विद्यालय नाटक महोत्सव १३ फागुनदेखि, ४ दिनमा १२ नाटक मञ्चन हुने

पोखरा थिएटरको आयोजनामा हुन लागेको महोत्सव १६ फागुनसम्म चल्नेछ।

विद्यालय नाटक महोत्सव १३ फागुनदेखि, ४ दिनमा १२ नाटक मञ्चन हुने

पोखरा। कोरोना महामारीका कारण रोकिएको दोस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव १३ फागुनदेखि हुने भएको छ। पोखरा थिएटरको आयोजनामा हुन लागेको महोत्सव १६ फागुनसम्म चल्नेछ।

यसअघि ११-१५ माघसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक मञ्चन गर्नेगरी महोत्सवको तयारी गरिएको थियो। तर कोभिडका कारण उक्त महोत्सव निर्धारित मितिबाट सारिएको थियो। गण्डकी प्रदेशका ८ जिल्लाबाट १२ नाटक छनोट भएका छन्। महोत्सवको लागि प्राप्त कुल २४ नाटक मध्येबाट पहिलो चरणमा १६ नाटक छनोट गरिएको थियो। छनोट भएका १६ नाटकबाट अन्तिम चरणको लागि १२ नाटक छनोट गरिएको महोत्सव संयोजक समेत रहेको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए।

‘‘फागुन १३ गतेदेखि १६ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा हरेक दिन ३ वटा नाटकका दरले ४ दिन नाटक मञ्चन गरिनेछ,’’ उनले भने। नाटक छनोटका लागि २६ पुसदेखि २ माघसम्म विभिन्न जिल्लामा गएर अवलोकन गरिएको थियो। अन्तिम चरणमा १० नाटक छनोट गर्ने भनिएपनि नाटकको प्रस्तुतिका आधारमा थप २ नाटकलाई प्रोत्साहन स्वरुप छनोट गरिएको आयोजकको भनाई छ। अन्तिम चरणको लागि नवलपुर जिल्लाबाट सबैभन्दा धेरै तीन नाटक छनोटमा परेका छन्।

त्यस्तै कास्कीबाट दुई, लमजुङबाट दुई, तनहुँ, पर्वत, गोरखा, म्यादी, बागलुङबाट एक/एक नाटक छनोटमा परेका छन्। नाटक छनोटका लागि वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति बनाइएको थियो। जसको सदस्यमा निर्देशक तथा कलाकार माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहेका छन्। उनीहरुले सम्बन्धित ठाउँमा पुगेर नाटकको अवलोकन गरेर उत्कृष्ट १२ छनोट गरिएको हो।

‘विद्यालयमा रंगमञ्च,अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल मन्त्रका साथ आयोजना गरिएको महोत्सवमा गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्रमुख सहकार्य एंव नेपाल सङ्गीततथा नाट्य–प्रज्ञा प्रतिष्ठान काठमाण्डौं र पोखरा प्रज्ञा–प्रतिष्ठानपोखराले सहकार्य गरेका छन्। गएको वर्षदेखि पोखरा थिएटरले गण्डकी प्रदेशस्तरिय विद्यालय नाटक महोत्सवको आयोजन गर्न थालेको हो। त्यसभन्दा अगाडि थिएटरले पोखरा महानगरपालिका स्तरिय नाटक महोत्सव समेत आयोजना गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved