रिपोर्टस् डायरी

एमाले महाधिवेशनमा जे देखियो

विचारमा होस् वा व्यक्तिमा दशौँ महाधिवेशन गरिरहेको एमाले नवौँ महाधिवेशनको जस्तो रहेन भन्ने प्रष्ट देखिन्थ्यो। सात वर्षमा एमाले धेरै कोणबाट फेरिएछ।

एमाले महाधिवेशनमा जे देखियो

चितवन । यही १०-१४ मंसीरमा चितवनको नारायणगढ र सौराहामा सम्पन्न नेकपा (एमाले)को महाधिवेशनमा एमालेको समकालीन अनुहार नजिकबाट नियाल्न पाइयो। आमसञ्चारका पाना र पर्दाभन्दा पर देखिने एमालेको तस्वीर त्यति धेरै पृथक त थिएन। बरू एमालेको वर्तमान रङ कति गाढा छ भन्ने देख्न पाइयो। विचारमा होस् वा व्यक्तिमा दशौँ महाधिवेशन गरिरहेको एमाले नवौँ महाधिवेशनको जस्तो रहेन भन्ने प्रष्ट देखिन्थ्यो। सात वर्षमा एमाले धेरै कोणबाट फेरिएछ। समाचारमा नअटाएर डायरीका पानामा छुटेका केही दृश्य यस्ता छन्ः

‘धार्मिक’ समाजवाद

महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली ९ मंसीरमै चितवन पुगेका थिए। पुगेकै दिन उनले सौराहाको एक होटलमा आयोजित पार्टीको बुद्धिजीवि परिषद्को सम्मेलनलाई सम्बोधन गरे। ‘समाजवादको आधार निर्माण’ शीर्षक राखिएको सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ओलीले समाजवादबारे कम र हिन्दू धर्मबारे बढी प्रवचन दिए।

उनले नेपाली हिन्दू कसरी गंगा मैदानको हिन्दू भन्दा फरक हो भनेर लामै व्याख्या गरे, हिमवत् खण्डदेखि महाभारतसम्मका प्रसंग जोडेर। उनको व्याख्यान सुनिरहँदा मलाई भने एमालेका पूर्व नेता एवं झापा विद्रोहका सहभागी राधाकृष्ण मैनालीसँगको कुराकानी सम्झना भइरहेथ्यो।

८ साउन २०७७ मा गरिएको कुराकानीमा उनले भनेका थिए, “ओली पहिलेदेखि नै धार्मिक पुस्तक पढ्ने र त्यसबारे छलफल गर्न रूचाउने व्यक्ति हुन्। उनलाई कम्युनिष्ट सिद्धान्तप्रति कहिल्यै पनि खास रूचि रहेन ।”

रोचक त ओलीको प्रवचन सुनिरहेका पार्टीका ‘बुद्धिजीवि’ले त्यो धार्मिक व्याख्यान आनन्दका साथ सुनिरहे। पार्टी अध्यक्षलाई प्रश्न गर्ने कसको तागत ?

सर्वशक्तिमान ओली

पार्टीभित्र आफ्नो प्रतिस्पर्धी नै नभएको संकेत दिन भरमग्दुर प्रयास गर्दा पनि भीम रावलको अडानले असफल भएका ओलीको वर्चस्व महाधिवेशन स्थलमा भने प्रष्ट देखिन्थ्यो।

उनी बन्दसत्र स्थलमा आउँदा होस् अथवा महाधिवेशनका अन्य कार्यक्रममा जाँदा ‘आई लभ यू केपी बा’, ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ जस्ता नारा लाग्थे।

ओली पक्षधरहरू नाराबाजीका साथ उनको पक्षमा लागिरहँदा रावल पक्षका महाधिवेशन प्रतिनिधि भने प्रतिरक्षाको स्थितिमा थिए। उनीहरु खुलेर रावलको पक्षमा बोल्न सकिरहेका थिएनन्। महाधिवेशनपछि आउने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पछाडि पारिने डरका कारण पनि रावलको पक्षमा खुलेर नबोलेको देखिन्थ्यो।

बन्दसत्र स्थल बाहिर भेटिएका केही प्रतिनिधिसँग मैले सोधेको थिएँ- “किन रावलको पक्षमा खुलेर प्रचार नगर्नुभएको ?”

उनीहरूको जवाफ थियो, “महाधिवेशनको प्रतिस्पर्धा एक ठाउँमा छ, यसपछि हुने स्थानिय, प्रदेश र संघीय निर्वाचनलाई हेक्का राख्दा रावलको पक्षमै भए पनि स्वतन्त्र हिसाबमा उहाँको पक्षमा बोल्न सक्ने अवस्था छैन।”

वैचारिक बहसको केन्द्र मानिने महाधिवेशनमा व्यक्तिको प्रधानता यो हदसम्म हुनु आफैमा अनौठो थियो।

रावलको अडान

महाधिवेशन अवधिभर भीम रावललाई अध्यक्ष पदमा उम्मेद्वारी दिनबाट रोक्न धेरै नै प्रयास भए। ९ मंसीरमा सौराहामा आफू बस्ने होटलमा पुग्दा रावलको विपक्षमा नारा नै लगाइयो।

१० गते बसेको केन्द्रीय कमिटीको बैठकमा सहमतिको महाधिवेशन भन्दै रावललाई उम्मेद्वारी नदिन आग्रह गरियो।

महाधिवेशन प्रतिनिधि छनोट नै सर्वसम्मतिबाट गर्ने भन्दै ओली पक्षले अधिकांश प्रतिनिधि आफ्नो पक्षको मात्रै ल्याएको थियो। यस्तो अवस्थामा अध्यक्ष पदमा हार्ने निश्चित जस्तै देखिँदा पनि रावलले आफ्नो उम्मेद्वारी कायम राखे।

उम्मेद्वारीका विषयमा रावल टसका मस नभएपछि उनी पक्षीय नेताहरुलाई पनि फकाउने प्रयास भयो। कञ्चनपुरबाट महाधिवेशन प्रतिनिधिका रुपमा आएका पार्टीका नेतामार्फत रावललाई उम्मेद्वारी नदिन दबाब दिइयो।

१२ मंसीरमा प्रस्तावित पदाधिकारी र केन्द्रीय सदस्यको सूची लिएर ओली बन्दसत्र स्थल पस्दै गर्दा उनको जयजयकार भयो भने  रावलको विपक्षमा नारा लाग्यो।

१४ मंसीरमा अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन हुने भएपछि रावलको पक्षमा प्रचार गर्नेहरुलाई बन्दसत्र स्थलबाट बाहिर निकालियो। पार्टीको विधानमा नै प्यानल बनाएर निर्वाचनमा जान नपाइने व्यवस्था गरिए पनि ओली पक्षले को-को उम्मेद्वारलाई भोट हाल्ने र कसलाई नहाल्ने बन्ने सूची बाँड्यो।

निर्वाचन आयोगले बन्दसत्र बाहिर सूची बाँडिएको जानकारी नभएको बताउँदै गर्दा नजिकै यस्ता सूची छरपस्ट देखिन्थे।

कपडाको शौचालय

एमालेले नारायणी किनारमा गरेको उद्घाटन स्थलको मञ्च निर्माणमा ५० लाख खर्च भएको दाबी छ। मञ्च निर्माणमा काठमाडौँबाट नै प्राविधिक लगेर मञ्च निर्माण गरिएको थियो। मञ्चलाई आकर्षक बनाउन महाधिवेशन स्वयंसेवक परिचालन संयोजक विनोद श्रेष्ठ लागिपरेका देखिन्थ्यो। मञ्च मात्रै होइन मञ्चबाट नेताहरुले भाषण गरेको सुन्न ठाउँ ठाउँमा ‘स्क्रीन’ पनि राखियो। तर, उद्घाटन समारोहमा सहभागी हुन आउने कार्यकर्ताका लागि शौच गर्ने शौचालय नै थिएनन्।

सेतो कपडाले बारेर बनाइएको संरचनालाई शौचालय नाम दिइएको थियो। ५० लाखको मञ्च बनाउनेहरूले पाँच हजार पनि शौचालयलाई खर्च गर्न नसक्नु उदेकलाग्दो थियो।

बढीमा तीन लाख

नारायणगढ नेपालका ठूला शहरमध्येकै हो। तर भारतको गोरखपुर जत्रो पनि होइन। भरतपुर महानगरपालिकाको क्षेत्रफल ४३३ वर्ग किलोमिटर छ जबकी गोरखपुरको एक हजार ४१ वर्ग किलोमिटर। त्यसमा पनि उद्घाटन समारोह त नारायणी नदी किनारमा थियो। तर एमालेजनले सात देखि १० लाख मानिसको उपस्थिति रहेको दाबी गरेका छन्।

जबकी नेपालको सिंगो यातायात व्यवस्थाले पनि त्यति मानिस एकै दिनमा ओसार्न नसकिने यातायात व्यवसायी नै बताउँछन्। नारायणी यातायात व्यवसायी संघका एक पदाधिकारीले भने, “देशभर यातायात व्यवस्था ठप्प गराएको अवस्थामा पनि त्यतिका मानिसलाई एक दुई दिनमै एक गन्तव्यबाट अर्को गतव्यसम्म पुर्‍याउन सकिने अवस्था हाम्रो यातायात व्यवस्थासँग छैन।”

उनले बढीमा तीन लाख मानिस एमाले महाधिवेश उद्घाटनमा सहभागी भएको अनुमान गरे।

कमजोर व्यवस्थापन

महाधिवेशनभर बस्दा लाग्थ्यो, एमालेको ध्यान भीड जम्मा गर्नेमा त थियो तर त्यसको व्यवस्थापनमा होइन। न त प्रहरी प्रशासनले नै आवश्यक व्यवस्थापन गर्न सक्यो। महाधिवेशन व्यवस्थापनकै लागि केन्द्रबाट थप सुरक्षाकर्मी परिचालन गरिएको भए पनि ट्राफिक व्यवस्थापनमा चितवन कमजोर देखियो।

भीडका कारण एम्बुलेन्सले घण्टौँसम्म बाटो नपाएको हृदयविदारक तस्वीर कुनै पनि राजनीतिक पार्टीलाई शिक्षा बन्नेछ। ओली आफैँ बन्दसत्रस्थल पुग्दा दुई घण्टा जाममा परे।


Comment

One thought on “एमाले महाधिवेशनमा जे देखियो

  1. ओली राष्ट्रिय आवश्यकता र राष्ट्रिय वाध्यता दुबै हुन।ओली पक्षका मात्रै प्रतिनिधि ल्याइएको भन्नु झुट हो। आफ्नै पापी हर्कतको कारण स्थायी झगडिया माकुने बाहिरिनुपरेको हो।उ औसत उमेरपार पनि हो!उक्त जीनिस बाहिरिए पछि एमालेमा रीस,राग,डाहाड तथा आरिसपनको समूल उच्छेद भएको छ।पार्टी भित्र झगडा,कुटाकुट,लुटालुट तथा थुकाथुक हेर्न मन लागे कांग्रेस पार्टी तर्फ फर्कनु!सुदृढ,सकारात्मक,सन्तुलित,समर्पित तथा सहृदयी पार्टी एमाले हो अनि सदा सर्वदा रहनेछ पनि!पहाडी र मैदानी हिनुदुहरु तथा तिनको आचरणगत फरकलाई विशद व्याख्या गर्नसक्ने केपी ओलीलाई जथवा तथवा भन्ने आरके मैनाली ऐतिहासिक ऐजेरु हुन!कुरो बुझौं:-जुन नाम जौनै विशेषताको भए पनि ऐजेरु त फाल्नैपर्छ शरीरबाट नत्र क्यान्सर जो हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved