पुस्तकालय

एक पुस्तकप्रेमीको गज्जबको पुस्तकालय-अभियान

निजी लाइब्रेरीहरूमा पनि उनले के देखे भने, डेढ-दुई लाखका पुस्तक छन् तर बालसाहित्य शून्य। उनले भने पनि, ‘तपाईंको निजी पुस्तकालयमा तपाईंका बालबालिकाले पढ्ने खालका कुनै पुस्तक छैनन् ?’

एक पुस्तकप्रेमीको गज्जबको पुस्तकालय-अभियान

तन हङकङमा, मन भने नेपालको दूरदराजतिर। अचेल राजकुमार राईको जीवनचर्या बितिरहेछन् यसरी नै। यस्तो जीवनचर्याले गति पक्डिन थालेको पाँच वर्ष पार गरिसक्यो।

कर्मको गोहो पछ्याउँदै हङकङ पुगेका उनको नजर पाँच वर्षयता नेपालका दुर्गम र ग्रामीण इलाकाहरूमा पर्दै आएको छ। अझ त्यसमा पनि विशेषतः सामुदायिक विद्यालयहरूमा। मूलतः पुस्तकको पहुँचबाट टाढै रहेका दुर्गम भेगका विद्यालयहरूमा पुस्तकालय स्थापित गरेर त्यसलाई व्यवस्थित र स्तरोन्नति गर्ने कार्यमा उनको दत्तचित्त भाव समर्पित हुँदै आएको छ। सोख र दायित्वबोध दुवै जोडिएको यो अभियानमा नेपालमा बस्ने केही साथीले पनि सघाइरहेका छन् उनलाई।

बालबालिकामा ‘फोकस’

‘पुस्तकालय’, यो शब्द सुन्ने बित्तिकै युवा वा वयस्कहरूले अध्ययन गर्ने थलो हो भन्ने आम बुझाइ रहँदै आएको छ, हामीकहाँ। काठमाडौं उपत्यकाभित्रका सुविधासम्पन्न पुस्तकालय होस् वा मोफसलका जेनतेन रुपमा सञ्चालित पुस्तकालयहरू। त्यस्ता पुस्तकालयहरूमा युवा र अरू उमेर-समूहका लागि उपयोगी र पठनयोग्य पुस्तकहरूले मात्र स्थान पाउने गरेका छन्। यद्यपि, अपवादमा मात्र पुस्तकालयहरूले बेग्लै ‘बालबालिका-कक्ष’ खडा गरेर बालसाहित्यका पुस्तकहरू सजाउने गरेका छन्।

राईको जोड भने ‘आधारभूत लाइब्रेरी’ मा रहँदै आएको छ। भन्छन्, ‘जुन विद्यालयमा पुस्तकालय छैन, हामीले त्यस्ता विद्यालयलाई पुस्तक प्रदान गरेर पुस्तकालय स्थापनामा जोड दिँदै आएका छौं। त्यसमा बालसाहित्यका पुस्तकहरू बढी दिने गरेका छौं।’

नेपालका केही लाइब्रेरी पनि चहारे उनले। त्यसमा देखे- बालसाहित्यका पुस्तक खासै छैनन्। भन्छन्, ‘पुस्तकालयहरूमा बालसाहित्यका पुस्तकहरू राखिनुपर्ने हो तर मैले नेपालका पुस्तकालयहरूमा बालसाहित्यका पुस्तक त्यति पाइनँ।’

उनको सुझाव छ, ‘हामीले प्रौढ साहित्यलाई भन्दा बालसाहित्यलाई प्राथमिकता दिनुपर्छ। सरकारी पुस्तकालयमा मात्र होइन, निजी पुस्तकालयहरूमा पनि बालसाहित्यका पुस्तक त्यति पाइँदैनन्।’

नेपाल आउँदा उनले यो प्रसंग धेरै ठाउँमा उठाए पनि। निजी लाइब्रेरीहरूमा पनि उनले के देखे भने, डेढ-दुई लाखका पुस्तक छन् तर बालसाहित्य शून्य। उनले भने पनि, ‘तपाईंको निजी पुस्तकालयमा तपाईंका बालबालिकाले पढ्ने खालका कुनै पुस्तक छैनन् ?’

पुस्तक हराउँदा खिन्न

बसाइँ छ उनको हङकङमा। केही वर्षअघि नेपाल आउँदा उनले १०-१२ वटा विद्यालयमा पुस्तकालय स्थापना गर्ने हेतुले टन्नै पुस्तकहरू पठाए। तर विश्वास गरेर ती विद्यालयहरूमा सयौं थान पुस्तक पठाए पनि आफूले पठाएको संख्याअनुरुप पुस्तक भने पुगेनन्। यस्तो तीतो अनुभव सँगालेका उनी भन्छन्, ‘मैले जुन विद्यालयमा जसलाई जिम्मा लगाएर पुस्तकहरू पठाएँ, ३-४ वटा विद्यालयमा बाहेक अरूमा भने पठाइएजति पुस्तक पुगेन। जिम्मेवारी लिएकाहरूले नै राम्रा-राम्रा पुस्तक बिचमा नै निकाल्दा रहेछन्।’

पुस्तकको दुरुपयोग नहोस् र बिचमा कसैले ‘अपहरण’ पनि नगरोस् भन्ठानेर उनले पुस्तकको संख्या र रकम तोकेरै पठाएका थिए। तर सम्बन्धित विद्यालयमा पुग्दा भने किताबको संख्या पूरै घटेको पाए। भन्छन्, ‘मैले आफ्नै जिल्लाको एउटा विद्यालयमा दुई लाख बराबरको १९ सय थान पुस्तक पठाएको थिएँ तर पछि बुझ्दा त ११ सय थाम मात्रै पुस्तक पुगेको रहेछ।’

हङकङमा रहेर नेपालका दूरदराजका बस्तीहरूमा ‘पुस्तकालय-अभियान’ चलाउँदै आएका उनलाई काठमाडौंमा बस्ने केही साथीले सहयोग गर्दै आएका छन्। काठमाडौंमा बस्ने साथीहरूमा उपत्यका बाहिर जाने तत्परता कमै देखिएको हुँदा उनले परिकल्पना गरेजस्तो यो अभियानले गति लिन भने सकिरहेकोको छैन। यो कुरालाई उनी सहर्ष स्वीकार्छन्, ‘यो अभियान केही सुस्ताएको छ। अब भने गति दिनेछौं।’

‘पुस्तकालय-अभियान’ को शुभमुहूर्त गर्नुपूर्व उनका सामाजिक कर्महरू छरपस्ट थिए। सामाजिक कर्ममा रमाउने उनले आफ्ना कामलाई व्यवस्थित तुल्याउने हेतुले यो अभियान प्रारम्भ गरे। भन्छन्, ‘मैले कुनै विद्यालयमा छात्रवृत्ति राखेँ, कुनै विद्यालयमा फर्निचर दिएर सहयोग गरेँ, यस्ता कामहरू दीर्घकालीन नहुने देखेपछि मैले पुस्तकालयमा जोड दिन थालेको हुँ।’

उनी भन्छन्, ‘पछिल्लो समय नेपालका सबैजसो क्षेत्रमा विकृतिहरू देखिए। किन विकृतिहरू देखिए त भन्ने विषयमा मैले अनुसन्धान गरेँ। त्यसको मूल कारण पुस्तकालयको अभाव रहेको निचोडमा पुगेँ। घरमा पुस्तकालय नहुने, सार्वजनिक पुस्तकालय नहुने, साहित्य संस्थाहरूमा पुस्तकालय नहुने देखेँ। तर विकसित मुलुकहरूमा भने बेग्लै देखेँ। त्यस्ता मुलुकका अभिभावकहरूले आफ्ना बालबालिकाका लागि बालसाहित्य खरिद गर्ने गरेको पाएँ। विद्यालयमा पनि त्यस्तै वातावरण पाएँ।’

विकसित मुलुकका एउटा विद्यालय तहमा स्थापित पुस्तकालय नेपालको विश्वविद्यालय तहको जत्तिकै हुने कुराले उनलाई अझ प्रभावित तुल्यायो। भन्छन्, ‘जहाँ-जहाँ लाइब्रेरीको विकास भएका छन्, त्यहाँका मानिसहरूमा दीर्घकालीन र सकारात्मक सोच रहेको पाएँ।’

बडा बाको पुस्तक-प्रेम

उनी जन्मिए, पूर्वी नेपालको संखुवासभामा। गाउँको जुन विद्यालयमा उनले अध्ययन गरे, तत्कालीन समयमा विद्यालयमा पुस्तकालय हुने अवस्थै थिएन। तर गाउँघरतिर भने कसै-कसैकहाँ साहित्यका पुस्तकहरू भने पाइन्थे। सानो छँदा तिनै पुस्तकहरू पाएपछि अध्ययन गर्ने बानी बसाले उनले।

पुस्तक-प्रेमीचाहिँ कसरी भए त उनी ? भन्छन्, ‘गाउँमा एक जना बडा बा हुनुहुन्थ्यो। सामान्य साक्षर मात्र भए पनि उहाँका घरमा अत्यधिक पुस्तक थिए। उहाँकै घरमा मैले पौराणिक पुस्तकहरू पढ्ने मौका पाएँ। त्यसपछि पुस्तकप्रति आकर्षण बढ्दै गयो ममा। माध्यमिक तहमा पढ्न थालेपछि त पुस्तकप्रतिको प्रेम झनै बढ्दै गयो। मलाई उहाँको घरमा किन यति धेरै किताब राखिएको होला भन्ने खुल्दुली जागिरहन्थ्यो त्यतिबेला।’

बडा बाको घरमा किन यति धेरै किताब ? यस्तो जिज्ञासा उनीभित्र वर्षौंसम्म गडेर बस्यो। पछिल्लो समय भने उनले रहस्य पत्ता लगाएरै छाडे। भन्छन्, ‘बडा बा भारतको पानीजहाज कम्पनीमा काम गर्नु हुँदोरहेछ। पानीजहाजका यात्रुहरूले छाडेर गएका किताबहरू उहाँले संकलन गर्नु हुँदोरहेछ। नेपाल फर्किँदा आफूले संकलन गरेका तिनै किताबहरू उहाँले लिएर आउनुभएको रहेछ।’

राईका छोराछोरीले दार्जीलिङ, हङकङ र बेलायतमा अध्ययन गरे। पुस्तकालय निर्माणको पृष्ठभूमिमा आफ्ना छोराछोरीहरूमा पुस्तक अध्ययन गर्ने संस्कृति विकास होस् भन्ने चाहना पनि जोडिएको छ उनको। भन्छन्, ‘मेरा छोराछोरी पढाइमा अब्बल रहनुमा उनीहरूले पछ्याएको पठन-संस्कृतिले नै हो।’

हुन पनि उनले आफ्ना सन्तानहरूमा पुस्तकप्रतिको मोह यस्तरी बढाइदिए- अरूका बालबालिकाहरू खेलौना किन्न अग्रसर रहन्थे भने उनका छोराछोरीचाहिँ केही रकम हुने बित्तिकै तम्सिहाल्थे पुस्तक किन्न।

घरमा पठन-संस्कृतिले जह्रा गाड्दै गइरहेको देखेपछि र पुस्तक-अध्ययनले बालबालिकाको अध्ययन-क्षेत्र फराकिलो हुँदै गएको पाएपछि उनले सोचे- ‘अब म नेपालमा पुस्तकालय स्थापना गर्न पहल गर्नेछु।’

विद्यालयहरू चहार्दा कतिपय विद्यालयमा उनले देखे- लाखौंलाखको खर्चमा निर्मित विद्यालयको गेट। लाखौं खर्चेर गेट बनाउन तत्पर त्यस्ता विद्यालयमा पुस्तकालय भने शून्य। यस्ता दृश्य र प्रवृत्ति देखेपछि त्यसले उनलाई च्वास्स घोच्यो। त्यसपछि त झनै पुस्तकालय-अभियानलाई गति दिन थाले।

नगदभन्दा पुस्तकै

पाँच वर्षअघि घोषित रुपमै पुस्तकालय-अभियान प्रारम्भ गरेका उनले दाताहरूलाई पनि यो अभियानमा जोड्दै आएका छन्। भन्छन्, ‘म दाताहरूबाट रकम लिन्न, उनीहरूबाट पुस्तकहरू नै लिएर पुस्तकालयलाई दिँदै आएको छु।’ उनले घोषणै गरेका थिए- नगद नलिने कुरा। पुस्तकालय-अभियान प्रारम्भ गरेयता उनले करिब ३०-३५ लाख खर्च गरिसकेका छन्। पुस्तक खरिददेखि अन्य प्रयोजनमा समेत।

उनको ललितपुर, बालकुमारीस्थित घर किताबले टन्नै भरिएको छ। घरको दुइटा कोठाभरि पूरै पुस्तक मात्र। करिब २५-३० लाख मूल्यबराबरका पुस्तकहरू छन्। ती पुस्तकहरू पुस्तकालयलाई दिनै भनेर राखिएका हुन्। भन्छन्, ‘अधिकांश त लेखकहरूले दिएका किताब छन्।’ तर उनको मान्यता छ- लेखकहरूले दिएका नयाँ र सद्दे किताबमात्र स्वीकार्ने, पुराना र केरमेट गरिएका किताब नस्विकार्ने।

पुस्तकालय-अभियानलाई सफल तुल्याउन उनले गोरखा, काभ्रे, सोलुखुम्बु, स्याङ्जा, भोजपुरलगायत जिल्लाको यात्रा पनि गरे, केही वर्षअघि। ती जिल्लाका पुस्तकालय नभएका विद्यालयहरूमा उनले सयौं पुस्तक प्रदान गरेर पुस्तकालय स्थापनामा सहयोग गरे, उत्प्रेरणा दिए।

हुन त उनले १०-१२ विद्यालयमै पुस्तकालय स्थापनामा भूमिका खेले तर तीन वटा पुस्तकालय मात्र व्यवस्थित रुपमा सञ्चालित छन्। जसमा उनको आफ्नै गृहजिल्ला संखुवासभाको चेवा, अर्को काभ्रेको मंगलटार र अर्को चाहिँ सोलुखुम्बुको फाप्लुका विद्यालय। भन्छन्, ‘ती विद्यालयहरूमा पुस्तकालय भवन नै निर्माण गरेर व्यवस्थित रुपमा पुस्तकालय सञ्चालन हुँदै आएका छन्।’

एक करोडको लक्ष्य

नेपालको माटोमा पाइला नपरेको दुई वर्ष भयो उनको। त्यही भएर बालकुमारीस्थित घरको दुइटा कोठामा थन्किएका पुस्तकहरू वितरण गर्ने औसर जुरिरहेको छैन। अब नेपाल आउँदा भने एक करोड बरावरका पुस्तक विभिन्न पुस्तकालयलाई दिने योजनामा जुटेका छन् उनी।

कसरी जुटाउने त यति मूल्य बरावरका पुस्तक ? उनी भन्छन्, ‘म दाताहरूले दिएका र आफैंले खर्च गरेर किनेका पुस्तकहरू जुटाएर पुस्तकालयलाई वितरण गर्ने तयारीमा छु।’

एकेडेमीसँगको तीतो अनुभव

पुस्तकालय-अभियानलाई विस्तार गर्न उनले व्यक्तिगत÷संस्थागत रुपका धेरै दाताकहाँ धाए। नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलाई त तीन पटक नै भेटे। तर कुलपतिसँगको भेटले उनलाई खिन्न मात्रै तुल्यायो।

उनले कुलपतिसँग भने पनि, ‘तपाईंहरू किन गोदाममा पुस्तक सडाएर राख्नु हुन्छ ? म ४-५ लाखको पुस्तक खरिद गरेर पुस्तकालयहरूमा दिन चाहन्छु। तपाईंहरूले पुस्तक-मेला गर्दा जुन छुट दिनु हुन्छ, मलाई त्यही छुटमा पुस्तकहरू दिनुस्। मैले साझा र रत्न पुस्तकबाट पनि विशेष छुटमा खरिद गरिसकेको छु।’

कुलपतिले उनको प्रस्तावलाई स्वीकार गरेनन्। कुलपतिले भने, ‘अहिले मिल्दैन। पछि मेला लागेको बेला त्यही समय किन्नुस्।’ उनले अनुरोधको भाषामा भने, ‘म यति ठुलो संख्यामा किताब उठाउने पक्षमा छु म। मेलाको बेला म नेपालमा हुँदिनँ, अहिले नै मिलाइदिनुस् न।’

टसको मस भएनन् कुलपति उप्रेती। उनको पुस्तक खरिद गर्ने योजना त्यत्तिकै तुहियो। यो केही वर्षअघिको कुरा हो। त्यतिबेला उनले आफूसँग परिचित प्राज्ञहरू डा. ज्ञानु पाण्डे, श्रवण मुकारुङलगायतसँग भेटेर पनि यस्तो प्रस्ताव राखेका थिए। भन्छन्, ‘समस्या के भइदियो भने कुलपतिसँग सदस्यहरूले कुरै राख्न नसक्दा रहेछन्।’

पुस्तकालयको कुरा निकाल्दा उनलाई कतिपय प्राज्ञले एउटा-दुइटा पुस्तक दिन्थे। उनले भने पनि, ‘मलाई एउटा-दुइटा पुस्तकले पुग्दैन। म खरिद गरेरै लैजान चाहन्छु।’ कतिसम्म भने केही प्राज्ञले उनलाई पुस्तक लिन बोलाउँथे र दुइटा-तीनवटा थमाएर पठाइदिन्थे। भन्छन्, ‘त्यसपछि एकेडेमीमा म जानै छाडेँ।’

पुस्तकालयहरूको निगरानी

उनले जुन-जुन विद्यालयलाई पुस्तकहरू दिई पुस्तकालय स्थापनामा भूमिका खेले, ती पुस्तकालयहरूले पुस्तकको सदुपयोग कत्तिको गरिरहेका छन्, कसरी सञ्चालन भइरहेका छन् ? हङकङमा बसे पनि उनले बेलाबेलामा जानकारी लिँदै भने आइ नै रहेका छन्। आखिर, आफ्नो प्रयत्नमा स्थापित पुस्तकालयहरूको माया नहुने प्रश्नै भएन।

आफ्नो प्रयत्नमा स्थापित ११ वटा पुस्तकालयमध्ये ३ ठाउँमा मात्र व्यवस्थित रुपमा सञ्चालित छन्। भन्छन्, ‘ती तीन पुस्तकालयले लाइब्रेरियनहरू नै राखेर व्यवस्थित रुपले चलाइरहेका छन्।’ त्यसो त, कुनै विद्यालयले पुस्तकालय चलाउन चाहेको हो वा पुस्तक मात्र थुपार्न चाहेको हो ? उनी सुरुमै परीक्षण गर्छन् त्यसको। विद्यालयले पुस्तकालयका लागि आवश्यक र्‍याक बनाएपछि मात्र उनी पुस्तक दिन तयार हुन्छन् र आफैं पुस्तक लिएर पुग्छन्। भन्छन्, ‘कतिपय विकट क्षेत्रमा जाँदा त जाने-आउने खर्च नै बढी लाग्छ।’

जुन विद्यालयमा पुस्तकालय छैनन्, ती विद्यालयमा पुस्तकको साटो पैसा नै मागेका फरक खालको अनुभव पनि बटुलेका छन् उनले। एउटा अर्को तीतो अनुभवसँग पनि जोडिएका छन् उनी। भन्छन्, ‘हरेक विद्यालयलाई जिल्ला शिक्षा इकाईले पुस्तकालयबापत ६ लाख रुपियाँ दिँदो रहेछ। तर पुस्तकालयका लागि भनेर विनियोजित रकम पुस्तक खरिदमा भन्दा भौतिक पूर्वाधार निर्माणमा खर्च गर्दा रहेछन्। पुस्तकालयभन्दा गेट र फर्निचरमा नै खर्च गर्दा रहेछन्।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved