यौन शिक्षालाई खुला गर्नुपर्छ : सभामुख मण्डल

यौन शिक्षालाई खुला गर्नुपर्छ : सभामुख मण्डल

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले समाजमा लुकाउने गरिएको यौन  शिक्षालाई खुला गर्नुपर्ने बताएका छन् ।  जनकपुरधाममा गुड नेवर्स इन्टरनेशनलको सहयोगमा जनचेतना अभियान नेपालले शुक्रबार आयोजना गरेको बृहत् यौन शिक्षासम्बन्धी पैरवी कार्यक्रममा बोल्दै सभामुख मण्डलले यस्तो बताएका हुन् ।

उनले २१ ‍‌‍औं शताब्दीमा आइसक्दा पनि हाम्रो समाज यौन शिक्षाको विषयमा अझै पनि खुला नभएको भन्दै यौन शिक्षाको अभावमा यौन हिंसाबाट पीडित भएकाहरु पनि इज्जत प्रतिष्ठा र मान मर्यादाका कारण समस्यालाई बाहिर नल्याउने गरेको बताए । उनले बालबालिकाको जिवन व्यवहारमा धेरै खालका समस्या हुने गरेको भन्दै यौन शिक्षाले तिनीहरुलाई धेरै समस्याबाट मुक्ति दिलाउन सकिने विश्वास व्यक्त गरे ।

उनले अभिभावकले नजानेर पनि गरेका कतिपय व्यवहारबाट बालबालिकालाई विभिन्न खालका समस्या हुने गरेको भन्दै बालबालिकासँग जोडिएका यौनशिक्षा, बालश्रम, बालविवाह जस्ता विषयमा तिनै तहका सरकारले काम गर्नु जरुरी भएको बताए।

कार्यक्रममा मधेश प्रदेश सरकारका प्रतिनिधि देवकुमारी खत्रीले यौन शिक्षाको अभावमा समाजमा किशोर किशोरीहरु हिंसा र कुलतमा फस्ने गरेको भन्दै यौन शिक्षालाई अनिवार्य गर्नुपर्नेमा जोड दिईन् । उनले यौन शिक्षाको अभावमा बालविवाहको घटना पनि बढेका कारण प्रदेश सरकारले सन २०३० सम्ममा बालविवाह अन्त्य गर्ने लक्ष्यलाई पूरा गर्नका लागि पनि यो शिक्षा अनिवार्य भएको बताईन् ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले यौन शिक्षालाई मधेश प्रदेशका १३६ वटै पालिकाले पाठयक्रममा समावेश गर्नुपर्ने, गुड नेवर्स इन्टरनेशनलले दलित बस्तीहरुलाई पनि कार्यक्रममा समावेश गरी दायराफराकिलो पार्नुपर्नेमा जोड दिएका थिए । जनचेतना अभियान नेपालले भंगहा नगरपालिकाको चारवटा विद्यालयमा छात्रा क्लव गठन गरेर पहिलो चरणमा कार्यक्रम सञ्चालन गरेको जनचेतना अभियान नेपालका कार्यकारी प्रमुख सुनिल यादवले जानकारी दिए।

कार्यक्रममा सहभागी भएका छात्राहरुले सुरुवातीमा भने यौन शिक्षा दिँदाखेरी शिक्षा लिन आउन नमान्ने गरेका छात्राहरु विस्तारै शिक्षा लिन थालेपछि विद्यालयहरुमा यौन हिंसाका घटनामा पनि कमी आएको र महिनावारीसम्बन्धी समाजमा देखिएका अन्धविश्वास पनि विस्तारै अन्त्य हुँदै गएको विद्यार्थी प्रीतिकुमारी यादवले बताईन्।

जनचेतना अभियानका बोर्ड सदस्य राजेन्द्रप्रसाद यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा गुड नेवर्स इन्टरनेशनलका रामनरेश यादव, भंगहा नगरपालिकाका नगरप्रमुख सञ्जीव साह सहितले आफ्ना विचार व्यक्त गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved