धनुषामा कांग्रेसको पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन स्थगित, महोत्तरीको पनि अझै लागेन टुंगो

धनुषामा कांग्रेसको पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन स्थगित, महोत्तरीको पनि अझै लागेन टुंगो

जनकपुरधाम। धनुषामा नेपाली कांग्रेसको पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन स्थगित गरिएको छ भने महोत्तरीको पनि अझ टुंगो लाग्न सकेको छैन। धनुषामा पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत मंसिर ४ र ६ गतेका लागि निर्धारण गरिएको अधिवेशन स्थगित गरिएको हो।
मंसिर १ गतेको सूचना अनुसार पालिकास्तरीय तथा प्रदेशसभा क्षेत्रीय अधिवेशनको मिति मंसिर ४ र ६ गतेका लागि निर्धारण गरिएकोमा प्राविधिक कारणले अर्को सूचना नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको धनुषाका निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए।
त्यसै गरी नेपाली कांग्रेस महोत्तरीमा विवादका कारण पालिका र वडा अधिवेशनको टुंगो अझै लाग्न सकेको छैन। महोत्तरीका १५ मध्ये ७ वटा पालिकामा निर्वाचन सम्पन्न भएको छ। ६ वटा पालिकामा सर्वसम्मत नेतृत्व चुनिएका छन्।

बाँकी बल्का नगरपालिकामा विवादका कारण पार्टीको निर्णयअनुसार अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको महोत्तरी कांग्रेसले जनाएको छ। त्यस्तै, मनरासिस्वा नगरपालिकाको वडा नम्बर ८ मा विवादकै कारण अझै अधिवेशन हुन सकेको छैन।
बाँकी १ सय ३७ वडामा कतै निर्वाचन र कतै सर्वसम्मतिमा अधिवेशन सम्पन्न भइसकेको कांग्रेस महोत्तरीका सभापति महेश्वर रायले जानकारी दिए। मनरासिस्वा वडानं ८ मा उम्मेदवारबीच हात हालाहालै भएपछि वडा अधिवेशन स्थगित भएको थियो।

७ वटा पालिकामा भएको निर्वाचनको परिणाम आउन बाँकी रहेका कारण प्रदेशस्तरीय अधिवेशन समेत अन्योलमा परेको छ। जलेश्वर, भंगाहा र मनरासिस्वाको मत परिणाम आइसकेको छैन। निर्वाचनलाई सहजीकरण गर्न केन्द्रबाट महोत्तरी आएका निर्वाचन अधिकृत इन्द्र सुवेदीका अनुसार महोत्तरीमा सबैभन्दा ठूलो विवाद मतदान केन्द्रको विषयमा भएको छ। ‘उम्मेदवारीभन्दा पनि मतदान गर्ने विषयमा मतदान केन्द्रलाई लिएर सम्बन्धित ठाउँका स्थानीय प्रतिनिधिमै ठूलो विवाद छ’, उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved