घरजग्गा कारोबार व्यवस्थित बनाउन सरकारले ल्याण्डपुलिङ खोल्नुपर्छ : अध्यक्ष लोहनी 

नेपालभ्युज

घरजग्गा कारोबार व्यवस्थित बनाउन सरकारले ल्याण्डपुलिङ खोल्नुपर्छ : अध्यक्ष लोहनी 

काठमाडौं । नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गाको कारोबारलाई व्यवस्थित, पारदर्शी र व्यावसायिक बनाउनको लागि ल्यान्ड मार्केट खोल्नुपर्ने बताएका छन् ।

नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल इस्टेट सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले टुक्रे योजनाहरूले नेपालमा व्यवस्थित सहरीकरण बन्न नसक्ने दाबी गरेका छन् । व्यवस्थित सहरीकरण बनाउनको लागि निजी क्षेत्रलाई ल्याण्डपुलिङ सरकारले खोल्न आवश्यक रहेको उनको भनाई छ ।

व्यवसायीहरुले पछिल्लो ३० वर्षमा काठमाडौं उपत्यकामा ४ सय आयोजनाहरू सम्पन्न गरेको भए पनि मर्यादित बनाउन नसकिएको अध्यक्ष लोहनी बताउँछन् । त्यसैले व्यवसायलाई मर्यादित र विश्वासिलो बनाउनको लागि ल्यान्ड पुलिङ खोल्नुपर्ने उनको भनाई छ ।

त्यस्तै, कार्यक्रममा आफ्नो भनाई राख्दै भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घरजग्गा कारोबारमा खरिदकर्ताले पारदर्शी र यथार्थ विवरणको सुनिश्चितताको लागि व्यवस्थित र व्यावसायिक हुन जरुरी रहेको बताएका छन् ।

उनले घरजग्गा खरिदकर्ताले घरजग्गाको क्षेत्रफल, स्वामित्वको अवस्था, सम्भावित कानुनी अड्चन र मूल्यको बारेमा पारदर्शी र यथार्थ विवरण प्राप्त गर्न घरजग्गा कारोबार व्यवस्थित र व्यावसायिक हुनुपर्नेमा जोड दिए ।

मन्त्री अधिकारीले घरजग्गा व्यवसायीहरूले व्यावसायिक मर्यादामा रही प्रचलित कानुनको पालना गरेर व्यवसाय गर्न सकिने वातावरण भए मात्रै रियल स्टेट व्यवसाय सबल हुनसक्ने उल्लेख गरे ।

मन्त्री अधिकारीले कानुन बमोजिम व्यवसाय दर्ता वा इजाजत नलिई कारोबार गर्ने परिपाटीले राज्यले अर्बौंको राजस्व गुमाउनुपरेको बताए । कारोबार व्यवस्थित नहुँदा लगानीकर्ता र घरजग्गा खरिदकर्ताको कानुनी संरक्षणसमेत कठिन भएको उनको भनाई छ ।

उनले भने ‘घरजग्गा कारोबारमा खरिदकर्ताले घरजग्गाको क्षेत्रफल स्वामित्वको अवस्था सम्भावित कानुनी अड्चन र मूल्यको बारेमा पारदर्शी र यर्थाथ विवरण प्राप्त गर्ने हक राख्दछन् । यसको सुनिश्चितताको लागि घरजग्गा व्यवसाय व्यवस्थित र व्यवसायीक हुन जरुरी छ ।’

उनले व्यावसायिकताको विकास, पारदर्शिता, जिम्मेवार परामर्श ग्राहकलाई अधिकतम छनोटको अवसर दिँदा घरजग्गा व्यवसायलाई हेर्ने दृष्टिकोण परिवर्तन हुने अवस्था रहेको बताए ।

घरजग्गा कारोबार शिथिल भएको अवस्थाले राष्ट्रिय अर्थतन्त्रमा पनि असर परेको भन्दै त्यसलाई कम गर्न सरकारले विभिन्न प्रयास गरिरहेको उनको भनाई छ । कित्ताकाटमा देखिएको समस्या समाधान गर्न भू–उपयोग नियमावली २०७९ संशोधन गरी सहजिकरण गरेको उनको दाबी छ ।

आर्थिक मन्दीको चपेटाले थलिएको घरजग्गा कारोबारलाई पुनरुत्थानका लागि नेपाल जग्गा तथा आवास विकास महासंघले दुई दिने रियल स्टेट सम्मेलन सुरु गरेको हो। उक्त कार्यक्रममा घरजग्गा कारोबारको आगामी यात्रा, सरकार र निजी क्षेत्रले लिनुपर्ने जिम्मेवारी, कमजोरी सूधार आवश्यकताको विषयमा छलफल गरिने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved