‘लासमाथिको मानवता’ सामाजिक यथार्थवादी नाटक संग्रह

नेपालभ्युज

‘लासमाथिको मानवता’ सामाजिक यथार्थवादी नाटक संग्रह

काठमाडौं । डा पुरण राईद्वारा लिखित ‘लासमाथिको मानवता’ नाटक संग्रह सामाजिक यथार्थवादी रहेको नेपाली स्रष्टाहरुले बताएका छन् ।

‘नेपाल स्रष्टा समाज’ले काठमाडौँमा आयोजना गरेको पुस्तक अन्तक्र्रिया कार्यक्रममा वरिष्ठ रङ्गकर्मी अशेष मल्लले डा राईद्वारा लिखित नाटक सङ्ग्रहले सामाजिक चेतनालाई चित्रण गरेको बताए ।

“नाटक लेख्ने कार्य कविता र कथा लेखेजस्तो कोठामा बसेर लेख्ने विधा होइन । नाटक मञ्चमा मञ्चन भएपछि मात्रै कस्तो छ भनेर जानकारी हुन्छ । एक पटक लेख्दैमा र अभिनय गर्दैमा नाम र दाम खोज्ने प्रवृत्तिबाट रङ्गमञ्च र रङ्गकर्मीमुक्त हुनुपर्छ”, उनले भने । नेपालको नाट्य क्षेत्र दक्षिण एसियामै लोकप्रिय रहेको उल्लेख गर्दै उनले राज्यको साथ र सहयोग नपाए पनि युरोपसँग प्रतिस्पर्धा गर्नसक्ने हैसियत बनाएको वरिष्ठ रङ्गकर्मी मल्लले बताए ।

नाटक विधामा विद्यावारिधी गरेकी डा कान्छी महर्जनले नाटक भनेको साहित्यिक आयम मात्रै नभई रङ्गमञ्चिय आयम पनि भएकाले लेखक र निर्देशकको परिकल्पना भएको बताईन् ।

‘लासमाथिको मानवता’ नाटक सङ्ग्रहमा सामाजिक यथार्थवादी धारका नाटक समाहित छन् । यी नाटकले समाजमा मान्छेको स्वार्थीपन कसरी देखिन्छ र प्रकट गर्छ भनेर उजिल्याउन खोजिएको डा महर्जनले बताए । नाटकमा ग्रामीण परिवेशमा बसोबास गर्ने नागरिकमा हुने मातृत्व प्रेम, पितृसत्तात्मक चेत, लाहुरेमा देशभक्ति, धामीझाक्रीका कथालाई समेटिएका छन् । छोटा र मध्यम किसिमका दृष्य रहेका नाटकले मानवीय चेतना जगाउने र रङ्गमञ्चमा सहज मञ्चन गर्न सकिन्ने उनको भनाइ थियो ।

फिल्म निर्देशक एवं पुरानो नाटक घरका निर्देशक सुलक्षण भारतीले ‘लासमाथिको मानवता’ नाटक सङ्ग्रह पढ्दा नाटकभन्दा पनि चलचित्र जस्तो लागेको बताए । नाटकमा इमोसन छ । साथै ग्रामीण परीवेश, भावना, यथार्थपरक नेपाली माटोको कथा पाएको निर्देशक भारतीले बताए ।

थिएटर मलका निर्देशक केदार श्रेष्ठले ‘लासमाथिको मानवता’ नाटक संग्रहले रङ्गमञ्चमा योगदान दिएको बताए । “नाटक लेख्दा दाम र नाम नहुने भएकाले धेरै समयदेखि नाटक लेखिएको छैन । यस्तो बेला लेखिएको नाटक संग्रहले रङ्गकर्मीलाई हौसला दिएको छ”, उनले भने ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा लेखक डा पुरण राई, स्रष्टा सामाजका महासचिव देविका तिमिल्सिना र सदस्य मधु पाठकले पनि सो पुस्तकबारे चर्चा गरेका थिए  । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved