‘केवाफुङ्को गीत’ बजारमा भर्खरै आएको कवि ‘गगन योक्पाङ्देन’को कविता सङ्ग्रह हो । जसलाई माया पब्लिकेसनले प्रकाशनमा ल्याएको हो । यसको आवरण डम्बर तुम्बापो ‘बुद्ध’ ले बनाउनुभएको हो ।
‘केवाफुङ्’ शब्द लिम्बू समुदायको मिथ/मुन्धुममा आधारित छ ।
प्राध्यापक मधुराज केरुङका अनुसार—
उहिले पृथ्वीमा खडेरी छायो । वनस्पति, कुवा, ताल, पोखरी खोलानाला सबै सुकेर गयो । पृथ्वीमा सर्वथा फूलको अनिकाल लाग्यो । पृथ्वी बन्दै सुहाएन । त्यसपछि फूलका धनी साङ्लाङ्गाबा र फूङ्लाङ्गाबाहरूले फूलको विरुवा खोज्न थाले । तराई, पहाड, हिमाल र सबै कुनाकन्दराहरूमा खोजेर विरुवा ल्याए । त्यस विरुवालाई विभिन्न ठाउँहरूमा रोप्दै गए तर, कतै पनि उम्रिएन । अन्त्यमा मुदुकुम सेवा (ओलाङ्चुङ गोला) मा विरुवा रोप्दा बिउ उम्रियो ।
एकैछिनपछि रङ्गिबिरङ्गी फूलहरू उम्रिए । त्यसको बास्ना धेरै पर-परसम्म पुग्यो । पुतली, भमरा मौरीहरू, रङ्गिबिरङ्गी चराहरू आए । त्यस झलझल फूलबारीबाट परम् सुन्दरी नेत्तिहाङ्मा फुङ्त्तिअन्न्ना प्रकट भइन् । त्यसलाई अवासो सदेन हाङ्बाले मन पराएर विवाहको प्रस्ताव राख्यो । केटीले तिमीले अहिले आकाशबाट बज्र झार्न सक्यौ र जमीन मुनिबाट भूकम्प ल्याउन सक्छौ भन्ने शर्त राखिन् । कति प्रयास गरे पनि अवासो सदेनहाङ्बाले बज्र झार्न सकेन, भूकम्प पनि ल्याउन सकेन । त्यसैले नेत्तिहाङ्मा फुङ्त्तिअन्नाको शिर ढल्यो र त्यहीँ अलप भइन् ।
त्यसपछि पृथ्वी साँघुरिएर गयो । बतास बहन छाड्यो । चराहरूको चिरिबिरी सुनिन छाड्यो । पृथ्वीमा सर्वत्र अँध्यारो मात्र छायो । त्यो देखेर एप्लिङ तोरिङ्केम्बा रिसायो र फूलका बोटहरू ढाल्न थाल्यो । उतिबेला विरह गाउने चराहरू निस्के सामकेलो केलो केवाफुङ्ले ओरिल्लो … भनेर लामो श्वास तानेर हाक्पारे गायो । त्यसपछि पृथ्वी हल्लियो र क्रमस उज्यालो छरिन थाल्यो । हावा बहन थाल्यो । नदी सुसाउन थाल्यो । त्यहीँबाट हाक्पारे गीतको पनि प्रारम्भ हुन्छ । केवाफुङ् अर्थात सृष्टिको प्रथम गायक ।
सङ्ग्रहको नामसँग जोडिएको अर्थपूर्ण प्रसङ्गले सङ्ग्रहको नाम नै सुन्दर र अर्थपूर्ण छ । तर, यो सङ्ग्रहभित्रका कविताहरू के यतिकै सुन्दर र अर्थपूर्ण छन् होला त ? यसबारे कविता सङ्ग्रह पढिसकेपछिको मेरो स्वधारणा/स्वअनुभूतिले यसो भन्छ ।
सङ्ग्रहको सुरुमै ‘आफ्नो कुरा’ पाठ शीर्षकमा कविले छ वटा भाग/हरफमा आफ्ना केही कुराहरू लेखेका छन् । यो पढ्दा नै कविको जीवन भोगाइलाई सारांशमा बुझ्न सकिन्छ ।
यसमा जम्मा ३८ वटा कविता छन् । ‘उपहार’ शीर्षकको कविताबाट सुरु भएको कविताक्रम ‘साइक्याट्रिक वार्डमा देश’ शीषर्कको कवितासम्म पुग्छ ।
मन्त्रीले झोला खोलेर हेर्यो
जहाँ आजभन्दा तीस वर्षअघि
आन्दोलनको क्रममा हराएको
मन्त्रीज्यूको एकजोर
चप्पल थियो । (उपहार,पृष्ठ १)
…
सबैभन्दा असल नेता, वकिल, प्रोफेसर, आविष्कारक
दार्शनिक, शिक्षक, चिकित्सक सबै-सबै
साइक्याट्रिक वार्डमा बन्दी छन् ।
फेरि !
यो देश कसले चलाइरहेछ हँ ? (साइक्याट्रिक वार्डमा देश,पृष्ठ ७९)
यी दुवै कवितामा देशको वर्तमान कुरुप परिस्थितिलाई अत्यन्तै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । यी दुवै कविता अत्यन्तै सशक्त छन् । यस मानेमा सङ्ग्रहको थालनी र बिट मरौनी एकदम सशक्त ढङ्गले गरिएको छ ।
कवि गगन कवितामा स्वअनुभूति लेख्न रुचाउँछन् । उनी गाउँमै बस्छन् । कविताहरूमा गाउँ-गाउँका पात्रहरू थुप्रैपटक आएको छ ।
आफ्ना पट्यारलाग्दा रातहरूलाई
कहिले ढिकीभरि कुट्नुहुन्थ्यो
कहिले जाँतोभरि पिस्नुहुन्थ्यो (आमाप्रति, पृष्ठ ५)
…
तिम्रा शुभेच्छाहरू आएर
तिम्रा बिरामी आमालाई
डर्याउँदै-डोर्याउँदै अस्पताल पुर्याउँदैनन् । (छिमेकीलाई,पृष्ठ ७)
…
उन्छेन्–उन्छेन् हामी नानीहरू
तल सिमसारको एकमुठी माटो लिएर
हत्केलामा खुसीका मट्याङ्ग्रा बटार्थ्यौँ (नानीहरू,पृष्ठ १६)
…
हरियो गीत खोज्न गैह्री खेत पठाएको डोको र नाम्लो
बदमास समयको आँखाहरूले पोलेको
निलडाम लिएर फर्किन्छ (एउटा घरको दिनचर्या, पृष्ठ २३)
यसरी उनका धेरै कवितामा स्वअनुभूति नै आएका छन् । स्वअनुभूतिसहितको सरलता र कलात्मकता नै उनको कविताको सबैभन्दा बलियो पक्ष हो भन्ने मलाई लाग्यो ।
कृषकहरू नै हुन्, जो माटो-पानीसँगको सङ्गतमा सबैभन्दा बढी हुन्छन् । उनीहरू माटो-पानीमा जीवनको अनेकन् दर्शन र आयामहरू भेट्छन् । कवि गगन गाउँमै बस्छन् । कृषि कर्म नै गर्छन् । यसैले पनि होला ‘पानीको जीवन’ कवितामा कविले जीवनका अनेकन् आयामहरूलाई साँच्चै कलात्मक ढङ्गले पानीको यात्रासँग समानान्तररूपमा प्रस्तुत गरेका छन् ।
कमल फूलले एकयाम बैँस फुल्छु भनिन्
र, म अझै फराकिलो बनिदिएँ
माछीले एक कुर रहर हुर्काउँछु भनिन्
र, म अझै गहिरो बनिदिएँ । (पानीको जीवन,पृष्ठ २)
मन त कसलाई पो हुँदैन र ? देशबारे कविता लेख्न । मन त कसलाई पो हुँदैन र ? देशको झण्डाको तारिफमा कविता लेख्न । तर, अहिले देशको परिस्थिति नै यस्तो छ कि एउटा इमान्दार कवि/लेखकले चाहेर पनि देशबारे राष्ट्रवादी (ती मानकहरूको दृष्टिकोणमा) कविता लेख्न सक्दैन । झण्डाको तारिफमा मात्रै कविता लेख्न सक्दैन । हरेक इमान्दार कवि/लेखक/सर्जक राष्ट्रवादको वायुपङ्खी घोडामा सवार भएर कविता लेख्न सक्दैन भन्ने लाग्छ । अहिलेको समय त झण्डाले पनि पोल्न थालेको समय हो । देश पनि विरक्त लाग्दो भएको समय हो । किन ? यो प्रश्न को थुप्रै उत्तरहरू छन् । यो कित्तामा उभिनु भनेको त भुइँमान्छेको कित्तामा पो उभिनु हो । यो कित्तामा थोरै कवि/सर्जकहरू मात्रै उभिएका छन्, उभिने ल्याकत राख्दछन् । किनकि यस कित्तामा उभिनेहरूलाई अराष्ट्रिय तत्वको हिलो छ्यापिने खतरा ज्यादा हुन्छ ।
कवि गगन पनि लगभग यही कित्तामा उभिएका छन् ।
म त
मेरो सभ्यता, पहिचान, इतिहास, पुर्खाको बलिदान
र, अधिकारको इन्क्लाब गरिरहन्छु
चाहे तिम्रो नजरमा म
–बिखण्डनकारी
–सम्प्रदायिक
–अराष्ट्रिय तत्त्व
यी सबै-सबै हुन तयार छु । (तिम्रो उपनिवेशविरुद्ध,पृष्ठ ५६)
…
कति तुनिबस्नुहुन्छ, ए दर्जी दाइ
तपाईंको स्वभिमान उचाल्न असमर्थ
शासकको अहम् फर्फराउने
यो जाबो राष्ट्रिय झण्डा । (उपेक्षित गीतका हरफहरू,पृष्ठ ४१)
…
साँच्चै !
अहिले कहाँ पुगे होलान् उनीहरू
अभावको भूतबाट लखेटिँदै-लखेटिँदै
र, यतिखेर सुकुम्वासी परेवाका बथानहरूले
कहाँ बसेर गाइरहेका होलान्
जीवनको उदास गीत ?(डेरावालाको सम्झनामा,पृष्ठ ३६)
…
जब ग्राहकको अनुहार हेरेरै
भोकको डिग्री अनुमान गर्न सक्षम हुन्छ
जब बासी खाजा साजी विवेचना गर्न दक्ष हुन्छ
र जब मालिकको इसाराको व्याकरण बुझ्ने हुन्छ
तब उसको ग्रेजुएसन पूरा हुन्छ । (पवन हलुवाईको दिनचर्या,पृष्ठ ७०)
यसरी कवि गगन भुइँमान्छेहरूको कित्तामा उभिएका छन् । उनी भुइँमान्छेहरूको आवाज लेख्न सक्षम कवि हुन् भन्दा फरक नपर्ला ।
यस सङ्ग्रह पढ्दै जाँदा केही कविताहरू(प्रेम, उड पन्छी उड) अलि कमजोर पो भए कि ? केही कविताहरूमा (मान्छे बन्ने क्रम, खतरनाक भोक) उनको कलात्मकताको क्रम भङ्ग पो भयो कि ? केही कविताहरू (भरियाको कथा, एउटा परदेशीले) अलि नतान्काएको भए हुन्थ्यो कि ? अथवामा केही थोरै ठाउँमा (बुद्धको अतिरिक्त कथा) लिम्बूभाषाको प्रयोग अलिक नमिलेको हो कि ? जस्तो पनि नलागेको कहाँ हो र ?
खैर, सङ्ग्रहको नाम जति भव्य र अर्थपूर्ण छ, सङ्ग्रहित कविता पनि त्यतिकै भव्य छ ।
केवाफुङ्ले सृष्टिको पहिलो गीत गाएझैँ आफ्नो सृष्टिको पहिलो तर, अब्बल सिर्जना गर्न सफल भएकोमा कविज्यूलाई मुरी-मुरी बधाई छ ।
यो मेरो सङ्ग्रहप्रतिको व्यक्तिगत धारणा हो । जसप्रति तपाईं सहमत/असहमत हुन स्वतन्त्र हुनुहुन्छ । मेरो पाठकीय प्रतिक्रिया पढ्नुभएकोमा धन्यवाद छ ।
Facebook Comment
Comment