लखनउलाई हराउँदै कोलकाता आइपीएलको शीर्ष स्थानमा उक्लियो

नेपालभ्युज

लखनउलाई हराउँदै कोलकाता आइपीएलको शीर्ष स्थानमा उक्लियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्स विजयी भएका छन् । गएराति भएको खेलमा कोलकाताले लखनउलाई ९८ रनको फराकिलो अन्तरले हराएको छ ।

कोलकाताले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउ १६ ओभर १ बलमा १ सय ३७ रनमा समेटियो । लखनउका मार्कर स्टोइनिसले सर्वाधिक ३६ रन बनाए । कोलकाताका नवीन उल हकले ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो । कोलकाता १६ अंकका साथ तालिकाको पहिलो स्थानमा उक्लिएको छ । समान ११ खेल खेलेको लखनउ १२ अंका साथ तालिकाको पाँचौ स्थानमा छ ।

यसअघि हिजो भएको पहिलो खेलमा चेन्नईले पञ्जाबलाई २८ रनले हराएको छ । चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । जितपछि चेन्नई ११ खेलमा १२ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ । पञ्जाब भने ११ खेलमा ८ अंक सहित आठौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज मुम्बई र हैदराबाद खेल्दैछन् ।

खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved