ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्न उद्यत : शहरी विकासमन्त्री झाँक्री

ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्न उद्यत : शहरी विकासमन्त्री झाँक्री

जनकपुरधाम। शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नतर्फ उद्यत् रहेको आरोप लगाएकी छिन्।

बुधबार जनकपुर पुगेकी मन्त्री झाँक्रीले पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओली लोकतान्त्रिक व्यवस्था नै विघटन लागिपरेको आरोप लगाइन्। संसद्को औचित्यमाथि प्रश्न उठाएर ओली आफूले गरेको संसद् विघटनलाई सही सावित गर्न लागिपरेको उनको भनाइ थियो।

उनले भनिन्, ‘‘केपी ओली संसदको औचित्यमाथि प्रश्न उठाएर संसद विघटन गर्दै लोकतान्त्रिक व्यवस्था नै विघटन गर्न उद्यत हुनुहुन्छ। त्यसकारण हामीले ७ दशक लडेर ल्याएको उपलब्धीलाई यस सरकारले त्यसै खेर जान दिने कुरा नै आउँदैन। सरकारले आवश्यक कानूनहरु निर्माण गर्नुपर्ने, आवश्यक नीति लिनुपर्ने ठाउँमा सरकारले आफ्नो स्टेप लिन्छ।’’

मन्त्री झाँक्रीले एमाले पार्टी दक्षिणपन्थी विर्सजनको बाटोमा लागेको आरोप लगाउँदै उनले एमालेको दशौँ महाधिवेशनमा लोकतान्त्रिक अभ्यास नगर्नु र योग्यता नपुगेकाहरुलाई पार्टीको माथिल्लो तहमा लानुले एमाले दक्षिणपन्थी विर्सजनवादी बाटोमा लागेको पुष्टि भएको बताइन्।

लोकतान्त्रिक पद्धतिबाट नभएर ओलीले आफ्नो खल्तीबाट महाधिवेशन प्रतिनिधि बन्ने योग्यता पनि नभएकालाई एमालेको केन्द्रीय कमिटी, पदाधिकारी र पोलिटब्यूरोमा भर्ती गरेर  दक्षिणपन्थी विर्सजनवादी बाटोमा लागेको पुष्टि गरेको आरोप उनको थियो।

मन्त्री झाँक्रीले आजै प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा खोप भण्डारण गृह , प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रदेश मेडिकल स्टोर भवनका शिलान्यास समेत गरेकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved