस्था आउनसक्ने सम्भावनाबारे धेरै पहिला नै बहस भएकै थियो। यसबारे जानकारी नभएको पनि होइन्। सरकारले नै माघको दोस्रो तेस्रो हप्तामा दैनिक २० हजार संक्रमित पुग्नसक्ने प्रक्षेपण गरेको छ।

यो अवस्थामा हामीले गर्नुपर्ने तयारी सबैभन्दा महत्त्वपूर्ण हुन्छ। अहिले हामीकहाँ आयातित संक्रमित बढी छन्। देशबाहिरबाट संक्रमितहरू निरन्तर आइरहेका छन्। सीमामा कुनै प्रभावकारी व्यवस्थापन हुन सकेको छैन।

विभिन्न देशले बाहिरबाट आउने संक्रमितलाई व्यवस्थापन गर्न विभिन्न विधी अपनाइरहेछन्। हामीले पनि दोस्रो लहरमा थुप्रै पाठ सिकेका छौं। के गर्नुपर्छ भन्नेबारे हामी पूर्णतः अन्जान होइनौं। तर हामीले अनुभवबाट हासिल गरेको ज्ञान पनि लागू गरिरहेकाछैनौं।

सिमानामा व्यवस्थापन भइरहेको छैन। अरू देशहरूमा संक्रमणदर बढ्न थालेपछि हामीले तयारी थाल्नुपर्ने थियो। त्यहीँनेर हामी चुक्यौं। त्यस्तै समयमा नै सीमामा व्यवस्थापन गर्न सकेको भए यो संक्रमणलाई बिचमै न्यून गर्न सकिन्थ्यो। व्यवस्थापन गर्ने भनेको सीमानाका बन्द गर्ने होइन। त्यो कुनै समाधान होइन। खासगरी भारतसँगको सिमाना व्यवस्थापन गर्ने हो। परिक्षणलाई प्रभावकारी बनाउने हो। क्वारेन्टिन सहज बनाउने हो।

संक्रमितबाट अरूमा फैलिन नदिन उनीहरूलाई प्रभावकारी रूपमा आइसोलेसनमा राख्ने व्यवस्था गर्नुपर्छ। अहिले त हामीसँग अनुगमन गर्ने कुनै संयन्त्र नै छैन। सरकारलाई कुन संक्रमित कहाँ कसरी बसिरहेछन् भन्ने थाहा नै छैन।

हामीले क्वारेन्टिनको व्यवस्था नै गर्न सकेनौं। होल्डिङ सेन्टर पनि सञ्चालन हुन सकेन। पहिचान भएका संक्रमितलाई पनि व्यवस्थापन गर्न सकेनौं।

अहिलेको लहरका अर्का स्रोत समुदायमा नै रहेका चलायमान संक्रमित हुन्। संक्रमितबाट अरूमा फैलिन नदिन उनीहरूलाई प्रभावकारी रूपमा आइसोलेसनमा राख्ने व्यवस्था गर्नुपर्छ। आइसोलेसन भनेको अस्पतालमा भर्ना गर्ने होइन न त संस्थागत रूपमा राख्ने नै हो। घरमै आइसोलेसनमा बस्न सक्ने सम्भावना भएकालाई त्यहीँ राख्ने हो। तर प्रभावकारी निगरानीका साथ। अहिले त हामीसँग अनुगमन गर्ने कुनै संयन्त्र नै छैन। सरकारलाई कुन संक्रमित कहाँ कसरी बसिरहेछन् भन्ने थाहा नै छैन। पोजिटिभ भन्यो सकियो यस्तै अभ्यास भइरहेको छ। त्यसैले पनि संक्रमितको संख्या बढिरहेको छ।

अहिले सरकारको प्रमुख दायित्व नै संक्रमितको अनुगमन हो। संक्रमित नै संक्रमण फैलाउने स्रोत हुन्। त्यसैले उनीहरूको पहिचान गरी निगरानीमा राख्नुपर्छ। तर सरकारको ध्यान त्यता पुगेकै छैन।

सामान्य लक्षण भएकाले हामीले शुरुमा बेवास्ता गर्यौं। परिक्षणको दायरा बढाउन सकेनौं। धेरैलाई यसले गम्भीर समस्या निम्त्याउँदैन भन्ने लाग्यो। तर यस्तो धारणा राख्नु गलत हो। ओमिक्रोन भेरिएन्टको संक्रमण तिव्र गतिमा फैलिरहेको छ। डेल्टा भेरिएन्टको तुलनामा ओमिक्रोन भेरिएन्ट कम हानीकारक देखिए पनि यसले गम्भीर अवस्था सिर्जना गरेका प्रशस्तै उदाहरण छन्। केहीको मृत्यु पनि भएको छ। प्रतिशतको हिसाबले मृत्युदर कम भए पनि स्वास्थ्य जटिलता नआउने होइन।

ओमिक्रोन नयाँ भेरियन्ट भएपनि सर्ने तरिका एउटै हो। पहिलो, दोस्रो चरणमा हामीले कोरोना विरुद्धको खोप लगाएका थिएनौं अहिले लगाएका छौं त्यति मात्र फरक छ।

खोप भनेको एउटा विधि मात्र हो। खोपले पूर्ण रूपमा सुरक्षा प्रदान गर्दैन। त्यसैले खोपसहित जनस्वास्थ्यका मापदण्डहरू प्रभावकारी रूपमा पालन गरे हामी सुरक्षित हुनसक्छौं।

त्यसैले हरेक नागरिकले व्यक्तिगत तहमा पूरा गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड अवलम्बन गर्नैपर्छ। त्यसलाई सरकारले अनुगमन गर्नुपर्छ। अनुगमनका लागि संरचना बनाउनुपर्छ।

अहिलेको अर्को समस्या सिटामोलको अभाव हो। यो निकै नै दुःखलाग्दो अवस्था हो। सिटामोलको अत्याधिक खपत वा उत्पादन नभएर यसको अभाव भएको होइन। व्यवस्थापन र नियमन प्रणालीको कमजोरीका कारण बजारमा सिटामोल अभाव भएको हो।

स्वास्थ्यकर्मी जोगाऊ

अहिले धेरै स्वास्थ्यकर्मी संक्रमित भएका छन्। यो आकलन गरेभन्दा फरक समस्या हो। र निकै गम्भीर समस्या पनि।

दोस्रो चरणको जस्तो अस्पतालमा बेड नपाउने अवस्था नआउन सक्छ। अहिले संरचनागत सुधार भएको छ। हिजोको तुलनामा अहिले अस्पतालमा बेड संख्या, आइसियु बेड, भेन्टिलेटर बढेका छन्। अक्सिजन सिलिण्डरको पनि अभाव हुने देखिदैँन। तुलनात्मक रूपमा धेरै सुधार भएका छन्।

तर स्वास्थ्यकर्मी नै संक्रमित भएर सेवा प्रदानमै समस्या आउनसक्छ भन्ने चाहीँ हामीले कल्पना गरेभन्दा फरक अवस्था हो। स्वास्थ्यकर्मीलाई  सुरक्षित गराउने विधि हामीसँग छ। ती विधी कडाइका साथ पालना गर्नुपर्छ।

स्वास्थ्यकर्मीलाई सुरक्षित राख्ने विधि, गाइडलाइन्स र निर्देशिका छन्। त्यसका लागि प्रविधि पनि छन्। ती प्रविधिको सहि प्रयोग भयो भने स्वास्थ्यकर्मीलाई संक्रमण हुनबाट बचाउन सकिन्छ।

अस्पतालहरूमा स्वास्थ्यकर्मी अभाव हुन थालेको हो भने त्यसको विकल्पमा पनि सोच्नुपर्छ। जहाँ स्वास्थ्यकर्मीको अभाव नै भइसकेको छ त्यहाँ अन्तैबाट भए पनि  परिचालन गर्नुपर्छ।

विद्यालय बन्द मात्र समाधान होइन

अहिले विद्यालय बन्द गर्नु एकदमै उचित निर्णय हो। तर विद्यालय बन्द गरेर मात्र बालबालिका सुरक्षित हुदैन्न। बालबालिका विद्यालय जाने समयमा अरू ठाउँमा एक्सपोज भए भने विद्यालय बन्द गर्नुको केहि अर्थ हुँदैन। विद्यालयक नजानुको अर्थ जथाभावी रूपमा जहाँतहीँ जानु होइन।

अभिभावकहरूले बालबालिकालाई सम्झाउनुपर्छ। उनीहरूलाई सुरक्षित रूपमा राख्नुपर्छ। बालबालिकालाई सुरक्षित राख्न जनस्वास्थ्यका विधिहरू अपनाउन सिकाउनुपर्छ। विद्यालय बन्द गर्ने अनि जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने हो भने जोखिम न्युनिकरण हुदैन।

सुधार्न सकिने आर्थिक क्षेत्र सुधारौं

आर्थिक पाटो सुत्रबद्ध तरिकाले यसो गर्नुपर्छ भन्न गाह्रो हुन्छ। त्यसका लागि धेरै पाटोको विश्लेषण गर्नुपर्छ। फेरी कोभिडका कारण सबै व्यवसाय बन्द भएको अवस्था छैन। यही समयमा कतिपय क्षेत्रलाई हामीले प्रवर्द्धन गर्न पनि सक्छौं। कृषि क्षेत्रमा प्रशस्त प्रयोग गर्न सकिन्छ। दैनिक प्रयोगका सामान धेरै आयातित छन्। नेपालमा उत्पादन हुनसक्ने सामग्री यही उत्पादन गर्नसक्छौं।

सबै व्यवसाय समान रूपमा प्रभावित हुँदैनन्। त्यसकारण आर्थिक पाटाहरू पनि बराबर रूपमा प्रभावित हुदैनन्। जहाँ बढि प्रभावित भइरहेको छ त्यो क्षेत्र सुधार्न योजना बनाउनुपर्छ।

अर्थतन्त्रका कतिपय क्षेत्र चाहेर पनि सुधार्न गाह्रो छ खासगरी पर्यटन क्षेत्र अहिले एकदमै प्रभावित छ। हामीले चाहेर पनि तत्कालै सुधार्न सक्दैनौं। उत्पादन क्षेत्र भने सुधार्न सकिने सम्भावना छ।

(जनस्वास्थ्यविद् डा. वन्तसँग भागीरथी पण्डितले गरेको कुराकानीमा आधारित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved