‘श्रीमतीको कमाइ खाएर बाँच्ने पुरुष कायर हो’

नेपालभ्युज

‘श्रीमतीको कमाइ खाएर बाँच्ने पुरुष कायर हो’

‘शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज’को काखैमा बसेको तपोभूमि; जहाँ ‘धम्म श्रृङ्ग’ नामले परिचित ‘नेपाल विपश्यना साधना केन्द्र’ छ । यही तपोभूमिको साधना आश्रममा ‘हृदय’ले पनि दश दिनको साधना शिविर पूरा गरेर भर्खरै आफ्नो डेरामा फर्किएको छ । यतिबेला म उनै हृदयको कुरा लेख्दैछु ।

विपश्यनाको बारेमा लेख्नुभन्दा अगाडि हृदयको ‘फ्लासब्याक’मा फर्किन जरुरी रह्यो, हृदय र उनकी श्रीमतीको चिनजान सन् २०१६/१७ तिर भएपनि भेट भने २०२१ को अन्त्यतिर भयो । यही भेटले एकअर्कालाई नजिकबाट बुझ्ने मौका दिएपछि उनीहरूको बिहे सन् २०२२ को सुरुवाती कुनै एउटा महिनामा भयो । यसो भनौँ, हृदयको जीवनमा सम्बन्धको एउटा गाँठो बाँधियो ।

बिहे भएको अर्काे महिना हृदयकी श्रीमती यूके (बेलायत) फर्किइन्, जहाँ उनी आफ्नो कर्म गरिरहेकी थिइन् । श्रीमतीलाई एअरपोर्टमा बिदा गरेर पठाएको ठीक भोलिपल्ट हृदय पनि आफ्नो टिमसँग सानो एउटा ‘सिरिज प्रोजेक्ट’ लिएर गाउँतिर हिँड्यो । कथा यहीँबाट सुरु गर्दा स्पष्ट हुन्छ कि भन्ने लागेको छ ।

हृदयको लागि यो काम एउटा ठूलै सपना थियो । पन्ध्र दिनको कडा मेहेनतपछि सिरिजको काम सकिएसँगै हृदयको सपना पनि यहीँ सकियो या भनौँ सुरु भयो ।

यो प्रोजेक्ट यसरी झुर भयो कि यसको कुनै कल्पना थिएन । यहीबेला उसले बुझ्यो, आलोकाँचो कला, सीप र थोरै तयारी अनि कम लगानीमा गरिने यस किसिमको प्रोजेक्टले मानसिक र समयको बर्बादीबाहेक अरु नदिने रहेछ । भत्किएको कामले पनि केही अनुभव त दिन्छन् नै, तर यसले हृदयको आत्माविश्वास साह्रै नमजासँग भत्काइदियो । यसका कारणहरू थुप्रै छन्, यो उसलाई बाहेक कसैलाई हेक्का छैन ।

यही भत्किएको प्रोजेक्टबाट हृदयलले आफैसँग ‘ईगो’ राख्यो र जसरी भएपनि फिल्म पढ्ने एउटा अर्काे अप्ठ्यारो निर्णय गर्‍यो । हृदयको यो अप्ठ्यारो सपनामा साथ दिन उनकी श्रीमती सहज भएर सधैँ तयार रहिन् । हृदयले आफ्नो सानोतिनो जागिर छाडेर महङ्गो शुल्कमा फिल्म पढ्न एउटा फिल्म एकेडेमीमा भर्ना पनि भयो ।

सपनाको बाटो पक्कै पनि सहज हुँदैन, सहज नभएपनि मान्छेले सपना भने देख्न छाड्दैन । हृदयले यो सपनाको लागि सात/आठ वर्षदेखि आफ्नो पेट पालिरहेको जागिर छाड्यो, लेख्दै गरेको दोस्रो उपन्यसलाई थाँती राख्यो र सबैभन्दा जटिल कुरा आफ्ना घरपरिवार र आफन्तहरूको अनुमानविपरीत आफूलाई उभ्याउने प्रयास गर्‍यो (गरेछ) ।

पेटपाला जागिर छाडेर काठमाडौंको सडक,गल्लीहरूमा भौतारेर हिँडेको देखेपछि हृदयका वरिवरिका मान्छेहरूले विस्तारै प्रश्न गर्न थाले— जागिर पनि छाडेँ भन्छौ, अनि यत्तिकै बसेर के गर्ने त ?

यसको जवाफ हृदयसँग थियो, भएपनि कुनै-कुनै जवाफहरू फर्काइहाल्न समय पर्खनुपर्दाेरहेछ, उसले पर्खियो पनि । सायद उसको आलटाल जवाफमा चित्त नबुझेरै होला, विस्तारै मान्छेका प्रश्नहरूसँगै उपदेश पनि थपियो— शहरमा यत्तिकै डुलिहिँडेर हुँदैन है ! केही त गर्नुपर्छ ।

यस्ता कुराहरू सुनेर हृदय भित्रभित्रै मुस्कुराउँथ्यो र सोँच्थ्यो— जसले सबैभन्दा ठूलो सपना बोकेर हिँडिरहेको छ, उसैलाई मान्छेहरूले किन रित्तो देख्छन् है ?

फिल्म कला र गहिरो चाहनाले मात्रै नबन्ने रहेछ । कलेजले दिएको सानसानो प्रोजेक्टहरू पूरा गर्न पनि अलि मोटै रकम चाहिने भएपछि शहरमा धौ-धौ आफ्नो पेट पालिरहेका हृदयजस्ता ‘बेरोजगारी’हरूको लागि यस्ता ‘सपना’ ‘अक्करे भीर’ भएर खडा हुने नै भयो । तर, यो अक्करे भीरमा अडिएर हिँडिरहनको लागि हृदयलाई उनको श्रीमतीले बिना कुनै शङ्का, बिना कुनै असहजताका मनैदेखि साथ दिइरहिन् । आर्थिक सहयोग त हुने नै भयो । तर, योभन्दा मीठो कुरा त हृदयलाई उनले साँच्चै बलियो हौसला दिइरहिन्, हृदयभित्रैबाट ।

उनीहरूको बिहे भएको समय पनि विस्तारै लम्बिँदै गयो । यही समयसँगै नजिकका फाट्टफुट्ट साथीभाइ र आफन्तहरूबाट नयाँ अर्काे एउटा प्रश्नले जन्म लियो— अनि अब त यूके जाने हैन ?

हृदयसँग मज्जाको जवाफ थियो— ‘खै !’

तर, कसैले ‘नेपालमा बसेर के गर्ने विचार छ त ?’ भनेर मात्रै सोधिदिएका भए उसँग यसको लामै जवाफ हुँदो हो । तर, विडम्बना मान्छेको जीवनमा सहजै पार लगाउँछु जस्तो लागेको कुरा कहाँ आउँछ र ?

***

हृदय पहिलेभन्दा केही सक्रिय भएर साहित्यिक कार्यक्रम, थिएटरहरूमा मञ्चन हुने नयाँ नाटक, हलमा आउने नयाँ चलचित्रहरू हेर्न सकेसम्म पुग्न थाल्यो । यसरी जस्तोसुकै परिस्थितिमा भएपनि ऊ कला र साहित्यको वरिपरि नै हुनेगरी यसैको अघिपछि दौडिरह्यो, दौडिरह्यो । ऊ यो सबै कुराहरूको पछाडि मनोरञ्जनको लागि वा फुर्सदिलो भएर मात्रै लागिरहेको पक्कै थिएन । यस क्षेत्रमा लागेका मान्छेहरू चिन्नु थियो, यहाँ हुने तरिका र नीति/नियमहरूबारे जान्नु थियो । लामो यात्राको लागि पहिलो एक पाइला राख्ने बाटो त कम्सेकम नियाल्नु नै थियो ।

ऊ आज अलि धेरै सक्रिय देखिँदो हो तर, उसले कला र साहित्यको लागि भनेर यो शहरमा भौँतारिएको त एक दशकभन्दा बढी भइसक्यो । यो कसले बुझेको होला ? उसँगैका साथीहरू कहाँ-कहाँ पुगिसके, समाजले भन्ने गरेको ‘प्रगति’ अर्थात् धन-दौलत कति कमाइसके कति ? के हृदयलाई धन कमाउन जरुरी नहोला र ? ऊ पनि त धन कमाउने दौडमा दौडिएको भए धेरै-थोरै धन त उसँग पनि हुँदो हो । र, उसले चियाको पैसा तिर्दा साथीभाइले ‘व्यङ्ग्य’ गर्ने पनि थिएनन् कि !

वास्तवमा आफूले ‘के गर्दैछु ?’ भन्ने कुरा प्रष्टसँग थाहा भएपनि अरुलाई बुझाउन उति सहज नुहुँदो हो । सबै कुरा सबैलाई बुझाइरहन जरुरी त नहोला । तर, पनि उमाथि प्रश्नहरू भने रूप फेर्दै यसरी आउन थाले— ‘अब त यूके जाने तयारी सुरु भयो होला नि हैन ?’

पहिलो दिन सँगै बसेर आफ्नो योजना र उद्देश्यहरूबारे लामै चिया गफ गरेर बिदा भएको मान्छेहरू पनि अर्काे दिन कतै भेट्दा सोध्थे— ‘साँच्ची ! यूकेतिरको प्रस्थानचाहिँ कहिले हो नि ?’

यस्ता घटनाहरूले हृदयलाई मनमा कता-कता अचम्म लाग्थ्यो । अचम्म मान्दै भएपनि ऊ आफ्नो सिकाइलाई अगाडि राखेर हिँडिरह्यो । फेरि यही बेला कोही आफन्तले सोध्थे— ‘‘काम त गरिरा’को छु भन्छौ, पैसा आउने काम हो कि कस्तो हौ ?’

जब पैसाको कुरा उठ्छ नि ? सपना अङ्गालेर भर्खर बामे सार्दै गरेको मान्छेको लागि एउटा ठेस त लाग्छ, लाग्छ । भएपनि आफूलाई सम्हालेर थाम्दै हृदयले टार्थ्यो र सोच्थ्यो ‘आउला नि विस्तारै !’

भेट नभएकाहरू पनि त भेटिए जत्तिकै हुन्, जब सामाजिक सञ्जालमा कुराकानी हुन्छ । यहाँ गरिने च्याटहरूमा पनि धेरथोर उस्तै प्रश्नहरू नसोधिने होइनन् । तर अगाडि उभिएर दिइने जवाफभन्दा यो सहज नै हुँदो हो । अनि अर्काे कुरा, केही दिन सामाजिक सञ्जालबाट विश्राम लिएर फर्किँदा एउटा रमाइलोकै लागि भनेर ठानौँ, कमेन्टमा साथीहरू लेख्थे— ‘यो मान्छे त ! यूके पुगिसकेछ भन्ठानेको ।’

यसरी यस्ता प्रश्नहरू कहिले मजाकमा आए त कहिले गम्भीरताका साथ आए । जसरी आएपनि हृदयसम्म आइरहे ।

उनको जीवनमा यसबीच हुन त धेरै कुराहरू भए । तर, यही ‘प्रश्नहरू’कै बारेमा जोड दिनैपर्ने भएकोले केही प्रसङ्गहरू जोडिन्छ यसरी—

कोही सोध्थे— ‘भाइको त बिहे पनि भएछ, अनि बुहारी कता छिन् त ?’

भन्नैपर्‍यो— ‘यूकेतिर पो बस्छिन् ।’

अनि यस किसिमको कुरा नआउने भन्नै नै हुन्थेन— ‘ए ! लु गजब भएछ, अब भाइको पनि बाटो खुलेछ ।’

गजब त होला नै तर, हृदयको लागि यो ‘बाटो खुलेको’ भन्ने तर्कचाहिँ गजब लाग्थेन । जवाफ वा तर्क-वितर्क गर्ने सबै ठाउँमा माहोल हुँदैन । तर, पनि प्रश्न गर्नेहरूलाई माहोल नै चाहिएन । कुनै कार्यक्रमको जमघटमा एकैछिन दोहोरो कुराकानी हुँदा पनि अर्काे पक्षबाट प्रश्न चुहिहाल्ने— ‘साँच्ची तपाईंको श्रीमती त जापान कि कोरीया पो ?’

जबकि उनलाई ‘कहाँ छिन्’ भन्ने कुरा प्रष्ट छ, भएपनि अलमलिएपछि हृदयले सही जवाफ दिनैपर्‍यो । सही जवाफ सुनेपछि हतारमा छोटै भएपनि अर्ती दिन्थे— ‘अब तपाईं पनि यूकेतिरै जाँदा राम्रो हुन्छ है !’

यसरी हृदयलाई आफ्नो नजिकको ठानेर सल्लाह सुझाव दिने आफ्नाहरू विस्तारै बढ्दै गए । अझ यसो भनौँ, यसबारे नबोल्ने एकदमै कम भेटिन थाले । राम्रो कुरामा हौसला दिनु, उसको राम्रोको लागि बाटो देखाउनु, यो नराम्रो कुरा त पक्कै हुँदै हुँदैन । हृदयले पनि यस्ता कुरालाई नराम्रो ठानिलिएन ।

तर, केही यस्ता घटनाहरू पनि घट्दै गए, कहिले-कसो चियाको पैसा हृदयले तिर्दा मन जितिएका वा मन जितेका साथीहरूले मन जितेरै ठट्टामा भन्न लागे— ‘यूकेको पाउण्ड हो, भइहाल्छ । थाम्छ ।’

कुरै-कुरामा एकजना ‘उहाँ’ले त हृदयको हातमा भएको आईफोन हेरेर भनिदिए— ‘ओहो ! नयाँ आईफोन ? मान्छे कहाँदेखि कहाँ पुगिसके है ?’

अनि अरु सुन्नेहरूले खुसीयालीमा झन्डै ताली पड्काउलाझैँ गरे । तर, हृदयको मनमा एक किसिमको तालीचाहिँ साँच्चै बजेकै हो ।

यही पाटोलाई लिएर मुख फोरेरै भन्न थाले— ‘मोज छ नि केटालाई ! डलर आइहाल्छ ।’

अनि हृदयले यसलाई पचाउन ठट्टाको बदलामा ठट्टाले नै मिलाउने मनसायले भन्थ्यो— ‘डलर हैन हौ, पाउण्ड हो ।’

तर, डलर आउँथ्यो कि ? पाउण्ड आउँथ्यो ? जे-जसरी आएपनि हृदयको खर्च कसरी जुटिरहेको छ ? भन्ने कुरा अरुले ठोकुवा गरेर भन्नु कुन बुद्धिमता हो ? यो हृदयको प्रश्न हैन, हर-कोहीको व्यक्त्तिगत प्रश्नमाथिको प्रतिरक्षा प्रश्न हो कि ?

मान्छे भएपछि मान्नुपर्ने नाता-गोता,आफन्तहरू हुन्छन् नै । आफन्तको घरमा कुनै न कुनै अवसरमा भेटघाटको लागि भेला हुनैपर्ने हुन्छ, यस्तो जमघटमा हृदयको लागि निकै भलो चिताउने केही आफन्तहरूले सम्झाउँदै भन्थे— अब त प्रक्रिया मिलाएर यूके जाँदा नै तिम्रो भविष्य राम्रो हुन्छ है !’

मीठो मानेर खाँदै गरेको खाना एक्कासी नमीठो हुन्थ्यो भने यस्तै बेला हुन्थ्यो । यस्तो थुप्रै संयोगहरू भएपछि हृदयलाई आफन्तहरूको घरमा भोज खान जान पनि कस्तो असहज जस्तो लाग्न थाल्यो ।

हृदयलाई यस्ता प्रश्नहरू जतिसुकै नराम्रो लागेपनि साथीभाइ र आफन्तहरूले एक अर्थमा उनको भलाइको लागि नै भनिरहेका थिए । यो उनलाई पनि नलाग्ने होइन । तर, यस्ता कुराहरू कमभन्दा कम गरिदिए हुन्थ्यो जस्तोचाहिँ दिनप्रतिदिन लाग्दै गयो । किन यस्तो लाग्थ्यो, यो त उसलाई पनि ठ्याक्कै अनुमान थिएन ।

र, सधैँ रासन-पानी किन्ने चोकको केही पसले साहु-साहुनीलाई त उनको श्रीमतीको बारेमा थाहा नहुने कुरै भएन । पसलमा बिहानै केही समान किन्न पुग्दा हृदयको अनुहारमा हेरेर मुस्कानसहित कुनै एक साहुनी भन्थिन्— ‘भाइचाहिँ यूके नजाने कि क्या हो ?’

यो साहुनीको मुस्कानले हृदयको बिहानी केही अमिलो बनेजस्तो हुने नै भयो । मान्छेहरूको मुस्कान या हाँसोले पनि बिझाउनु भनेको जीवनको एउटा नमीठो भनुभूति रहेछ ।

अब त यात्रामा या कतै संयोगले चोकतिर भेटिने अपरिचित मान्छेहरू पनि उनको श्रीमती यूकेमा छिन् भन्ने थाहा पाएपछि यूके जाने सल्लाह दिन थाले र हृदयलाई लाग्न थाल्यो— ‘केही कुराहरू त झुट बोलिदिँदा नै आफूलाई शान्ति मिल्नेरहेछ ।’ यसपछि उसले विस्तारै झुटको सहारामा शान्ति भेटाउन थाल्यो ।

***

केही प्रश्नहरूको जवाफ दिँदै केही प्रश्नहरूलाई हाँसेर टार्दा-टार्दै वर्ष दिन बितेछ । हृदयको श्रीमती पनि नेपाल आइन् । अब प्रश्न एकपटक फेरि चर्कियो, जसको जवाफ हृदयले मात्र हैन, दुवैजनाले दिनुपर्ने भयो । यसरी दुवैजनालाई सँगै राखेर सोधिने प्रश्नमा दुवैजनाले एकअर्कालाई हेराहेर गर्थे र आँखाको इशाराले भन्थे— ‘के भन्ने ? तिमी जवाफ देऊ !’

‘हैन तिमी नै देऊ न,’ यस्तो परिस्थिति कति आए होलान् ? अनि कसरी टारे होलान् ? यस्तो बेला मनलाई कस्तो भयो होला ? तपाईं अनुमान लगाउन सक्नुहुनेछ ।

सीमित छुट्टि सकिएपछि फेरि उनी त यूके फर्किनैपर्‍यो, फर्किइन् पनि । प्रश्न पनि उसरी नै फर्कयो ।

‘हैन बूढाबूढी सँगै जाने होला भनेको त नगा’को पो ?’, ‘लौ तिमीलाई पो लिन आएको होला भन्ठानेको होइन पो ?’, अनि कसै-कसैले त ठोकुवा गरेरै भने— ‘यसपाली त पक्का पनि यूके लाने प्रक्रिया मिलाएरै फर्किएकी होलिन् ?’

यो क्रम विभिन्न रूपमा चलिनैरह्यो । हृदय आफ्नो सपनाको लागि दौडिनैरह्यो । उसलाई थाहा छैन, आफ्नो सपना समात्न क-कस्को हात छुट्ने हो ? के-के टुट्ने हो ? के-के गुम्ने हो ? के आफ्नो हुने हो ? के अरुको हुने हो ? यस्तै अनिश्चितताहरूको दोभान रहेछ— सपना ।

प्रश्न गर्नेहरू पो एक/एकजना थिए । तर, वर्षाैँसम्म यही सारा प्रश्नहरू सुनिरहनुपर्ने त हृदय एक्लैले हो । सयौँथरीका मान्छेहरूले एउटै विषयमा सयौँ किसिमले प्रश्न गरिरहँदा हृदयको संवेदनाहरू कतिऔँपटक फेरबदल भए होलान् ? यस्ता कुराहरूले हृदयमाथि कति भार परिरहेको होला ? के कसैले यसको अनुमान लगाउन सक्छ ? सक्दैन । तसर्थ, यसका असरहरूबारे हृदयले यसरी बिलौना गर्छ—

“साना-तिना र सरल लाग्ने प्रश्नहरू भएपनि त्यसले विस्तारै गहिरो छाप छोड्दै लैजाँदोरहेछ । मलाई सुरु-सुरुमा स्वाभाविक लाग्ने प्रश्नहरू अब विस्तारै झन्झट लाग्न थाल्यो । प्रश्न गर्ने शैली र प्रश्न गर्ने मान्छेहरूको मानसिकतामा पनि त केही फेरबदल भए होलान् ? यसले मेरो मानसिकतामा विस्तारै असर पार्दै लग्यो । पैसाका विषयमा मान्छेहरूले लगाउने अनुमान, मेरो लवाइखवाइ र सबै जीवन शैलीमाथि नै खिसिट्युरी गरिरहेझैँ लाग्दै गयो । माथि उदाहरणमा आएका जस्तै आफ्नै नजिककाहरूले कति भने कति ? के ती कुराहरूले मलाई कुनै असर गरेन होला ? कसैले मजाक गरेर मन जितेर भनिदिएको भद्दा ठट्टाले के कसैको मन कहिल्यै दुख्दैन ?
आफ्नै साथीभाइ र आफन्तहरूको कुराअनुसार के मैले मेरी श्रीमतीले आर्थिक भार सम्हाल्नुभन्दा अघि मीठो खानसक्ने, भलै ब्राण्डेड नहोलान् । तर, राम्रो लाउनसक्ने मेरो कुनै हैसियत नै थिएन ? ‘मोज गर’ भन्नेहरूलाई के लाग्छ ? कि मेरो जीवन बिहेभन्दा अगाडि मोज थिएन ? भन्नेहरूले त मुखैअगाडि भने तर, हेरेर देखेर मेरो पिठ्युँ पछाडि यस्तो सोच्नेहरू कति भए होलान् ? मैले अनुमान लगाएको छु केही असल मानिएका सम्बन्धहरू बिना कारण चिसिँदै गएका छन् । मान्छेहरूका अनेक प्रकारका कुराहरूले मलाई आफ्नो आत्मविश्वासमाथि नै शङ्का लाग्न थाल्यो । राम्रो खाँदा होस् या राम्रो लगाउँदा ‘मलाई मान्छेहरूले के सोचे होलान् ?’ भनेर थाहै नपाइ मनमनै असहज मान्नुपर्ने मानसिकता विस्तारै बन्दै गएछन् । मलाई हरेक कसैको स-सानो कुराले आत्मसम्मानमा ठेस लाग्न थाल्यो । यसले नजानिँदो किसिमले म शिथिल हुँदै गएछु । मान्छेहरूको अगाडि पैसाको कुरा र पैसा खर्च गर्नुपर्ने परिस्थिति नआएइदिए पनि हुन्थ्यो नि ! जस्तो भान विस्तारै दिनप्रतिदिन बढ्दै थियो । यस्तो किन भयो ? तपाईंहरूले जवाफ माथि नै पाइसक्नुभएको छ ।”

मनमा लाग्ने चोट त राक्षस जस्तो रहेछ, जति दबाउन/मार्न खोज्यो उतिउति बढ्दै-बढ्दै गइदिन्छ । हृदयलाई विस्तारै हरेक कुराहरूले मानसिक तनाव दिँदै लग्यो । मान्छेहरूले भनेजस्तो ‘मोजमस्तीको स्वतन्त्र जीवन’ देखिए पनि ऊ नजानिँदो किसिमले भित्रैबाट टुट्दै गयो ।

भीडहरूमा हाँसीखुसी देखिनु र मनभित्र भने झोक्राएर बाँच्नु सबैभन्दा सकस कुरा हो । हृदयको मन हृदयको आदर्श ती मान्छेहरूले अनुमान लगाए जस्तो पक्कै थिएन । तर, उसको आदर्श, उसको सच्चा स्वाभिमानलाई कस्ले बुझिदिने ?

पैसा हुनु, सपना हुनु, माया गर्ने, साथ दिने मान्छे, आफन्त, साथीभाइ र भौतिक सुख-सुविधाले सम्पन्न हुनु एउटा मान्छेको मन खुसी हुनुको अन्तिम कारण होइन । मान्छे खुसी हुनलाई त उसको अन्तर्आत्माको गहिराइदेखि नै खुसीपनको जग बस्नुपर्छ । तर, यहाँको समाज, यहाँका मान्छेहरूको मानसिकता देखेर तपाईंहरूलाई शान्तिको सास फेर्न मनैदेखि जाँगर चल्छ ? कसैलाई खोक्रो आदर्श बताउनुपर्दैन, यसको जवाफ सही भएर आफ्नै मनलाई दिनुस् ।

हृदयसँग सबैथोक हुँदाहुँदै पनि उनलाई मानसिक रोगले च्याप्दै लग्यो । सकेसम्म आफूलाई ठीक-ठाक देखाउन हाँसेरै हिँड्यो, बाँचेरै हिँड्यो । ‘ठीक छैन’ भनेर कसैसँग गुनासो गर्दापनि ‘सबैथोक भएर पनि दुखी भएको नाटक गर्छ’ भन्नेहरू नभएका होइनन् । यसर्थ, ऊ विस्तारै आफ्नो मनको पीडालाई कसैसँग बाँडेर हिँड्न पनि सकेन । ऊ त सकेसम्म आफ्नो सपना र आफू लागिपरिरहेको आफ्नो उद्देश्यमा भएभरको दिलदिमाग लगाएर हिँडिरह्यो । उसको लगाव र उसको क्षमताअनुसार उसले सफलताहरू पनि नपाएको होइन । तर, सफल हुनलाई मान्छेको हृदय ढुक्क भएको हुनुपर्दाे हो, जुन पक्ष नै उसको सबैभन्दा कमजोर भइरहेको थियो ।

“जीवनमा बाँचिरहेको छु, जसरी आफूलाई ‘थाहा’ दिएर बाँच्दै जानुपर्छ” भनेर अरुलाई भन्दै हिँड्ने हृदय आफू भने भित्रैबाट मर्दै गइरहेझैँ ठान्न थाल्यो । हो नि, आफ्नो मेहेनतले कमाएको पैसाले किनेको फित्ते चप्पल लगाएर हिँड्नुको निर्धक्कपना अरु केही हुँदैन । यो उसलाई नलाग्ने होइन । अब त ऊ महङ्गो कुराहरू किन्दा पनि खुसी हैन कि आत्मग्लानी गर्न थाल्यो । ‘यस्तो चिज किन, उस्तो चिज किन’ भनेर उनको श्रीमतीले माया गरेर पैसा पठाउँथिन् । तर, ऊ त खुसी हुनुको साटो आफ्नी श्रीमतीसँग चिढिएर भन्न थाल्यो— ‘भो मलाई पर्दैन, सकेँ भने म आफैँ कमाएर किनुँला ।’

हृदयको दिनप्रतिदिनको बाङ्गो स्वभावले उनको श्रीमतीलाई पक्कै मीठो लागिरहेको थिएन । विचरी ! उनी हृदयसँग उल्टै माफी मागेर रुन्थिन् र भन्थिन्— ‘मैले नराम्रो के भनेँ ? मैले नराम्रो के सोँचे ? म त तिमीलाई साथ दिइरहन पाएकोमा साँच्चै मनदेखि खुसी हुने मान्छे हुँ ।’

हृदयको मन यसै भारी हुन्थ्यो र ‘किन श्रीमतीसँग यसो गरिरहेको छु ? जब कि उनको गल्ती नै छैन’ भन्ने कुरा ठन्डा दिमागले सोँचेर फेरि पछुताउन थाल्थ्यो ।

एकदिन त हृदयले आफ्नी श्रीमतीसँग झगडा गरेर भन्यो— ‘मलाई छुटकारा देऊ ! म यूकेबाहेक अरु नै कुनै देश जाने तयारी गर्छु ।’

हृदयको एक्कासीको यस्तो कुराले उनी अचम्मित भइन् । सायद सुरुवातमा त यो कुरा ख्याल-ख्याल ठानेकी हुँदिहुन् । तर, बारबारको यो कुराले उनी पनि झस्किइन् र गम्भीर भएर सोधिन्— ‘खास यस्तो नहुँदो कुरा के कारणले सोचिरहेको छौ ? तिम्रो दिमागमा के चलिरहेको छ ?’

समाजले आफूमाथि हेर्ने दृष्टिकोणको कारण आफ्नो स्वाभिमान ढल्दै गएको जस्तो लाग्ने र सारा मान्छेहरूको नानाथरी कुराहरूको असरले मानसिक तनाव झेलिरहेको बारेमा हृदयले आफ्नी श्रीमतीलाई स्पष्टसँग बतायो ।

यही बेला उनकी श्रीमतीले भनेकी हुन्— ‘यसरी मान्छेहरूको कुरा सुनेर यसको पछि अल्झिरह्यौ भने तिमीले तिम्रो सपना कसरी पूरा गर्छाै ?’

उनी त्यसदिन खुब रोएकी थिइन् र भनेकी थिइन्— ‘मैले तिमीलाई खर्च दिइरहनु परेको कुरामा कहिल्यै भारी मानेको छुइनँ र मान्दिनँ पनि । तिमी पत्याऊ या नपत्याऊ, तर मलाई यूकेमा भएको कुरामा एक थोपा घमण्ड छैन । अनि पैसाको कुरामा मैले तिमीप्रति कुनै दिन घमण्ड गरेजस्तो लागेको भए त्यो तिम्रो सोच होला । मैले त्यस्तो कसम पनि कहिल्यै सोचिनँ र सोच्नेवालामा पनि छैन ।’

अनि यो पनि भनेकी थिइन्— ‘मैले तिम्रो सपनाको लागि मात्रै साथ दिइरहेको होइन नि ! मेरो सपना पनि तिमीसँगै छ तिम्रो सपना पूरा हुनु नै हाम्रो सपना पूरा हुनु हो । तिमीमा केही खास कला छ तिमीमा गर्नसक्ने लगाव छ अनि यस्तो मान्छेलाई साथदिनुपर्छ भन्ने लागेर नै मैले तिमीलाई मनैदेखि साथ दिइरहेको छु । मान्छेहरूले के सोच्छ भन्ने कुराको पछि नलाग ! आफ्नो काममा ध्यान देऊ ।’

हृदयको मन त हलुका भयो । तर, भित्र मनमा खिल भएर गढेको पीडा त बारबार ब्युँझिरहने नै रहेछ । मानसिक स्वास्थ्यमा निकै असर परिरहेको जस्तो लागेपछि हृदय एकदिन ‘साइकोलोजिस्ट’ डाक्टरसम्म पुग्यो । केही महिनाको फलोअपपछि हृदयले त्यहाँ जान पनि छाड्यो । किनभने ती साइकोलोजिस्टले पनि यूके जाँदा हुने फइदाहरूको बारेमा लामो लिस्ट बनाएर सुनाएको थियो ।

‘के यो देशमा कुनै सम्भावना नै छैन ?’ हृदयले सोँच्यो । ‘सपनाले सम्भावना हेर्दैन, फाइदै फाइदा मात्रै पनि हेर्दैन । सपनाले त लक्ष्यसम्म पुग्ने बाटोहरू पहिल्याउनुमा मीठो मान्छ । चाहे गल्लीको कुकुरले पाउने दु:ख नै किन नखेपोस्,’ उसले सोचिरह्यो । अनि हृदयको कुरा कसले बुझोस् ? कसले बुझ्छ, कि मान्छेले आफ्नो सपना मार्नु भनेको आफैँ मरेसरह हुनु हो भनेर ? के सास फेर्नु मात्रै बाँच्नु हो ?

***

अब मायाका कुरा—

दु:ख-सुखमा सँगै साथ रहुँला भनेर एकअर्काको लागि ‘आफ्नो मान्छे’ बनेको कोही मान्छे सात समुन्द्र वारिपारि भएर रहन कसैलाई मीठो लाग्छ ? जसले ‘मीठै लाग्छ’ भन्छ, त्यो मान्छे कि बकम्फुसे बोलिरहेको छ, कि उसले साँचो प्रेम गर्ने मान्छे भेटाएको नै छैन । न त कसैलाई प्रेम गरेकै हुँदो हो ।

हृदयलाई पनि छ, आफ्नी श्रीमतीसँग दु:ख-सुख सँगै झेलौँला भन्ने चाहा । उसलाई पनि लाग्छ— ‘आफ्नी श्रीमतीले बोक्न लागेको भारी थोरै भएपनि उचालेर माया देखाउँ । उनको पसिना पुछिदिएर थोरै शीतलता बनिदिउँ । उनको नजिकै बसेर दु:ख-सुखमा उनले फेर्ने हरेक सुस्केराहरूको महसुस गरुँ । कति छन् कति ।’

मान्छेहरूले ‘यूके कहिले जाने ?’ भन्नेजस्ता बारेमा सोधेको प्रश्नहरूले हृदयलाई किन त्यत्ति धेरै असर पर्‍यो होला ? कसैले उसको मनोवैज्ञानिक पक्षलाई खोज्ने जमर्काे गरे होलान् त ? गरेनन् ।
खास हृदयले अहिलेसम्म भन्न खोजेको कुरा यो हो— ‘मलाई जति मान्छेहरूले जे-जे प्रश्नहरू सोधे नि ? ती प्रश्नहरू सोध्ने नै भए सबैभन्दा धेरै र सबैभन्दा पहिले मेरी श्रीमतीले सोध्ने थिइन्, ‘तिमी यूके कहिले आउने ? कहिले भिजाको लागि पेपर मिलाउँ ?’

अनि दोस्रोमा मेरो पापा र आमाले सोध्नुहुन्थ्यो होला— ‘छोरा तँ किन यूके जाँदैनस् ? किन बेकाममा हल्लिएर हिँडिरहेको छस् ?’

तर, उनै पापा-आमालाई साक्षी राखेर भन्छु— ‘उनीहरूले ममाथि यस्तो प्रश्न आजसम्म कहिल्यै पनि गरेका छैनन् ।’

के मेरी श्रीमतीलाई आफ्नो श्रीमान्‌‌सँग सँगै बस्न रहर छैन होला र ? के मेरो पापा-आमा र घरपरिवारका सदस्यहरूलाई यूके गएर पैसा कमाएर मैले जेठो छोरो हुनुको कर्तव्य र जिम्मेवारी निभाओस् भन्ने लाग्दैन होला र ? यो सबै जायज कुराहरू हुँदाहुँदै पनि मलाई किन उनीहरूले यूके पठाउन बल गर्दैनन् ? बारबार ‘यूके किन जाँदैनस् ?’ भनेर मलाई किन मानसिक दबाब दिदैनन् ? के कसैलाई थाहा छ ?

किनभने उनीहरू मेरो सपना मेरो उद्देश्य र मेरो भित्री अन्तर्मनको कुराहरूलाई राम्रोसँग बुझ्छन् । उनीहरू चाहान्छन्— ‘उसको सपना पूरा गर्नको लागि सकेसम्म साथ दिउँ, नसके उसले गरिरहेको काममा अरु कुराले बाधा नगरिदिउँ ।’

यही हो, साँच्चै आफ्ना लागि सोचिदिने र सोचिदिएजस्ता गर्ने मान्छेहरूमा पाइने फरकपन । मैले जीवनमा यतिचाहिँ बुझेँ कि आफ्नो मान्छेहरूले आफ्नो मान्छेको सपना पूरा गर्न मनैदेखि साथ दिनु मात्रै पनि उसको एउटा मीठो सपना पूरा हुनु रहेछ ! चाहे उसले पूरा गर्न चाहेको सपना पूरा होस् या नहोस् ।

मैले यति कुराहरू त भन्नैपर्छ कि दुई वर्षभन्दा लामो समय भयो यहाँसम्म आइपुग्दा मैले मेरी श्रीमतीलाई मुख खोलेर खर्च माग्नुपरेको छैन । तर मलाई थाहा छ, कतिपय दिनहरूमा उसले अरुसँग सापटी मागेर भएपनि मलाई खर्चको अभाव हुन कहिल्यै दिएकी छैनन् । र, यहीँनेर म भन्छु— ‘केही यस्ता श्रीमतीहरू पनि छन्, जसले आफ्नो श्रीमान्‌लाई आफ्नो कमाइले पाल्छन् र यसरी पालेकोमा कति पनि घमण्ड गर्दैनन् । तर, मैले यो समाजमा त्यस्ता थुप्रै नारीहरू पनि देखेको छु, जसलाई आफूले कमाएको कुरामा धेरै घमण्ड छ र उनीहरू नारी सशक्तिकरण प्रवर्द्धनको खोक्रो आदर्श बाँड्दै दम्भ देखाएर भन्छन्- सबै नारी कमजोर हुँदैनन् ।’

कोही भनिरहेका हुन्छन्— ‘यसो गरेर उसो गरेर भएपनि एउटा पोइ त पालिदिन्छु हौ ।’

यी सबै नाराहरू त्यस्ता मान्छेले फुकिरहेको देखिन्छ कि उनीहरूले पुरुषहरूमाथि हैकम जमाउन सफल भए र यही नै परिवर्तन हो । यही नै पितृसत्ताको लागि गतिलो थप्पड हो । मैले समाजमा थुप्रै यस्ता नारीहरू देखेको छु, जो नारीको आफ्नो कमाइ उसको श्रीमान्‌को भन्दा राम्रो छ भने उनीहरूले आफ्नो श्रीमानलाई आफ्नो अन्डरमा राख्दछन्, दम्भ देखाउँछन् । र, फेरि यिनै समाजमा यस्ता मान्छेहरू पनि छन्, जसले श्रीमतीको कमाइमा भर पर्ने श्रीमान्‌हरूलाई निकम्मा र तल्लो स्तरको दृष्टिकोणले हेरिन्छ । म यी दुवैथरी मानसिकता भएका व्यक्तिहरूलाई के भन्छु भने— ‘नारीले कमाएर पुरुषलाई पाल्दैमा नारीले पुरुषमाथि हैकम जमाउन थाल्ने हो भने परिवर्तन के नै भयो र ? श्रीमान्‌ले कमाउँदा श्रीमतीमाथि हैकम चलाउने अनि श्रीमतीले कमाउँदा श्रीमानमाथि हैकम चलाउन थाल्ने हो भने ‘पितृसत्ता व्यवस्थालाई जरैदेखि उखेलेर फ्याँक्नुपर्छ । प्रगतिशील चेतहरूको के काम लाग्यो ? पुरुषहरू बदलिएनन् र त सदियौँदेखि पितृसत्ताका कारण महिलाहरू उत्पीडित छन् । अब महिलाहरूले यो प्रवृत्ति बदल्दा पितृसत्ताकै शैलीमा बदल्ने हो भने अबको युगले के पाउँला र ? तसर्थ, अबको युगलाई समतामूलक व्यवस्थाको खाँचो छ । समतामूलक समाज नै एक आदर्श समाज हो ।’

श्रीमतीहरूको कमाइमा जीवन चलाइरहेका पुरुषहरूलाई यो समाजले कसरी हेर्छ थाहा छ ? हृदयले एउटा छोटो घटना सम्झन्छ, उनलाई एकदिन कुरै-कुरामा एकजना महासयले खुब अभिमानका साथ भने— ‘श्रीमतीको कमाइ खाएर बाँच्ने पुरुष कायर हो ।’

यस किसिमको मानसिकता बोकेको ‘महासय’हरू नै हुन्, आफूले कमाएर आफ्ना श्रीमतीहरूमाथि हैकम चलाउने । अझ यसो भनौँ, पितृसत्तालाई बढवा दिने । यस्ता मानसिकता भएका प्राणीहरू नै समतामूलक समाज निमार्णका भाइरसहरू हुन् ।

यहाँ कतिलाई लाग्ला, यी सबै कुराहरूलाई ठूलो समस्या मान्नु ठीक होइन । महोदय ! जिन्दगी स-सानो कुराहरूमा नै त अडिएको हुँदो रहेछ । होइन भने मान्छे पहाडमा ठेस लागेर कहाँ ढल्छ र ? ढल्नको लागि त एउटा सानो ढुङ्गा नै काफी हुन्छ नि ! हैन र ?

***

स्वीकारोक्ति

हृदयलाई थाहा छ, आफ्नो लागि दु:ख झेलिरहेकी आफ्नी श्रीमतीलाई साथ दिनैपर्छ । सपना भेटाउनु, नाम इमानका साथ संसार जित्नु अनि एकलौटी सपना भेट्नको लागि साथमा भएका चिजहरू गुमाउनु आखिरीमा जीवन निरर्थक नै हो । उसले एक असल छोरा हुनुको कर्तव्य निभाउनु छ, एक असल श्रीमान्, असल अभिभावक र समाजको एक असल व्यक्ति बन्नु छ । जिम्मेवारी (सायद सपनाहरूभन्दा जटिल अनि जरुरी पनि) धेरै छन् । तर, ऊ आफ्नो सपना र जिम्मेवारी दुवैलाई सँगै लिएर हिँड्ने आँट राख्छ । साथमा आफ्नो सपनालाई बुझिदिने मान्छे हुनुभनेको संसार जित्ने हिम्मत हुनु हो, सपना भेटाउने खुड्किला हुनु हो, अनि हुनु हो, जिन्दगीको थकान मेटाउने शीतल काख ।

जब ऊ आफ्नो सपनाको दुनियाँमा एक तमास बेग मारिरहेको बेला एकैछिन अडिएर आफ्नो मनलाई नियाल्छ । फेरि मन त कतै न कतै जन्जालहरूमा अल्झिरहेको भेटाउँछ । यही दुविधाहरूको उल्झनबाट आफूलाई निकाल्न ऊ त्यसदिन साधनाको लागि ‘विपश्यना’ गयो ।
विपश्यना अर्थात्, आफूभित्रको सत्यलाई विशेषरूपले हेर्नु हो । विपश्यना वर्तमान क्षण र सत्यमा जिउने अभ्यास हो । विपश्यना आत्म-निर्जरा हो, आफ्नो मनको सबै क्लेश निकालेर फ्याँक्ने निर्जरा । र, जे-जस्तो छ, जसरी छ त्यसको सही स्वभावलाई हेर्नु/बुझ्नु नै विपश्यना हो ।

मान्छे बाहिरको सत्यलाई हेरेर व्याकुल हुने प्राणी रहेछ, जबकि आफूभित्रको सत्यलाई चिन्ने/बुझ्ने प्रयासबाट चुकिरहेको हुन्छ । बाहिरका मान्छेहरूले भनेका कुराहरूमा अल्झिएर हृदयले पनि जहिल्यै आफूलाई दुखी र कमजोर तुल्याइरह्यो । तर, मनभित्रको क्लेश अरुले होइन, बेहोशी बनी स्वयम् हामीले नै बढाइरहेका हुनेरहेछौँ र यसलाई हटाउने जिम्मेवारी पनि आफ्नै रहेछ । अरु कसैले होइन । यति कुरा बुझेको भएपनि हृदयले आफ्नो अन्तर्रात्मादेखि यसलाई स्वीकार्न सकिरहेको थिएन । तर जब ऊ विपश्यनामा दशदिनको ‘पञ्चशील’ र ‘आर्य-मौन’ सहितको साधना पूरा गर्‍यो, उसले धेरैकुराहरू बुझ्यो र आफ्नो मनको सारा विकारलाई हटाउन प्रेरित पनि भएको छ ।

आर्य-मौन भनेको आवाजबाट होस् या कुनैपनि शारीरिक हाउभाउमार्फत अरुसँग कुरा नगर्नु हो । दशदिनसम्म लेखपढ गर्न, बोल्न मिल्दैन । पूर्णरूपमा मौन भएर कडाइकासाथ यहाँको नियमको पालना गरेर साधना गर्दा स्वयम् आफ्नै लागि राम्रो हुने भएकोले यस्ता नियमहरूको पालना सबै साधक-साधिकाहरूले गर्दछन् ।

यो साधनापछि हृदयले अन्तर्मनको गहिराइ र त्यसको सत्यताहरू बारे धेरैथोरै बुझ्न सक्ने भएर फर्किएको छ । उसले अब आफ्नो मनको कुरा सुन्नेछ । उसले कतै आफ्नो बायोमा लेखेको थियो— ‘म आफूलाई एकपल्ट भेट्न चाहान्छु ।’

साँच्चै उसले विपश्यनाबाट आफूलाई भेटाउने तरिका बुझेर फर्किएको छ । सायद अब उसले आफूलाई भेटिरहनेछ ।

सबै कुराहरू बुझिसकेपछि यी माथिका अनेक मान्छेहरूका कुरा यसरी लेखिरहन जरुरी ठानेको थिएन । तर, यस्ता घटनाहरू र यस्ता घटनाले मान्छेको जीवनमा कति असर गरिरहेको हुन्छ भन्ने बुझाउनको खातिर भएपनि हृदयले यति कुराहरू लेख्ने निर्णय गर्‍यो ।

साँच्चै तपाईं हाम्रो साधारण जस्ता लाग्ने कुराहरूले जो कसैलाई कति धेरै गहिरो असर परिरहेको हुन सक्दो हो ? के हामीले यसबारे सोच्छौ ? निकै कम सोच्छौँ, किनकि जसलाई असर परिरहेको हुन्छ, उसलाई मात्र थाहा हुन्छ कुन कुराले असर गर्‍यो कुनले गरेन । भन्नेहरूले त बिर्सिसकेका हुन्छन् । तर, सुन्नेहरूको मनमा यसरी गढेर बसेको हुन्छ नि, त्यसैको उदाहरण ‘हृदयको कथा’ हो । तसर्थ, दोस्रो मान्छेको मनको धेरथोर ख्याल गर्दा सबैको मङ्गल हुनेछ ।

अन्त्यमा, हृदयले ती माथिका सबै प्रश्नहरूको जवाफ यसरी दिएको छ— ‘संसारको जतासुकै कुनामा होस्, त्यहाँ आफ्नो आधा मुटु बाँकी छ भन्ने थाहा भयो भने जो-कोही मान्छे आफ्नो त्यो आधा मुटु खोज्दै भेट्न पुग्नेछ, चाहे उसले जुनसुकै कुरा किन त्याग्नु नपरोस् ? जुनसुकै कष्ट किन स्वीकार नगरोस् ?’

र, ऊ भन्छ— ‘आफूसँगै जीवन काट्ने आफ्नो मान्छे यूके,अमेरिका, अष्ट्रेलियामा बस्ने होइन, सधैँलाई हृदयमा, मनमुटुमा बसेर साथ दिने हुनुपर्छ ।’

यस संसारमा अरुको भलो-कुभलो चिताउने सबै स्वभावका प्राणीहरूको सधैँ मङ्गल होस्, सधैँ कल्याण होस् ! सारा जगत् सुखी रहुन् । साधु ! साधु ! साधु !

[email protected]


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved