अलमुताइरीका अबका चुनौती

“केही समर्थकले अहिले नै मेसेज पठाएर नेपाल विश्वकपको लागि छनोट हुनुपर्छ भन्नुभएको छ, तर यो एकैपटक हुने कुरा होइन। स्टेप बाइ स्टेप हुने कुरा हो।”

अलमुताइरीका अबका चुनौती

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले गत बुधबार आफूले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग नेपाली टिमको प्रशिक्षकको रूपमा तीन वर्षको लागि सम्झौता थप गरेको घोषणा गरे। सदा जस्तै सामाजिक सञ्जालमा उनको यो पोस्ट पनि भाइरल भयो।

उनलाई धन्यवाद दिनेदेखि नेपालमा स्वागत गर्नेको ओइरो लाग्यो। अलमुताइरीले प्रशिक्षकको रूपमा निरन्तरता दिने भएपछि नेपाली फुटबल समर्थक निकै खुशी छन्। किनकी नेपाल बसाइँको छोटो समयमै उनले नेपाली फुटबलमा राम्रै सुधारका संकेत देखाएका थिए भने नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्ने इतिहास समेत रचेको थियो।

नेपाली फुटबल समर्थकहरू अलमुताइरीलाई औधी माया गर्छन र उनी पनि नेपाली समर्थकलाई निकै सम्मान गर्छन। त्यसैले शनिबार साँझ नेपाल फर्केलगतै सर्मथकप्रति उनको पहिलो प्रतिक्रया थियो,“म धेरै खुशी छु किनकी म आफ्नो घर फर्केको छु। सबैलाई थाहा छ पछिल्लो तीन/चार महिनाको समय मेरा लागि निकै असहज थियो। म नेपाली सर्मथकलाई धेरै धन्यवाद भन्न चाहान्छु जसले फुटबललाई माया गर्नु हुन्छ।”

एन्फासँगको उनको वास्तविक सम्झौता अब पाँच वर्षको लागि हो। तर हाल तीन वर्षका लागि मात्र सम्झौता पत्रमा हस्ताक्षर भएको छ। यदि दुवै पक्ष तयार भएमा दुई वर्षका लागि सम्झौता स्वतः थप हुनेछ।

आगामी वर्ष कतारमा हुने विश्वकपमा छनोटका लागि लागि नेपालको बाटो बन्द भइसक्यो।

नेपालको प्रशिक्षकको रूपमा जिम्मेवारी थपिएपछि अबका दिनमा अलमुताइरीको प्रमुख चुनौती नेपाललाई एशिया कप फुटबलमा छनोट गराउनु हो। जुन उपलब्धी नेपाली फुटबलले हालसम्म हात पार्न सकेको छैन।

तर अलमुताइरी यो पटक पनि नेपाल एशिया कपमा छनोट हुनेमा ढुक्क छैनन्, उनी भन्छन्,“आउँदो एशिया कप २०२३ को लागि नेपाल छनोट नै हुन्छ भनेर म ठोकुवा गरेर भन्न सक्दिनँ। तर हामीले योजना अनुसार राम्रोसँग काम गर्न सक्यौं र बीचमा कुनै समस्या आएन भने यो एशिया कप होइन, सन् २०२७ को एशिया कपका लागि भने नेपाल छनोट हुनेछ।”

तर नेपाली फुटबलका बिश्लेषक सञ्जीव मिश्रको अपेक्षा भने नेपाल छनोट हुन्छ भन्ने छ। “एशिया कप फुटबलमा नेपालको छनोट संभावना रहेको देख्छु म, छनोट प्रतियोगितामा सहभागी कुल २४ टिम छन्, जसमध्ये ११ टिमले एशिया कप खेल्न पाउनेछन्। धेरै टिम छनोट हुने हुनाले केही बलिया टिम पछि नेपालको पनि संभावना रहन्छ,” मिश्रले नेपाल भ्युजलाई बताए।

सन् २०२३ मा चीनमा हुने एशिया कप फुटबलको लागि तेस्रो तथा अन्तिम चरणको छनोट खेलहरू सन् २०२२ को जूनमा सञ्चालन हुँदैछ।

एशिया कप छनोटपछि भने नेपाली राष्ट्रिय फुटबल टिम सन् २०२३ मा हुने अर्को संस्करणको साफ च्याम्पियनसिपमा केन्द्रीत हुनेछ। अलमुताइरीको अबको मुख्य एजेण्डा पनि त्यही हो।

उनी भन्छन्,“अबको हाम्रो प्रमुख लक्ष्य आगामी साफ च्याम्पियनसिप हो। हामी एकपटक फाइनल पुग्यौं। अबको योजना उपाधि जित्नका लागि हुनेछ। यो साफ च्याम्पियनसिपमा गरेको प्रदर्शनपछि नेपाल सरकारले फुटबल खेलाडीका लागि लगानी बढाउने आशा छ। मलाई लाग्छ अब हामी सबै मिलेर नेपाली फुटबलका लागि केही राम्रो गर्नसक्छौं। तर म नेपाली जनतासँग के भन्न चाहन्छु भने अहिले नै धेरै ठुलो आशा भने नराख्नुस्। केही समर्थकले अहिले नै मेसेज पठाएर नेपाल विश्वकपको लागि छनोट हुनुपर्छ भन्नुभएको छ, तर यो एकैपटक हुने कुरा होइन। स्टेप बाइ स्टेप हुने कुरा हो।”

नेपाल फर्केपछिको अब अलमुताइरीको पहिलो काम भनेको शहीद स्मारक ए डिभिजन लिग हेर्ने हुनेछ। ए डिभिजन लिग आउँदो कार्तिक २९ गतेदेखि आयोजना हुँदैछ। देशभरका प्राय: सबै खेलाडीले खेल्ने यो लिगलाई पछ्याएर उनले नयाँ क्षमतावान खेलाडी राष्ट्रिय टिमका लागि निकाल्नेछन्।

विशेषगरी युवा खेलाडीलाई मौका दिने उनी यो लिगबाट पनि केही युवा खेलाडीलाई राष्ट्रिय टिममा तान्ने तयारीमा छन्। एन्फाले पहिलो पटक एक सय दिन भन्दा लामो समय चल्नेगरी ए डिभिजन लिग गर्न लागेको छ।

अलमुताइरीले आफू कतारमा रहँदा अन्य टिमबाट धेरै राम्रो पैसको प्रस्ताव आएपनि नेपाली जनताको माया र एन्फा तथा कतार फुटबल संघको अनुरोधमा नेपाल फर्किएको बताए।

गत चैतमा नेपाली टिम सम्हालेपछि छोटो समयमा नै प्रशिक्षक अलमुताइरी नेपाली फुटबल समर्थक माझ चर्चित भएका थिए। बलिया प्रतिद्वन्दि विरुद्ध पनि फरक शैली र सुधारिएको खेल देखाएका कारण उनको क्रेज झन् बढेको थियो।

यसपछि साफ च्याम्पियनसिपमा उपविजेता बन्दासम्मको यात्रामा नेपाली टिमको प्रदर्शनको धेरै श्रेय उनले पाए। तर साफ च्याम्पियनसिप दौरान नै उनले नेपालको फाइनल खेल पछि आफूले टिम छाड्ने सामाजिक संजालमा बताएका थिए। यसपछि नेपाली फुटबलमा उनको खाँचो रहेको भन्दै अधिकांश समर्थकले उनलाई नेपाल फर्कन आग्रह गरेका थिए।

उनले प्रशिक्षण थालेपछि नेपालले हालसम्म आधिकारिक ११ ओटा अन्तराष्ट्रिय खेल खेलेको छ। जसमध्ये तीन खेल जितेको छ भने ६ खेलमा हार भोग्दा दुई खेल बराबरीमा सकिएका छन्। यस दौरान नेपालले चाइनिज ताइपेई, माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो।

खेलप्रेमीहरू नेपाली फुटबलको विकासको लागि राष्ट्रिय टिममा अलमुताइरी जस्तै प्रशिक्षकको आवश्यकता रहेको बताउँछन्। तर नेपाली फुटबललाई साँच्चै माया गर्ने हो भने आउँदा दिनमा उनले अनावश्यक विवाद र स्टन्टबाजी तथा बारम्बार राजीनाको घुर्की लाउन भने बन्द गर्नुपर्ने धेरैको धारणा छ। फुटबल र टिममा मात्र ध्यान दिए सबैका लागि राम्रो हुने उनीहरूको तर्क छ।

उनी आफै पनि यो कुरा स्वीकार्दै नेपाल फर्किने निर्णय लिएको बताउँछन्। उनले भनेका छन्, “गत तीन चार महीनामा के भएको थियो त्यसलाई मैले बिर्सिसकें, पुराना सबै कुरालाई बिर्सिएर अब नयाँ जोश र नयाँ योजनाका साथ काम शुरु गर्नेछु। अब म फुटबल बाहेक अन्य विषयमा कसैसँग कुरा गर्ने छैन। अब म मेरो खेलाडीको रक्षाका लागि र नेपाली फुटबलका लागि मात्र फाइट गर्नेछु।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved