महामारी

चाडपर्व नजिकिएसँगै संक्रमण बढ्ने विज्ञहरूको चिन्ता

भन्छन् : कोरोना संक्रमण परास्त गर्न सबैको साथ आवश्यक

चाडपर्व नजिकिएसँगै संक्रमण बढ्ने विज्ञहरूको चिन्ता
फाइल तस्वीर ।

काठमाडौं। चाडपर्व नजिकिँदै गर्दा स्वास्थ्य विज्ञहरूले कोरोनाबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

स्वास्थयका मापदण्ड अनिवार्य रूपमा पालना नगरे कोरोना संक्रमण ह्वात्तै बढ्न सक्ने विज्ञहरूले चेतावनी नै दिएका छन्।

‘हामी कोरोना त्रासकै बीचमा छौं, जनैपूर्णिमापछि लगातार मुख्य चाडपर्वहरू आउँदै छन्। विभिन्न धर्म मान्ने समुदायका मुख्यमुख्य चाडपर्वहरू मनाउने समयमा भीडभाड त अवश्य बढ्छ नै, त्यसमा पनि स्वास्थ्यका मापदण्ड पालन नगर्दा कोरोना संक्रमण बढ्न सक्छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले भने।

स्वास्थ्य तथा जनसंखया मन्त्रालयले भदौ १२ गते निकालेको तथ्यांकअनुसार देशभरका प्रयोशालामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा हालसम्म नेपालमा आठ लाख ४० हजार ८०५ जनामा कोराना भाइरस संकमण पुष्टि भइसकेको छ।

दोस्रो लहर बढ्दै गएपछि वैशाखमा लकडाउन गरिएको थियो। अवस्था सामान्य हुँदै गएपछि बिस्तारै स्मार्ट लकडाउन कायम गरी केही सहज बनाइएको छ।

पूर्ण लकडाउन गरेपछि संक्रमित संख्यामा कमी आए पनि खुकुलो भएसँगै बिस्तारै उकालो लाग्दै गयो। गत साउन १ गते दुई हजार बढी संक्रमित थपिएका थिए। भदौ १२ गतेसम्म आइपुग्दा पनि १ हजार ८ सय ५७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै हाल सातै प्रदेशका २० वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित छन्।

पाँच सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरूमा सुनसरी र झापा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङजा र तनहुँ, लुम्बिनीको दाङ र रुपन्देही, सुर्खेत छन्।

डा.पौडेल भन्छन्, ‘हामी अझै महामारीमा छौँ। जोखिममुक्त भइसकेको अवस्था छैन। चाडपर्वहरू नजिकिँदै छन्, स्वास्थ्य मापदण्ड पालना नगरेर जथाभावी रुपमा निस्कियो भने तेस्रो लहर आउने सम्भावना बढ्न सक्छ।’ महामारीलाई परास्त गर्न सरकारी पक्ष मात्र नभएर नागरिक पनि एकजुट भएर बढ्न आवश्यक भएको उनको भनाइ छ।’

अब तेस्रो लहर नेपालमा भित्र्याउने कि नभित्र्याउने, कस्तो भेरियन्ट ल्याउने भन्ने आम सर्वसाधरणको हातमा रहेको उनले बताए।

पहिलो चरणमा थोरै मात्र संक्रमित देखिएको भए पनि दोस्रो र तेस्रो चरणमा नेपालमा कोरोनाको संक्रमण र मृत्युदर ह्वात्तै बढ्यो। तर, सर्वसाधारणमा सतर्कता भने अहिले पनि निकै कम देखिएको उनले बताए।

प्रवक्ता डा.पौडेल भन्छन् ’समुदायस्तरमा संक्रमणको चौथो तहमा पुगिसकेको अवस्थामा पनि कोरोना परीक्षण गराउने विषयमा भने सर्वसाधारणले त्यति चासो देखाएको पाइँदैन।’संक्रमणसँग मिल्दोजुल्दो लक्षणहरू देखिँदा पनि परीक्षण नगराउने जस्ता समस्या देखिएको उनको भनाइ छ।

सामान्य रुघाखोकी,ज्वरो आउँदा पनि जतिसक्दो चाँडो कोरोना परीक्षण गर्नुपर्छ,’ प्रवक्ता पौडेलले भने। यसरी सामान्य लक्षण देखिँदा नै कोरोना पुष्टि भएसँगै आफूलाई आइसोलेट गर्दा संक्रमण फैलिनबाट रोक्नमा धेरै ठूलो मद्दत पुग्ने उनले बताए।

हरेक स्थानीय तहमा १६ लाखका दरले किट, प्रयोगमा ४ लाख मात्र

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका हरेक स्थानीय तहमा १६ लाखका दरले एन्टिजेन किट पठाइएको छ। तर हालसम्म एक स्थानीय तहले जम्मा ४ लाख मात्र प्रयोगमा ल्याउन सकेका छन्।

यसले के जनाउँछ भने परीक्षण एकदमै कम मात्रामा भइरहेको छ। त्यसैगरी देशभरका ५७ वटा सरकारी अस्पतालमा निःशुल्क पीसीआर परीक्षण पनि कायमै छ। तर, त्यो पनि त्यति प्रभावकारी तरिकाले प्रयोग नभएको मन्त्रालयले जनाएको छ।

प्रवक्ता डा. पौडेल भन्छन्,‘नेपालीहरूको पहिलेदेखिकै प्रवृत्ति हो, बिरामी हुँदा अस्पताल नै नजाने सक्दो घरमै बस्ने। तर, संक्रमितमध्ये ८० प्रतिशतमा लक्षण नै देखिँदैन।’ तर परीक्षण गराएका मध्ये २० प्रतिशतमा (५ जना मध्ये १ जनामा) भने कोरोना पुष्टि भएको उनी बताउँछन्।

उनका अनुसार यो डाटा हेर्दा संक्रमण स्थिर दरमै छ। संक्रमण ह्वात्तै बढेको पनि छैन, त्यति कम पनि छैन। तर, सामान्य लक्षण हुँदा पनि सबैले परीक्षण गराउन धेरै आवश्यक छ।

नेपालमा अहिले कोरोना भाइरसका कुनै पनि नयाँ भेरियन्ट नदेखिएको समेत डा. पौडेलले जानकारी दिए। भने, ‘विश्व स्वास्थ्य संगठनले पनि नेपालमा मुख्य गरेर २ वटा भेरियन्ट सक्रिय भइरहेको उल्लेख गरेको छ। त्यसमा पनि डेल्टा बढीमा देखिएको हो।’

‘कोरोना संक्रमण परास्त गर्न सबैको साथ आवश्यक’

‘संक्रमण समुदायस्तरमा तीव्र गतिमा फैलिरहेको छ’, डा. पौडेलले थपे, ‘हामीले सचेत हुन आह्वान गर्ने हो। आफू र आफ्नो परिवारलाई यस महामारीबाट बचाउने जिम्मा हरेक स्वयं व्यक्तिकै हुन्छ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.अनुप बास्तोलाका अनुसार भने अझै पनि हामी संक्रमणकै संघारमा छौँ।

‘कतिपयमा खोप लगाएको छु, किन मास्क लगाउनु? किन समाजिक दूरी कायम गर्नुपर्‍यो? भन्ने धारणा छ,’ उनले थपे, ‘कोरोनाविरुद्ध खोप लगाएकाहरूलाई संक्रमण हुँदैन भन्ने होइन तर संक्रमणको असरलाई कम गर्ने मात्र हो।’

कोरोनासँग मिल्दाजुल्दा लक्षण भए जतिसक्दो छिटो परीक्षण गर्नुपर्ने उनले सुझाव दिए। संक्रमितअनुसार परीक्षण नभएको प्रति पनि उनले गुनासो गरे।

चाडर्पव आउँदै गर्दा हरेकले आफू र आफ्नो समुदायलाई संक्रमणरहित बनाउँदै घरमै बसेर रमाइलो गर्न सबैलाई उनले अनुरोध गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved