‘गर्मी से बेहाल चलो नेपाल’ अभियानले भारतीय पर्यटक बढ्ने अपेक्षा

नेपालभ्युज

‘गर्मी से बेहाल चलो नेपाल’ अभियानले भारतीय पर्यटक बढ्ने अपेक्षा
फाइल तश्वीर

काठमाडौं ।  भारतको सीमावर्ती क्षेत्रबाट उल्लेख्यमात्रामा भारतीय पर्यटकले नेपाल भ्रमण गर्ने र गत वर्षको तुलनामा सङ्ख्या पनि दोब्बरले वृद्धि हुने नेपाली तथा भारतीय पर्यटन व्यवसायीहरुले आँकलन गरेका छन् । भारतको लखनउमा भएको नेपाल प्रवर्द्धनात्मक कार्यक्रममा सहभागी दुवै देशका पर्यटन व्यवसायीले यो ग्रीष्मयाममा प्रशस्त पर्यटक नेपाल आउने बताएका हुन् ।

होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा अयोध्या र लखनउ गएको ६० सदस्यीय नेपाली प्रतिनिधिमण्डल कार्यक्रम सम्पन्न गरी स्वदेश फर्किएको छ । जनकपुर र अयोध्यालाई जोडेर बढी भन्दा बढी भारतीय पर्यकटक नेपाल भित्राउन सङ्घले लखनउमा पर्यटन प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा लखनउ, कानपुरलगायत क्षेत्रका ५० भन्दा बढी ‘टूर अपरेटर’ र व्यवसायीको उपस्थिति रहेको संघले जनाएको छ ।

टुर अपरेटरहरुलाई स्वागत गर्दै सङ्घका अध्यक्ष शाहले मुलुकको सातै प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको जानकारी गराउँदै यो वर्षको ग्रीष्मऋतुमा भारतीय पर्यटकलाई नेपाल घुम्न निम्तो दिए। उनले विवाह र बैठक, सम्मेलन, प्रदर्शनी‘माइस’ पर्यटनका लागि नेपाल उपयुक्त भएकाले भ्रमणमा आउन आग्रह गर्दै त्यसका लागि पर्याप्त संरचना पनि तयार रहेका जानकारी दिए । उनले पर्यटकलाई नेपालका मौलिक खाना खुवाएर नेपाल भ्रमणलाई स्मरणीय बनाइने बताए ।

भारतीय पर्यटन व्यवसायीको तर्फबाट ट्राभल एजेन्ट्स एशोसिएशन अफ इण्डिया र ट्राभल ट्रेड एशोसिएशन यूपीका अध्यक्षहरुले कार्यक्रमको सराहना गर्दै दुई देशीय पर्यटन प्रवर्द्धनमा यस कार्यक्रमको अझ बढी महत्व रहेको तथा दुई देशको सम्बन्ध मजबुत बनाउन सहयोग पुगेको बताए ।  साथै उनिहरुले छिमेकी राष्ट्र नेपालमा भारतीय पर्यटकलाई भ्रमण गर्न उत्प्रेरित गरिएको र आगामी दिनमा बढीभन्दा बढी भारतीय पर्यटकले नेपाल भ्रमण गर्ने विश्वास दिलाए । भारतीय पर्यटन व्यवसायीले भारत नेपाल सीमावर्ती पर्यटन प्रवर्द्धनमा नेपाल र भारतीय सीमावर्ती सहरबीच सीधा हवाई उडान तथा सडक सम्पर्कको आवश्यकता रहेको जनाउँदै यस सम्बन्धमा दुवै देशका सरकारलाई आआफ्नो क्षेत्रबाट सहजीकरणका लागि आग्रह गरे ।

लखनउमा भएको नेपाल प्रवर्द्धन कार्यक्रममा ‘चलिए पोखरा’, ‘घुमिए सौराहा’, ‘चलु जनकपुर’, ‘देखिए बर्दिया’, ‘विराट’ विराटनगरको विशेष प्रस्तुतिसहित ‘ गर्मी से बेहाल चलो नेपाल’ अभियानबारे पनि जानकारी दिइएको थियो । रासस

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved